NP EN

परिकल्पित स्वर्गभन्दा समृद्ध समाज हाम्रो गन्तव्यः अध्यक्ष ओली 

२७ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य परिकल्पित स्वर्गभन्दा राम्रो समाज निर्माण भएको बताउनुभएको छ । 

नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टीले निर्धारण गरेको त्यस गन्तव्यमा पुग्न स्वयंसेवामार्फत् समाज परिवर्तनको सचेत प्रयास आवश्यक रहेको बताउनुभयो ।  
मानिसहरू आफू खरानी भएपछि सुख प्राप्ति होस्, स्वर्गमा बस्न पाइयोस् भनी अन्धविश्वासका साथ पनि स्वयंसेवा गर्ने गरेको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– हामी परिकल्पित स्वर्गभन्दा राम्रो, विकसित, समृद्ध र न्यायपूर्ण समाज बनाउन चाहन्छौं । अन्धविश्वास र भ्रममा होइन, सचेत ढङ्गले यो देश सपार्नका लागि आफ्नो सेवा दिइरहेका छौं । 
नेकपा (एमाले), यससँग सम्वद्ध विभिन्न जनसङ्गठनले समाज परिवर्तनका लागि आफ्ना सबै कार्यक्रम स्वयंसेवी ढङ्गले व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको स्पष्ट गर्दै अध्यक्ष ओलीले हालै सम्पन्न गरिएको राष्ट्रिय महिला भेला महिला सशक्तीकरणका साथै पार्टीको गन्तव्यमा अगाडि बढ्ने सन्दर्भमा महत्वपूर्ण रहेको बताउनुभयो । अध्यक्ष ओलीले समाज परिवर्तनको प्रयासलाई सचेत ढङ्गले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको बताउनुभयो । 
सो अवसरमा अध्यक्ष ओलीले राष्ट्रिय महिला भेला सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्नुभएका स्वयंसेवक, स्वास्थ्यकर्मी र कलाकारहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले कार्यक्रमको अध्यक्षता गर्नुहुँदै राष्ट्रिय महिला भेलाको आर्थिक लगायत विविध पक्षहरूका बारेमा जानकारी गराउनुका साथै समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । पार्टीका केन्द्रीय सदस्य रचना खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य तथा जनसङ्गठनका इन्चार्जहरू, जनसङ्गठनका अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।