NP EN

राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति आवश्यकः अध्यक्ष ओली

२८ जेठ (२०८१), धुलिखेल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अधिवेशन आज धुलिखेलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न नसकिने बताउनुभयो ।
उहाँले मिसन–२०८४ मार्फत् राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पसहित एमालेले अभियान शुरुआत गरिसकेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– राष्ट्रिय शक्ति निर्माण नभएसम्म सुशासनसहितको समृद्धि प्राप्त गर्न सकिँँदैन, त्यसैले निर्णायक तहमा राष्ट्रिय शक्तिको आवश्यकता परेको छ । 
अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्न आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो । ‘एमाले सत्तामा जान मिसन २०८४ भनेको हैन, सबै नेपालीलाई सुखी बनाउनका लागि हो’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले पूर्वाधारलाई आधार बनाएर कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्नेमा समेत जोड दिनुभयो । कृषि क्रान्तिलाई असाधारणरूपमा लैजानसके मात्र नागरिकलाई समृद्ध र सुखतर्फ डोर्याउन सकिने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले एमालेलाई सिध्याउने विरोधीहरूको योजना असफल पारिएको बताउनुभयो । उहाँले देशभित्र र बाहिर सबैतिरका प्रतिक्रियावादी शक्तिहरू एकैठाउँमा जम्मा भएर एमालेविरुद्ध हमला गरेको भए पनि एमालेले परास्त गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– एमालेको नेतृत्वलाई विस्थापित गर्न अनेक प्रयास भए, ती सबै प्रयास असफल भए । त्यो प्रयास असफल भएपछि पार्टी विभाजन गर्नेतर्फ लागे र विभाजन गराइदिए । त्यो विभाजन कुनै मतभेदले भएको होइन, तर एमालेलाई टुक्राउने, सरकारबाट हटाउने र पार्टी ध्वस्त बनाउने गलत मनसायका साथ भएका हुन् ।
त्यस्ता हमलाका बाबजुद पार्टी अहिले मजबुत शक्तिको रूपमा रहेको बताउनुभयो । 
अध्यक्ष ओलीले अधिवेशनबाट एकताका साथ सर्वसम्मत नेतृत्व चयन गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । सर्वसम्मत हुनै नसकेको अवस्थामा स्वस्थ प्रतिपर्धा गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य गुरु बरालले नवप्रवर्तनका कार्यक्रममार्फत् विदेशिने जनसङ्ख्यालाई स्वदेशमै परिचालन गर्नुपर्ने बताउनुभयो । पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले समृद्धिको अभियानलाई अगाडि बढाउन पार्टी सङ्गठनलाई एकतावद्ध र बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । जिल्ला कमिटीका अध्यक्ष अशोक व्याञ्जुको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य कृष्ण राई र बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले एमालेको मिसनले हरेक क्षेत्रमा उत्साह पैदा भएकाले थप क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।