NP EN

अध्यक्षद्वारा प्रधानमन्त्री पदको शपथ ग्रहण, २२ सदस्यीय मन्त्रिपरिषद् गठन 

३१ असार, (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएको छ ।  
राष्ट्रपति भवन (शीतल निवास)मा विहान आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको थियो । 
संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार गठन गरी अगाडि बढ्ने समझदारी अनुसार उहाँ आइतबार नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । 
यसैगरी, प्रधानमन्त्री ओलीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मन्त्रिपरिषद्मा दुईजना उपप्रधानमन्त्री हुनुहुन्छ । नेकपा (एमाले)बाट विष्णुप्रसाद पौडेल र नेपाली कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधानमन्त्री नियुक्त हुनुभएको छ । 
उपप्रधानमन्त्री पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ भने अर्का उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँहरूका साथै १९ जना मन्त्रीहरूले पनि सोही विशेष समारोहमा शपथ ग्रहण गरी पद बहाली गर्नुभएको छ ।  
मन्त्रिपरिषद्मा नेकपा (एमाले)बाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (मन्त्री– सञ्चार तथा सूचना प्रविधि), बलराम अधिकारी (मन्त्री– सहकारी तथा गरिबी निवारण), दामोदर भण्डारी (मन्त्री– उद्योग, बाणिज्य तथा आपूर्ति), देवेन्द्र दाहाल (मन्त्री– भौतिक पूर्वाधार तथा यातायात ), विद्या भट्टराई (मन्त्री– शिक्षा तथा विज्ञान प्रविधि), मानवीर राई (मन्त्री– रक्षा) र राजकुमार गुप्ता (मन्त्री– सङ्घीय मामिला तथा सामान्य प्रशासन) हुनुहुन्छ । 
यसैगरी नेपाली कांग्रेसबाट रमेश लेखक, (मन्त्री– गृह), आरजु राणा (मन्त्री– परराष्ट्र), तेजुलाल चौधरी (मन्त्री– युवा तथा खेलकूद), प्रदीप पौडेल (मन्त्री– स्वास्थ्य तथा जनसङ्ख्या), अजयकुमार चौरसिया (मन्त्री– कानुन, न्याय तथा संसदीय व्यवस्था), बद्री पाण्डे (मन्त्री– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), दीपक खड्का (मन्त्री– ऊर्जा, जलस्रोत तथा सिंचाइ),  रामनाथ अधिकारी (मन्त्री– कृषि तथा पशुपन्छी विकास), ऐनबहादुर शाही (मन्त्री– बन तथा वातावरण) हुनुहुन्छ । 
मन्त्रिपरिषद्मा लोकतान्त्रिक समाजवादी पार्टीबाट शरत्सिंह भण्डारी (मन्त्री– श्रम, रोजगार तथा सामाजिक सुरक्षा) हुनुहुन्छ भने जनता समाजवादी पार्टी नेपालबाट प्रदीप यादव (मन्त्री– खानेपानी) र नवलकिशोर साह सुडी (मन्त्री– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) हुनुहुन्छ ।  
अध्यक्ष ओलीले शपथ ग्रहणपछि लैनचौरस्थित शहीद स्मारकमा शहीदको शालिकमा माल्यार्पण गर्नुभयो भने  नेकपा (एमाले)  केन्द्रीय कार्यालय च्यासल पुगेर पार्टीका तीन शीर्ष नेताहरू नेकपाका संस्थापक महासचिव पुष्पलाल, पार्टीका पूर्व अध्यक्ष तथा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र पार्टीका तत्कालीन महासचिव जननेता मदन भण्डारीको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीसँगै नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र एमालेबाट नियुक्त मन्त्रीहरूले पनि  शीर्ष नेताहरूको तस्बीरमा माल्यार्पण गर्नुभएको थियो ।
माल्यार्पणपछि प्रधानमन्त्री ओलीलाई पार्टी कार्यालयमा भेला भएका एमालेका नेता तथा कार्यकर्ताले पुष्पगुच्छा प्रदान गरी, खादा लगाई बधाई तथा शुभकामना दिनुभएको थियो । सो अवसरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेललगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो । 
राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरू, सांसदहरू, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।