सार्क सदस्य राष्ट्रहरूका परराष्ट्र र विदेश मन्त्रीहरू,
मन्त्रिपरिषद्का मेरा सहकर्मी साथीहरू,
महामहिम सार्क महासचिव,
विशिष्ट प्रतिनिधिहरू,
महामहिमहरू,
पत्रकार मित्रहरू,
महिला तथा सज्जनवृन्द !
सुन्दर तालहरू, मनमोहक भूबनोट, अग्ला हिमालहरू र मिलनसार बासिन्दाहरूको शहरको रूपमा सुपरिचित शहर, पोखरामा सार्क मन्त्रिपरिषद्को ३७ औँ सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्न पाउँदा खुशी लागेको छ ।
म यहाँहरू सबैलाई यस शहरमा न्यानो स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ कि तपाईहरूले आफ्नो व्यस्तताका बीच केही समय निकाली शहरको प्राकृतिक सुन्दरतामा रमाउन भ्याउनुभएको छ । तपाईहरूको पोखरा बसाइ अविस्मरणीय रहनेछ भन्ने मैले विश्वास गरेको छु ।
महामहिमहरू एवं आदरणीय प्रतिनिधिहरू,
दक्षिण एसिया विश्वका गतिशील क्षेत्रहरू मध्येको एक हो । दक्षिण एसिया परिश्रमी जनताहरू, सम्पन्न सांस्कृतिक सम्पदा, आर्थिक सम्भावना, अवसरहरू र आशाहरूको क्षेत्र हो र यसले समग्र मानवजातिलाई अभिप्रेरित गर्ने सामर्थ्य भएका विश्वकै महानतम सभ्यताहरूको बिरासत बोकेको छ ।
दक्षिण एसियाली सभ्यताको धरोहरलाई अक्षुण्ण राख्न, सामर्थ्यलाई यथार्थमा अनुदित गर्न तथा दक्षिण एसियाली दाजुभाइ एवं दिदीबहिनीहरूको हित प्रवद्र्धन गर्न अब इतिहासले हाम्रो पुस्ता र भावी पुस्ताको काँधमा जिम्मेवारी सुम्पिएको छ ।
विश्व–अर्थतन्त्रको एक सशक्त मेरुदण्डको रूपमा दक्षिण एसियाको उदय भइरहेको छ । यस क्षेत्रमा भइरहेको आर्थिक प्रगति र सम्बन्धित सकारात्मक प्रभावको उचित लाभ उठाउँदै सार्कका उद्देश्य अनुरुप सहयोग प्रवर्धन गर्नु आजको आवश्यकता रहेको छ ।
यद्यपि, दक्षिण एसियाले एक साझा शत्रुको सामना गरिरहेको छ । त्यो शत्रु जसले हाम्रा क्षमताहरू क्षीण बनाइरहेको छ, त्यो शत्रु जसले हाम्रा साझा प्रयत्नहरूलाई गिज्याइरहेको छ, त्यो शत्रु जसले सम्पूर्ण दक्षिण एसियालाई भयभित बनाइरहेको छ र त्यो शत्रु जसले हाम्रा क्षमता र मनसायहरूको अग्निपरीक्षा लिइरहेको छ । र, त्यो शत्रु वास्तविक छ, सर्वव्याप्त छ र जिद्दी पनि छ । त्यो शत्रुलाई परास्त गर्न हाम्रो सघन सहकार्य जरुरी छ । यसका हरेक अवशेषहरू निर्मूल पार्न हाम्रो घनिभूत सहयोग जरुरी छ । यो साझा शत्रुलाई नामेट पार्न हामीले सहकार्यको भावना सहित अघि बढ्नु जरुरी छ ।
त्यो शत्रु हो गरिबी, पछौटेपन । यो शत्रुको जीत हामीले किमार्थ सहन सक्दैनौँ ।
विकासको परिदृश्यमा दक्षिण एसियाको उपस्थिति सदैव तल हुनुको कुनै खास कारण देखिन्न । तसर्थ, सहयोग कुनै दयाको विषय होइन । गरिबी र पछौटेपनरुपी शत्रुलाई परास्त गर्न क्षेत्रीय सहयोग त आधारभूत आवश्यकता हो । र, त्यसका लागि हामीसँग क्षमता र स्रोतसाधनहरू छन् । चिरस्थायी साझेदारीको अभिप्रायसहित सहकार्य र सहयोग गर्न उच्चराजनीतिक इच्छाशक्तिको जरुरी छ ।
हामीबीचको बढ्दो समझदारी, हाम्रा लचकता र हाम्रा सहकार्यले सकारात्मक वातावरण बनाउन अवश्य योगदान गर्नेछन् । सकारात्मक वातावरण– सार्थक सहकार्यका लागि, सकारात्मक वातावरण– गहन एकताका लागि, सकारात्मक वातावरण– दक्षिण एसियामा संरचनागत रुपान्तरणका लागि, सकारात्मक वातावरण– समृद्ध र आपसमा एकाकार भएको दक्षिण एसियाको सपनालाई मूर्तरुप दिनका लागि !
र, त्यस्तो वातावरण बनाउन र हामीले हाम्रा स्रोत साधनहरू, हाम्रो परिश्रम र हाम्रो लगावलाई परिचालन गर्न जरुरी छ । मूलभूत आर्थिक क्षेत्रहरूमा लगानी गरी एउटा त्यस्तो आधार निर्माण गर्न जरुरी छ, जसमा टेकेर दक्षिण एसिया पूर्ण सम्मानका साथ उभिनेछ ।
महामहिमहरू, आदरणीय प्रतिनिधिहरू
मजबुत क्षेत्रीय सहयोगका लागि सम्पर्क सञ्जाल (कनेक्टिभिटी) एक प्रमुख परिचालक हो । पूर्वाधार साथै विचारको सम्पर्क सञ्जाल, सूचना तथा सञ्चार प्रविधिका साथै ज्ञानको सम्पर्क सञ्जाल, साहित्य र संस्कृतिको सम्पर्क सञ्जाल, बजारको र साथसाथै मन–मस्तिष्कको सम्पर्क सञ्जालले दक्षिण एसियाली सहयोगको क्षमता अवश्य नै उद्घाटित गर्नेछ । सम्पर्क सञ्जालको बिस्तारले व्यापार तथा लगानी, पर्यटन, वाणिज्य र ऊर्जाका क्षेत्रका बहुपक्षीय प्रभावसहित सार्थक सहयोग अभिवृद्धि गर्नेछ ।
सम्पर्क सञ्जालको प्राणवायु बिनासमृद्ध दक्षिण एसियाको सपना जीवित रहन सक्दैन । सम्पर्क सञ्जालको मजबुत जगबिना गतिशील दक्षिण एसियाको स्तम्भ अडिरहन सक्दैन । सम्पर्क सञ्जालको आधारबिना दक्षिण एसियाली सहयोगको संरचना ठडिरहन सक्दैन । याद रहोस्, महिला तथा सज्जनवृन्द, क्षेत्रीय सहयोग कुनै दयाको विषय होइन र त्यसैगरी होइन कनेक्टिभिटी (सम्पर्क सञ्जाल) पनि ।
हामीले हाम्रा प्राथमिकताहरू सहीरूपमा किटान गर्नु आवश्यक छ र त्यसलाई व्यवहारमा उतार्नुपर्छ । व्यवहारमा हामी खरो उत्रन जरुरी छ । अहिले बोलेर भन्दा गरेर देखाउन जरुरी छ, हाम्रा अभिप्रायभन्दा ज्यादा सघन ढंगले गर्नु जरुरी छ । र, हामीले सामूहिक भलाइका लागि सामूहिकरूपमा कार्य गर्न जरुरी छ ।
विकसित दक्षिण एसियाको दृष्टिकोणलाई सार्थक तुल्याउन हामीले आर्थिक समृद्धिको इञ्जिनलाई गतिशील तुल्याउन आवश्यक छ । त्यो इञ्जिन भनेको व्यापार हो । दुर्भाग्यवश, दक्षिण एसियाको क्षेत्रीय व्यापार अत्यन्त न्यून छ । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र सार्क व्यापार सेवाको सम्झौता (साटिस्)का क्षेत्रमा द्रुत प्रगतिको आजको आवश्यकता हो । हुनसक्ने यस्ता आधारभूत संरचनाको सफल कार्यान्वयनको अभावमा, दक्षिण एसियाली आर्थिक युनियनको उद्देश्य केवल एक मृगतृष्णा रहनेछ ।
हामीले हाम्रा उद्देश्यसँग प्रतिबद्धताहरू र प्रतिबद्धतासँग कार्यान्वयनको तादात्म्यता कायम गर्न जरुरी छ । अवश्य पनि, विगतका प्रतिबद्धताको निर्णायक कार्यान्वयनका लागि अब समय आएको छ ।
विश्वव्यापीकरणका असाधारण लहरबाट विश्व गुज्रिरहँदा, दक्षिण एसिया फगत मूकदर्शक बनिरहन सक्दैन । विश्व मानचित्रमा एक महत्वपूर्ण पात्रका रूपमा स्थापित हुन सार्कले आफूलाई सक्रिय बनाउनै पर्छ । समग्र मानव समुदायको समृद्धिको लक्ष्य बोकेका अन्य अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनहरूसँग हाम्रो अन्तरक्रियालाई सबल तुल्याउँदै जान जरुरी छ ।
हाम्रो क्षेत्र प्राकृतिक प्रकोपहरूको पीडादायी प्रहार सहन अभिसप्त छ । भूकम्प र बाढीजस्ता प्रकोपहरूले धेरै नै क्षति पुरयाएका छन् । साथै, जलवायु परिवर्तनको प्रतिकूल र असमानुपातिक परिणाम पनि हामीले भोगिरहेका छौँ । गत वर्ष वैशाख महिनामा नेपालमा गएको भूकम्पलगायत दक्षिण एसियाका विभिन्न स्थानमा हालै गएका भूकम्पहरूले पुरयाएको विध्वंसात्मक क्षतिको नमीठो अनुभव हामीसँग छ ।
यसले दिएको सन्देश, सामूहिक तयारी, सामूहिक प्रतिकार्य र आपसी सहकार्यको हो । सामूहिक तयारी– त्यस्ता विपद्हरूबाट हुने हानीको रोकथाम गर्न, सामूहिक प्रतिकार्य– त्यस्ता प्रकोपहरूले निम्त्याउने विनाशको सामना गर्न, र आपसी सहकार्य– जलवायु परिवर्तनसँग जोडिएका प्रतिकूलताको न्यूनीकरण गर्न !
महामहिमहरू, विशिष्ट प्रतिनिधिहरू,
क्षेत्रीय सहयोगको केन्द्रभागमा यस क्षेत्रका जनतालाई राखी सार्क बडापत्रले जनता–केन्द्रित क्षेत्रीय गतिविधिहरूको परिकल्पना गरेको छ । जबसम्म हाम्रा जनताको जीवनस्तरमा सुधार ल्याउन सकिँदैन तबसम्म सार्क सफलताको कथा बन्न सक्दैन । अभावको अँध्यारोमा बाँचिरहेका जनताको जीवनमा आशा र प्रगतिका किरणहरू सार्कले ल्याउन आवश्यक छ । अभाव र पछौटेपनको शिकार भई बाँचिरहेका जनता, गरिबीको चरम अवस्थाले प्रताडित हाम्रा जनताको कल्याण नै हाम्रो एजेण्डाको प्राथमिकतामा पर्नुपर्छ । सार्क एक त्यस्तो क्षेत्रको रूपमा स्थापित हुन आवश्यक छ, जहाँ महिलाहरू सुरक्षित रहुन्, जहाँ बालबालिकाहरू सुरक्षित रहुन् र भयरहित, सम्मानका साथ बाँच्न सकुन् ।
सार्क– एउटा संगठन, तबसम्म सफलताको कथा बन्न सक्दैन, जबसम्म हामीले यस क्षेत्रका जनतालाई गरिबी र चरम अभावबाट उन्मुक्ति दिन सक्दैनौँ ।
दक्षिण एसिया– एउटा अवधारणा, सफलताको कथा त्यतिबेलासम्म बन्न सक्दैन, जबसम्म दक्षिण एसियाका जिज्ञासु मन–मस्तिष्कलाई उचित खुराक दिन हामी सक्दैनौँ, जबसम्म उनीहरूका परिश्रमी हातहरूलाई साधन सम्पन्न गराउन हामी सक्दैनौँ; र जबसम्म उनीहरूका सिर्जनशील आकाङ्क्षाहरूलाई मलजल गर्न हामी सक्दैनौँ ।
दक्षिण एसिया, एउटा भविष्य, सफलताको कथा त्यतिखेरसम्म बन्न सक्दैन, जबसम्म हामी हाम्रा युवाहरूमा लगानी गर्न सक्दैनौँ । दक्षिण एसियाली क्षेत्रका युवाहरूका लागि रोजगारी सृजना गर्न क्षेत्रीय सहयोग केन्द्रित हुनु आवश्यक छ । युवाहरूको योग्यताको अधिकाधिक उपयोग गर्न एवं उनीहरूको उर्जाशीलतालाई कायम राख्दै अभिवृद्धि गर्न यथेष्ट प्रयत्न हामीले गर्नैपर्छ । हामीले उत्पादनमूलक क्षेत्रहरूमा लगानी गर्नु आवश्यक छ । यस्ता क्षेत्र जुन युवाहरूको आप्रवासन रोकी उनीहरूलाई सुदृढ र विकसित दक्षिण एसियाको निर्माणकार्यका लागि सक्षम र सहभागी बनाउन आवश्यक छ ।
दक्षिण एसिया – एउटा सपना, तबसम्म सफलताको कथा बन्न सक्दैन, जबसम्म आफ्नो मातृभूमिलाई आफ्नो ऊर्जा र आकाङ्क्षाले समृद्ध तुल्याउने अवसर दक्षिण एसियाली जनताले प्राप्त गर्न सक्दैनन् ।
सफल दक्षिण एसिया, सफल सार्कको आधारशिलामा उभिएर हामीले अन्ततः साझा दक्षिण एसियाली पहिचानलाई सुदृढ तुल्याउनेछौँ । हाम्रा विद्यमान समानताहरू, हाम्रा साझा आस्थाहरू, हाम्रा साझा सम्पदा र हाम्रा साझा इतिहासलाई हामीले सम्हाली राख्नेछौँ ।
स्रोतसाधन र सम्भावनाहरूको प्रचुरताका बाबजुद दक्षिण एसियाको समग्र विकास अझै पछि परेको छ । पूर्णरूपमा निराशाजनक नभए पनि हाम्रो विकासको रेखाचित्र दयनीय छ । यद्यपि, दिगो र सम्पन्न अर्थतन्त्रको विकास गर्न, सिर्जनशील दक्षिण एसियालीहरूको सहभागितामा आधुनिक प्रविधिको विकास गर्न र विश्व–अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित हुन हामीसँग आवश्यक सामथ्र्य र क्षमता छ ।
सम्पूर्ण विश्वले हाम्रा सामर्थ्य र क्षमताहरूलाई ध्यानपूर्वक नियालिरहेको छ । हाम्रा प्रयासका साथै हाम्रा आकाङ्क्षाहरूलाई, हाम्रो गतिविधिका साथै प्रतिज्ञाहरूलाई नियालिरहेको छ, सदाशयताका साथै उत्सुकताका साथ नियालिरहेको छ ।
महिला तथा सज्जनवृन्द, हामीले दक्षिण एसियाको प्रतिष्ठालाई अभिवृद्धि गर्न, यस क्षेत्रका जनताका लागि सम्मुन्नत आर्थिक सम्भावना संवर्धन गर्न, र दक्षिण एसियालाई विश्व रङ्गमञ्चमा नेतृत्वदायी भूमिकामा उभ्याउन स्पष्ट दृष्टिकोण एवं दृढ प्रतिज्ञासहित अघि बढ्नु जरुरी छ ।
हामीले अब गर्ने बेला आयो, सामूहिकरूपमा गर्ने । दक्षिण एसियाको अवधारणा, भविष्य र सपनालाई यथार्थमा परिणत गर्न अहिलेदेखि नै हामीले हाम्रो साझा विवेक प्रयोग गरी अघि बढ्नु आवश्यक छ ।
यी सबै उत्साह र आशावादितासहित यो मन्त्रिस्तरीय बैठक, काठमाडौँ घोषणापत्र २०१४ मा समावेश गरिएका निर्णयहरूको कार्यान्वयनको समीक्षा एवं आगामी नोभेम्बर महिनामा पाकिस्तानमा आयोजना हुने १९ औँ शिखर सम्मेलनका लागि एजेण्डा तय गर्ने कार्यमा केन्द्रित रहनेछ भन्ने विश्वास मैले लिएको छु।
‘शान्ति र समृद्धिका लागि गहन एकता’ भन्ने १८ औँ सार्क शिखर सम्मेलनको नारा अनुरुप सार्क प्रक्रियालाई अघि बढाउन तपार्इंहरूले ठोस निर्णय लिन सफल हुनुहुनेछ भन्नेमा म विश्वस्त छु । विभिन्न सार्क संयन्त्रहरूले सम्पन्न गरेका उत्कृष्ट कार्यहरूको पनि म प्रशंसा गर्न चाहन्छु ।
महामहिमहरू तथा विशिष्ट प्रतिनिधिहरू,
गत वर्ष अप्रिल २५ मा नेपालमा गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनहरूले निम्त्याएको विपद्को दुःखद घडीमा, दक्षिण एसियाली मित्रहरूबाट स्वतःस्फुर्तरूपमा प्राप्त भएको उदार सहयोगले हामीलाई राहत दियो । उक्त कठिन परिस्थितिमा नेपाललाई सहयोग र सहायता गरेका सम्पूर्ण सार्क सदस्य राष्ट्रहरूप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु । सहयोगको त्यो उदाहरण दक्षिण एसियाली ऐक्यबद्धताको द्योतक थियो । कठिन र विषम परिस्थितिमा दक्षिण एसियालीहरू एकजुट भई एक–अर्काको सहयोगका लागि उभिन्छन् भन्ने कुराको त्यो प्रमाण बन्न पुग्यो । अझै बलियो पुनर्निर्माण गरी दीर्घकालीन दिगो विकास गर्ने उद्देश्यका साथ नेपाल अहिले ध्वस्त संरचनाहरूको पुनर्निर्माणको महत्वपूर्ण कार्यमा जुटिरहेको छ ।
आफ्नो मन्तव्य टुङ्ग्याउनु अघि, म नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा चर्चा गर्न चाहन्छु । जननिवार्चित संविधानसभाद्वारा हामीले लोकतान्त्रिक र समावेशी संविधान जारी गरेसँगै राजनीतिक र संवैधानिक इतिहासको नौलो युगमा नेपाल प्रवेश गरेको छ ।
मुलुकका विविध समुदायहरूका आकाङ्क्षाहरूका आधारमा समावेशी शासन पद्धति, लोकतान्त्रिक बहुलवाद, विधिको शासन र मानव अधिकारसम्बन्धी व्यवस्थालाई नयाँ संविधानले अङ्गीकार गरेको छ । संविधान घोषणा र संविधानको पहिलो संशोधनद्वारा हामीले लामो शान्ति प्रकृया र राजनीतिक संक्रमणलाई तार्किक निष्कर्षमा पुरयाएका छौँ । नेपालको यो महत्वपूर्ण राष्ट्रिय उद्देश्य हासिल गर्न नेपालका जनतालाई सार्क सदस्य राष्ट्रहरूबाट प्राप्त अविच्छिन्न समर्थन र ऐक्यबद्धताका लागि हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।
अब हाम्रो प्राथमिकता द्रुततर सामाजिक–आर्थिक परिवर्तन हासिल गर्ने दिशामा केन्द्रित हुन पुगेको छ । शान्ति र स्थायित्व भएको नेपाल, लोकतान्त्रिक र समृद्ध नेपाल दक्षिण एसियाको समेत हितमा हुनेछ भन्ने विश्वास मैले लिएको छु ।
१८ औँ सार्क शिखर सम्मेलनपश्चात् सार्क अध्यक्षको अभिभारा जिम्मेवारीपूर्वक बहन गर्न सम्पूर्ण सदस्य राष्ट्रहरूले गरेको सहयोगका लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु । यस क्षेत्रका जनताको निरन्तर प्रगति र समृद्धिका लागि समर्पित सार्कका आदर्श, सिद्धान्त र उद्देश्यहरूप्रति नेपालको पूर्ण प्रतिबद्धता फेरि एकपटक दोहोरयाउन चाहन्छु । म सम्पूर्ण सदस्य राष्ट्रहरूलाई दक्षिण एसियाली जनताको भलाइका लागि र दक्षिण एसियाली पहिचानलाई संवर्धन गर्न सार्कको मर्मलाई जीवन्त राख्न अपिल गर्दछु ।
फलदायी विमर्शको कामना गर्दै यस बैठकबाट प्रभावकारी उपलब्धिको अपेक्षा राखेको छु ।
यहाँहरूको नेपाल बसाइ सुखद् रहोस् ।
धेरै धेरै धन्यवाद ।
(१७ मार्च २०१६, पोखरामा आयोजित सार्क मन्त्रिपरिषद्को ३७ औँ सत्रको उद्घाटन सम्बोधनको अनुदित पाठ)