NP EN

कम्युनिष्ट पार्टीको सयबर्ष, समृद्ध नेपाल बर्ष

केपी शर्मा ओली, अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हीरक महोत्सवमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८१ बैशाख १० मा गर्नुभएको सम्बोधनको पूर्णपाठः
आजको खुशीको कुरा, हाम्रो पार्टीले स्थापनाका ७५ वर्षहरू, गौरवका ७५ वर्षहरू पार गरेको छ । यी गौरवका ७५ वर्ष यत्तिकै प्राप्त भएका होइनन् । यो गौरवभित्र, यो खुशीभित्र अर्को पाटो पनि छ– ठूलो सङ्घर्ष, ठूलो बलिदानको पाटो छ । हाम्रा विरुद्ध लगातार दमनहरू भइरहे । हामीले सङ्घर्ष गरिरह्यौँ, प्रतिवाद गरिरह्यौँ । हामीले बलिदानपूर्ण सङ्घर्र्ष, दुःख कष्टको बाटो हिंड्दै त्यसलाई पार पनि गर्दै आयौँ । र, हामीले ठूल्ठूला सफलताहरू पनि प्राप्त गर्दै आयौँ । यसमा आफ्नो जीवन आहुती दिएर सबैभन्दा महान् योगदान गर्नुभएको छ– शहीदहरूले । आज म उहाँहरूको बलिदानको अत्यन्त उच्च सम्मान गर्दै, उहाँहरूले देख्नुभएको सपना साकार पारि छाड्ने प्रण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । 
सहादत प्राप्त गर्ने शहीदहरू बाहेक अरु धेरैले, लाखौंले अनेकौ दुःखकष्ट र यातनाहरू सहेर यस आन्दोलनलाई रक्षा गर्नुभएको छ र विकास गर्नुभएको छ । उहाँहरू सबैप्रति म सम्मान व्यक्त गर्न चाहन्छु । 
हाम्रा अग्रजहरू यस आन्दोलनको सिर्जना गर्ने प्रेरणामा अझ पृष्ठभागदेखि १९९३ सालमा प्रजापरिषद् गठन भएर नयाँ आन्दोलनको परिवर्तनको शङ्खघोष गरेयता समाजमा जुन परिवर्तनको चेतना बढ्दै गयो र परिवर्तनका प्रयासहरू हुँदै गए,  सङ्घर्षहरू हुँदै गए, सफलताहरू प्राप्त हुँदै गए, त्यस बेलादेखिका टंकप्रसाद आचार्य, रामहरि शर्मा लगायतका लोकतान्त्रिक आन्दोलनका, परिवर्तनका शङ्खघोषकर्ताहरू लगायत गणेशमानजी, पार्टीका संस्थापक पुष्पलाल लगायत सम्पूर्ण संस्थापक नेताहरू र पछिल्लो समयमा पार्टीलाई अगाडि बढाउने क्रममा पार्टीको रक्षा मात्रै होइन, विकाससमेत गर्नेगरी, युगलाई बाटो देखाउने गरी जनताको बहुदलीय जनवाद प्रतिपादन गर्न अगुवाई गरेर एउटा नयाँ विचार प्रस्तुत गर्ने जननेता मदन भण्डारी लगायत पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, विपि कोइराला लगायतका नेताहरूलाई पनि म स्मरण र सम्मान गर्न चाहन्छु । 
यस आन्दोलनमा योगदान गरिरहेको आजको पुस्ता जो आत्मविश्वासका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाई छाड्ने सङ्कल्प बोकेर अगाडि बढिरहनु छ, उहाँहरू सबैलाई पनि म सलाम भन्न चाहन्छु । 
आज  सङ्घर्ष एउटा नयाँ उचाइमा पुगेको छ र हामीले अब एउटा नयाँ गन्तव्य स्पष्ट ढङ्गले तोकेका छौं– के हो समाजवाद ? त्यसको खाका प्रस्तुत गरेका छौं । कहिलेसम्ममा त्यसको टाइमलाइन (समयावधि) तोकेका छौं, कस्तो हुन्छ, त्यसको आकारचित्र तोकेका छौं । 
आज कम्युनिष्ट आन्दोलन अन्धकारमा छामछुम गर्दैै हिंडिरहेको छैन । आज कम्युनिष्ट आन्दोलन भड्किरहेको छैन । कम्युनिष्ट आन्दोलन अन्योलमा परिरहेको छैन । समृद्ध नेपाली सुखी नेपालीको गन्तव्य तोकेर त्यस गन्तव्यलाई हामी सय वर्ष पुग्दा त्यसलाई साकार पारिछाड्ने सङ्कल्पका साथ अगाडि बढेका छौं । यो सङ्कल्प अन्दाजको भरमा तोकेको होइन । यो सङ्कल्प समाजको विकासक्रम, परिवर्तन, त्यसका नियमहरू र कसरी समाजलाई अगाडि बढाउन सकिन्छ, खाली राजनीतिक रूपमा मात्रै होइन–आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पनि फेर्न सकिन्छ, त्यस कुरालाई ध्यानमा राखेर हामीले हरेक क्षेत्रका लागि तय गरेका छौं । यसलाई साकार पार्ने सङ्कल्पका साथ हामी ७५ वर्ष पूरा गरेर ७६ वर्षमा लागेका छौं । 
यति बेला म दमन, त्यसका विरुद्ध सङ्घर्ष, बलिदान र सफलताका, प्रतिरोधका सफलताका यी वर्षहरू पार गरेर यहाँसम्म कम्युनिष्ट आन्दोलनलाई ल्याइपुर्याउन ज–जसले जति बेला जस्तो योगदान गरेको छ, सबै साथीहरूलाई धन्यवाद भन्न चाहन्छु । जसले यस आन्दोलनलाई अगाडि बढाउन कुनै पनि समय सकारात्मक योगदान गरेको छ, म नेपालका सम्पूर्ण आपूmलाई कम्युनिष्ट ठान्ने साथीहरूलाई बधाई भन्न चाहन्छु । र, खासगरी नेकपा (एमाले)का तमाम कार्यकर्ता साथीहरूलाई म विशेष बधाई भन्न चाहन्छु । यदि नेकपा (एमाले) यस रूपमा वैचारिक स्पष्टता, आन्दोलनको स्पष्टता, सङ्घर्षमा स्पष्टता र दृढतामा अगाडि बढ्दैन्थ्यो भने कतिपय प्रश्नमा अन्योलता नहट्न सक्दथ्यो । आज नेपालको वामपन्थी आन्दोलन, लोकतान्त्रिक आन्दोलन यस रूपमा नहुन सक्दथ्यो, नरहन सक्दथ्यो । 
आजको दिवस कसैप्रति इङ्गित गर्ने, लक्षित गर्ने, घोचपेच गर्ने कुरै होइन, यो थलो पनि होइन । यो एउटा सामान्य समीक्षा गरेर हामीले आगामी दिनको आफ्नो बाटो कसरी अगाडि जान्छौं भन्ने कुराको सङ्कल्प गर्ने थलो हो । 
यसका निम्ति हिजो र अस्ति दुई दिन हामीले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गरेर धेरै महत्वपूर्ण निर्णयहरू गरेका छौं । जसभित्र राजनीतिक निर्णय, सांगठनिक निर्णय, संगठन कसरी चल्नु पर्दछ, कसरी अनुशासित हुनु पर्दछ, कसरी एकताबद्ध हुनुपर्दछ, कसरी आर्थिक अनुशासन लगायतका पक्षहरूमा ध्यान दिनु पर्दछ, कसरी व्यापक जनतामा यो आन्दोलन पुग्नु पर्दछ र जनताका सेवाका लागि कसरी समर्पित हुनु पर्दछ । राष्ट्रियताको प्रश्न के गर्नु पर्दछ र कसरी अगाडि बढ्नु पर्दछ, यी कुराहरू पनि स्पष्ट पारिएका छन् । यही ७५ वर्ष पूरा भएकै सन्दर्भमा हामीले यी कामहरू पनि गरेका छौं । म सबै साथीहरूलाई यस ठाउँमा आन्दोलन पुर्याउन जुन त्याग, तपस्या, बलिदान गर्नुभएको छ, जुन एकता देखाउनुभएको छ, बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु । 
यो पार्टीमा पाँच लाखभन्दा बढी सदस्य छन् । एक जनाले कहीँ कतै बोल्दा अलिकति जिब्रो चिप्लिए छ भने, लट्पटिएछ भने एमालेभित्र यस्तो भयो भनेर समाचार बन्छ, हङ्गामा चल्छ । त्यसले विभिन्न पक्षमा आशा पलाउन थाल्छ, एमालेभित्र यस्तो भयो, उस्तो भयो भनेर । यो हामी सर्तक हुने कुरा मात्रै हो । नेकपा (एमाले) एकढिक्का छ, एकताबद्ध छ, एकताबद्ध रहने छ । नेकपा (एमाले)ले आफ्नो काँधमा रहेको अभिभारा बुझेको छ– समृद्ध नेपाल, सुखी नेपाली । त्यो बनाइ छोड्नका लागि एकढिक्का, एकताबद्ध भई जुटेको छ । 
‘समृद्ध नेपाल, सुखी नेपाली’ हामीले मात्रै बनाउँछौ भनेको छैनौं  । हामी अरुसँग पनि सहयात्रा गर्छौं, अरुलाई पनि साथ लिएर बनाउँछौं । तर, यसको अगुवाई एमालेले गर्नु पर्दछ । यहाँ अगुवाई भन्दा पदको अगुवाई भनेको होइन, विचारधारात्मक अगुवाई नेकपा (एमाले)ले गर्दै आइरहेको छ । यो सरकारमा होस् कि नहोस्, प्रतिबन्धित अवस्थामा पनि गर्दै आइरहेको छ । राजा ज्ञानेन्द्रले तत्कालीन अवस्थामा हामीलाई थुनेका थिए, हिरासतमा राखेका थिए, दमन गरेका थिए । टेलिफोनका लाइन काटेका थिए । सडकमा मान्छे हिंड्न पाउँदैनथे, त्यस बेला राजाले नेपाल बन्द गरेका थिए । त्यस बेला पनि हामीले सही बाटो बोलिरहेका थियौं, हिंडिरहेका थियौं र त्यसमा सङ्घर्ष गरिरहेका  थियौं । 
कम्युनिष्ट आन्दोलनको ७५बर्ष लामो सङ्घर्षको एउटा महान् उपलब्धि हो– लोकतान्त्रिक गणतन्त्र । २००८ साल भदौमा भएको प्रथम सम्मेलनले वैचारिक रूपमा त्यसै प्रकारको दिशानिर्देश गरेको थियो । लोकतान्त्रिक गणतन्त्रको हाम्रो सपना पार्टी स्थापनाकालदेखिको हो । लोकतान्त्रिक गणतन्त्रको मागलाई लिएर हामीले २०२८ सालमा आएर सङ्घर्ष नै गर्यौं । त्यति बेला शब्द लोकतान्त्रिक सट्टा जनवादी भनिएको होला । जनवादी भनेको ठीकै हो–जनवाद । यसको कुनै गलत व्याख्या गर्नुपर्ने आवश्यकता छैन । हामीले जनवादी गणतन्त्रको सङ्घर्ष उसै बेलादेखि सुरु गरेका हौं । त्यसका लागिको आन्दोलन सुरु गरेका थियौं । अहिलेपछि आएर सबै शक्तिहरूका प्रयासहरू मिले, विचारहरू मिले र हामीले गणतन्त्र नेपाल बनाउन सक्यौं । 
जन्मसिद्ध श्रेष्ठताको एउटा पाखण्डी सिद्धान्त, एउटा हिपोक्रेसीबाट माथि उठाएर आम नेपाली जनतामा सार्वभौमसत्ता रहेको छ, जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् र सम्पूर्ण राज्यशक्तिका स्रोत जनता हुन् भन्ने मान्यता स्थापित गरेका छौं । जनताको सर्वोच्ता स्थापना गरेका छौं । यो गर्वको कुरा हो । यस बीचमा अहिलेसम्म तीन जना राष्ट्रपति हुनु भएको छ । राष्ट्रपतिको पद गणतन्त्रको प्रतीक हो र जनताको सर्वोच्चताको प्रतीक हो । कतिपयलाई यो नपच्न सक्छ । यसो ऐनामा हेर्छन्, हामीजस्ता श्रीपेच नलगाएका पनि राष्ट्रप्रमुख हुन सक्छ र भन्ने हिनताबोधी ग्रन्थीले तिनीहरू आफैँ दमित हुन्छन् । त्यसकारण उनीहरूलाई गणतन्त्र मन पर्दैन, श्रीपेच लगाएको चाहिन्छ । आम जनतामा उनीहरूको विश्वास हुँदैन तर हामी आम जनतामा विश्वास गर्छौं । 
आज यही जनताको विश्वासस्वरुप स्थापित गणतन्त्रको दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपति, अत्यन्तै देशभक्तिको भावना, लोकतन्त्रको भावना, जनपक्षीय भावना, समाजवादतर्फको प्रतिबद्धता आदि कुराहरूलाई हेरेर र उहाँको दृढता र  सङ्र्घषशील जीवनलाई हेरेर हामीले ‘गणतन्त्र गौरव’द्वारा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीलाई सम्मानित गरेका छौं । म उहाँलाई सिङ्गै पार्टीको तर्फबाट, सिङ्गै वामपन्थी आन्दोलनको तर्फबाट र यो सिङ्गै सभाको तर्फबाट र देशवासीको तर्फबाट बधाई भन्न चाहन्छु, धेरैधेरै बधाई छ । उहाँ आगामी दिनहरूमा सुस्वास्थ्यताका साथ, सफलताका साथ र आफ्ना उद्देश्यहरूमा सफतापूर्वक अगाडि बढ्न सक्षम हुनुहोस्, धेरैधेरै शुभकामना छ । 
कम्युनिष्ट पार्टी जन्मिएपछि देशमा लाभैलाभ
देशको हिसाबले भन्ने हो भने ७५ वर्ष ठूलो कुरा होइन होला । तर, हाम्रो देशको परिवर्तनको एउटा कारणले पनि हो, यो ७५ वर्ष घटनाक्रमहरूले भरिएको, उथलपुथलहरूले भरिएको, परिवर्तनले भरिएको ७५ वर्ष रह्यो । कम्युनिष्ट पार्टी देशका लागि यस्तो लक्षिनको छ, यसको जन्म भएपछि राणा शासन विरोधी आन्दोलनदेखि राणा शासन फालिने, अनेक खालका उथलपुथल भए र सधैं अन्तिममा जनताले जित्दै आएका छन् । देशको पक्षमा, राष्ट्रियताको पक्षमा, राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय हितहरूको पक्षमा, देशको भौगोलिक अखण्डताको पक्षमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने कुरामा कम्युनिष्ट पार्टीको सदैव सकारात्मक मात्रै होइन, अत्यन्तै उल्लेखनीय र महत्वपूर्ण भूमिका रहेको छ । गर्व गर्न लायकको भूमिका रहेको छ । 
कहिले कहिले गाउँघरतिर भन्छन्, मेरो त छोरी जन्मिएपछि लाभैलाभ भएको छ भनेर । नेपालमा पनि कम्युनिष्ट पार्टी जन्मिएर लाभैलाभ भएको छ । कम्युनिष्ट पार्टीको के स्थापना भयो, लाभैलाभ भयो । एउटा आन्दोलनतर्फ देश गयो ।
कम्युनिष्ट पार्टी कति स्पष्ट र दृढ छ भनेर हेर्ने हो भने २००७ सालको आन्दोलनलाई जसरी राणा, राजा र दिल्ली दरबार तीनवटा मिलेर सम्झौता गरेर बीचमै आन्दोलनलाई तुहाइयो, सफलतामा पुग्न दिइएन । राणा प्रधानमन्त्री भएरै आए, राजा राजा नै भएर आए, क्याविनेटमा एम्बेसडर बस्ने नै चलन चल्यो । तिनै हुन् त्यति बेलाका फोर्स । त्यसबेला कम्युनिष्ट पार्टीले आन्दोलनपूर्ण भएन, असफलतामा टुङ्ग्याइयो, गलत सम्झौतामा टुङ्ग्याइयो भनेर भन्यो । त्यो सानो साहसको कुरा होइन । कम्युनिष्ट पार्टीले त्यसलाई नमानेको ठीक थियो, सही थियो । २००७ सालको गलत सम्झौताका विरुद्ध पछि कतिपय अवस्थामा कम्युनिष्ट पार्टीले सही रुझान र दृष्टिकोण लियो । त्यसका विरुद्ध उभिँदा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । 
२००७ सालको आन्दोलन टुङ्गिएपछि त्रिभुवन राजा नै भए, मोहन शमशेर प्रधानमन्त्री नै भए, नेपाली कांग्रेस पनि सरकारमा सामेल भयो, कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । बीचका आन्दोलनका कुरा छोडौं । त्यसपछि २०१५ सालको संविधान जारी गर्ने बेलामा कम्युनिष्ट पार्टीले त्यसै बेला भन्यो, मनमोहन अधिकारी लगायत नेताहरूले त्यसै बेला भन्नुभएको थियो, संविधानमा धारा ५५ जस्तो स्वेच्छाचारी धारा राखेपछि राजाले जुन सुकै बेला पनि प्रतिगामी कदम चाल्न सक्ने, दलमाथि प्रतिबन्ध लगाउन सक्ने, संसद भङ्ग गर्न सक्ने अनेक खालका कुराहरू हुन सक्छन् । त्यसकारण यस्तो हुन नदिऊँ, यसमा होशियार हुनुपर्छ भनेर कम्युनिष्ट पार्टीले भनिरह्यो । आखिर २०१७ साल घट्यो । 
संसदमा कम्युनिष्ट पार्टीको चार सिट थियो । चार सिट भएको पार्टीले त्यहीं संसदको पुनस्र्थापनाको माग पुष्पलालले गर्नु भयो । जसको धेरै सिट थियो, उनीहरूले त्यो कुरा मानेनन् । कम्युनिष्ट पार्टीले लिएको अडान ठीक थियो । त्यो नभएपछि  कम्युनिष्ट पार्टीले माग थियो– राजाको प्रतिगमन विरुद्ध दमनमा परेका शक्तिहरू एकजुट भएर जाऔं । कम्युनिष्ट र कांग्रेस मिलेर राजाको तानाशाहीका विरुद्ध सङ्घर्ष गरौं । त्यसलाई समयमै साकार पार्न सकेको भए ३० वर्ष पञ्चायत रहन सक्ने थिएन । 
२०४६ साल भदौमा कम्युनिष्ट पार्टीको चौथो महाधिवेशन भयो । त्यस महाधिवेशनले फेरि एकपटक कम्युनिष्ट कांग्रेस सबै मिलेर राजाको निरङ्कुशतन्त्र र पञ्चायती  तानाशाहीका विरुद्ध सङ्घर्ष गर्नु पर्छ भनेर पास गर्यो । प्रयासहरू अगाडि बढाइए । मदन भण्डारीको प्रयासमा विशेष प्रयासहरू अगाडि बढाइए । म गणेशमान सिंहजीलाई धन्यवाद भन्न चाहन्छु । उहाँले त्यस कुरालाई मञ्जुर गर्नु भयो र नेपाली कांग्रेस त्यस कुरामा सहमत हुन आयो । संयुक्त जनआन्दोलन भयो र २०४६÷०४७ सालको आन्दोलन सफतापूर्वक अगाडि बढ्यो । राजा झुक्न बाध्य भए, पञ्चायत गयो र राजा संवैधानिक हुन पर्यो । 
कम्युनिष्ट पार्टीले जाली जनमत सङ्ग्रहमा भएको धाँधलीको परिणामलाई स्वीकार गरेन । जनमत सङ्ग्रह जस्तो लोकतान्त्रिक अभ्यासको परिणाम स्वीकार गर्नु पर्छ भन्ने कुनै भ्रमपूर्ण कुरामा फसेन । कम्युनिष्ट पार्टीले जाली जनमत सङ्ग्रह र धाँधलीपूर्ण परिणाम मान्य छैन, लोकतन्त्र कुनै पनि अर्थमा, कुनै पनि नाटकवाजीले लोकतन्त्रको अपरिहार्यतालाई अस्वीकार गर्न सक्दैन भन्ने मान्यतामा कम्युनिष्ट पार्टी त्यति बेला पनि उभियो । पछि हामीले फेरि बहुदलीय व्यवस्था ल्याउन सफल भयौ । म अहिले बीचका कुराहरूमा धेरै जान चाहन्नँ । त्यसपछि दरबार हत्याकाण्ड भयो । दरबार हत्याकाण्डले एउटा परिस्थिति सिर्जना गरेको थियो कि वास्तवमा राजतन्त्र त्यति बेलै समाप्त भयो । संविधान बमोजिम राजतन्त्र त्यति बेलै समाप्त भयो, व्यवहारिक रूपमा समाप्त भयो । तर त्यस बेला तत्कालीन पार्टीहरूले राजनीतिक कदम लिन नसक्दा, सरकारले लिन नसक्दा खोेजेर एउटा राजा राख्नुपर्ने, कुशको राजा बनाएर चामल गाडेर राख्नुपर्ने भयो । 
त्यसरी राजतन्त्र जोगाउने अवस्था सिर्जना भयो । फेरि उही २००७ सालमा डोकामा बोकेर दिल्लीबाट ल्याएको जस्तै फेरि एउटा कुशको राजा थपना भयो । ती राजाले म मेरो दाइ जस्तो होइन भन्दै जनताका अधिकार फेरि खोस्ने र अध्यारो युगतिर देशलाई लाने प्रयास गरे । त्यसका विरुद्ध २०६२÷०६३ को आन्दोलन भयो र हामी जहिले पनि सही राजनीतिक धारको पक्षपोषण र नेतृत्व गर्दै आयौं । माओवादीले चलाइरहेको सशस्त्र क्रियाकलापहरू र त्यसका विरुद्ध सरकारले चलाइरहेको सशस्त्र दमन । यो दुईवटालाई संवादको माध्यमबाट एक ठाउँमा ल्याएर शान्ति स्थापना गर्नु पर्छ भन्ने नीति नेकपा (एमाले)ले लियो । म गिरिजाप्रसाद कोइरालालाई धन्यवाद भन्न चाहन्छु, स्मरण गर्न चाहन्छु । उहाँले त्यस कुरालाई मञ्जुर गर्नु भयो र उहाँ दुई जनामध्ये प्रधानमन्त्रीको हैसियतले हस्ताक्षरकारी हुनुभयो र अर्का हस्ताक्षरकारी प्रचण्डजी यहीं हुँदै हुनुहुन्छ । जेहोस्, शान्ति स्थापना भयो । यस मामलामा योगदान उहाँहरूको छैन होइन, उहाँहरूको छ । शान्तिपूर्ण र वार्ताको माध्यमबाट यस समस्याको समाधान गर्नु पर्छ र शान्तिपूर्ण अवस्थामा देशलाई फर्काउनु पर्छ भन्ने कुरा नेकपा (एमाले)ले गर्यो, यो नीति एमालेले लियो । अर्थात्, हामीले अनेक हिसाबले हरेक समयमा सही खालका नीतिहरूका साथ अगाडि बढ्दै गयौ । र, पछि कहिले उतार कहिले चढाव आन्दोलनमा भइरहन्छ र भइरहे । कहिले विखण्डन पनि भए तर आम ट्रेण्ड भन्ने हो भने एकता एकीकरणको रह्यो । दुई पटक अनावश्यक, अनुचित, हानिकारक विभाजन भए । २०५४ मा एउटा विभाजन भयो, जो उपयुक्त थिएन, गर्नै हुँदैनथ्यो, हुनै हुँदैनथ्यो, भयो । कसको दोष त्यतापट्टी म जान चाहन्नँ । त्यसै गरेर ०७७÷०७८ सालमा दुईवटा विभाजन भए । कसको के दोष, त्यतापट्टी पनि म जान चाहन्नँ, समयमा समीक्षा गरौंला । तर, विभाजन हुनै हुँदैन्थ्यो, अत्यन्तै हानिकारक भयो ।


अहिले सिङ्गै देश एक हुनुपर्दछ
अब यस अवस्थाबाट हामी फेरि उठेका छांै, विभाजनबाट फेरि उठेका छौं र अघि प्रचण्डजीले भनेको जस्तै अहिल्यै हामी तत्काल पार्टी एकीकरण गरिहालौं, पार्टी एकीकरण भइहाल्छ, यो फेरि अर्को व्यक्तिगत आकाङ्क्षा तुष्टिको विषय मात्रै हुनसक्छ । यसले फेरि आन्दोलनमा अरु प्रकारका समस्या पैदा गर्न सक्छ । अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं, अगाडि बढ्छौं र क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छांै, त्यस विन्दुमा पुग्न सक्छौ । तर, अहिले नै एकीकरण गरौं, सबै देशभरिका मिलौ भन्ने हो भने फुटेका किन थियौं ? किन फुटेका थियौं ? के भएर फुटेका थियौं ? यस्ता प्रश्नहरू उठ्छन् । अहिले सहमतिका लागि सहकार्यबाट जाऔं । 
अर्को कुरा के हो भने, अहिले यति बेला ठ्याक्कै बामपन्थीहरू मात्रै मिलेर अघि बढ्ने अवस्था होइन । देशभक्त शक्तिहरू राष्ट्रिय शक्तिको रूपमा काम गर्न जसले मञ्जुर गर्छ, त्यस्ता शक्तिहरू, देशको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, देशको स्वाधीनताको पक्षमा, स्वतन्त्रताको पक्षमा, भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितहरूको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा हुने मानिसहरू, भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न नदिने, भ्रष्टाचार नियन्त्रणको पक्षमा हुने व्यक्ति शक्तिहरू, त्यसै गरेर विकासलाई अगाडि बढाउनुपर्छ, समाजमा शान्ति र सुव्यवस्था कायम गर्न सक्नुपर्छ । 
हामी विभिन्न जातजातिहरू छौं, भाषाभाषीहरू छौं, हाम्रा आफ्ना खालका विश्वासहरू छन्, तिनीहरूलाई सम्मान गर्न छोडेर, तिनका बीचमा अविश्वास बढाउने क्रियाकलाप गर्यों भने देश विथोलिन्छ, देशमा अनेकता हुन्छ, देशले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता बनाउने र एकताबद्ध भएर राष्ट्र निर्माण गर्ने महान् अभियानलाई त्यसले कुठाराघात गर्छ । त्यसकारण त्यस्तो नगर्ने राष्ट्रिय एकताको पक्षमा रहेका यस्ता शक्तिहरू मिलेर अगाडि बढ्न सकिन्छ । एकताका दुईवटा पक्ष छन् । अहिले सिङ्गै देश एक हुनुपर्दछ । सिङ्गै देश के कुरामा एक हुन सकिन्छ भने अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौं, सबल बनाऔं । यसलाई माध्यम बनाएर सुशासन र विकासको बाटोमा अगाडि जाऔं । साम्प्रदायिक विद्वेष होइन, सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता कायम गरौं । यसबाट अगाडि बढ्न सकिन्छ । लोकतन्त्रको रक्षा गरौं, लोकतन्त्रको विकल्प खोज्ने होइन । लोकतन्त्रको रक्षा गरौं, त्यस मामलामा सिङ्गै देश एक हुन सकिन्छ र हुनुपर्छ । 
केही मान्छेहरू एकातिर कुनामा केही देखिहाल्यो भने हौसिएर प्रतिगमनका कुरा गर्ने खालका कुराहरू छोडौं । साम्प्रदायिक विद्वेष भड्काउने कुरा गर्ने खालका कुराहरू छोडौं । अहिले नयाँ कुरा के के न उठेको जस्तो, यस्तो गर्नुपर्ने आवश्यकता छैन । हिजो पनि मेची अञ्चल थियो, कोशी अञ्चल थियो, सगरमाथा अञ्चल थियो, जनकपुर अञ्चल थियो, बागमती अञ्चल थियो, नारायणी अञ्चल थियो, लुम्बिनी अञ्चल थियो, गण्डकी अञ्चल थियो, भेरी अञ्चल थियो, राप्ती अञ्चल थियो, कर्णाली अञ्चल थियो, सेती अञ्चल थियो, महाकाली अञ्चल थियो । हिजो पनि यस्तै त थिए नाम । त्यसकारण आज धेरै संवेदनशील हुने, त्यस तथाकथित संवेदनशीलतालाई हिंसातिर उतार्ने, हिंसातिर भड्काउन, बहकाउन खोज्ने जस्ता कुराहरू उचित हुँदैनन् । त्यसका लागि समाधानका बाटा छन्, निकाय छन्, संस्था छन् । त्यहाँ बसेर छलफल गरे भयो । छलफलको बाटो, शान्तिपूर्ण बाटोबाट गर्नु पर्छ ।
युद्ध भइरहेका देशमा छलफलबाट, वार्ताबाट शान्तिपूर्ण ढङ्गले समाधान हुन्छ । युद्धले समाधान गर्दैन, वार्ताले समाधान गर्छ । त्यसो भएर कुनै समस्या छन् भने शान्तिपूर्ण बाटोबाट जाने कुरामा सहमत हुने । यसो भएपछि आधारभूत रूपमा लोकतन्त्रको रक्षा, देशको हितको रक्षा, देशको सार्वभौमसत्ताको रक्षा, विकासको प्रश्न, सुशासनको प्रश्नमा एकजुट भएर जान सकिन्छ र लोकतान्त्रिक प्रणालीको यथार्थमा लोकतान्त्रिक अभ्यासद्वारा त्यस प्रक्रियाको माध्यमबाट देशलाई सबल बनाउन सकिन्छ । यसमा अगाडि जाऔं । यो सबैका निम्ति आधारभुत एकताको कुरा हो ।

भोकमरी र गरिबीको समस्या अशोभनीय 
सरकारमा अहिले नयाँ समीकरण बनेको छ । यो समीकरण यिनै प्रश्नहरूमा र त्यसमा पनि विकास निर्माण गर्ने, शान्ति सुव्यवस्था कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने,  देशमा विकासको अभियान चलाउने र जनताका जल्दाबल्दा समस्या समाधान गर्ने, भूमिहीन सुकुम्बासीका समस्याहरू, गरिबहरूका समस्यादेखि लिएर अरु समस्या समाधान गर्ने । 
देशको यति बेलाको सबैभन्दा ठूलो चुनौती के हो र कलङ्कको विषय के हो भने २१औं शताब्दीमा लोकतन्त्र आइसकेपछिका यति दशक भइसकेपछि, प्रगतिशील, लोकतान्त्रिक सरकारहरू बनिसकेपछि पनि यस्तो उर्वरता र जीवन्तता भएको जीवनमय देशमा भोकमरीको समस्याले, गरिबीको समस्याले जनता पिल्सिनु र हामी त्यसलाई सम्बोधन गर्न असफल हुनु सबैभन्दा अशोभनीय र नसुहाउने कुरा हो । त्यसकारण यसको अन्त्य गरिनुु पर्दछ । अहिले हामी सरकारमा हुनेहरूको प्रमुख कर्तव्य त्यो हो कि हामी गरिबीको अन्त्य गरौं, गरिबी निवारण गरौं । हामीले ठोस कार्यक्रम त्यसका लागि बनाउनु पर्दछ र त्यो काम भ्रष्टाचार नियन्त्रण गरेर विकासका ठोस योजनाहरू ल्याएर नयाँ ढंगले प्रयोग गर्न सक्छौं । विकासमा प्रविधिको प्रयोग गरेर गर्न सक्छौं । यी चिजहरूलाई यसरी अगाडि बढाउन सकिन्छ । यसमा सरकारमा रहेका दलहरूले यी कुराहरूलाई ध्यानमा राखेर फराकिलोपनका साथ र हामीले साँच्चै केही गर्नु छ भन्ने कुरालाई ध्यानमा राखेर, राजनीति खाली प्रचारवाजीको विषय होइन, उपलब्धि प्राप्ति गर्ने विषयको रुपमा अगाडि बढाउनु पर्छ । यस हिसाबले अगाडि बढ्नु पर्छ भन्ने म राख्न चाहन्छु । 
हाम्रा नीतिहरू स्पष्ट छन् 
जहाँसम्म एमालेको कुरा छ, एमालेका नीतिहरूमा दुनियाँलाई स्पष्ट होस् भनेर म भन्न चाहन्छु,– नेकपा (एमाले) राष्ट्रियताको सवालमा सुदृढ छ, दृढ छ । देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रतालाई यसले सबैभन्दा माथि राख्छ, भौगोलिक अखण्डतलाई यसले माथि राख्छ । यसमा कुनै कम्प्रमाइज हुँदैन, तलमाथि हुँदैन, यसको रक्षा गरिन्छ भन्ने कुरा स्पष्ट छ । नेकपा (एमाले)को यो नीति हो । यसको अर्थ, सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने नीतिका साथ अगाडि बढ्छ । म भन्न चाहन्छु– आफ्ना जायज अडान बाहेक कहिल्यै पनि राष्ट्रियताको प्रश्न होस् वा जुनसुकै प्रश्न होस्, नेकपा (एमाले)ले जायज अडान बाहेक नाजायज अडान कुनै पनि राख्दैन । सधैं जायज अडान राख्छ । राष्ट्रिय हितको कुरा गरिरहँदा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व जस्ता विषयहरूलाई साथसाथै लिएर जान्छ । 
हामी हाम्रा छिमेकीहरूसँग सार्वभौम समानताका आधारमा, पारस्परिक लाभ र सम्मानका आधारमा, न्यायका आधारमा सुमधुर सम्बन्ध स्थापना गर्न चाहन्छांै, बढाउन चाहन्छौ र सुदृढ गर्न चाहन्छौं । कुनै पनि छिमेकीका विरुद्ध हामी हाम्रो भूभाग, भूमि प्रयोग गर्न दिंदैनौं । हाम्रा नीतिहरू स्पष्ट छन् । हाम्रो भूमि हामी कसैलाई प्रयोग गर्न दिंदैनौ । हाम्रो भूमि प्रयोग गर्न दिंदैनौको अर्थ एउटा छिमेकी कसैको पनि अहित हुने गरी कुनै प्रकारका गतिविधि कसैले पनि कतै गर्न पाउँदैन नेपाल भूमिलाई प्रयोग गरेर, त्यसमा हामी स्पष्ट छौ । यो कसैका विरुद्ध छैन, सबैको पक्षमा छ, परेका बेला थाहा हुनेछ, यो सबैको पक्षमा छ । 
हामीले राजनीतिक रूपमा लोकतान्त्रिक प्रणाली अङ्गिकार गरेका छौं । यो अरुले ल्याइदिएको, अरुले सङ्घर्ष र बलिदान दिएको, अरुले जेलनेल खटेको, अरुले निर्वासन खटेको, अरुले घाइते हुनु परेको, अरुले चुटाइ खाएको, अरुको सर्वस्व हरण भएको अनेक परिस्थितिमा हामी आएर लोकतन्त्र स्वीकारेर चर्का कुरा गरेका होइनौं । हामी त लोकतन्त्रका लागि सङ्घर्ष गरेर, बलिदान दिएर, आन्दोलनमा धेरै क्षति बेहोरेर आएका शक्ति हौं । यो लोकतन्त्र हामीले ल्याएको लोकतन्त्र हो । त्यसकारण कसैले कम्युनिष्टहरू पनि लोकतन्त्र मान्न थाले भन्छ भने नबुझेको कुरा हो । यो पार्टी बनेपछि नै आएको लोकतन्त्र, यो पार्टी आएपछि नै आएको लोकतन्त्र हो । हरेक चरणमा लोकतन्त्रका लागि नेकपा (एमाले)को भूमिका अथवा यस पार्टीको भूमिका सदैव वैचारिक र व्यावहारिक हिसाबले पनि अग्रगामी रहेको छ । त्यसकारण लोकतन्त्र र लोकतन्त्रका मूल्यमान्यताहरूको निष्ठा थोपरिएको वा बाध्यताले बेहोर्नु परेको निष्ठा होइन । यो हाम्रो बलिदानले ल्याएको चिज भएको हुनाले हाम्रो आफ्नो यसमा अपनत्व छ, लगानी छ, बलिदान छ, हामीले सङ्घर्ष गरेर ल्याएको यसप्रति हाम्रो माया छ । यो हाम्रो विश्वास हो, लोकतान्त्रिक प्रणाली देश विकासका लागि उपयुक्त असल साधन हुन सक्छ । साध्य भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । यो राष्ट्रको सीमाको रक्षा, सार्वभौमसत्ताको रक्षा, स्वाधीनताको रक्षा, यस देशका जनताको खुशीयाली, सुख यही हो गन्तव्य । अरु कुरा भनेका तपसिलका कुरा हुन् । यो तपसिलको कुरा भए पनि यो अपरिहार्य एउटा माध्यम हो, जसबाट हामी देशको रक्षा गर्न सक्छांै, देशको विकास गर्न सक्छौं । त्यसकारण लोकतान्त्रिक प्रणालीप्रतिको हाम्रो निष्ठामा कुनै कसैमा दुविधा छैन र हुन सक्दैन । 
किन हामी नै चाहिन्छ ?
अर्को सामाजिक न्याय र समानता हो । हामी समाजवाद, समाजवाद भनिरहेका छौं, दुनियाँमा लडाइँ छ–पुँजीवाद र समाजवादको । एक सय रुपैयाँबाट सुरु भएको सामाजिक सुरक्षाको अवधारणा सुरु गर्न किन हामी नै चाहिन्छ ? चार हजार पुर्याएको सामाजिक सुरक्षा भत्ताका लागि किन हामी नै चाहिन्छ ? किन ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क बीमा खोल्नका लागि हामी चाहिन्छ ? किन हामी नै चाहिन्छ अनेक सामाजिक सुरक्षाका कुराहरूका लागि ? महिलाहरूको हेरविचार गर्न वा बालबालिकाको हेरविचार गर्न, सडक बालबालिका उठाउन, सडक बालबालिकाको हेरविचार गर्न, शिक्षाको अभियान चलाउन किन हामी नै चाहिन्छ ? किनभने हामी वैचारिक हिसाबले समाजवादी हांै, समाजवादमा पुग्ने हाम्रो लक्ष्य छ, त्यसकारण समाजवाद भनेको जनता केन्द्रित, जनताको सुखालीका लागि, जनतामा सार्वभौमसत्ता रहेको, जनता सुखी र सम्पन्न भएको प्रणाली हो– समाजवाद । सामाजिक न्याय र समानता भएको प्रणाली हो– समाजवाद । कोही पनि गरिब नभएको प्रणाली हो– समाजवाद, धनी भनेर अलिकति मान्छे धनी हुने, अरु गरिब हुने प्रणाली होइन । त्यसकारण हामी समाजवादी भएको हुनाले लोककल्याणका अवधारणाहरू, समाजकल्याणका अवधारणाहरू, सामाजिक न्याय र समानताका अवधारणाहरू हाम्रो पार्टीले ल्याएको हो । साथीहरू यसमा स्पष्ट हुन म सबैलाई आग्रह गर्दछु । यो अन्यायपूर्ण कुरा होइन, देश समृद्ध हुनु पर्दछ । समाजवादसम्म मान्छे धनी हुन्छन्, अरु कतिपय धेरै धनी होलान् । तर खान लगाउन पाउनेदेखि लिएर मानिसका जैविक र मानवीय उचित आवश्यकताहरूको यथोचित परिपूर्ति हुने प्रणाली, अधिकार सम्पन्न हुने प्रणाली, अधिकारसम्म जनताको पहुँच हुने प्रणाली हामीले लागु गर्न खोजेको हो । त्यसकारण यसमा सामाजिक हिसाबले कम्युनिष्ट पार्टी अग्रणी रहेकोमा कुनै दुविधा छैन । 
देश विकासको सन्दर्भमा भन्ने हो भने एमाले सरकारमा आउँदा तपाईंहरूले देख्नु भएको छ, निकट विगतलाई मात्रै हामीले हेर्यौं भने विकास कसरी हुन्छ, कसरी विकासको लहर चल्छ, सबै विरोधीहरूका मनमा ढ्याङ्ग्रो ठोक्नेगरी विकासको लहर चल्दो रहेछ नि, चल्यो । त्यसो भएर विकासका कुराहरू, पूर्वाधारका कुराहरू, बिजुलीका कुराहरू, जनतालाई सेवा सुविधा पर्याउने कुराहरूमा हाम्रो पार्टीको ध्यान जान्छ, ध्यान जानेछ । 
तसर्थ, म साथीहरूलाई भन्न चाहन्छु, समाजमा जसको कोही छैन, त्यसका लागि सरकार छ, त्यो हाम्रो नारा हो । जसको कोही छैन, आमाबाबु नभएका अनाथ बालबालिकाका लागि सरकार छ । सहारा नभएका ज्येष्ठ नागरिकहरूका लागि सरकार छ, अन्धाअपाङ्गता भएका अशक्त व्यक्तिहरूका लागि सरकार छ, पैसा नभएर बिरामी परेकाहरूका लागि सरकार छ । त्यो स्थिति हुनु पर्दछ, अनि समाज समाज जस्तो, राज्य राज्य जस्तो जनताप्रति उत्तरदायी राज्य हुन सक्दछ, हो त्यो हामीले बनाउन खोजेको हो । त्यो परिपाटी हामीले स्थापना गर्न खोजेका हौं । 
म देशवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आजको यस विशेष दिनमा ७५ वर्ष पूरा भएको अवसरमा भन्न चाहन्छु, आगामी २५ वर्षमा हामी एकसय वर्ष पुग्छांै । सय वर्ष पुग्दा नेपालमा गरिबी भन्ने चिज कुनै नरहने मात्रै होइन, समृद्ध नेपाल हुनेछ, सुखी नेपाली हुनेछ । त्यो बनाउनका लागि नेकपा (एमाले)ले अगुवाई गर्छ । म सबै पक्षहरूलाई आग्रह गर्न चाहन्छु, यो अभियानमा जुटौं । यो अभियान नेकपा (एमाले)को हो । अहिले कस्तो भएको छ भन्दा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली भन्छ’, अरु पार्टीहरूलाई त्यसो भन्न हिरिक्क घाँटीमा अड्किन्छ । ठ्याक्कै अड्किन्छ ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्न पर्यो भने । साझा अभियान र साझा सङ्कल्प बनाऔं– समृद्ध नेपाल सुखी नेपाली । सबै त्यस उद्देश्य प्राप्तिका लागि अगाडि बढौं, म आग्रह गर्न चाहन्छु । 
देशभरिका दाजुभाइ दिदीबहिनीहरूलाई आजको यस विशेष दिनमा म आग्रह गर्न चाहन्छु, कुनै प्रकारका भ्रममा नरहौं । समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान हो, हाम्रो गन्तव्य हो । यस सन्दर्भमा हामीले कृषिमा रहेको ६० प्रतिशत जनसङ्ख्यालाई आधुनिकीकरणतर्फ लाने, व्यावसायिकीकरणतर्फ लाने, त्यसमा आधारित साना उद्योगहरू र उद्यमशीलताको विकासमार्फत नयाँ नेपाल सिर्जना गर्ने, उद्योगहरूको स्थापना गर्ने र खास गरेर आपूmलाई चाहिने उपभोग्य वस्तुहरूका लागि उद्योगहरूको स्थापना गर्ने, जसबाट उपभोग्य वस्तुका लागि आयात घटाउन सकियोस्, निर्यातमूलक उद्योगहरू स्थापना गर्ने, जसबाट हामीले निर्यात बढाउन सकियोस् । यी कामहरू गरौं । लगानी त्यो ठाउँमा गरौं, जहाँ हामीले अलिक पूर्वाधार विकास गरेका छौं । अब लगानी उत्पादन, उत्पादकत्व र उद्यमशीलतामा लगाऔं, उद्यमशीलताले रोजगारीका अवसरहरू आफैँ सिर्जना गर्छ । त्यसका निम्ति उपयुक्त जनशक्ति निर्माणका लागि एउटा राष्ट्रिय शैक्षिक नीति, नयाँ नीति तर्जुमा गरौं । अब नयाँ नीतिबाट उपयोगी शिक्षा, व्यावसायिक शिक्षा, जीवन उपयोगी शिक्षा, सर्टिफिकेट झोलामा हालेर पीडित हुनु नपर्ने, सर्टिफिकेटभन्दा बढी कामले मान्छे चिनिनेखालको स्थिति हुनुपर्छ । बोलीबाटै चिनियोस्, कुन योग्यता छ भन्ने कुरा कामबाटै चिनियोस् । त्यस प्रकारको स्थिति बनाउने शिक्षातर्फ जाऔं । स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो । 
हामीले आवास लगायत खाद्यान्न मौलिक अधिकारमा राखेका छौं । अहिलेको जमानामा मौलिक अधिकारभित्र यी कुराहरू पर्नु स्वभाविक हो । तर, ती मौलिक अधिकारहरूलाई हामी सम्बोधन गर्न सकिराखेका छैनौं, अबका दिनमा ती चिज गर्ने गरी जाऔं । कम्युनिष्ट पार्टीको ध्यान अस्वस्थ प्रतिस्पर्धामा छैन । म सबै पार्टीहरूलाई भन्न चाहन्छु र सिङ्गै देशलाई भन्न चाहन्छु– लोकतन्त्र भनेको अस्वस्थ प्रतिस्पर्धा होइन । लोकतन्त्र लादिएको होइन, हामीले छानेर ल्याएको प्रणाली हो । यस प्रणालीलाई सही प्रक्रिया र अभ्यासमार्फत हामीले अगाडि बढाउनुपर्छ, सही अभ्यासमार्फत यस प्रणालीलाई हामीले अझ सुदृढ र विकसित गर्दै लानु पर्छ । यसमा राज्य संरचनाका प्रश्नहरू, ती संरचना देशका निम्ति राज्य संरचना हुनुपर्दछ, जनताका निम्ति हुनु पर्दछ, विकासका निम्ति हुनु पर्दछ, जनतालाई डेलिभरी दिने खालका हुनुपर्छ । तिनको परिचालन त्यसै गरी हुनु पर्दछ । तिनको संरचनागत गठन पनि त्यसै गरी हुनु पर्दछ । यस विषयमा अब बिलम्व नगरिकन हामीले सोच्ने र कदम चाल्ने बेला भएको छ भन्ने मलाई लाग्छ । मूलतः कम्युनिष्ट पार्टीका नीति यी हुन् । 
हामी विश्व शान्तिको पक्षमा छौं 
हामी विश्व शान्तिको पक्षमा छौं । हामी विश्वमा कहीं पनि अशान्ति नहोस् भन्ने पक्षमा छौ । अहिले विभिन्न ठाउँमा हिंसा भइराखेको छ, युद्ध भइराखेको छन् । ती अबिलम्व रोकिउन् र संवादका माध्यमबाट यिनको समाधान गरियोस् । दमनबाट होइन, न्याय र सम्मानको माध्यमबाट, न्यायोचित तरिकाले यिनको समाधान गरियोस् । हामी त्यो चाहन्छौं । शक्तिको बलमा होइन, न्यायको बलमा यिनीहरूको निरुपण होस् । न्यायको बलमा यी कुराहरूको समाधान खोजियोस्, हामी त्यस्तो चाहन्छौ । विश्व अर्थतन्त्रको सन्भर्दमा पनि साना राष्ट्रहरू थिचिने, मिचिने खालको स्थिति होइन । साना राष्ट्रहरूले अलिकति प्राथमिकता पाउने स्थिति स्वभाविक रूपमा बन्न पाउनु पर्दछ । तिनीहरू समान प्लेग्राउण्ड प्राप्त गर्नका लागि पनि यी चिजहरू आवश्यक छ । यसकारण यस्ता कुराहरूलाई ध्यानमा राखेर नै कम्युनिष्ट पार्टी अगाडि बढेको छ । हामीले कठीनाइहरू झेलेका छौं, धेरै अप्ठ्याराहरू झेलेका छौं । जेलनेल झेलेका छौं । अनेक कुराहरू बेहोरेका छौं । यी सबै बेहोरेर पनि आज हामी सफलताका साथ अगाडि बढेकै छौं । यो सफलताको हाम्रो अभियानलाई कसैले रोक्न सक्ने छैन । यो सफलताको अभियान निरन्तर अगाडि बढ्ने छ र अब आगामी दिनमा अझ ठूल्ठूला सफलता प्राप्त गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को गन्तव्यमा पुगेर छोड्ने छ भन्ने कुरा म यहाँ उद्घोष गर्न चाहन्छु । 
अन्त्यमा, म फेरि एक पटक पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीज्यूलाई यस गणतन्त्र गौरव सम्मानबाट सम्मानित हुनुभएकोमा बधाई भन्न र शुभकामना भन्न चाहन्छु । हामीले यो सम्मानको स्थापना गरेका छांै । यो हरेक वर्ष दिने होइन । लगभग २५ वर्षको अन्तरालमा वा त्योभन्दा अघिपछि पनि यथोचित ढङ्गले प्रदान गर्न सकिने छ । कम्युनिष्ट पार्टीले स्थापना गरेको यो सर्वोच्च सम्मान हो । नेकपा (एमाले)ले स्थापना गरेको सर्वोच्च सम्मान हो । यो सर्वोच्च सम्मानको पहिलो हकवाला हुनुभएको छ सम्माननीय पूर्व राष्ट्रपतिज्यू बधाई भन्न चाहन्छु । 
आज यस कार्यक्रममा उहाँ आइदिनु भयो, सम्मान ग्रहण गरिदिनु भयो, यसका लागि धन्यवाद भन्न चाहन्छु । त्यसैगरी सम्माननीय प्रधानमन्त्रीज्यू आइदिनु भयो, उहाँलाई धन्यवाद भन्न चाहन्छु । मेरा अत्यन्तै आदरणीय मित्र विपक्षी दलका नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजी आइदिनु भयो, धन्यवाद छ । अरु पूर्व प्रधानमन्त्री झलनाथ खनालजी आउनु भएको छ, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजी आउनु भएको छ, धन्यवाद भन्न चाहन्छु, पूर्व मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीजी आउनु भएको छ धन्यवाद भन्न चाहन्छु, झण्डैझण्डै बालसखा भन्न नमिले पनि युवासखा भन्नु पर्छ, सीपी मैनालीजी मेरो एकदम पुरानो मित्र आउनु भएको छ, धन्यवाद भन्न चाहन्छु, यस पार्टीमा उहाँ कुनै समय महासचिव रहेर योगदान गर्नु भएको थियो र उहाँको योगदान छ । मैले अघि भनेँ, जसको जुन ठाउँमा जति योगदान छ, त्यति नै धन्यवाद । यो पार्टी निर्माणमा उहाँको पनि योगदान छ, म उहाँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु । बामदेव गौतमजी आउनु भएको छ, केदारभक्त माथेमाजी आउनु भएको छ, निलाम्बर आचार्यजी आउनु भएको छ, डाक्टर अर्जुन कार्कीजी आउनु भएको छ, पूर्व भिसीहरू आउनु भएको छ, म सबै आमन्त्रित अतिथि महानुभावहरू, विशिष्ट व्यक्तित्वहरू सबैलाई सम्मान गर्न चाहन्छु, स्वागत गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु र सबै साथीहरूलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छु । कलाकार मित्रहरूलाई पनि धन्यवाद भन्न चाहन्छु । हामीले लगभग महत्वपूर्ण उत्सव सम्पन्न गर्न लाएका छौ  । यस सन्दर्भमा म सबैमा शुभकामना भन्दै आफ्नो भनाई टुङ्ग्याउँछु, धन्यवाद !