NP EN

‘हामीलाई देश बनाउनु छ’

केपी शर्मा ओली, अध्यक्ष 
संसदको हिउँदे अधिवेशन हिजोबाट समाप्त भएको छ । कम्तीमा पनि अधिवेशन सुरु र समाप्त हुँदा हामी तयारी बैठक र समीक्षात्मक बैठक अनिवार्य रूपले गर्ने गर्छौं । अघि पछि पनि आवश्यकताअनुसार बैठक बस्ने गर्छौं । त्यस हिसाबले संसदीय दलको आज हामी नवौं बैठकमा उपस्थित भएका छौं । यस बैठकमा म सबै माननीयलाई हार्दिक स्वागत गर्न चाहन्छु । 
हामीले हाम्रो तर्फबाट संसदलाई प्रभावकारी बनाउने सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्ने प्रयास गरेका छौं र खेलेका छौं । संसदलाई जनताका समस्याका विषयमा छलफल गर्ने थलो बनाउने, जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गर्ने, विकास निर्माणका प्रश्नमा सरकारको ध्यानाकर्षण गर्ने गर्यौं । हामीले हाम्रो लोकतन्त्रलाई तीन तहका सरकारद्वारा समन्वयात्मक ढङ्गले सञ्चालन गर्ने परिपाटी स्थापना गरेका छौं । तदनुसार स्थानीय तह, प्रदेश र केन्द्र, सबैको समन्वयात्मक प्रयासबाट कसरी देशलाई अगाडि बढाउने भन्ने कुरा गरेका छौं । 
गएको संसदीय निर्वाचनको परिणामपछि दुईवटा कुरा स्पष्ट ढङ्गले अगाडि आए । एउटा, हाम्रा विरोधीहरूले हामीलाई सिध्याउँछौं भनेर अनेक प्रयास गरेका थिए । ती प्रयास असफल भए । हामीलाई समाप्त पार्ने प्रयासहरूलाई हामीले असफल बनायौं र हामी सफलताका साथ अगाडि बढ्यौं । 
दोस्रो, हामीले जुन अपेक्षा गरेका थियौं र  सफलता  जुन मात्रामा गर्नु पर्दथ्यो, त्यो मात्रामा गर्न सकेनौं । जसले गर्दा संसदमा कसैको पनि बहुमत नभएको अवस्था बन्यो । त्यसो भएपछि विभिन्न आन्तरिक वा बाह्य राजनीतिक शक्तिहरूले अस्वस्थ गतिविधि गर्ने, खेल्ने, राजनीतिलाई प्रदुषित गर्ने अवसर पाउने नै भए । राष्ट्रिय राजनीतिलाई कमजोर पार्ने अवसर पनि पाउने भए । 
त्यस्तै अवस्थामा हामीले त्यस बेला राष्ट्रिय राजनीतिलाई प्रदुषित पार्ने अवस्थालाई कमजोर बनाउनका लागि प्रयास गर्यौं । जस्तो समीकरण (निर्वाचन अघि) जति बेलासम्म चलेर आएको थियो, त्यसलाई बदल्ने र सही बाटोमा ल्याउने प्रयास गर्यौं । त्यो कुरामा हामीले सफलता पनि पायौं तर त्यो सफलता टिक्न सकेन । त्यसमा हामी जिम्मेवार छैनौं । त्यो हाम्रो कारणले टिक्न नसकेको होइन । 
फेरि उही पुरानै दिशामा उल्टो चक्का घुम्यो, पुरानै दिशामा फेरि राष्ट्रिय राजनीति, अस्थिरता, अन्योल अनिश्चय, भ्रम, अकर्मण्यता, दिशाहीनतातर्फ धकेलियो, यी विशेषता बने । नीतिहीनता,  गतिहीनता अभ्यास बने । त्यही सिलसिलालाई हामीले हेर्यौ ।
लगभग सवा एकवर्षको अवधिमा राष्ट्रिय राजनीतिमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले, राष्ट्रियताको रक्षा, सम्वद्र्धनको प्रश्न, सार्वभौमसत्ताको यथार्थ र वास्तविक परिचय, प्रयोग, त्यसैगरी स्वाधीनता र स्वतन्त्रताको प्रश्न, राष्ट्रिय हितहरूको रक्षा जस्ता विषयहरूमा गम्भीर सेडब्याक अथवा धक्का भएको देखियो । 
त्यो समीकरण वा गठबन्धन फाल्नैपर्ने अवस्था देखियो– देशका निम्ति, हाम्रा निम्ति होइन । हामीले प्रयास गर्यौं । त्यो गठबन्धन ढल्यो । 
एउटा नयाँ समीकरण हामीले बनाएका छौं । हामीलाई थाहा छ, अराजनीतिक प्रवृत्ति बहुतै हावी भएको छ । हिजो मात्रै एस भन्ने पार्टीले हामीसँग कुरा हुँदा सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने भन्यो । हामीभन्दा पृथक हुने हो भने अर्को गुटबाट जाने र कांग्रेससँग नजिक भएर कांग्रेसलाई जिताउने हिसाबले जान्छौें भने । यो समीकरणलाई कमजोर र असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई दिन पनि सक्ने अथवा निःशुल्क सेवा पनि नागरिक उन्मुक्तिको गर्न सक्ने भने । 
एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्यो
सही दिशामा राजनीति फर्किदै थियो, एकीकृत समाजवादी पार्टीले त्यस प्रकारको अराजनीतिक निर्णय लियो । अहिले यतिबेला आन्तरिक रूपमा विपक्षीहरूको आशा पलाउनेगरी, जनतामा केही मात्रामा आशङ्का, अन्योल र निराशा पैदा हुने गरी त्यस पार्टीले (कदम) चाल्यो । आन्तरिक रूपमा त त्यसका बोलिव्यवहार, बार्गेनिङ त्यस्तै खालका छंदै थिए । तर हिजो बाहिर नै प्रकट भयो । एकीकृत समाजवादीमा यस समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने, कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन गर्ने दक्षिणपन्थी, अवसरवादी चरित्र धेरै नांगो ढङ्गले प्रकट भयो । यस्तो नहुनुपर्ने थियो । कम्युनिष्ट आवरण र साइन बोर्ड राख्ने, काम चाहिँ दक्षिणपन्थीको हितमा गर्ने, बामपन्थी र समाजवादका पक्षधरलाई कमजोर पार्ने खालको भूमिका हिजो बाहिरै देखियो । सडकमा देखियो । यसले कुनै फरक पार्नेवाला छैन । 
म पहिलेदेखि साथीहरूलाई भनिराखेको छु, हामी समाजवादको आधार तयार गर्ने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा पुग्ने लक्ष्यका अगाडि बढेका छौं । समाजवाद भनेको त्यही हो–समृद्ध नेपाल सुखी नेपाली । त्यसका लागि हामीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने भनेका छौं । यो हामी बिर्सिदैनौ । यसलाई अगाडि बढाएर लिएर जान्छोैं । हाम्रो ध्यान अब मिसन–२०८४ लाई सफल बनाउनेमा छ । 
त्यसका निम्ति यी समीकरणहरू किन चाहिएको भने भोलि धेरै बिग्रिसकेपछि, अर्थतन्त्र धेरै खस्किसकेपछि, राजनीति धेरै भाँडिएपछि, अन्योल धेरै भएपछि, जनतामा असन्तुष्टि, अन्योल सबै चिज बढी सकेपछि भोलि गाह्रो हुन्छ । त्यसकारण आजदेखि नै ओरालो लाग्ने र पहिरो जाने क्रमलाई रोक्नुपर्छ र देशलाई अगाडितिर फर्काउनुपर्छ भन्ने हाम्रो नीति हो । 
कतिपयले हामीलाई भनेँ– एमालेले गृह मन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालय लिएन । सरकार नै परिवर्तन गर्यो नि, यो मन्त्रालय वा त्यो मन्त्रालयको कुरा होइन नि । अर्थमन्त्रालय लिएन भने । 
हामीलाई कमाउनु छैन, हामीलाई देश बनाउनु छ । 
त्यसकारण यो मन्त्रालय, त्यो मन्त्रालयभन्दा ठूलो कुरा र मन्त्रालयका लफडामा अडिनु, झन्झटमा फस्नु, त्यसले तनाव र तिक्तता बढाउनु जस्ता कामहरू अहिलेका हाम्रा अभिभारा होइनन्, हाम्रा काम होइनन् । अहिले देशका लागि अनुचित, हानिकारक, राष्ट्रिय हितलाई गम्भीर नोक्सान पुर्याउने  गठबन्धनलाई तोड्नु, भत्काउनु र त्यस्ता काम रोक्ने र सही बाटोतर्फ फर्काउने र नयाँ समीकरणतर्फ फर्काउने मुख्य कुरा हो । त्यही काम पार्टीले गरेको छ । 
कतिले हल्ला चलाएका छन्, यो मन्त्रालय लिएन, त्यो मन्त्रालय लिएन भनेर । कुन मन्त्रालय महत्वहीन हुन्छ ? कुन मन्त्रालय कम महत्वको हुन्छ ? 
सबै मन्त्रालय उत्तिकै महत्वका छन् । त्यसकारण हामीले मन्त्रालयगत प्रश्नमा, पदगत प्रश्नमा होइन, अन्तर्यमा, त्यसको सारतत्वमा, राजनीतिको मूल विषयमा केन्द्रित हुन सिक्नुपर्छ र त्यो जान्नुपर्छ । त्यो फराकिलोपन हामीमा चाहिन्छ, राजनीतिको मूल विषय के हो भनेर । मन्त्रालय मन्त्रालयका विषयमा झगडा गर्नु, मन्त्रालयगतका विषयमा तनाव गरेर जाने कि समीकरण परिवर्तन, गठबन्धन तोड्ने, नयाँ समीकरण गर्ने र यो समीकरणलाई उदारतासाथ, फराकिलोपनका साथ बलियो बनाउन योगदान गर्ने ? यी दुईवटा महत्वपूर्ण कुराहरू हुन् । 
एउटा चलेको छ, प्रधानमन्त्रीको कुरा । त्यसबेला मैले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको, अहिलेको समीकरण बदल्न चाहेको भनेर बताएको थिएँ । प्रधानमन्त्रीको पद ठूलो कुरा होइन, प्रधानमन्त्रीको पद महत्वपूर्ण कुरा पनि हो । त्यसैबाट नेतृत्व गरिन्छ तर यति बेला के गर्दा चाहिँ अनुकूल वातावरण बन्छ, देश ओरालो लागिराखेको छ, हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौं भने प्रधानमन्त्री नभएर पनि ओरालो लाग्ने क्रमलाई रोक्दैनौ र त्यसलाई छेक्दैनौ भने राम्रो हुँदैन । 
देशभक्तिपूर्ण आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो कर्तव्य हो
म साथीहरूलाई भनिरहेको छु । कतिपय नक्कली कुरा गर्नेहरू छन् । कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु, देशभक्तिपूर्ण आन्दोलन र प्रगतिशील आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो काम र कर्तव्य हो, त्यो हामीले बुझेका छौं । त्यही बुझेको हुनाले नै हामीले लगभग पार्टीलाई दुईतिहाइको स्थितिमा पुर्याएका थियौं, विस्तार र एकता एकीकरणबाट । त्यसलाई तोडेका कारण आन्दोलन कमजोर भयो । हामीले तोडेको होइन, हामीले जोड्ने र जोगाउने मात्रै काम गर्यौ । अहिले पनि यति बेला राष्ट्रिय शक्तिहरू मिलेर राष्ट्रिय हितको रक्षा, सम्वद्र्धन गर्ने, सुशासन र समृद्धिको बाटोतर्फ अगाडि बढ्न खोज्ने, नराम्रो काम गर्दिन भन्ने प्रतिबद्धता जनाउने त्यस्तो राष्ट्रिय शक्तिहरूतर्फको एकता आजको आवश्यकता हो । 
आज वामपन्थीका नामको एकता भन्ने कुरा होइन । वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ । यतिबेला वामपन्थी एकताले सरकार पनि बन्दैन । कतिपय वामपन्थी नामका शक्तिहरू वामपन्थी हुन् कि होइनन् ? ....पर्ने बित्तिकै कांग्रेसको सेवामा हाजिर हुने नाम र साइनबोर्ड कम्युनिष्ट पार्टी राख्ने ! यो भ्रम पाल्न हुँदैन कि यस्ता तत्वहरूसँग पार्टी एकता गरेर पार्टी बलियो हुन्छ होइन, पार्टी विस्तार गरेर बलियो हुन्छ, पार्टीलाई राजनीतिक, वैचारिक, सांगठनिक रूपले विकास र विस्तार गर्नुपर्छ, सुदृढ बनाउनुपर्छ । अनि पार्टी बलियो हुन्छ । आवश्यक समयमा वामपन्थी एकता कम्युनिष्ट पार्टीको निर्माण हामीले गरेका छौं र एकता परेका वखत गर्छोैं पनि । तर छानेर गर्छौं । पार्टी बिगार्ने अवसरका लागि, पार्टी बिगार्ने अवसरको खोजीका लागि, कुनै त्यस्तो अवसर कसैका लागि हामी उपलब्ध गराउँदैनौं । आन्दोलनको हित नहुनेगरी अवसर कसैलाई उपलब्ध गराउँदैनौं । आन्दोलनको हितमा हामी अत्यन्तै फराकिला, लचिला सबै हुन्छौं । हाम्रा साथीहरूले यी कुराहरूलाई बुझ्नु पर्दछ । 
हाम्रा कदमहरू सही छन्
हामीले अहिले चालेका कदमहरू सही छन् । राजनीतिक रूपमा म साथीहरूलाई भन्न चाहन्छु– हाम्रा कदमहरू सही छन् । यी कदमहरूलाई सफल बनाउनेगरी हामी लाग्नु पर्दछ । यसका निम्ति हाम्रो संसदीय फाँटको काम प्रभावकारी हुनुपर्दछ । संसदीय फाँटको काम भन्नाले सङ्घीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा, त्यसका समितिहरू । 
संसदीय फाँटको काम प्रभावकारी हुनुपर्छ
म माननीयहरूलाई भन्न चाहन्छु– समितिका बैठकहरू बसिरहन्छन् । समितिका बैठकहरूमा हाम्रो भूमिका प्रभावकारी हुनुपर्दछ । किनभने कानून बनाउने मुख्य ठाउँ नै समितिहरू हुन् । विभिन्न विषयहरूमा विषयतग राम्ररी छलफल गर्ने ठाउँ नै समितिहरू हुन् । त्यसकारण समितिमा हाम्रो भूमिका प्रभावकारी हुनुपर्दछ, हाम्रो सहभागिता सक्रिय हुनुपर्दछ र हामीले हस्तक्षेपकारी भूमिका खेल्नुपर्दछ र गलत कानून नबनून्, गलत काम संसदबाट नहोउन्, भोलिका दिनमा संसदको इतिहास हेर्दा पनि संसदको गरिमा घट्ने खालका निर्णय नहोउन् । यस्तो गरेको रहेछ संसदले भन्ने अवस्था नबनोस् । त्यति बेला पनि बुद्धि पुर्याएरै यो गरेका रहेछन् है भन्ने स्थिति बनोस् । 
म माननीयहरूलाई भन्न चाहन्छु– हामीले सेन्टिमेन्टमा होइन, कहिले कहिले स्वार्थ समूहहरू (इन्टे«ष्ट ग्रूप)ले प्रभावित गर्छन् । हाम्रा अगाडि दुईवटा कुरा हुन्छन् । एउटा स्वार्थ समूहसँग हामीले सम्पर्क र सम्बन्ध नराख्दा, उनीहरूका कुरा नसुन्दा तत्सम्बन्धमा हामीलाई आवश्यक जानकारी नहुन सक्छ । त्यसकारण स्वार्थ समूहहरूसँग हामीले भेट्नु, सुन्नु आवश्यक हुन्छ । काम फेरि ती स्वार्थ समूहहरूसँग, स्टेकहोल्डरहरूसँग नै गर्ने हो । 
काम गर्दा राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्छ  
अर्को कुरा उनीहरूले आफ्नो सङ्कीर्ण हितलाई हेरेका हुन सक्छन् । त्यसकारण सङ्कीर्ण हित, स्वार्थ समूहका हितहरूबाट प्रभावित भएर राष्ट्रिय हितको फराकिलो दायरालाई कमजोर हुन दिनु हुँदैन । राष्ट्रिय हितहरू कमजोर हुन नपाउन् । स्वार्थ समूहका हितहरू हावी भएर राष्ट्रिय हितहरू ओझेल नपरुन् भन्ने कुरामा हामीले ध्यान पु¥याउनुपर्छ । कहिले कहिले त्यो समूह विशेष हावी भइदिन्छ । अनि राष्ट्रिय हितहरू ओझेल परेका हुन सक्छन् । तसर्थ यसको सन्तुलन, स्टेकहोल्डरहरू, आम जनता र राष्ट्रका हितहरूको सन्तुलन हामीले समितिहरूमा छलफल गर्दा होस् वा संसदमा छलफल गर्दा होस्, यी कुराहरूमा ध्यान राख्नु पर्छ ।  
हामी कहिले कहिले एउटा विषयमा कुरा गरिराखेका हुन्छौं ।  त्यही विषयका सन्दर्भमा त्यतैपट्टी पनि बहकिएका हुन सक्छौं र त्यस सम्बन्धमा अन्य पक्षहरू छुटेका पनि हुन सक्छन् । एउटालाई न्याय दिने कुरा आएको हुनसक्छ, त्यसलाई न्याय दिनु पर्छ भन्ने मान्यतामा कस्सिएर अगाडि बढेर कहिले कहिले न्यायको सिद्धान्त मर्ने गरी न्याय दिने जस्ता कुरामा अल्झिएका हुनसक्छौं । तसर्थ, हामीले यस्तो पक्षमा ध्यान दिनुपर्छ कि हामी सन्तुलन कतै पनि नगुमाऔं । कहिले कहिले हामीले एउटा इस्यु (विषय) उठाउँदा, बोक्दा अरु कतिपय कुराहरूतर्फ ध्यान नपुगेको हुनसक्छ । त्यसकारण हामीले जहिले पनि कुरा उठाउँदा सबै पक्षलाई ध्यानमा राखेर सन्तुलित, विषयगत कुरालाई जोड दिनुपर्छ, अन्य कुराहरूलाई कमजोर पार्ने गरी जोड नपुगोस् । यस कुरामा ध्यान दिनु पर्छ । 
हामीले राष्ट्रिय हितका कुरा गरिरहँदा हाम्रा छिमेकीहरूलाई वा हाम्रा मित्रहरूलाई अनावश्यक धक्का पर्ने गरी भाषा, शैली नबोलियोस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । हाम्रा छिमेकी र मित्रहरूलाई चित्त नदुखोस् भन्नका लागि हामीले राष्ट्रिय हितहरू छोड्नु पनि हुँदैन । राष्ट्रिय हित पहिलो कुरा हो । राष्ट्रिय हित छोड्नु हुँदैन । राष्ट्रिय हितको सन्दर्भमा बोल्दा हामीले भन्नु पर्दछ कि राष्ट्रिय हित सबैले हेर्छ, हेर्नुपर्छ तर राष्ट्रिय हित हेर्दा सबैले न्यायोचित अरु माथि अन्याय नहुनेगरी, अर्को राष्ट्रमाथि अन्याय नहुनेगरी, अर्को राष्ट्रको न्यायोचित हितमा दख्खल नपर्नेगरी विचार गर्नुपर्छ भनेर हामीले पनि मान्नुपर्छ र अरुलाई पनि सम्झाउनु पर्छ । 
हामी न्यायका आधारमा सबैसँग सुदृढ सम्बन्ध बनाउन चाहन्छौं
हाम्रा अन्तर्राष्ट्रिय मान्यताबाट हामी पछि हट्न सक्दैनौं । इन्टरनेशनल अब्लिगेशनमा पनि हामी त्यतिकै खरो उत्रिनु पर्छ । त्यसो भएर हाम्रो सम्बन्ध र हाम्रा हितहरू, हाम्रो हितहरूसँग हाम्रो सम्बन्ध सधैं गाँसिएको हुन्छ । सम्बन्धसँग गाँसिएको हुन्छ भनेर मैले अघि भनेँ, सम्बन्ध राम्रो बनाउनुपर्छ । सम्बन्ध राम्रो बनाउन जे पनि गर्नुपर्छ र गर्नहुन्छ भन्ने होइन । न्यायको आधारमा सम्बन्ध राम्रो बनाउनुपर्छ । औचित्यका आधारमा सम्बन्ध राम्रो हुन सक्छ । 
आफ्ना हितहरूलाई तिलाञ्जली दिएर सम्बन्धलाई राम्रो गर्ने नाममा कतिपयको एकलकाटे दृष्टिकोण हुन्छ र आपूmलाई बहुत चतुर, बहुत बाठा, बडो कूटनीतिज्ञ ठान्छन् र राष्ट्रिय हितलाई तिलाञ्जली दिन्छन् । ती बाठा होइनन्, सत्तास्वार्थमा केन्द्रित भएका हुन्छन् । सत्तास्वार्थलाई केन्द्रमा राख्ने र आफ्नो दुनो सोझ्याउने, राष्ट्रिय हितलाई छोड्दिने, अनि सम्बन्ध सुधारेँ भन्ने र आपूm बाठो देखिने यो उचित तरिका होइन । हामी सबैसँग सम्बन्ध सुधार्न र सुदृढ बनाउन चाहन्छौं । सम्बन्ध नबिग्रियोस् भन्ने कुरामा ध्यान दिन्छौं तर कुनै पनि हालतमा राष्ट्रिय हितलाई क्षति पुग्न दिंदैनौं । सार्वभौमसत्तालाई क्षति पुग्न दिंदैनौं, हाम्रो स्वाधीनता, स्वतन्त्रतालाई क्षति पुग्न दिंदैनौं । 
वास्तवमा नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो भन्ने कुरा स्थापित गर्छौं र हामी हाम्रा राष्ट्रिय हितहरूको रक्षा गर्न, सम्वद्र्धन गर्न सक्षम छौं र राष्ट्रिय गौरवलाई माथि उठाउँछौ भन्ने कुरामा कुनै दुविधा राख्नु हुँदैन । यो कुरामा पनि सन्तुलनको आवश्यकता छ । यो सबै साथीहरूले बुझ्न आवश्यक छ । राष्ट्रिय हित पहिलो कुरा, सन्तुलन आवश्यक कुरा । राष्ट्रिय हित छोड्न मिल्दैन, सन्तुलन प्राप्त गर्नुपर्छ । मित्रता स्थापना र विकास गर्नुपर्छ । यी कुराहरूमा हाम्रा साथीहरू स्पष्ट हुनुपर्दछ । हामीले जनतालाई सचेत बनाउनुपर्दछ । 
अब हामी समितिहरूमा भूमिका खेल्नु पर्छ । समितिहरू त अहिले पनि चालू भइराख्छन् । समितिहरू चालु हुने कुरालाई ध्यानमा राखेर हाम्रो भूमिका समितिका सदस्य साथीहरूले पनि आफ्नो तालिका बाँडेर कसैलाई घर जानु छ, कसैलाई जिल्ला जानु छ भने म जिल्ला जान्छु, त्यति बेलासम्म तपाईंहरू यहाँ बस्नुस् है भनेर अथवा अर्को काठमाडौं आसपास घर भएका साथीहरू पनि हुनुहुन्छ नि । दुर्गममा भएका साथीहरूले समय मिलाएर जाने र समय मिलाएर फर्किने गर्नु पर्दछ । उसै दिन जान र आउन सकिने कुराहरू बेग्लै हो । कहीं दुई तीन दिनमा गाह्रो हुन्छ । यहीं काठमाडौं, भक्तपुर, ललितपुर जस्ता अथवा आसपासका ठाउँहरू काभ्रे, नुवाकोट, धादिङ, मकवानपुर जस्ता ठाउँहरू अथवा कास्कीसम्म पनि, यी दुर्गम होइनन् । दुर्गम जाने साथीहरूले मिलाएर जानु पर्दछ । फर्किएर आएपछि मिटिङमा के के भएको छ भनेर ब्रिफिङ पनि लिनु पर्दछ । 
हामी अलिक सम्बन्ध टुटेका जस्ता भएका छौं । समितिका साथीहरूका बीचमा पनि आपसी सम्बन्ध राम्रो हुने र के भइराखेको छ समितिमा जानकारी लिने र समितिको बैठकमा जानुभन्दा अगाडि पूरा तयारीका साथ सन्दर्भ सामग्रीहरूको अध्ययन गरेर, विषयमा कमाण्ड राखेर मैले आज यो कुरा प्रस्तुत गर्नु छ, यो कुरा सही छ, यहाँ आएको प्रस्ताव यस्तो छ, यहाँ आएको प्रस्तावलाई राम्रो प्रस्तावको रूपमा देश र जनताको हितको पक्षमा अझ बढी प्रभावकारी रूपमा लान यो यो चिज लानु पर्छ भनेर तपाईंहरू नोट राखेर, नोट बनाएर जान सक्नु हुन्छ । त्यसरी नै जानु पर्छ, अनि मात्रै हाम्रो भूमिका प्रभावकारी हुन्छ । 
संसदीय प्रणालीमा, संसदमा, डिप्लोमेसीमा र राजनीतिमा लविङ भन्ने कुरा हुन्छ । हामीले, पार्टीका साथीहरूले सही कुरा प्रस्तुत गरेर मात्रै पुग्दैन । अरु पार्टीका साथीहरूलाई पनि यो किन सही छ भनेर बुझाउनु पर्दछ र लविङ गर्नु पर्दछ । सही कुरा पारित गराउन लविङ गर्नु पर्दछ । हाम्रोमा लविङको चलन त्यति छैन । राजनीतिमा त्यसलाई लवीङ गर्ने भन्छ । सम्पर्क सम्बन्ध राख्ने, सम्झाउने र अरुलाई पनि कन्भिन्स गर्ने, आफ्नो मतमा सहमत गराउने । त्यो लविइङ्ग हामीले गर्नु पर्दछ । सही कुरा मात्रै पास गर्नुपर्छ । कहिले कहिले गलत कुरा पारित हुन लाग्यो भने त्यसलाई रोक्नु पर्छ । हामीजस्तै सबै औचित्यपूर्ण तर्कका आधारमा चल्छन् भन्न सकिंदैन । अरुले जोड जुलुम गर्न सक्छन् । त्यस्तो बेला जोड जुलुमलाई रोक्नु पर्छ र आफूले पनि हस्तक्षेपकारी र प्रभावकारी भूमिका खेल्नु पर्छ र गलतलाई पास हुनबाट रोक्नु पर्छ । कम्प्रमाइज सही कुरासँग मात्रै हुनसक्छ । गलत कुरासँग कम्प्रमाइज गरेर आपूm पनि त्यसमा सहमत हुन सकिंदैन र त्यो कुरा गर्नु हुँदैन । त्यसकारण कम्प्रमाइजिङ् एटिट्च्युड जरूरी छ तर कस्तोमा जरूरी छ भन्दा गल्ती नहुने कुरामा । लचकता जरूरी छ, आवश्यक छ तर त्यसले जनतालाई र देशलाई नोक्सान पार्नु हुँदैन । कम्प्रमाइज, फेग्जिविलिटी यी आवश्यक गुणहरू हुन् संसदीय अभ्यासका । तर, देश र जनतालाई नोक्सान नपर्नेगरी कम्प्रमाइज गर्न सकिन्छ। । गलत कुराहरू फुत्किएर जानु हुँदैन । त्यसलाई रोक्नै पर्छ, छेक्नै पर्छ र फेरि साथीहरूलाई सम्झाउने र सही कुरा पारित गराउने स्थिति बनाउनु पर्छ । 
हामी जे गर्छौं– देश र जनताका लागि गर्छौं 
हामी जे गर्छौं–देशका लागि गर्छौं । जे गर्छौं–जनताका लागि गर्छौं । जे गर्छौं– सुशासनका लागि, जे गर्छौं– विकासका लागि गर्छौं । मानव जातिको बृहत्तर हितका लागि गर्छौं । तसर्थ, ती मूल कुराहरूलाई नबिर्सिकन हामी अगाडि जानु पर्दछ । समितिहरूका बैठकहरूमा आफ्नो भूमिका प्रभावकारी हुनुपर्छ । एब्सेन्ट हुने होइन, एब्सेन्टका लागि कारण चाहिन्छ । माननीयहरू कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकहरूलाई स्पष्ट जानकारी हुनुपर्दछ । बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिऊँ । बिना इजाजत विदेश गयो भने त्यसले सन्देह पैदा गर्छ, कसको निमन्त्रणामा गयो भनेर । 
हाम्रै पनि साथीहरू, अरु पार्टीका पनि साथीहरू बिना कसुर, बिना दोष पनि अरुको फसाइमा फसेर कोही रातो पासपोर्ट काण्डमा परेका छन्, अर्को पल्ट उम्मेदवारी पाएका छैनन् । त्यस्तो भएको छ । कारबाहीमा पर्नु परेको छ । त्यसकारण यस्ता कुराहरूमा पार्टीलाई जानकारी दियो भने पार्टीले गल्ती हुनबाट जोगाउँछ । गल्ती हुनबाट जोगाएपछि सबै कुरा टुङ्गिन्छ । पार्टीलाई जानकारी नगराई क्रियाकलाप गर्न खोजियो भने अनेक ठगहरूका फेला परिन्छ । 
आज सहकारीका नाममा ठगीहरू तपाईं हामीले देखेका छौं । अर्वौका ठग । त्यसकारण ठगहरू पनि छन् । त्यो कुरा ख्याल राख्नु पर्छ । म सबै कुरा बुझिहाल्छु भन्ने होइन, नबुझिन पनि सकिन्छ । त्यसकारण दलका कसमेकम प्रमुख सचेतकलाई जानकारी गराउनुपर्छ यस्तो निम्ता आएको छ, जान मिल्ने हो कि होइन, जान मिल्ने परिस्थिति हो कि होइन त्यो कुरा बताउनुपर्छ । 
कहिले कहिले प्रदेशसभातिर यस्तो कुरा धेरै देखिन्छ । प्रदेश सभा सदस्य कहाँ छ भन्ने कुरा मुख्यमन्त्रीलाई वा दलको नेतालाई अथवा प्रमुख सचेतक, सचेतकलाई थाहै हुँदैन । यहाँ काम परेको हुन्छ तर दलका सदस्यहरू बाहिर भइराखेका हुन्छन् । यहीं पनि त्यस्तो देखिएको छ । को को सदस्यहरू बाहिर हुनुहुन्छ, थाहा हुँदैन । पछि कुनै प्रकारले फस्नु भयो भने हिन्दीमा एउटा गीत गाउँछ, कुछ् होगया तो फिर....त्यस्तै केही भइहाल्यो भने पछि पार्टीलाई नभने पनि हुन्छ । आफैँ गल्ती गरेपछि आफैँ सामना गर्नुपर्छ । जोगिनका लागि पार्टीसँग परामर्श गर्ने, पार्टीलाई जानकारी दिने गर्नुपर्छ । पार्टीले कुनै सांसदलाई रोकेर के फाइदा छ, रोक्ने किन इच्छा गर्छ, रोक्ने मन किन गर्छ, पार्टीले रोक्ने मन गर्दैन । तर जान नहुने ठाउँमा, जान नहुने परिस्थितिमा, भाग लिन नमिल्ने कार्यक्रममा नजानू भनेर पार्टीले भन्न सक्छ । त्यो पालना गर्नु साथीहरूको कर्तव्य हो । 
तपाईंहरू सांसद हुनुभएको फुत्त विदेश जानका लागि होइन । देश र जनताका आवाज उठाउन हो । विदेश जाने मौका मिले विदेश जाउँला । विदेश भनेको यस्तै यस्तै हो । विदेश जत्तिको हामी पनि हुन थालेका छौं । यस्तै बाटा हुन्, यस्तै घर हुन् । पहिला हामी कहाँ चौडा बाटा थिएनन्, बाटाका छेउमा प्लाष्टिकका, फोहोरका थुप्रा हुन्थे । अहिले त हाम्रै देशमा सेल्फी रोडहरू बनेका छन् त ! त्यसकारण विदेश कस्तो रहेछ भनेर हेर्न मन लाग्यो भने सेल्फी रोड हेरे हुन्छ, डिपार्टमेन्टल स्टोर्स हेरे हुन्छ, त्यस्तै त्यस्तै हो । अलिक ठूला घर होलान्, के होलान् तर खासै ठूलो फरक हुँदैन । जान नपाइने भन्ने कुरा पनि भएन तर मैले साथीहरूलाई सुझाव दिएको गल्तीबाट जोगिनुस् र गल्ती नहोस् । 
अब तपाईंहरू पक्कै जिल्ला फर्किनु हुन्छ । इलाम र इलामका आसपासका साथीहरूले मत वृद्धिका लागि आफन्तहरू आपूmले चिने जानेका साथीहरूलाई फोन गरेर सहयोग पु¥याउँदा राम्रो हुन्छ । अर्को बझाङका आसपासका साथीहरूले चिनजान भएका ठाउँमा फोन गरेर साथीभाइलाई भनसुन गर्दा राम्रै हुन्छ । 
विकास निर्माणका कामलाई अगाडि बढाउनु सांसदहरूको कर्तव्य 
तपाईंहरू आफ्नो ठाउँमा जाँदै हुनुहुन्छ । बजेट अधिवेशन आउँदै छ । यसै महिनाभित्र फेरि अर्को अधिवेशन बोलाइन्छ । बजेटमा पार्नैपर्ने कुराहरू आफ्ना क्षेत्रका, आफ्ना ठाउँका वा आफ्नो प्रदेशका, आफ्नो जिल्लाका समस्याहरू सङ्कलन गर्ने र त्यस्ता समस्याहरू ल्याएर संसदमा भनेर मात्रै पुग्दैन, सरकारको टेबलमा पुर्याउनुपर्छ । एक जना मन्त्री आएको हुन्छ, संसदमा यो यो कुरा उठ्यो भनेर सबै मन्त्रीलाई सर्कुलर गर्दैन । त्यो हामीले थाहा पाइराख्दा हुन्छ । मन्त्री बस्यो, सरकारको उपस्थिति त भयो तर सबै मन्त्रीहरूलाई भनेको हुँदैन, यो यो चिज छलफल भयो, यो कुरा आयो भनेर बसेर छलफल गरेको हुँदैन । मन्त्रिपरिषद्को बैठकमा एजेण्डा हुन्छन्, ती एजेण्डामा छलफल हुने हो । को को सांसदले के के भने भन्ने कुरामा छलफल हुँदैन । तसर्थ आपूmले आफ्ना समस्याहरू मन्त्रालयसमक्ष पनि पुर्याउने, मन्त्रालयबाट उठाएर योजना आयोग र अर्थ मन्त्रालयसम्म पुर्याउने र योजनाहरू पार्न कोशिश गर्ने । 
अहिलेको अर्थतन्त्रले के दिन्छ, के दिन्न त्यो भन्न सकिंदैन । किनभने विकास निर्माणका लागि पर्याप्त पैसा चाहिन्छ । अहिले पैसाको अभाव छ । त्यसकारण हामीले विकास निर्माणका कामहरूलाई अगाडि बढाउने सांसदको कर्तव्य हो । यद्यपि सांसदको काम नीति निर्माणको हो । तर, हाम्रोमा सांसदको काम सांसदका हिसाबले नीति निर्माणमा केन्द्रित हुने भन्दा जनताले के बुझ्छ भने नीति निर्माणभन्दा विकासका लागि पठाएको हो भनेर बुझ्छ । सांसदहरूले भाषण गर्दा यो पनि गर्दिउँला, त्यो पनि गर्दिन्छु भनेको हुनसक्छ । के कवुल गर्ने, के नगर्ने भन्ने कुरा हिसाब नै गरेको हुँदैन र पछि त्यो मान्छे फस्छ । त्यसकारण नहुने खालका कमिटमेन्ट, नहुने खालका कुरा नगर्ने, हुने खालका मात्रै, पूरा गर्न सकिने खालका कुरा गर्ने, अरु कुरा नगर्ने । त्यसो भयो भने जनताको विश्वास रहन्छ । जे पनि गर्छु भन्यो भने रहँदैन ।
आफ्नो क्षेत्रका जनतालाई समभावले व्यवहार गर्नुपर्छ
जति सक्नुहुन्छ साथीहरूले जनतासँगको भेटघाट गर्नुस् । माननीयजी आउनु भयो, माननीयजीलाई मान्छे दर्शनभेट गर्न आउन्, आएर नमस्कार गरुन् भनेर पर्खिएर बस्ने होइन । माननीय भनेको जनताको सेवक हो । तिनै जनताले भोट दिएर पठाएको मान्छे हो । ती जनताका अगाडि कसैले खुट्टा समातेर ढोगेको होला, कसैले साष्टाङ्ग गरेको होला, निहुरिएकै होला, झुकेकै होला । अनि माननीय भएपछि अरर्रो भएर नमस्ते कहिले गर्छ भनेर पर्खिएर बस्ने होइन । हाम्रो विनम्र शैली हुनुपर्छ । हात जोड्दा अलिकति निहुरिँदा केही पनि बिग्रिंदैन । मान्छेहरूसँग विनम्रताका साथ, आत्मीयताका साथ प्रस्तुत हुनु पर्दछ । किनभने वास्तवमा मनदेखि नै हामी जनतासँग आत्मीय नै हुनुपर्छ र छौं नै । जनतासँग आत्मीय छौ । हामी तिनै जनता मध्येको एक हौं, तिनै जनताले यहाँ पुर्याएका मान्छे हौं । त्यसकारण हाम्रो सम्पूर्ण लोयल्टी तिनीहरूप्रति हुन्छ । 
पार्टीमा पक्ष, विपक्ष भन्ने कुरा विल्कुलै हुन दिनु हुँदैन । यो पार्टी र त्यो पार्टीको होइन । माननीयले त के ठान्न पर्यो भने भोट दिएर त जितेर आइयो । भोट नदिने मान्छे तपाईंले चिनेको छैन । कसले दियो, कसले दिएन । तपाईंको आफ्नो भनेर ठानेको मान्छेले नदिन पनि सक्छ, आफ्नो होइन भनि ठानेकाले पनि भोट दिन सक्छ । मान्छेले धेरैले भोट दिएर नै तपाईं आउनु भयो । तपाईंले मलाई भोट दिएको थिएन, अर्को पक्षको हो भन्ने त्यो गरियो भने कमजोर भइन्छ । त्यो कमजोर भएर जनतालाई नोक्सान हुँदैन, आफ्नो खेतबारी, आफ्नो गोठबारी, पसल चलाएर बसेको छ, आफ्नो व्यवसाय चलाएर बसेको छ, आफ्नो जागिर खाएर बसेको होला, उसको के जान्छ र ? तर, नोक्सान आपूmलाई हुन्छ । तसर्थ कार्यकर्तासँग सबैलाई मित्रतापूर्ण, सबैलाई समभावका हिसाबले व्यवहार गर्नुस् । 
सुरुङ युगको हाम्रो भिजन सफल हुँदैछ
आज नागढुङ्गा–सिस्ने खोलाको सुरुङमार्गको ब्रेकथ्रू हुँदैछ । हामीले नेपाललाई टनेल मार्गको ऐरा (युग)मा प्रवेश गराएका हौं । त्यो भिजन हाम्रो हो । त्यो सफल हुँदैछ । यसै गरेर अनेक टनेलहरू यहाँबाट नुवाकोट जाने टोखा–छहरे, त्यसै गरेर वेत्रावती–स्याफ्रुवेसी, त्यसै गरेर यस पटक मैले हेरेर आएँ, टिपतला पास (ओलाङचुङगोला, ताप्लेजुुङ) । त्यहाँ हामी सुख्खाबन्दरगाह पनि बनाउन सक्छौं, त्यहाँबाट व्यापार गर्न सजिलो हुन्छ । त्यहाँ सधैं हिउँ पर्छ भन्ने हुँदैन । कहिले कहिले हिउँ पर्छ, कहिले कहिले पर्दैन । हिउँ परे पनि त्यहाँ झण्डैझण्डै बस्न सक्ने खालको स्थिति हुन्छ प्रबन्ध गरेपछि । 
एउटा पहाड छेड्दिएपछि दुर्गम भनेका ठाउँहरू पनि सुगम हुन्छन् । चीनसँगको पनि हामीले सीमा जोड्दा त्यसरी जोड्न सकिने देखियो । डाँडा घुमाउँदै घुमाउँदै यहाँनिरबाट त्यहाँ झार्नु भन्दा सिधा एउटा टनेल बनायो भने छिटो हुन्छ । अब नागढुङ्गाबाट सिस्ने खोला तीन मिनेटमा पुर्याउँछ । अहिले ब्रेक थ्रू भएको हो, सबै बनिसकेको छैन, केही समय लाग्छ गाडी चल्न । तर टनेल वारपार भयो । आज प्रधानमन्त्री जाँदै हुनुहुन्छ, त्यही ब्रेकथ्रू गर्ने कार्यक्रममा । नेपालमा टनेल वारपार गर्ने कुरा पनि एउटा उत्सवको रूपमा मानिन्छ । अस्ति ओलाङ्चुङगोला गएर मैले गाडीलाई माला लगाइदिए । ओलाङ्चुङगोला पुगेको पहिलो गाडी भनेर । ड्राइभरलाई माला लगाइदिएँ पहिलो ओलाङ्चुङगोला पुग्ने ड्राइभर भनेर । 
ड्राइभरको नाम त के हो कुन्नी तर गाडीको नाम वीरबहादुर हो । किनभने पहिलो पल्ट ओलाङ्चुङ्गोला पुग्ने वीरबहादुर गाडी हो । त्यो गाडी वीर पनि छ र बहादुर पनि छ । कच्ची बाटो गड्यागुडुक गर्दै ओलाङ्चुङ्गोला पुगेको छ । 
हामी टनेल ऐरामा प्रवेश गरेका छौं । अब कुनै समय त्यो पुर्याउनै पर्छ त्यस ठाउँमा । नेकपा एमालेको सरकारको नेतृत्वमा पुर्याउनै पर्छ । जब एमालेको नेतृत्वमा यो देश चल्छ, त्यसपछि यस्ता टनेलहरू शिलान्यास, बे्रकथ्रू, उद्घाटन भइरहन्छन् र हामी नयाँ नयाँ चिजहरू गरिरहन्छौं । उपलब्धिहरू हासिल गर्दै जान्छौं । देशलाई आधुनिक बनाउँदै जान्छौं । युवा पलायन हुने कुरालाई रोक्दै जान्छौं । कृषिको आधुनिकीकरण गर्दै जान्छौं । त्यसलाई सामुहिक खेती वा सहकारीतिर विकास गर्दै लान्छौं । कृषि आधारित उद्योग विकास गर्दै जान्छौं, खेर केही पनि जान नदिने, रूपान्तरण गर्दै त्यसलाई सुरक्षित र अझ आकर्षक रूपमा उपभोग्य वस्तुको रूपमा अगाडि बढाउँछौं । यसरी हाम्रो देशलाई आधुनिकीकरणतर्फ लान्छौं । साथीहरूले यस कुराको पनि नेतृत्व गर्नुपर्छ । 
यस वर्षलाई हामीले फलपूmलको क्षेत्रमा सुन्तला वर्ष भनेका छौं । सुन्तलालाई राष्ट्रिय फलपूmल भनेर अस्तिका दिनबाट सुरु गरेका छौं । हामीले बैतडीबाट सुरु गर्यौं र पाँचथरसम्म जाँदा साँच्चै नै सबै पहाडभरी सुन्तला नै सुन्तला । मङ्सीर, पुस, माघ र फागुनसम्म पनि सुन्तला नै सुन्तला लटरम्म पाकेका फलेका देखिने । हामी गएको सिजन चाहिँ खास सुन्तलाको सिजन पर्यो । हामीले सुन्तलाका माला थुप्रै लगायौं । सुन्तलाका ढाकीका ढाकी थिए । हामी डडेल्धुरामा पुग्दा एउटा पसलमा ६ लाखको सुन्तला विक्री भयो भनेर खुशी व्यक्त गर्दै थिए । सुन्तला मात्रै भएर हुँदैन, सुन्तला बिग्रिन सक्छ । त्यसकारण सुन्तलाको जाम, जुस बनाउन सकिन्छ । खेतीलाई आधुनिकीकरण गर्नेतर्फ पनि साथीहरूले ध्यान दिनु होला र सानासाना समूहलाई एकीकृत गरेर कसरी ठूलो उत्पादनमा लाने, ठूलो उद्यमशीलता कसरी सिर्जना गर्ने र तालिम कसरी उपलब्ध गराउने ती कुराहरू गर्नु होला । तालिम उपलब्ध गराउन सकिन्छ । मन्त्रालयबाट पनि सकिन्छ, बाहिरबाट पनि सकिन्छ । 
सीप भएपछि मान्छेले काम गर्न सक्छ । सीपले काम गर्न सिकाउँछ । लगानी गर्ने सामथ्र्य सरकारले दिनुपर्छ । सीप चाहिँ व्यक्तिलाई दिनुपर्छ । यस कुरामा पनि साथीहरूले ध्यान दिनुपर्छ । 
अबको समयमा हामी विकासका नेता, विकासका अभियन्ता हुनुपर्दछ । 
यही कुराहरू राख्न चाहन्छु । समितिमा पनि कसरी काम गर्ने भन्ने कुराहरू मैले बताएको छु । त्यस अनुसार तयारी गर्नु होला । म प्रायः काठमाडौंमै रहन्छु । त्यसकारण मसँग पनि माननीयहरूले सम्पर्क बारम्वार गरे हुन्छ । मैले नभ्याएका बेला पनि प्रमुख सचेतक, सचेतकहरू प्रायः काठमाडौंमा रहनुहुन्छ । त्यसकारण समस्या हुँदैन । समस्या केही आइपर्यो भने पनि भन्नुहोला । आजको बैठक यहीँ टुङ्ग्याउँछु । सबै माननीयहरूलाई धन्यवाद !
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशनको अन्त्यपछि २०८१ बैशाख ३ गते बसेको संसदीय दलको नवौं बैठकमा राख्नु भएको विचारको पूर्णपाठ