नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८१ वैशाख २८ गते संसदीय दलको १६औं बैठकमा व्यक्त गर्नु भएको विचारको पूर्णपाठः
आज हामी संसदीय दलको १६औं बैठकमा उपस्थित भएका छौं । यस बैठकमा म सबै माननीयलाई स्वागत गर्न चाहन्छु ।
भर्खरै इलामको क्षेत्र नं २ मा भएको उपनिर्वाचनबाट निर्वाचित भएर आउनुभएका माननीय सुहाङ नेम्वाङलाई संसदीय दलको तर्फबाट हार्दिक बधाई र कार्यकालको अत्यन्त सफलताका लागि शुभकामना भन्न चाहन्छु ।
त्यसै गरेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिने निर्वाचन विधिबाट निर्वाचित भएर राष्ट्रिय सभा सदस्यमा आउनु भएका डा. अन्जान शाक्यलाई पनि म संसदीय दलको तर्फबाट हार्दिक बधाई भन्न चाहन्छु र धेरै धेरै शुभकामना भन्न चाहन्छु । अत्यन्तै उच्चस्तरको सफलता मिलोस्, राष्ट्रिय सभा सदस्यको हैसियतले यहाँको काम कारवाही सफल रहोस् । नयाँ सदस्य माननीयहरूले संसदीय अभ्यासलाई सिक्दै जानु हुने छ । थोरै सङ्ख्यामा, प्रतिनिधि सभामा एक जना र राष्ट्रिय सभामा एक जना मात्रै निर्वाचन भएर हालै आउनु भएको अवस्था छ । अहिलेको यस अधिवेशनमा उहाँहरू दुई जना थपिनु भएको छ ।
संसदका अभ्यासहरूका सन्दर्भमा हामी फेरि छलफल गर्ने छौं, कसरी संसदीय अभ्यासमा बोलिन्छ, सम्बोधन गरिन्छ, कसरी नियमलाई पछ्याइन्छ, कसरी त्यसको पालना गरिन्छ, अरुलाई पनि नियममा बस्न सहयोग पुर्याइन्छ कसरी, आफ्ना विषयवस्तुहरू, आपूmले बोल्नुपर्ने विषयहरू समयभित्र र विषयमा बाँधिएर कसरी शालिन, मर्यादित ढङ्गले सभ्य भाषामा कसरी प्रस्तुत गरिन्छ जस्ता विषयहरू ।
अहिले निर्वाचित सदस्यलाई सम्झाइरहनु पर्दैन, किनभने एकजना सुहाङ नेम्वाङ लिगल पृष्ठभूमिबाट आउनु भएको छ । अदालतको बहसबाट आउनु भएको छ, अदालतको बहसभन्दा खासै पृथक हुँदैन, संसदमा पनि त्यस्तै हो, विषयकेन्द्रित । कहिले कहिले अदालतमा धेरै समय पाइएला, कहिले कहिले संसदमा कम समय पाउने खतरा हुन्छ । त्यसभित्र बाँधिएर बोल्नुपर्ने हुन्छ । अर्को माननीय अन्जान शाक्य राजदूत भएर र सफल राजदूतको रूपमा कुटनीतिक अभ्यास गरेर आउनु भएको छ । त्यसकारण उहाँलाई मर्यादित भाषा, शैली आदिका लागि केही भनिरहनु पर्दैन । उहाँ पनि ती कुराहरूमा अभ्यस्त हुनुहुन्छ ।
संसदमा बोल्दाखेरी अरुलाई सम्बोधन गरिंदैन, प्रतिनिधि सभामा सभामुखलाई र सभामुख छैन भने चियर गरेपछि उपसभामुखलाई पनि सभामुख महोदय नै भनिन्छ । अर्को प्यानल भन्ने हुन्छ सभामुखले बनाएको, त्यसको कोही बसेको छ भने पनि सभामुखको कुर्सीमा बसेर गर्दा सभामुख महोदय नै भनिन्छ । त्यसै गरेर राष्ट्रिय सभामा पनि अध्यक्ष महोदयलाई मात्रै सम्बोधन गरिन्छ र कसैलाई केही भन्नु छ भने उहाँमार्फत भनिन्छ । साधारणतया संसदमा कसैको नाम उच्चारण गरेर बोल्ने त्यति अभ्यास हुँदैन । त्यसकारण प्रकारान्तरले भन्ने कुरा हुन्छ तर खासगरी नाम उच्चारण गर्ने त्यति चलन हुँदैन । नकारात्मक टिप्पणी गर्दा नाम विल्कुल उच्चारण गरिंदैन संसदीय अभ्यासमा । अरुलाई सम्बोधन पनि गरिंदैन । अरु कसैलाई केही भन्नु छ भने सरकारलाई वा प्रधानमन्त्रीलाई पनि भन्दाखेरी अध्यक्षमार्फत वा सभामुखमार्फत भनिन्छ । यो खाली नयाँ साथीहरू आएको हुनाले सिकाइएको कुरा मात्रै हो ।
सभामुख वा अध्यक्ष पहिलो पटक आउँदा उठिन्छ र सभामुखको आगमनपछि, आसन अगाडि उभिएपछि राष्ट्रिय गान बज्छ । त्यसमा उभिएरै सरिक भइन्छ र सभामुखसँगै फेरि सबैले आसन ग्रहण गरिन्छ । राष्ट्रिय सभामा पनि त्यस्तै हो । राष्ट्रिय सभा अध्यक्षको आवगमन भएपछि राष्ट्रिय गान बज्छ र राष्ट्रिय गानभरि उठिन्छ । अरु प्रक्रियाहरू सबै उस्तै हुन्, हामी बाहिरी सभाहरूमा पनि गर्ने गर्छौं । अघिपछि पालो दिंदा उठ्ने बस्ने गरिंदैन । पालो दिने क्रममा आउनु हुन्छ, बस्नु हुन्छ । अरु आएर सभामुखको कुर्सीमा बस्दा उठ्ने चलन हुँदैन । सभामुख आउँदा मात्रै हो । जहाँसुकै पनि सभाको प्रमुख व्यक्ति आउँदा उठ्ने गरिन्छ । त्यो नियम नभए पनि त्यो मर्यादा पालना गरिएको हुन्छ, सबै ठाउँमा त्यो गरिएको हुन्छ । हामी पनि यहाँ दलको नेता आउँदा सबै भर्खर उठ्यौ । त्यस्तो नियम कसैले बनाएको त छैन तर प्रोटोकलका लागि हामी उठ्ने र सम्मान गर्ने गर्छौं । त्यस्तै सभामा पनि हाम्रो त्यो प्रचलन हुन्छ ।
संसदमा सभामुख बीचमा उठ्नु भयो र जानु भयो वा फर्किएर आउनु भयो भने उठ्नु पर्दैन । सभामुख र माननीय सदस्य आमनेसामने भई बसेको अवस्था हुन्छ । पिठ्यू सभामुखतिर पारेर सभा चलिरहेको बेला कसैले बोल्दैन । अगाडि आएर माननीयहरूतिर फर्किएर बोल्ने तर सभामुखतिर पिठ्यू पार्ने त्यो कुरा असभ्यताभित्र पर्छ संसदीय अभ्यासमा । त्यस्तो गर्नु हुँदैन । कहिले कहिले भोट गणना, मतदानको समयमा, त्यति बेला मान्छेले ख्याल नै नगरेर फोटो खिच्ने भनेर सभामुखलाई पछाडि पारेर अगाडितिर फोटो खिच्ने गर्नु गलत अभ्यास हो, त्यसरी उभिनु हुँदैन । फोटो खिच्ने हो भने दायाँ वा बायाँपट्टि पार्नु पर्छ । सभामुखले आसन ग्रहण गरिरहेको बेला वा सभामुखको आसनमा कोही पनि भएको बेला, जोसुकै होस् सोझै सभामुखलाई पृष्ठभागमा पार्नु हुँदैन । अगाडिबाट माननीयले बोलिराख्नु भएको छ, सभामुखले सुनिराखेको बेला सभामुख र वक्ताको बीचबाट क्रस गरिंदैन । यताको मान्छे यतैबाट जाने, उताको मान्छे उतैबाट जाने गरिन्छ । वक्ता र सभामुखका बीचमा क्रस गरिंदैन । त्यहाँ लाइन काट्नु हुँदैन । यस्ता कुराहरू हामीले ख्याल राख्नु पर्छ । यो नयाँ माननीयमात्रै होइन, पुराना माननीयहरूलाई पनि फेरि एकपटक स्मरण गर्न जरुरी छ ।
हामी आजबाट नयाँ अधिवेशनको प्रारम्भमा छांै । नयाँ अधिवेशन प्रारम्भ हुँदैछ । यो अधिवेशनलाई बजेट अधिवेशन भनिन्छ । यसमा नीति कार्यक्रम र सधैको अभ्यास अनुसार बजेटका प्राथमिकता र सिद्धान्तहरूमा छलफल हुन्थ्यो । बजेटका प्राथमिकता र सिद्धान्तका बारेमा हामीले पोहोरै छलफल गर्यौं । अलिक अनौठो भएको छ । अघिल्लो अधिवेशनमा २०८० सालमा छलफल गरेका थियौं । बजेटका प्राथमिकता र सिद्धान्त भनेर गरेका थियौ । नीति कार्यक्रम आएपछि त्यो नीति कार्यक्रम अनुसार बजेटका प्राथमिकता र सिद्धान्त कस्ता हुनुपर्ने भनेर छलफल हुनु पर्दथ्यो । तर प्रशस्त छलफल गर्ने समय होस् भनेर अघिल्लै अधिवेशनमा पेश गरियो । अनि न सिद्धान्त मिलेको छ, न कार्यक्रम मिलेको छ, न प्राथमिकता मिलेका छन् । त्यस्तोमा हामीले छलफल गर्यौं । त्यो पास गर्नुपर्ने होइन, त्यो छलफल गर्ने र सुन्ने । बोल्नेले बोल्ने र अरुले सुन्ने मात्रै हो । त्यो कुनै आधारमा त्यसरी गरिएन ।
सरकार परिवर्तन भयो । अहिलेको सरकारको सिद्धान्त के हो ? प्राथमिकता के हो ? त्यसमा छलफल गर्नुपर्ने तर त्यो छलफल चाहिँ अघिल्लै सरकारको समयमा पोहोर साल नै गरियो । त्यसकारण सायद यसपटक त्यो छलफल हुँदैन होला, त्यो नमिलेकै कुरा हो ।
जेहोस् यस पटक पनि नीति कार्यक्रम पेश हुन्छ । त्यसमा देश बनाउने नीति के हो ? त्यसमा हामी राम्ररी छलफल गर्ने छौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामीले किन भनेका हांै, त्यसको अर्थ के हो र नीति केबाट पैदा हुन्छ भन्दा हाम्रो गन्तव्य के हो, त्यस गन्तव्यबाट हाम्रो नीति पैदा हुन्छ । गन्तव्य ‘समृद्ध नेपाल हो, सुखी नेपाली हो । त्यसलाई साकार पार्नका लागि हाम्रा नीतिहरू हुन्छन्, हाम्रा सिद्धान्तहरू हुन्छन्, हाम्रा कार्यक्रम हुन्छन् र कार्ययोजना हुन्छन् । तिनका निम्ति विभिन्न टार्गेट राखिएका हुन्छन् । वास्तवमा नीति कार्यक्रममा हाम्रो देशको राजनीतिक नीतिहरू के हुन् ? आर्थिक नीतिहरू के हुन् ? सामाजिक नीतिहरू के हुन् ? सांस्कृतिक नीतिहरू के हुन् ? मानवअधिकारसम्बन्धी नीतिहरू के हुन् ? वातावरण सम्बन्धी नीतिहरू के हुन् ? इको–सिस्टमका सम्बन्धमा हाम्रो दृष्टिकोण के हो ? विकास र वातावरणको सन्तुलन कसरी मिलाउने हो ? समाजलाई लोकतन्त्र र कानूनी राज, लोकतन्त्र र अनुशासन, लोकतन्त्र र नियन्त्रण, नियन्त्रण र मानवअधिकार, संवैधानिक राज, कानूनको राज र जनताका अधिकारको प्रत्याभूति । यी कुराहरूको अत्यन्तै उत्कृष्ट सन्तुलन कसरी मिलाउँछौं भन्ने कुराको नीति र ती नीति कार्यक्रमको रूपमा कसरी ढाल्छौ र त्यसलाई योजनाबद्ध ढङ्गले यस वर्षमा हामी के गर्छौं भन्ने हिसाबले हामी यसपटक छलफलमा भाग लिन्छौ ।
सरकारको नीति कार्यक्रम राष्ट्रपतिको सम्बोधनमार्फत आउने गर्छ, सम्बोधन गरेवापत तत्काल राष्ट्रपतिज्यूलाई धन्यवाद दिइन्छ । त्यसपछि नीति कार्यक्रममाथि छलफल प्रारम्भ हुन्छ । यसमा हाम्रो सचेत र लिडिङ रोल हुनु पर्दछ ।
हामी राष्ट्रियताको पक्षमा छौं । हामी सुशासनको पक्षमा छौं । हामी भ्रष्टाचार नियन्त्रण र निवारणको पक्षमा छौ । हामी विकासका अभियानलाई अगाडि बढाउने पक्षमा छौ । हामी सामाजिक न्याय र समानताको पक्षमा छौ । यी मूल सिद्धान्तहरूलाई कायम राखेर अगाडि बढ्छौ ।
वैदेशिक नीतिको सम्बन्धमा– असल छिमेक सम्बन्ध, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेक सम्बन्ध, ‘छैन कोही शत्रु, सबै हाम्रा मित्रु’ भन्ने भावनका साथ अन्तर्राष्ट्रिय सम्बन्ध, कहीं पनि मानवताविरुद्धका क्रियाकलापहरूको हामी विरोध गर्छौं । मानवताविरुद्धका क्रियाकलापहरू, हिंसा पक्षका क्रियाकलापहरू वा हिंसाको हामी विरोध गर्छौं । यी कुराहरू हामीले राख्नु पर्छ । त्यसै गरेर विश्व शान्तिको पक्षमा हामी छौं । मानवताको पक्षमा हामी छौं । विश्व विकासका निम्तिको सहकार्यको पक्षमा हामी छौं । युद्ध वा अशान्ति जन्मिनेखालका अहिले वा भोलिका लागि अशान्तिका लक्षणहरू प्रकट हुने खालका कुनै पनि त्यस्ता क्रियाकलापहरू हामी हुन दिन चाहँदैनौं । सशस्त्रीकरण, आम संहारका हतियारहरूको निर्माण, सङ्ग्रह वा त्यसको विस्तार आदि कुराहरूमा हाम्रो सहमति हुँदैन । एउटा देशको सेना संसारका विभिन्न भागमा राख्ने जस्ता कुराहरू युद्धका संत्रासका कारणहरू हुन्छन् । त्यस्ता कुराहरूलाई हाम्रो समर्थन हुँदैन ।
हाम्रा आदर्शहरू छन्
अर्को, हामी जसरी पनि जिउनु पर्छ, जसरी पनि आफ्नो भलो गर्नु पर्छ भन्ने स्वार्थी कुरा मात्रै गर्दैनौं । हामी स्वार्थका कुरा मात्रै गर्दैनांै, हाम्रा आदर्शहरू छन् । हामी आदर्शमा चल्ने पार्टी हौं । लोकतन्त्र हाम्रो आदर्श हो । त्यसकारण आफ्नो क्षणिक स्वार्थका लागि लोकतन्त्रलाई नोक्सान पार्ने कुनै कुरा हामी गर्न सक्दैनौं । राष्ट्रहित हाम्रो आदर्श हो । राष्ट्रहितलाई कमजोर पार्ने कुनै स्वार्थी खेल हामी खेल्न सक्दैनौं । किनभने हामी आदर्शमा चल्छांै, स्वार्थबाट निर्देशित होइन । आदर्श, नैतिकतालाई बढी महत्व दिन्छौ र विभिन्न प्रकारका तिकडमबाट चल्ने कुरालाई भन्दा बढी हामी आदर्शलाई महत्व दिन्छौं ।
यी पक्षहरू हाम्रा बोलाइहरू, गतिविधिहरू सबै कुरामा हुन्छ । हामीले बोल्दाखेरी अध्ययन गरेर ‘टु द पोइन्ट’, अध्ययन गरेर आफ्ना कुरा प्रभावकारी ढङ्गले प्रस्तुत गर्नु पर्छ । दृष्टान्त वा उपमाहरू दिँदा लामालामा होइन, संक्षिप्त गर्नु पर्छ । विम्वहरूको प्रयोग गर्दा मिल्दा र आकर्षक मात्रै गर्नु पर्छ । त्यो कुरा साथीहरूलाई थाहा नै छ ।
सामाजिक विद्वेष राष्ट्रिय एकता विरुद्धको कुरा हो
सामाजिक सद्भाव, राष्ट्रिय एकता हाम्रो आदर्श हो । सामाजिक विद्वेष, घृणा, वैरभाव यस्ता कुराहरूलाई हामी कुनै पनि अर्थ र मानेमा समर्थन गर्दैनौ । यो राष्ट्रिय एकता विरुद्धको कुरा हो । यो राष्ट्रिय हित विरुद्धको कुरा हो । नेपाललाई नचाहिएको अरु कसैलाई चाहिएको विषय हुनसक्छ । त्यो नेपाललाई नचाहिएको विषय हो । त्यसकारण नेपाललाई जे चाहिंदैन, नेपालको हितको विपरीत जे छ, त्यस्ता कुराहरूलाई हामी मान्दैनौ । हामी हाम्रा आदर्शभित्र चल्छौ, आदर्श बाहिर जादैनौं ।
कांग्रेसले के गर्छ हेर्नुपर्ने छ
कतिपय प्रश्नहरू छन्ः आज नेपाली कांग्रेसले के गर्छ हेर्नुपर्ने छ । योभन्दा अघिल्लो अधिवेशनमा नेपाली कांग्रेस के गर्ने, के नगर्ने भनेर अत्यन्तै रन्थनियो । प्रधानमन्त्री भइदेऊ भनेर यहाँ पनि पुगेको छ, उहाँ पनि पुगेको छ । राष्ट्रिय पार्टी हुन नसकेका स्वतन्त्र हैसियतका पार्टी, दुई चार सिट मात्रै भएका पार्टी सबै कहाँ पुग्यो, प्रधानमन्त्री बाँड्दै । हामी त्यस प्रकारको अराजनीतिक तरिका गर्दैनौं । वास्तवमा त्यो अराजनीतिक तरिका हो । त्यो क्षणिक स्वार्थका लागि गरिने कुरा हो । हामी त्यस्तो क्षणिक स्वार्थका लागि जसलाई पनि प्रधानमन्त्री अफर गर्ने, जो भेटायो त्यसलाई प्रधानमन्त्री अफर गर्ने खालको यस्तो काम हामी गर्दैनौ । त्यो कुरा स्पष्ट छ । कमसेकम त्यसको एउटा ‘क्राइटएरिया’ हुन्छ । आफ्नो पक्षमा लागेन भने अनावश्यक ढङ्गले अनुचित कुराहरू उछालेर पनि कुद्दैनौं ।
आरोप लगाउने, बोल्न नदिने !
ताजुफको कुरा के भने– एक जना माननीय सांसदको बारेमा नेपाली कांग्रेसले प्रश्न उठायो । ती माननीय सांसदले संसदमा बोल्छु, प्रश्न उठेपछि सदनमा जवाफ दिन्छु भन्नुभयो । सदनमा प्रश्न उठेपछि र नेपाली कांग्रेस जत्तिको जिम्मेवार पार्टीले प्रश्न उठाएपछि म यस सम्बन्धमा बोल्छु, जवाफ दिन्छु भन्नुभयो तर नेपाली कांग्रेसले बोल्न दिएन । आरोप लगाउने, बोल्न नदिने ! सोझै आयोग गठन गर्नु पर्छ, बोल्न पाइँदैन भन्ने आग्रहपूर्ण र आपूmलाई अनुचित क्रियाकलापमा साथ नदिएको कारणले जुन अत्तो थापेर संसद जस्तो गरिमामय संस्थालाई पङ्गु बनाउने काम गर्यो, जग हसाइ गर्यो, यस्तो गर्नु हुँदैनथ्यो । अब यस पटक के गर्छ, त्यो हेर्नु छ ।
अस्तिको दिन सर्वदलीय वा प्रमुख पार्टीहरूको छलफल भएको थियो । त्यसमा मैले नेपाली कांग्रेसलाई भनेँ–
नेकपा (एमाले) र नेपाली कांग्रेस जस्ता पार्टीहरूले जसले बलिदानपूर्ण संघर्ष गरेर यो लोकतन्त्र ल्याएका हुन्, अहिलेको प्रणाली ल्याएका हुन्, यो प्रणालीको अभ्यास कस्तो हुन्छ भनेर सही र सुन्दर अभ्यास नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रस्तुत गर्नु पर्छ । यिनीहरूले त एउटा परिकल्पनाका साथ सङ्घर्ष गरेका छन् भने यिनले आपूmलाई नमुनाका रूपमा प्रस्तुत गर्नु पर्छ । तपाईंहरू (कांग्रेस)ले प्रश्न उठाउने तर स्पष्ट पार्न नदिने कस्तो डेमोक्रेसी ? के गर्दै हुनुहुन्छ तपाईंहरू ? यो कस्तो हतासा हो ?, कस्तो उन्माद हो ?, तपाईंहरूको वडा शक्ति अहङ्कार हो कि ? सरकारमा बस्न नपाएको आक्रोश हो कि ? हतासा, कुण्ठा के हो ? कसरी तपाईंहरू यो विन्दुमा पुग्नु भयो ?
प्रश्न उठाउने जवाफ दिन नदिने, यो मिल्दैन । कसैलाई फाँसी दिनु छ भने पनि सफाइ दिने मौका दिन्छ, बोल्ने मौका दिन्छ, उसले बयान गर्न पाउँछ । संसदमा प्रश्न उठाउने, संसदमा सम्बन्धित व्यक्तिले बोल्न र वयान दिन पनि नपाउने ?! समितिको आधार के छ ?
यो प्रश्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको हो, यो हामी सबैलाई थाहा छ । उहाँले म माथि कुनै मुद्दा छ कि छैन, कुनै आरोप छ कि छैन, अभियोजन छ कि छैन, कसैको उजुरी छ कि छैन, जाहेरी छ कि छैन भनेर महान्यायाधिवक्तालाई सोध्नु भयो, महान्यायाधिवक्ता कार्यालयलाई सोध्नु भयो । महान्यायाधिवक्ता कार्यालयले विभिन्न चर्चा चलेका विभिन्न अड्डाहरूमा सोधेर पठायो । कुनै उजुर, मुद्दा, मामिला, कुनै जाहेरी अथवा अभियोजन केही छ कि छैन, निज रवि लामिछाने भन्ने व्यक्तिका नाममा केही छ कि छैन भनेर सोधेर पठाउँदा विभिन्न सरोकारवाला ठाउँहरूले कुनै उजुर वाजुर केही नभएको, केही अभियोजन नभएको, कुनै मुद्दा नभएको, केही पनि छैन भन्ने सबै तिरबाट जवाफ आएपछि महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेलाई पत्र लेखेर जवाफ दियो । तपाईंले सोधेअनुसार हामीले विभिन्न कार्यालयहरूमा सोध्यौ, त्यस्तो केही पनि पाइएन, तपाईंको बारेमा केही मुद्दा पाइएन । त्यो पत्र रवि लामिछानेले त्यहाँ (बैठकमा) राख्नु भयो ।
मैले नेपाली कांग्रेसका नेताहरूलाई भनेँ– एउटा पीएचडी गर्न पुग्ने गरिको रिसर्च गर्नु भएको रहेछ । ठूलो रिचर्सको ठेली उहाँहरूले कहाँ कसले के बोलेको छ, कहाँ कसले के भनेको छ, कुन ठाउँमा के भनेको छ, कुन ठाउँमा के भाषा प्रयोग भएको छ भनेर । प्रहरी लागेको होइन । नेपाली कांग्रेसका प्रमुख सचेतक मुद्दाको यति ठूलो फाइल लिएर मुद्दाको बहस गर्न रिसर्च गरेर आउनु भएको रहेछ । मैले भनेँ– बहुत ठूलो काम गर्नु भयो, रिसर्च पीएचडी हुने गरी । यति धेरै रिसर्च गर्दा त एउटा मान्छे पीएचडी हुन्छ होला ।
महान्यायाधिवक्ताको कार्यालय भन्दै छ, केही पनि छैन । उहाँहरू विभिन्न पृष्ठमा कति नाम उल्लेख भएका कुराहरू ल्याउँदै हुनुहुन्छ । योभन्दा अगाडि बैठकमा भन्नुभयो, उहाँको बारेमा नगरौं, सहकारीको अवस्थाका बारेमा छानबिन गरौं भनेर । मैले भनेँ– सहकारीको अवस्थाका बारेमा छानबिन के गर्ने, सहकारीमा बेथिति भएको छ कि छैन भन्दा– छ । रकम हिनामिना भएको छ कि छैन– छ । सहकारीमा लगानीकर्ताहरू डुबाइएका छन् कि छैनन्– छन् । कुन कुन सहकारीको स्थिति के छ, त्यो पनि थाहा छ । अब फेरि त्यहाँ रिसर्च के गर्ने त ? त्यहाँ छानबिन खोज अध्ययन के गर्ने ? सरकारले कदम चाल्नु पर्यो अब, कसरी यस समस्याको समाधान गर्ने । अब सरकारले कदम चालेर समस्याको समाधान गर्नुपर्ने छ । तसर्थ, यसमा यस ढङ्गले चल्नु वाञ्छनीय छैन ।
हामीले रविजीको राजीनामा मागेका छैनौं भनेर उहाँहरूले भन्नुभयो । राजीनामा अहिले मागेको छैन, केही पनि नहँुदा समिति बनाउनेले समिति बनेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसदले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? उपप्रधानमन्त्री, गृहमन्त्री भएर झण्डा हल्लाउन मिल्छ ? पुलिसको छानबिनलाई प्रभावित गर्दैन ? पुलिसले गर्नु पर्छ छानबिन, गृहमन्त्री कसरी पदमा रहन सक्छ ? भन्ने ढङ्गले त्यो छानबिन समिति बनाइसकेपछि तत्कालबाट उहाँहरूले सुरु गर्नु हुन्छ– राजीनामाको खेल ।
एकातिर तपाईं डेढ वर्ष प्रधानमन्त्री भइदिनूस्, यो समीकरण छोड्नूस्, हाम्रो गठबन्धनमा आउनूस्, डेढ वर्ष प्रधानमन्त्री खाइदिनूस् भन्न जाने, त्यो हुन्न भनेर सम्झौतामा सही नगरेपछि विभिन्न फाइल बोकेर रिसर्च गर्न कुद्ने ? नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । यस अधिवेशनमा उहाँहरू कसरी आउनु हुन्छ, मलाई थाहा छैन । तर राजनीतिमा यस प्रकारका छुद्र खेलहरू खेलिनु हुँदैन ।
साँच्चै कोही दोषी छ भने त्यसको छानबिन र कारबाही गर्नु बेग्दै कुरा हो । दोषी छैन, कसैको उजुर छैन, अनि कुनै पार्टीलाई सनक चढ्यो भन्दैमा, कसैलाई धक्का प¥यो भन्दैमा दोषी करार गरेर त्यस प्रकारको छानबिन गर्ने ? कसैलाई एउटा उजुर हाल्न लाइदेला, उजुर हालेका भरमा छानबिन गर्न थाल्ने हो भने सबैका विरुद्ध उजुर पर्छन्, सबैको छानबिन हुन्छ । आधार त केही पनि चाहिंदैन । यस्तो खालको कुरा कमसेकम नेपाली कांग्रेसले गर्नु हुँदैनथ्यो ।
म स्पष्ट गर्न चाहन्छु– एमाले यस्ता खालका कामहरू गर्दैन । कांग्रेसले पनि यस्तो काम गर्नु हुँदैन । प्रतिशोधी, निषेध र स्वार्थ केन्द्रित राजनीति– राजनीति होइन । हामीले राजनीति गर्नु पर्छ । आज देशको राजनीतिमा अस्थिरता छ, अस्थिरता आइराखेको छ । भर्खर सरकार बन्यो, पोहोर जस्तै फेरि दुई महिनामा सरकार पल्टाउन, उल्टाउनका लागि भनेर लागेका छन् ।
प्रतिनिधिसभाको विश्वासको मत दिने सन्दर्भमा भएको छलफलमा एउटा दशवटा सिट भएको राष्ट्रिय पार्टी होइन, त्यस पार्टीको प्रतिनिधिले बोलेको म सम्झिराखेको छु– विल्कुल अस्वस्थ, आक्रोशित, कुण्ठाग्रस्त कुरा । त्यही कुरा यस बीचमा त्यही पार्टीका नेताहरूले म प्रधानमन्त्री हुन आँटे भनेर कसैको मन भतभत पोलेको छ भन्दै हिँडेको । कहाँ प्रधानमन्त्री हुन आँटे ! कताबाट आँटे ! हामीलाई भनेको हो भने हामीलाई कोही प्रधानमन्त्री हुँदा मन भतभत पोल्दैन । पोल्यो भने त सधैं पोल्नु पर्यो नि । हामी खुशी त एमालेको सरकार बन्यो र एमालेको बहुमत आयो भने हुन्छौं होला, बाँकी सधै मन भतभत पोलिराख्ने ?! हाम्रो मन त्यस्तो भतभत पोल्दैन, हामी रियालिटीलाई सहज ढङ्गले स्वीकार गर्छौं । नेपाली कांग्रेसले त्यस्ता महानुभावहरूलाई प्रधानमन्त्री बनाएर काँधमा होइन, टाउकोमा चढाएर बोक्छ भने पनि हामीलाई आपत्ति छैन, बोके हुन्छ ।
अस्थिरता ल्याउने कोसिस लगातार भइराखेको छ । त्यही अस्थिरता ल्याउने कोसिसलाई असफल पार्नका लागि एउटा पार्टी विभाजित भयो । उहाँहरूको अभिव्यक्ति सुन्नु भएको होला, किन विभाजित भयो पार्टी भन्ने । समीकरण एउटा बन्यो, त्यसलाई फेरि ढाल्न लागे । त्यसकारण हामी त्यसमा सहमत हुन सकेनौ र हामीले अर्को पार्टी बनाउनु पर्यो भन्ने उहाँहरूको स्पष्ट भनाइ छ ।
तसर्थ, हामी के भन्छौ भने अस्थिरताको खेल र यस्तै नचाहिने र गर्नुपर्ने कामभन्दा नगर्नुपर्ने अन्यथा कामतिर अल्झिँदा, अर्थतन्त्र किन पछाडि प¥यो ? प्रशासन किन प्रभावकारी हुन सकेन ? ब्युरोक्रेसी हडल जहाँ पनि छ भन्छन्, त्यो ब्युरोक्रेसी एउटा विकासको राम्रो संवाहकको रूपमा किन अगाडि जान सकेन र व्यवधानको रूपमा किन छ भनेर चर्चा हुन्छ ? हिजो मैले केही उद्यमी व्यवसायीहरूलाई भेटेर चर्चा गरेको थिएँ । उहाँहरूको पनि चर्चा त्यस्तै थियो । तसर्थ, हामी एउटा सही बाटो, सही उद्देश्य पहिल्याउने बाटो, सही तरिका त्यसमा विश्वास गर्छौं र त्यसका निम्ति काम गर्छौं ।
उद्यमशीलताको विकासमा जोड
यो बजेट अधिवेशन हो । जेठ १५ गते बजेट प्रस्तुत हुन्छ । हामी बजेट उपयुक्त आओस् भनेर कोसिस गर्छौं । उपयुक्त बजेट ल्याउनु पर्छ । त्यसको उपयुक्त ढङ्गले कार्यान्वयन गर्नुपर्छ । करका दरहरू सम्बन्धी हामी सिद्धान्त भन्न सक्छौं, दर निर्धारण भन्न सक्दैनौ । कसो गर्दा स्वस्थ ढङ्गले कर पनि बढी उठ्छ, व्यवसायीलाई पनि मर्का पर्दैन । कसो गर्दा तस्करी पनि रोकिन्छ, स्वस्थ र स्वच्छ कारोबार पनि बढ्छ, त्यो सिद्धान्त हामी भन्छौं ।
कसरी उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ ? कुन कुन क्षेत्रमा हामीले कस्ता कामहरू गर्नु पर्छ ? उत्पादनका लागि प्रविधिको प्रयोग कसरी गर्नु पर्छ, हामीले नारा दिएका छौं । पहिले हामीले उत्पादन, उत्पादकत्व र रोजगारी भन्थ्यौं । अब हामी पहिलो कुरा उद्यमशीलताको विकासमा जोड दिन्छौ । आर्थिक क्षेत्रमा आजको आवश्यकता हो– उद्यमशीलताको विकास । त्यसबाट रोजगारीका अवसरहरूको सिर्जना स्वतः हुन्छ ।
उपभोक्ता बजारको अवस्थाबाट छुट्टि पाउनुपर्छ
उत्पादन वृद्धिका लागि प्रविधिको प्रयोग, प्रविधिको प्रयोगबाट उत्पादकत्व वृद्धि हुन्छ । आधुनिकताको बाटोबाट उत्पादकत्व वृद्धि हुन्छ, उत्पादकत्व वृद्धि भएपछि उत्पादन वृद्धि हुन्छ । हाम्रो व्यापारघाटा हामीसँग आफ्नो उत्पादन नभएर हो । हामी उपभोग्य एउटा बजारको रूपमा, श्रमशक्ति बाहिर जाने, त्यहाँबाट रेमिट्यान्स आउने र देशभित्र बस्नेले त्यस रेमिट्यान्सबाट एउटा उपभोक्ता बजारको रूपमा आपूmलाई प्रस्तुत गर्ने । यो तरिकाबाट हामीले छुट्टी पाउनै पर्दछ ।
हामी उत्पादक, त्यसबाट आत्मनिर्भरता र निर्यात, त्यस ढङ्गले जानुपर्छ । चाहिने वस्तुहरूको आत्मनिर्भर हुनेगरि उत्पादन हुनुपर्दछ । यसको अर्थ आजको ‘ग्लोवलाइज’ दुनियाँमा सबै कुरा हामी उत्पादन गर्छौं भन्ने होइन । हवाइजहाज पनि हामी नै उत्पादन गरौं, त्यो पनि हामी नै उत्पादन गरौं भन्ने होइन । अहिलेको दुनियाँमा अन्तरनिर्भरता छ । त्यसलाई हामी बुझ्छौं । तर, आधारभूत राष्ट्रिय अर्थतन्त्र, आफ्नो उत्पादन अभिवृद्धि र त्यस उत्पादनलाई विश्व बजारसम्म पुर्याउने व्यापार । हाम्रो उत्पादन विश्व बजारसम्म पुर्याउनुपर्छ । हामी वस्तु मात्रै बेच्दैनौं, उत्पादित वस्तु बेच्छांै । वस्तु मात्रै भनेको ढुङ्गा, किमती स्टोनहरू बेच्यो भने पनि वस्तु नै भयो । काठ बेच्यौं भने वस्तु नै भयो । तर, हामीले काम गरेर त्यो उत्पादन भएको होइन, त्यो प्राकृतिक उत्पादन हो । त्यो नेपाली चिज हो तर त्यसलाई हामीले उत्पादन गरेका होइनौं, प्रकृतिले उत्पादन गरेको हो । प्रकृतिले उत्पादन गरेका चिजमा वडा होशियार हुनु पर्दछ किनभने प्रकृतिले उत्पादन गर्न धेरै समय लाग्छ र त्यसमा पनि ढुङ्गा, माटोजस्ता चिजहरू उत्पादन हुन बहुत समय लाग्छ, करोडांै, अर्बौ वर्षमा ढुङ्गा उत्पादन हुन्छ । त्यसो भएर ढुङ्गाप्रति हामीले खेलवाड गर्नु हुँदैन ।
यसरी हामी हाम्रा म्यानुफ्याक्चर र प्रडक्टिभ वस्तुहरू, निर्माणबाट आएका वस्तुहरूको निर्यातबाट व्यापार सन्तुलन गर्न सक्छौं । यस दिशामा र यी आधारमा हाम्रो अर्थनीति अगाडि बढ्छ । हामी कमसेकम जिम्मेवार राज्य हुन चाहन्छौं, बनाउन चाहन्छौ । सक्नेले गरी खाओस्, नसक्नेले भोकै मरोस् भन्ने होइन । आजको २१औं शताब्दीमा भोकमरि अशोभनीय कुरा हो । हामीले सरकार छोड्दा १७ प्रतिशतमा झारिसकेको निरपेक्षा गरिबीको रेखामुनिको जनताको अवस्था अहिले फेरि २०.२६ प्रतिशतमा अथवा तीन प्रतिशतभन्दा माथि गइसक्यो वा यो तीन वर्षमा बढिसक्यो । यसलाई फेरि हामीले घटाएर निरपेक्ष गरिबीको रेखामुनिको अवस्थालाई अन्त्य गर्नु पर्दछ । यी कुराहरूका साथ हामी जान्छौं ।
सामाजिक उत्तरदायित्व
हाम्रो सामाजिक उत्तरदायित्व छ, बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, अशक्त, बेसहारा वा बेरोजगार सहारा नभएका एकल महिलाहरूको राज्यले जिम्मा लिएर समाधान गर्नु पर्छ । यो जिम्मेवार राजनीतिको तरिका हो । अंग्रेजीमा जिम्मेवार भन्ने शब्दको अनुवाद छैन । रेस्पोन्सेबल भनेको पनि जिम्मेवार होइन, अकाउन्टेबल भनेको पनि जिम्मेवार होइन । जिम्मेवार भनेको कर्तव्यबाट निर्देशित हो । अकाउन्टेबल र रेस्पोनसिबल भनेको कसैले सोधेमा, जवाफ मागेमा केही उत्तरदायित्व कसैलाई बुझाउन पर्ने भएमा हुन्छ ।
आमाले एउटा बच्चालाई स्याहार सफाइ गर्नु, दूध खुवाउनु, उसलाई हुर्काउनु यी सबै कुरा रेस्पोन्सिबिलिटीभित्र पर्दैनन्, कसलाई जवाफ दिनु छ र आमाले ! मायाले गर्ने हो, कर्तव्यले गर्ने हो । त्यसकारण यो अकाउन्टिबिलिटीको कुरा पनि होइन । अंग्रेजीमा रेस्पोन्सिबिलिटी र अकाउन्टिबिलिटी भन्ने छन् । यो प्रश्न रेस्पोन्सिबलिटी र अकाउन्टिबलिटी होइन, यो जिम्मेवारी भन्ने नेपाली बेग्लै, पृथक कर्तव्यबाट पैदा हुने हो । सरकारको नागरिकप्रति कर्तव्य हुन्छ, जवाफ दिनुृ पर्छ होइन, कसैलाई जवाफ दिनु नपर्दा पनि कर्तव्य हुन्छ । हो, त्यो कर्तव्य पालना हो जिम्मेवार भनेको । अभिभावकको भूमिका । त्यो हाम्रो मान्यता हो । यसो भएर हामी यी हाम्रा सांस्कृतिक नीतिहरूका साथ हामी अगाडि बढ्छौ र कसरी अगाडि बढ्छांै ।
यस अधिवेशन र समग्र अधिवेशनमा यी ‘पोलिटिकल गाइडेन्स’ अन्तर्गत अगाडि बढ्ने छौं । यी पोलिटिकल गाइडेन्सबाट हाम्रो नीति कार्यक्रम, हाम्रो बजेट निर्देशित हुनु पर्दछ । जसले समस्या समाधान र विकास गर्न सक्छ । त्यस कुरामा हामी जान्छौं भन्ने मैले माननीयहरूलाई सम्झाउन चाहन्छु ।
हामी कसैको पक्षमा होइन, अर्गेल्याइँको विपक्षमा हो
मलाई लाग्छ नेपाली कांग्रेस हुन त पूर्ण अर्गेलो हो तर अलिकति रिल्याक्स खालको दलको नेतामा रविलाई बोल्न दिने, मन्त्रीको रूपमा नदिने भन्न सक्छ । तर, उहाँमाथि उठाइएका प्रश्नको जवाफ दिने नपाउने भन्ने कुरा लोकतान्त्रिक कुरा होइन, म कांग्रेसलाई फेरि सम्झाउन चाहन्छु । यस्तो कुरामा छलफल हुन्छ । हामी कसैको पक्षमा होइन, अर्गेल्याइँको विपक्षमा हो । नेपाली कांग्रेसले अर्गेलो खेल खेल्नु हुँदैन । अब हामी हेर्छौं कसरी अगाडि बढ्छ । हामी अर्गेल्याइँ गर्दैनौं, अर्गेलो खेल खेल्दैनौं । अलोकतान्त्रिक तरिका अवलम्वन गर्दैनौं, लोकतान्त्रिक अभ्यास छोड्दैनौं । सत्य कुरा बोल्छांै, असत्य बोल्दैनौं ।
एउटा कुरा राष्ट्रियताको पक्षमा अत्यन्तै गैरजिम्मेवार र खेलवाडपूर्ण ढङ्गका अभिव्यक्तिहरू आएका छन् । नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्छ भन्ने एउटा खबर आयो । त्यो तपाईंहरूले पनि सुन्नु भयो होला । नेपाल सरकारले र नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्छभन्दा अर्को देश कराएको सुनियो । किन करायो अर्को देश ? नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्छ, उसको नक्सा छाप्ने होइन । नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्दा अर्को देश करायो । किन करायो होला अर्को देश भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू त्यो अर्को देश कराएको सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो नक्सा छाप्ने कुरा आदि इत्यादि भनेर ! कस्ता मान्छे, कसका मान्छे सम्माननीय राष्ट्रपतिले त्यहाँ जागिर खुवाएर राख्नु भएको छ ?! यस्तै मान्छे राष्ट्रपतिले राखेर तिनकै सल्लाह अनुसार...! नेपाल देशले नेपालको नक्सा अनुसार नेपालको नोटमा छाप्दा अर्को देशलाई उत्तेजित पार्न खोजेको, यो राष्ट्रियता कमजोर पार्न खोजेको भनेर राष्ट्रपतिको विज्ञ सल्लाहकार भन्नेहरू उफ्रिन्छन् भने, यो तमासा होइन ? त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ?
यो प्रश्न हामी संसदमा गम्भीरताका साथ उठाउँछौ, प्रधानमन्त्रीले जवाफ दिनु हुन्छ कि राष्ट्रपति आफैँले जवाफ दिनु हुन्छ कि सल्लाहकार जहाँको हो, त्यही पठाउनु हुन्छ कि के गर्नु हुन्छ ? यो साधारण कुरा होइन र हामी यसलाई गम्भीरताका साथ लिन्छौ । नेपाल सरकारले आफ्नो गुमेको भूभाग समेटेर नक्सा छाप्यो, त्यसलाई संविधानको अङ्ग बनायो । त्यो नक्सा हाम्रो हो । नेपालको नोट हाम्रो नोट हो । हामीले धरौटी धितो राखेर छाप्छौं । त्यो अनधिकृत कागजको खोस्टो होइन । हामी आफ्नो नक्सा, आफ्नो नोटमा राख्छौं । हामीले हात्ति राखेका छौं, गैंडा, घोरल, मयूर राखेका छौं, डाँफे, गाई राखेका छौं र अरु थोक पनि मन लाग्यो भने राख्छौं । अनि नेपालको नक्सा किन राख्दैनौं ?!
पहिले पहिले हामी राजा महाराजाहरूको समेत फोटा राख्थ्यौ । अहिले राजा महाराजाहरू हटे, उनीहरूको फोटा राख्नु परेको छैन । नेपालको नक्सा हामी राख्छौं नि त हाम्रो नोटमा । मेरो सरकारलाई सुझाव छ, हरेक नेपालको नोटमा र हरेक सिक्कामा नेपालको नक्सा अनिवार्य राखिने गरिनु पर्छ । नेपालको नक्सा नेपाली नोटमा राखेर छापिने भयो भन्दा राष्ट्रपति निवास कराउँछ बा ! कस्तो राष्ट्रपति, कस्तो राष्ट्रपति निवास, कस्ता सल्लाहकार ! के भएको यो देश ? अनि हामी नेपालीहरू ट्वा परेर हेरेका छौं । यस्तो पनि हुन्छ ? नेपालको यतिसम्म अहित चिताउने, यतिसम्म राष्ट्रिय भावनामा न्यूनता वा विद्वेष भएका व्यक्तिहरू राष्ट्रपति निवासमा गुँड बनाउने ? सर्वोच्च निकाय, सर्वोच्च संस्था, राष्ट्र प्रमुखको कार्यालय त्यहाँ सर्पको गुँड... ! यो के भएको ?
म राष्ट्रपतिज्यूले सुन्नु भएको छ कि छैन, सुन्नु भएको छैन भने म यही भनाइबाट सुन्नुस् भन्न चाहन्छु । यो साधारण कुरा होइन । तसर्थ यस विषयमा हामी अलिकति दह्रै गरी यस कुराको छिनोफानो खोज्ने छांै । राष्ट्रपतिज्यू के भन्नुहुन्छ ? झुक्किएर राख्नु भएको हो कि फेरि पनि ‘डिफेन्स’ गर्नु हुन्छ यस्ता कुराको ? राष्ट्रपतिज्यूको भनाइ त्यो हो कि ? राष्ट्रपतिज्यूका विज्ञ सल्लाहकार राष्ट्रपतिको बोलि बोल्न त्यहाँ राखिन्छ । राष्ट्रपतिको आवाज बोल्न त्यहाँ राखिन्छ । यो राष्ट्रपतिज्यूको आवाज हो कि होइन ? हामी राष्ट्रपतिज्यूलाई सोध्न चाहन्छौ ।
हामी मानवताको पक्षमा छौं
दुनियाँमा मानवता विरोधी थुप्रै कामहरू भइराखेका छन् । आज प्यालेस्टाइनमा यति धेरै बालबालिका मारिएका छन् । १५ हजारभन्दा बढी त बालबालिका मारिएका छन् । एउटा हमासले अपराध गर्यो, गल्ती गर्यो, नचाहिने काम गर्यो । त्यसको नाममा के मान्छे मारिरहने ? बालबालिका सिध्याइरहने ? निर्दोष बालबालिका मारिरहने ? निर्दोष मानवजातिप्रति यत्रो जघन्य क्रियाकलाप जारी राखिरहने ?
दुनियाँ, संयुक्त राष्ट्रसंघ कसैले भन्दा पनि सुन्दै नसुन्ने ? हामीले आदर्श पनि हेर्न पर्छ, कुन देश बलियो छ, कसका पछाडि कुन देश छ, यस्ता कुराहरूको मतलब राखेर हुँदैन । हामी न्यायका लागि बोल्ने हो, न्यायका लागि अडिग रहने हो । हामी मानवताको पक्षमा छौ । आफ्नै घरका बालबालिका फटाफट मारिँदा हामीलाई कस्तो हुन्छ होला ? आज प्यालेस्टाइनमा निर्ममताका साथ बालबालिकाहरू माथि बमबाढी भइराखेको छ । यो निन्दनीय कुरा हो ।
संयुक्त राष्ट्र संघले भनेको जस्तै निरन्तरताको वार्ताको माध्यमबाट, निरन्तरताको हमला र आक्रमण होइन, अब त्यहाँ युद्ध भन्ने कुरा रहेन । अब एकतर्फी आक्रमण र हमलाको कुरा रह्यो । यस्तो स्थिति र यो नरसंहार अन्त्य गरिनु पर्दछ । रुस–युक्रेन युद्ध, अकारण युक्रेनी जनतामाथि बाह्य खेल, बाहिरी शक्तिहरूको पैठेजोरी, बाहिरी शक्तिहरूको पञ्जा लडाउने काम, शक्ति परीक्षण अनि क्षति युक्रेनी जनताको ! यो अन्त्य गरिनु पर्दछ । हामी विश्व शान्तिको पक्षमा छौं, हामी मानवताको पक्षमा छौं । हामी न्यायको पक्षमा छौं । त्यसका निम्ति हाम्रो प्रयास हुन्छ, त्यसका निम्ति हामीले आवाज उठाउनु पर्छ ।
सबै माननीयलाई धेरै धेरै धन्यवाद छ । अब हामी सक्रियतापूर्वक उपयुक्त ढङ्गले शालिन र जुझारूपन दुईवटाको समिश्रणका साथ संसदमा प्रस्तुत हुनेछौं । चाहिएका बेला जुझारु, चाहिएका बेला शालिन । सदैव तर्कपूर्ण, तथ्यपूर्ण । सदैव सत्यको पक्षमा हामी दृढ रहंदै अगाडि बढ्ने छौं ।
धन्यवाद ।