महामहिम श्री लि खछ्याङ
महामहिम राष्ट्रप्रमुख एवं सरकार प्रमुखज्यूहरू
महासचिव महोदय
महिला तथा सज्जनवृन्द,
बोआवो फोरम–२०१६ लाई सम्बोधन गर्न पाउनु मेरो लागि विशेष खुशीको विषय हो । यो फोरम, विचारहरूको घनीभूत आदान–प्रदानका लागि एक महत्वपूर्ण मञ्च हो । एसियाका लागि विचार ! एसियाको विचार !
आमन्त्रणा गर्नुभएकोमा आयोजक तथा चिनियाँ सरकारलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
विश्वलाई शान्तिको मार्गमा पाइला चाल्न सिकाउने बुद्धको जन्मभूमि नेपालबाट मैले हार्दिक शुभकामना लिएर आएको छु । मैले आफ्नो साथमा सकारात्मक आशा र प्रचुर सम्भावना बोकेका नेपालीहरूको न्यानो शुभेच्छा ल्याएको छु ।
हाम्रो एसिया विभिन्न सभ्यताहरूको भूमि हो । ती सभ्यताहरू आफैमा जति महान छन्, उत्तिकै परिपूर्ण पनि छन् ।
एसियाले, सुमधुर सहअस्तित्वसहितको विविध एवं विशिष्ट सभ्यताहरूको भूमिको रूपमा आगामी दिनमा समेत रहिरहनु पर्छ ।
सहभागी साथीहरू,
विश्व अर्थतन्त्रको नेताको रूपमा उदय भएसँगै, एसिया एक्काइसौँ शताब्दीको बदलिँदो विश्व व्यवस्थाको अग्रभागमा उभिन पुगेको छ । दुनियाँ अहिले विश्व अर्थतन्त्र चलायमान बनाउन एसियाली आर्थिक गतिशीलतालाई नियालिरहेको छ । एसियाका केही ठूला अर्थतन्त्रहरूको असाधारण सफलताले एसियाको बृहत् सम्भावनालाई इंगित गरिरहेको छ ।
हालसम्म एसियामा भएका अथक प्रयत्नहरूले एसियाको अवश्यम्भावी उज्यालो भविष्यलाई उजागर गर्छन् ।
अन्वेषण र प्रविधिका क्षेत्रमा भएका प्रगतिहरू उत्साहजनक छन् र विकासका नयाँ क्षितिजहरू उद्घाटित गरिरहेका छन् ।
सूचना तथा सञ्चार प्रविधिमा भएको उल्लेखनीय विकास तथा औद्योगिक उत्पादनमा भएका महत्वपूर्ण उपलब्धिहरूले एसियाको आर्थिक विकासलाई गतिशील र आर्थिक भविष्यलाई उज्यालो बनाउने सामथ्र्य राख्छन् । यस्ता अन्वेषणहरू, मानव प्रगतिका निम्ति सहयोगी हुनुपर्छ । सबै मुलुकहरूका लागि प्रविधिमाथिको पहुँच बिनाकुनै अवरोध हुनुपर्छ ।
एसियाली गतिशीलतालाई सदुपयोग र अभिवृद्धि गर्दै समृद्ध एवं समुन्नत भविष्य निर्माण गर्न, हाम्रा प्रयास, अवसर तथा उपलब्धिको समतामूलक वितरण सुनिश्चित हुने सहयोगको प्रारुप तयार गर्नका निम्ति हुनुपर्छ ।
हाम्रो साझा दृष्टिकोणले विचारहरूको स्वतन्त्र प्रवाह, अवरोधबिनाको व्यापारिक सञ्जाल र राज्यहरूले अर्काको कमजोरीमा फाइदा नलिने, बरु सबैलाई लाभ हुने अवस्था सिर्जना गर्ने सहयोगको प्रारुप निर्माण गर्नैपर्छ ।
एसियाको भविष्यका लागि नयाँ दृष्टिकोण सामजञ्स्यतापूर्ण र समावेशी हुनैपर्छ ।
आदरणीय सहभागी साथीहरू,
यदि कुनै पनि एसियाली राष्ट्र पछि परेमा एसियाको भविष्यको सपना, शान्ति र समृद्धिको सपना निरर्थक हुनेछ । गल्ती नहोस्, समावेशी नहुँदा एसियाली विकासको दिगोपना चकनाचुर हुनेछ ।
यदि कुनै पनि एसियाली मुलुकलाई पाखा लगाइएमा ‘साझा गन्तव्य’को हाम्रो प्रयत्न खेर जानेछ । गल्ती नहोस्, एसियाली भविष्य, समावेशिताको जगमा उभिन आवश्यक छ ।
निसन्देहः विश्व अर्थतन्त्रको मेरुदण्डको रूपमा एसियाको उदय भइरहेको छ । बजारहरू फस्टाइरहेका छन्, उद्योगहरूको वृद्धि भएको छ, रोजगारी सिर्जना भएका छन् र कैयौँ एसियालीहरू गरिबीको चक्रबाट बाहिर निस्कन सकेका छन् ।
फेरि पनि गरिबीको दुष्चव्रmले एसियालाई अझै गिज्याइरहेको छ ।
गल्ती नहोस् महिला तथा सज्जनवृन्द, गरिबी र शान्ति सँगसँगै अघि बढ्नै सक्दैन ।
एसियाली वृद्धिको आयाम साँघुरो हुनु हुँदैन । एसियाको उदय दोहनात्मक हुनु हुँदैन । एसियाली आरोहणको संरचना नाजुक हुनु हुँदैन ।
एसियाली वृद्धिको आयाम ˚राकिलो होस्, एसियाको उदय पर्याप्त मात्रामा समावेशी होस् र एसियाली आरोहणको संरचना मजबुत होस् भन्ने दृष्टिकोणलाई अघि बढाउने जिम्मेवारी हामीमा छ ।
आदरणीय सहभागी साथीहरू,
हालै हामीले नेपाली जनताका आकाङ्क्षालाई आत्मसात् गर्दै नेपाली जनताद्वारा निर्वाचित संविधानसभाद्वारा लोकतान्त्रिक एवं समावेशी संविधान जारी गरेका छौँ । हाम्रो यस महत्वपूर्ण उपलब्धिमा सहयोग र साथ दिने सम्पूर्ण एसियाली राष्ट्रहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
अन्त्यमा, नयाँ गतिशीलता र नयाँ दृष्टिकोणसहित अवसरहरूको सदुपयोग गर्न, सामथ्र्यहरू उद्घाटित गर्न र नयाँ भविष्यतर्फ पाइला अघि बढाउनका लागि एसियाका सामु अहिले ठूलो अवसर रहेको छ ।
यो मञ्चले विचारहरूलाई र प्रतिबद्धताहरूलाई एकीकृत गर्नेछ, नवीन दृष्टिकोणसहित गतिशीलताको सञ्चार गर्नेछ ।
हामीहरू सँगसँगै एसियाको समृद्ध भविष्य, साझा भविष्यतर्फ अघि बढ्नेछौँ भन्नेमा म पूर्ण विश्वस्त छु ।
धन्यवाद ।
(एसियाको लागि बोआओ फोरम, २४ मार्च २०१६ मा जनगणतन्त्र चीनको बोआओमा दिनुभएको मन्तव्यको अनुदित पाठ)