यतिबेला हामी जटिल र गम्भीर अवस्थामा छौँ । संविधान जारी भएको छ । संविधानको कार्यान्वयन गर्नु छ । कार्यान्वयन गर्नका निम्ति आवश्यक संविधान संशोधनलगायत नयाँ कानुन निर्माण वा संविधानले माग गरेअनुरूप, नयाँ संवैधानिक व्यवस्थाअनुकूल बनाउनका लागि भइरहेका विद्यमान कानुनहरूमा गर्नुपर्ने सुधार, तदनुसार थुप्रै नियम–विनियमहरूमा गर्नुपर्ने हेरफेरजस्ता कामहरू हामीले सम्पन्न गर्नुपर्नेछ । यी कामका निम्ति हामी पर्खन सक्दैनौँ, किनभने संविधानको कार्यान्वयन तीव्रताका साथ गर्नु छ । सामान्य अवस्थामा जस्तो हामी लामो समय लिन पनि सक्दैनौँ । छिटै हामीले काम अगाडि बढाउनुपर्छ । केही तयारीका कुराहरू छन् । हाम्रो अगाडि तत्काल आइपरेका कुराहरू पनि केही छन् ।
भुइँचालोले धेरै ठूलो नोक्सान पारेको छ । त्यसको पुनर्निर्माणको काम अगाडि बढाउनु छ । मैले जानकारी पाएसम्म अहिलेसम्म पनि तदारुकता नभएको, त्यत्रो भइँचालोपछि नेपालले भुइँचालो गएजस्तै नगरेको, सामान्य अवस्था हो कि जस्तो मात्रै गरेको र प्रभावकारी नीति र कामको तयारी नगरेको भन्ने दातृराष्ट्र र संस्थाहरूको समेत आवाज छ । जनताले त झन् यसप्रकारको अनुभूति गर्नु मामुली कुरा भइ नै हाल्यो । जनता अभावमा, अप्ठ्यारोमा, असहज परिस्थितिमा छन्, घर भत्केका छन्, विद्यालय भत्केका छन्, स्वास्थ्य चौकी भत्केका छन्, प्रहरी कार्यालय र अन्य कार्यालयहरू भत्केका छन् । यस्तो अवस्थामा जनताको आवासदेखि लिएर सेवा प्राप्त गर्ने कुराहरूमा व्यवधान भएको छ । ती कुरामा हामीले अत्यन्तै महत्वका साथ ध्यान दिएर काम गर्नुपर्ने भएको छ ।
यसै पनि नयाँ संविधान बनेपछिको अवस्थामा, नयाँ संविधानको निर्माणले एउटा पुरानो युगलाई समाप्त पारेको छ र नयाँ युगमा हामीलाई प्रवेश गराएको छ । कुनै न कुनै बिन्दुमा गएर हामीले पुराना ढाँचाकाँचा, तरिका, शैली र व्यवहारहरूलाई परिवर्तन गर्नुपर्छ र नयाँमा जानैपर्छ । हाम्रो प्रशासनिक ढाँचा, उत्तरदायित्वको प्रणाली, जनतालाई सेवा उपलब्ध गराउनेसम्बन्धमा हाम्रा व्यवहारहरू कस्ता छन् भन्ने कुराहरूबारे यहाँहरूलाई थाहा छ भन्ने मलाई लाग्छ । म भन्छु – स्पष्टतः परिवर्तन हुन जरुरी छ र त्यसै बिन्दुबाट सबै कुराहरू हुनुपर्छ ।
देशमा अहिले अघोषित नाकाबन्दी छ । यही बेला हाम्रा महान् चाडहरू अगाडि आइरहेका छन् । स्थितिले हामीलाई बढी गम्भीर बनाएको छ, बढी चिन्तित बनाएको छ । हामीले बढी उत्तरदायित्वपूर्ण ढङ्गले काम गर्नुपर्ने आवश्यकता छ ।
परिस्थिति गम्भीर छ, तर यस सम्बन्धमा के गर्ने, कसरी गर्ने भन्ने तदारुकता मैले अलि देखिराखेको छैन । हिजोमात्रै पनि मैले बोलाएर केही साथीहरूलाई भनेँ, यसरी अगाडि जानुपर्छ भनेर, तर त्यो तदारुकता पाइएन । चुल्होमा ग्याँस नभएपछि कति समय मान्छेले पर्खन सक्छ ? हप्ता, महिना त होइन होला, दिन पनि पर्खन सक्दैन । केही घण्टा पर्खन पनि मान्छेलाई गाह्रो हुन्छ । यस्तो अवस्थामा हामीले सर्वोपरि प्राथमिकतामा राखेर आपूर्ति व्यवस्थालाई दुरुस्त गर्नैपर्छ । यदि त्यसमा कुनै नियम, कुनै कानुन, कसैसँगका कुनै सम्झौता वा हिजोका कुनै सहमतिहरूका कारणले हाम्रा आपूर्ति व्यवस्थामा कुनै प्रकारको ढिलाइ हुन्छ भने त्यो कुरा यस परिस्थितिमा मान्य हुन सक्दैन, यो विशेष परिस्थिति हो । यसकारण म यहाँहरूलाई भन्न चाहन्छु – यस विशेष परिस्थितिको जिम्मा म लिन्छु, तपाईंहरू अगाडि बढ्नुपर्छ ।
यसमा कानुनका कुरा पनि होलान् । कानुन अनुकूल ढङ्गले आवश्यकताअनुसार परिवर्तन गरिन्छ, कानुन परिवर्तन गर्न समय लाग्छ भने आपूर्ति पहिले गर्नोस् अनि कानुन परिवर्तन गरौँला, तर नेपाली नागरिकको चुल्हो त पहिले बल्नुपरयो नि । ग्याँस, डिजेल त पाउनैपरयो नि । उद्योग पहिले चल्नुपरयो, रोजगारीका अवसरहरू समाप्त हुनुभएन । कानुन जनताको जीवनका लागि चाहिने हो, कानुन जनताको खुसीयालीका लागि चाहिने हो, कानुन जनताको जीवनको सहजताको निम्ति चाहिने हो । त्यसमा कुनै पनि प्रकारको प्रतिकूल असर पर्छ भने हामी नियम–कानुन पनि बदल्छौँ, तर आपूर्ति चाहियो । त्यसकारण म मुख्य सचिवज्यूलाई भन्न चाहन्छु, आपूर्ति सचिवज्यूलाई भन्न चाहन्छु, आपूर्तिसँग सम्बन्धित आयल निगम वा ग्याँससँग सम्बन्धित मित्रहरूलाई भन्न चाहन्छु – तत्काल यहाँ यो व्यवधान परयो भनेर भन्नोस्, त्यस व्यवधानलाई हामी हटाउँछौँ, त्यसपछिका अरू कानुनी उपचारहरू पछि हुन्छन् । सामाजिक जीवनलाई सुचारू गर्ने उपचार पहिले हुन्छ, त्यसपछि अरू उपचारहरू हुन्छन् ।
यस्तो बेला दुर्गम ठाउँहरूमा औषधिको अभाव हुनसक्दछ । खाने तेलको, नुनको र अरू चीजको अभाव हुन सक्दछ । यी कुनै प्रकारका अभावहरू नरहुन् । त्यसका निम्ति हामीले जेजे गर्नुपर्छ त्यो गरौँ । यो काम हामीले गर्नैपर्छ किनभने यो विशेष अवस्था हो ।
हाम्रो नेपाल प्राकृतिकरूपले सुन्दरमात्र छैन, सम्पन्न पनि छ । हामीसँग जलस्रोत छ, खानीहरू छन्, तर तिनीहरूको उपयोग गर्न हामीले सकेका छैनौँ । उद्योगधन्दाको निम्ति अत्यन्त अनुकूल वातावरण भएको देश हो यो, जहाँ सस्तो जनशक्ति प्राप्त छ । सरकारको तर्फबाट आन्तरिक लगानीलाई प्रेरित गर्न अथवा बाह्य लगानीलाई आकर्षित गर्न गर्नुपर्ने सबै खालका कामहरू, देशलाई नोक्सान नपर्ने सबै खालका प्रयासहरू, देश र जनताका हितका निम्ति हुने सबै खालका यत्नहरूलाई हामीले अगाडि बढाउनुपर्छ र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ । यस सम्बन्धमा हाम्रा कानुनमा, हाम्रा कतिपय मान्यताहरूमा र कतिपय व्यवहारमा परिवर्तन गर्न हामी तयार रहनुपर्दछ । हामी तयार छौँ पनि । उद्योगको क्षेत्रमा वा अरू क्षेत्रमा वैदेशिक लगानी हुन सक्दछ । विकासका पूर्वाधारहरू निर्माण गर्ने सम्बन्धमा, सञ्चारको क्षेत्रमा, यातायातको क्षेत्रमा, जलस्रोतको क्षेत्रमा, होटल व्यवसायको क्षेत्रमा, सेवाका क्षेत्रमा र अन्य क्षेत्रहरूमा समेत हामीले अनुकूल वातावरण बनाउनुपर्छ र देशलाई तीव्रतर विकासतर्फ र आधुनिकीकरणतर्फ लानुपर्छ ।
म कृषि क्षेत्रसँग सम्बन्धित हाम्रा साथीहरूलाई भन्न चाहन्छु – नेपालको अत्यन्तै ठूलो जनसङ्ख्या अहिलेसम्म अनुचित र अनावश्यक ढङ्गले कृषिमा निर्भर रहेको छ । त्यति ठूलो जनसङ्ख्या कृषिमा निर्भर रहनुपर्ने होइन, तर कृषि विकास नभईकन वा अरू क्षेत्रमा अवसर नभईकन कृषिमा निर्भर रहेको जनसङ्ख्या अन्यत्र स्थानान्तरण हुँदैन । त्यसकारण कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई व्यावसायिकीकरण गर्ने र कृषिलाई आधुनिक ढाँचामा लैजाने कुरामा लाग्नुपर्छ । माटो परीक्षण, सिँचाइको प्रबन्धदेखि लिएर कुन माटोमा, कुन हावापानीमा कुन चीज उत्पादन हुन्छ, त्यो ठम्याएर त्यसका निम्ति उन्नत बीउबीजन हामी कसरी उपलब्ध गराउनसक्छौँ, मलखादको आपूर्ति कसरी सहज बनाउनसक्छौँ भन्ने कुरा हामीलाई थाहा नभएको होइन, हामीलाई थाहा भइराखेको छ, यसमा हामी वैकल्पिक व्यवस्थाहरूका बारेमा कसरी सोच्छौँ भन्नेजस्ता कुराहरू समेतलाई ध्यानमा राखेर कृषिसम्बन्धी ज्ञान र प्रविधि लिएर किसानसमक्ष जाने काम गर्नुपर्छ । कृषिको व्यावसायीकरण भनेपछि स्वाभाविकरूपमा कृषिजन्य उद्योगहरू, कृषिमा आधारित उद्योगहरू, कृषिको बजार र कृषि क्षेत्रलाई पुरयाउन सकिने सिँचाइलगायतका अन्य पक्षहरूमा के कस्तो योगदान गर्न सकिन्छ, ती कुराहरू र कृषिको अनुसन्धान, विकास र अन्य पक्षहरू समेतलाई ध्यान दिनुपर्ने हुन्छ । यसभित्र पशुपालन, मत्स्यपालन, दुग्ध उत्पादनजस्ता अनेक कुराहरू पनि हुन सक्दछन् । सबैलाई हामीले एकीकृत ढङ्गले ठोस योजनाका साथ अगाडि बढाउनु पर्दछ र विकास गर्नु पर्दछ ।
यी विषयहरूमा तयारी गर्न तपाईंहरूलाई कति समय लाग्दछ ? नयाँ सोचका, नयाँ दृष्टिकोणका योजनाहरू ल्याउन कति समय लाग्दछ ? आज कार्तिक २ गते हो । मलाई लाग्छ कार्तिकभरिमा सकिन्छ । हरेक मन्त्रालयले नयाँ केचाहिँ काम गर्न सक्दछ, एउटा ब्रेकथ्रु हुने हिसाबले, देशलाई अगाडि बढाउने हिसाबले तपाईंहरूले योजना दिनोस् । तपाईं सचिवहरू, देश विदेश घुम्नुभएको छ, विकास र प्रगतिका अनेक ठाउँहरू देख्नुभएको छ, विभिन्न अनुभवहरू हासिल गर्नुभएको छ, त्यसलाई तपाईंहरूले यहाँ कार्यान्वयन गर्नुपर्छ ।
शिक्षासम्बन्धमा मेरो भनाइ के छ भने – जहाँ ढुङ्गो खसेको थियो, त्यहीँनेर निशाना गरेको थिएँ भनेजसो गरी अब चल्दैन । हामीले दुई प्रकारका शिक्षामा स्पष्ट ध्यान दिनुपर्छ । एउटा औपचारिक शिक्षा, अर्को अनौपचारिक शिक्षा । औपचारिक शिक्षाको सन्दर्भमा हामी के गर्छौँ ? यस सम्बन्धमा हाम्रो ठोस योजना हुनुपर्छ । हामीलाई कति वर्षसम्ममा कतिजना डाक्टर चाहिन्छ ? कुनकुन विषयका डाक्टर चाहिन्छ ? फिजिसियन कति चाहिन्छ ? नेफ्रोलोजिस्ट, युरोलोजिस्ट, हार्ट स्पेसलिस्ट, ग्यास्ट्रोइन्टरोलोजिस्ट, इएनटीका डाक्टर कति चाहिन्छ ? एनेस्थेसियाका लागि कति चाहिन्छ ? ल्याब टेक्निसियन कति चाहिन्छ ? फिजिओथेरापीका लागि कति चाहिन्छ ? डेन्टिस्ट कति चाहिन्छ? यी सबै कुराहरूको हामीसँग योजना हुनुपरयो । अहिले अन्धाले हात्ती छामेजस्तो मेडिकल कलेज सञ्चालन गर्ने, सिट बढाउने, घटाउने, अनशन बस्ने, अनशन तोड्ने–तोडाउने जुन कुरा चलिरहेको छ, यसरी हुँदैन । त्यसका लागि योजना बनाउनुपर्छ । योजनाअनुसार नै सरकारले लगानी गर्छ, लगानी गर्नुपर्छ । सोही अनुसारका मेडिकल कलेजहरू हामीले खोल्नुपर्छ । त्यसो भयो भने हामीले नेपाललाई एजुकेसन हब बनाउन सक्छौँ । कन्जरभेटिभ हुनुपर्ने र शिक्षा नियोजन गर्नुपर्ने आवश्यकता छैन तर स्तरहीन शिक्षा दिएर र शिक्षालाई व्यापारिक उद्देश्यहरूको शिकार बनाएर शिक्षाको गुणस्तरलाई कमजोर पार्ने कुरा हुन सक्दैन ।
अहिले मैले मेडिकल फिल्डको कुरा गरेँ । अन्य क्षेत्रको कुरा पनि त्यस्तै हो । हामीले कति वर्षमा कतिवटा पुल बनाउने ? सडक कति बनाउने ? घर कति बनाउने ? शहरी विकास कहाँ कसरी गर्ने ? त्यसका लागि के कस्ता, कति इन्जिनियर हामीलाई चाहिन्छ ? कतिले बाहिर गएर पाइलट पढेर आउँछन्, पैँतीस–चालिस लाख जति बुझाएरै आउँछन् । यहाँ आएपछि उनीहरूलाई रिस उठ्छ किनभने दश वटा प्लेनले हजार जना पाइलटलाई काम दिन त सक्दैन । बडो उत्साहका साथ उडुँला–उडाउँला भनेर आएका हुन्छन्, तर फर्केर आएपछि काम नै छैन । त्यसकारण हामीले कति विद्यार्थीलाई बाहिर जान दिने, कतिलाई नदिने ? अथवा कतिलाई कुन विषय पढ्न दिने ? ५० हजारले पाइलट पढ्छु भनेर भने के गर्ने हामीले ? तसर्थ योजना बनाउनु परयो, हामीलाई के चाहिएको छ, त्यो पढाउनुपरयो । कति चाहिन्छ, त्यति पढाउनुपरयो हामीले । कति वर्षका लागि हो, त्यसका लागि हाम्रो योजना चाहियो । त्यसैगरेर हामीलाई व्यवस्थापनमा, होटल म्यानेजमेन्टमा, बिजनेस म्यानेजमेन्टमा कति, के–कस्ता जनशक्ति आवश्यक पर्छ ? हामीलाई फरेस्ट्रीमा कति चाहिन्छ ? एग्रिकल्चरमा कति चाहिन्छ ? एग्रिकल्चरका कुनकुन सेक्टरमा कति चाहिन्छ? यस्ता विषयमा हाम्रा योजनाहरू नै छैनन् । हामी योजनाबद्ध ढङ्गले लागेका छैनौँ । त्यसैले समस्याहरू देखिएका छन् ।
हामीलाई छात्रवृत्ति मिल्ने गरेको छ भने छात्रवृत्ति दिने मित्रहरूलाई पनि हामीले आफ्ना योजनाअनुसार आफ्ना आवश्यकता भन्नुपर्छ । म उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएको बेला दुईवटा छात्रवृत्ति दिने एउटा मित्रराष्ट्रका राजदूतलाई ६ वटा दिनका लागि अनुरोध गरेँ । राजदूतले आफ्नो देशको सरकारसँग कुरा गरेर ६ वटा छात्रवृत्ति दिने व्यवस्था मिलाए । मैले आफूखुसी विद्यार्थी पठाउने कुरा भएन । त्यो कोटा शिक्षा मन्त्रालयलाई पठाइयो । मैले ६ जना पठाइदिन भनेँ तर मन्त्रालयले त्यति पनि गरेन । मेरिट बेसिसमा माथिल्लोमा नाम निकालेका जोकोहीलाई पठाइदिएको भए भइहाल्थ्यो नि । एक महिनासम्म नभएपछि फेरि म्याद थप गराएँ । अर्को एक महिनामा पनि आएन, म्याद सिद्धियो । दुई वटा कोटालाई छ वटा बनाइयो, दुइटासम्म पनि पठाइएन । टोटल ल्याप्स भयो । यो हाम्रो काम गराइको एउटा नमूना हो ।
यो त जडीबुटीको देश हो । जडीबुटीका लागि हामी कहाँ–कहाँ, के–के गर्न सक्छौँ ? कति प्रतिशत हामी बाह्य आयातमा निर्भर हुने ? कति वर्षका लागि आयात गर्नुपर्ला ? अब हामी एकै ठाउँमा केन्द्रित हुन कुनै जरुरत छैन । वन अध्ययन संस्थान हामी डडेल्धुरामा राख्नसक्छौँ । पशुपालन वा भेटेनरीसम्बन्धी क्याम्पस फिदिममा राख्न सक्छौँ, ताप्लेजुङमा राख्नसक्छौँ । त्यस्ता संस्थाहरू देशका विभिन्न ठाउँमा राख्नसक्छौँ । अब यससम्बन्धमा शिक्षा मन्त्रालयले कोअर्डिनेसन गरेर एक महिनाभित्र शिक्षासम्बन्धी योजनाको प्रारूप चाहियो ।
शिक्षा एउटा त व्यक्तिको जीवन सहज, सरल र सुखी बनाउनका लागि हो । अर्को, शिक्षा समाजका लागि उपयोगी हुनुपरयो । दुइटै उद्देश्य हुन् । जीवनका लागि, आचरण निर्माणका लागि र समाजका लागि शिक्षालाई उपयोगी बनाउन सकिन्छ । व्यावसायिक ज्ञानबाट, प्राविधिक ज्ञानबाट व्यक्ति र समाजलाई सुखी बनाउन सकिन्छ ।
अहिलेको सरकार कुनै पनि क्षेत्रमा राजनीतीकरण गर्ने, राजनीतीकरणबाट दुई जना मान्छे आफ्ना बनाउने होइन, देश बनाउने उद्देश्यका साथ गठन भएको हो । त्यसकारण यहाँ राजनीतीकरणको कुनै सम्भावना छैन । अहिले एमाले, एमाओवादी, राप्रपा नेपाल, मजफो (लोकतान्त्रिक) समेत धेरै पार्टीको सरकार छ । ती पार्टीमा लागेपछि वा ती पार्टीको अफिससँग राम्रो रयापोर्ट भयो भने काम चल्छ भन्ने कसैले नसोच्न म आग्रह गर्न चाहन्छु । सबै कुरा चेन अफ कमान्डबाट चल्छ, हामी आफू जिम्मेवार हुनुपर्छ । तपाईंंहरूलाई आफ्नो जिम्मेवारीको काम गर्न पूर्णअधिकार छ । गलत मनशायका साथ काम गरेको पाइएमा वा जानीबुझीकन नियतवश बेठीक गरेको पाइएमा राम्रो हुँदैन । कुनै तहको वा कुनै हिसाबको युद्धको आड लिएर बलियो छु भन्ने ठानेर पनि हुँदैन । म तपाईंंहरूलाई भन्छु – सचिवले प्रयोग गर्ने अधिकार सचिवले नै प्रयोग गर्नुपर्छ । मन्त्रालयले गर्ने, मन्त्रीस्तरबाट गर्ने मन्त्रीहरूले गर्नुहुन्छ र मन्त्रिपरिषद्मा आउनैपर्ने कुराहरू मन्त्रिपरिषद्मा आउँछन् ।
एउटा प्रवृत्ति के देखिन्छ भने अलिकति भनेपनि लोभ गर्न खोज्ने, लोभ छैन भने कामको सिन्को नभाँच्ने । किन काम गर्ने ? बजेट चलायो कि अलिकति झ्याप पारयो कि भन्ने आरोप आउँछ । अनेकथरी टीकाटिप्पणीहरू हुन्छन् भनेर कतिपय कर्मचारी काम गर्न रुचाउँदैनन् । मैले परराष्ट्रमन्त्री हुँदा पनि हेरेको छु । केही ठाउँमा राजदूतावास बनाउनोस् न भन्यो बनाउँदैनन् । कुनै ठाउँमा जग्गा किन्नोस् न भन्यो किन्दैनन् । पैसा म पठाइदिन्छु, जग्गा किन्नोस्, आफ्नै भवन बनाउनोस् भन्दा पनि गर्दैनन् । मलेसियामा मैले अलि कडैसँग भनेँ । श्रीलङ्कामा पहिल्यैदेखि हाम्रो जमिन छ, यस्तो प्राइम लोकेसनमा जमिन छ, हामी भवन निर्माण गरौँ न भन्दा पर्दैन भन्छन् । भवन बनाउँदा हिसाबकिताबको कुरा आउँछ । फेरि मानिसले टीकाटिप्पणी गर्छन्, त्यो भन्दा चुपचाप बस्नु ठीक भनेर भन्ठानेका होलान् । चुपचाप बसेर चोखो त होइएला, तर हामीलाई चोखो मानिस पनि चाहिएको छ र काम गर्ने मानिस पनि चाहिएको छ । चोखो त एउटा ढुङ्गो राखिदियो भने पनि होला, तर हामीलाई त असल मन र असल नियतका साथ स्वच्छ काम गर्ने मान्छे चाहिएको छ ।
मैले धेरै ठाउँमा जमिन हेरेँ, धेरै ठाउँमा भवन कहाँ बनाउने भनेर हेरेँ । धेरै ठाउँको उपयोग के कसरी गर्ने भनेर पनि हेरेँ । निर्माणको काम गर्न पनि भनेँ, तर खाएको आरोप लाग्छ, बेकार किन गर्ने भनेर काम नगर्ने प्रवृत्ति बढेको छ । यस्तो हुनु भएन, काम अगाडि बढाउनुपरयो । म के आग्रह गर्न चाहन्छु भने तपाईंहरू जुन तहमा हुनुहुन्छ, खानलाउन नपाएको अवस्था छैन । त्यसकारण कुनै लोभ गर्नुपर्ने आवश्यकता छैन । पैसाले त संसारकै सबभन्दा धनी मान्छेलाई पनि पुगेको छैन । ऊ पनि कमाइराखेकै छ । अर्कोलाई पनि पुगेको छैन, ऊ पनि कमाइराखेकै छ । व्यापारको कुरा बेग्लै हुन्छ । उनीहरू जतिबेला पनि कमाउनै खोज्छन् । हाम्रोचाहिँ सेवाको उद्देश्य हो । हामीले राष्ट्र र जनतालाई स्वच्छ र इमानदार बनेर सेवा प्रदान गर्नैपर्छ ।
केही नयाँ कामलाई तीव्रताका साथ अगाडि बढाउनु जरुरी छ । हामी मध्य–पहाडी पुष्पलाल राजमार्गलाई सक्रियताका साथ अगाडि बढाउँछौँ । त्यसैगरेर विभिन्न वैकल्पिक मार्गहरू, दुर्गम जिल्लाका पनि सदरमुकाम जोड्ने मार्गहरू र सडक बन्न नसक्ने ठाउँमा व्यापकरूपमा केबलकार स्थापना गर्ने कामहरूलाई अगाडि बढाउने तयारीमा छौँ । जमिनको पनि प्लानिङ चाहियो । कहाँ पशुपालन गर्ने, कहाँ फलफूल खेती गर्ने भन्ने दीर्घकालीन योजना हुनुपरयो । यस्ता विभिन्न पक्षहरूमा यहाँहरूको ध्यान जाओस् भन्ने म चाहन्छु । नयाँ सोच, नयाँ धारणाका साथ एक महिनाभित्र हरेक मन्त्रालयलाई आफ्ना प्रतिबद्धता ल्याउन म आग्रह गर्दछु ।
हामीले अब पानीका हुनसक्नेसम्मका स्रोतहरूलाई सङ्कलन गरेर किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनुपर्छ । खानेपानीका लागि दुई वटा घर एकदम माथिकोे टाकुरामा छन् र त्यहाँ पानी पुरयाउन करोडौँ लाग्छ भने त्यस्तो बस्ती नै सार्दाखेरि हुन्छ कि ? घरै सार्दाखेरि केही लाखमा सर्नसक्छ कि? त्यस्ता ठाउँमा पानी पुरयाउनुभन्दा घर सार्नतिर लाग्नुपर्ने हुनसक्छ कि? ती सबै कुराहरू हाम्रो सेक्टोरल दृष्टिकोणभित्र समेटिनुपर्छ । यातायात, खानेपानी, सिँचाइदेखि लिएर सम्पूर्ण कुराको एउटा पिक्चर हामीसँग हुनुपर्छ र त्यसअनुसार त्यो पिक्चरलाई बदल्ने हाम्रो प्लान के हो, त्यो प्लान हामीसँग हुनुपर्छ, हाम्रा हरेक मन्त्रालयमा हुनुपर्छ ।
हामीले सामाजिक जीवनका विविध क्षेत्रलाई ध्यान दिनुपर्छ । महिला शिक्षाको क्षेत्रमा, दलित र साँच्चिकै पढ्न नसक्ने बालबालिकाहरूको सन्दर्भमा हामीले अरू के गर्नसक्छौँ ? यहाँहरूलाई थाहै होला, अन्नपूर्णको फेददेखि माछापुच्छ्रेको फेदसम्म कास्की जिल्ला फैलिएको छ । त्यहाँको शिक्षाको स्तर र महोत्तरी, सर्लाहीजस्ता सुगम ठाउँको शिक्षाको स्तर हेर्नुभयो भने सुनसरी, सर्लाहीको स्तर पछाडि देखिन्छ । त्यहाँको साक्षरता दर हेर्नुभयो भने धेरै पछाडि छ । दुर्गम ठाउँका असचेत मानिसले बोक्सी लगाउन छोडिसके, महोत्तरीतिर बोक्सी भनेर महिलाहरूको बेइज्जती गर्ने, अपमान गर्ने, कुट्ने–पिट्ने र मार्नेसम्मका कुरा भइराखेकै छन् । यस्ता समाजिक स्थितिहरूलाई हामीले कसरी बदल्छौँ ? एउटा आधुनिक समाज, विकसित समाज र लोकतान्त्रिक समाजको निर्माणका योजनाहरू के हुनसक्छन् भन्ने योजनामा हामी लाग्नुपर्छ ।
लोकतन्त्र भनेको अराजकता होइन । उत्पादन, उत्पादकत्वमा गम्भीर नोक्सान पर्नेगरी गैर–जिम्मेवार तरिकाले, कसैलाई रिस उठ्यो भन्दैमा बन्द गरिदिने, ताला लगाइदिने चलन मुलुकको हितमा छैन । यो तालाबन्दी र बन्दको सिस्टम अबचाहिँ चल्न सक्दैन । जायज मागहरू सुन्नुपर्छ, तर तालाबन्दी मान्नु हुँदैन, अवरोधलाई स्वीकार गर्नुहुन्न । गृहमन्त्रालयलाई भन्न चाहन्छु,– हाइवे बन्द गर्ने कुरा अझै पनि कतै छ भने यो कुरा अहिलेबाटै अन्त्य हुनुपर्छ । राजमार्ग बन्द हुनसक्दैन । शिक्षण संस्था, अस्पताल र औद्योगिक प्रतिष्ठानमा तालाबन्दी हुनसक्दैन । औद्योगिक प्रतिष्ठानको तालाबन्दी ख्यालख्याल होइन । यसले हाम्रो देशलाई गम्भीररूपमा धक्का पार्छ । शिक्षण संस्थाहरूमा हुने तालाबन्दी पनि गम्भीर हो । अस्पतालजस्ता ठाउँमा तालाबन्दी गर्नु भनेको त अपराध नै हो । कसैलाई झोंक चल्यो अनि बिरामी जाँच्दिनँ, औषधि बेच्दिनँ भन्ने ? त्यो पसल बन्द गरिदिनुहोस् । बिरामीलाई औषधि नबेच्ने पसल बन्द गर्नुपर्छ । बिरामी नजाँच्ने डाक्टरको लाइसेन्स खारेज गर्नुपर्छ । किन चाहियो त्यस्तो डाक्टर ? म बिरामीलाई सलाइन चढाउँदिन, ब्लड दिन्न भन्छ भने, इमर्जेन्सीमा औषधि चढाउँदिन भन्छ भने डाक्टरले गर्ने कामचाहिँ के हो ? अब बन्द, हड्ताल र अवरोधको समय गयो, अब विकास–निर्माणको युग आयो । हामी सबै अब त्यतापट्टि लाग्नुपर्छ ।
मैले अलिकति कडा बोलेँ भन्ने पनि तपाईंंहरूलाई लागेको होला । शासन, कानुनको शासन हुनेछ भन्ने कुरा म तपाईंंहरूलाई भन्न चाहन्छु । कानुनको शासनभन्दा पर रहेर कुनै प्रकारको सम्झौता हुँदैन । कुनै अपराधसँग सम्झौता हुँदैन । तपाईंंहरू राजनीतिक दबाब, भनसुन, अनुचित प्रभावमा आएर कुनै काम नगर्नु होला । त्यसको अर्थ बेठीक काम नगर्नु होला भनेको हुँ । फेरि आफैँ पनि बेठीक गर्नुभयो भने त्यो पनि हुँदैन । तपाईंहरू लामो प्रशासनिक करियर र अनुभव भएका साथीहरूलाई मैले अरू धेरै के भन्नुपर्छ र ? मेरो एउटै भनाइ के छ भने नयाँ नेपाल बनाउने प्रतिबद्धतामा हामीले यस बिन्दुलाई एउटा नयाँ बिन्दुको रूपमा, नयाँ माइलस्टोनको रूपमा लिनुपर्छ र अगाडि बढ्नुपर्छ । हामी आफ्ना योजना र प्रतिबद्धतासहित अगाडि बढौँ । म तपाईंहरूको साथमा छु । एउटा राजनीतिक नेतृत्वको हिसाबले मैले तपाईंहरूबाट साथ पाउने कुरामा विश्वास गरेको छु । मन्त्रालयगत तपाईंहरूका योजनाहरू सकेसम्म छिटै प्राप्त होऊन् भन्ने म चाहन्छु । आजलाई यति नै । तपाईंहरू सबैलाई दशैँको धेरैधेरै शुभकामना !
(२०७२ साल कार्तिक २ गते नेपाल सरकारका सचिव र वरिष्ठ अधिकारीहरूलाई प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा गर्नुभएको सम्बोधन)