NP EN

​हाम्रो आकाङ्क्षा – सामाजिक न्याय, समानता र राष्ट्रिय एकता

सम्माननीय राष्ट्रपति महोदय, निवर्तमान राष्ट्रपति महोदय, उपराष्ट्रपति महोदय, प्रधान न्यायाधीशज्यू, सभामुखज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरू, उपप्रधानमन्त्रीज्यूहरू, मन्त्रीज्यूहरू, सभासद्ज्यूहरू, विशिष्ट श्रेणीका जङ्गी, निजामती सबै क्षेत्रका साथीहरू, संविधानसभाका पूर्वअध्यक्ष, पूर्वसभामुखज्यूहरू र सम्पूर्ण उपस्थित दाजुभाइ, दिदीबहिनीहरू,

यस घडीमा म सर्वप्रथम देशको रक्षा, स्वाधीनता, लोकतन्त्र र राष्ट्रहितका लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा–सुमन अर्पण गर्न चाहन्छु । त्यसैगरी नेपाललाई यहाँसम्म ल्याइपुरयाउन आफ्ना दृष्टिकोणहरू, आफ्ना प्रयासहरू र आफूले धेरै कुरा गुमाएर देशलाई अगाडि बढाउन महत्वपूर्ण र ऐतिहासिक योगदान पुरयाउनु हुने तमाम नेताहरू; यहाँ नाम लिनुपर्दा पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारीजस्ता नेताहरूलाई कृतज्ञताका साथ स्मरण गर्न आवश्यक ठानेको छु । उहाँहरूले देखेको शान्तिको, समानताको, समृद्धिको र न्यायपूर्ण समाजको जुन सपना हो, त्यसलाई साकार पार्ने सन्दर्भमा नयाँ संविधान बनेको छ र तदनुसार नै हामी अगाडि बढ्दैछौँ । 

आज यस कार्यक्रमको सन्दर्भअनुसार नै एउटा जटिल अवस्थामा, अनुभवविहीनताको स्थितिमा, सङ्क्रमणकालीन जटिलतामा, कुनै दृष्टान्त नभएको अवस्थामा आफ्नो पदको गहन जिम्मेवारीलाई कुशलतापूर्वक सम्हालेर डा. रामवरण यादवले राष्ट्रपति पदबाट बिदा लिँदै हुनुहुन्छ । देशलाई विभिन्न अप्ठ्यारा परिस्थितिहरूमा अगाडि बढाउने महत्वपूर्ण भूमिका खेलेर, कहिले संविधानले बाटो नदेखाइरहेको अवस्था, कहिले संविधानका निकायहरू नभएको अवस्थाजस्ता जटिल परिस्थितिहरू पार गरेर संविधानसभाको दोस्रो निर्वाचन र त्यहाँबाट गठित संविधानसभाबाट नेपालको संविधान जारी गर्ने र घोषणा गर्ने कार्य सम्पन्न गरी यस संविधानको कार्यान्वयनको चरणमा आफ्नो कार्यकालको लगभग ७ वर्षपछि अवकाश लिँदै गर्नुभएका निवर्तमान राष्ट्रपति डा. रामवरण यादवज्यूप्रति म नेपाल सरकारका तर्फबाट र सम्पूर्ण नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । राष्ट्रपतिको रूपमा उहाँले दिनुभएको योगदानको म सम्मान गर्न चाहन्छु, कदर गर्न चाहन्छु । आगामी दिनमा उहाँको सम्पूर्ण जीवन फरक ढङ्गले देश र जनताको सेवामा लामो समय समर्पित हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । उहाँ निवृत्त हुनुभए पनि सरकारले राष्ट्रपतिको रूपमा उहाँले लामो समय सँगाल्नु भएका अनुभवहरूबाट लाभ लिन, उहाँबाट सल्लाह, सुझाव लिन पछिपर्ने छैन । म उहाँलाई आफ्ना अनुभवहरूबाट नेपाललाई अगाडि बढाउने सन्दर्भमा योगदान पुरयाउन आग्रह पनि गर्न चाहन्छु । 

आज मूलतः सङ्क्रमणकालको एउटा अवधि पार भएको छ । संविधान बनेको छ । अब संविधानमा भएको व्यवस्था अन्तर्गत संविधानले परिकल्पना गरेका संरचनाहरू, निकायहरूको गठन गर्ने र तिनीहरूलाई सुचारु गराउने संविधानसम्मत अभिभाराहरू हाम्रा सामु छन् । 

यसै प्रसङ्गमा हामीले नयाँ राष्ट्रपतिको निर्वाचन गरेका छौँ । यतिबेला हामीले संविधानसम्मत ढङ्गले निर्वाचित हुनुभएकी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई पनि म सरकारको तर्फबाट र नेपाली जनताको तर्फबाट हार्दिक बधाइ र शुभकामना ज्ञापन गर्न चाहन्छु । उहाँको कार्य सफल रहनेछ । म विश्वास व्यक्त गर्दछु र सफल कार्यकालका निम्ति उहाँप्रति हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु । राष्ट्रपति महोदयको सफल कार्यकालका निम्ति सरकारको तर्फबाट गरिनुपर्ने सबै प्रकारका सहयोगहरू गरिने कुराको प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु । 

सम्माननीय राष्ट्रपतिको रूपमा, मुलुकको दोस्रो राष्ट्रपतिको रूपमा माननीय विद्यादेवी भण्डारी निर्वाचित हुनुले नेपालको इतिहासमा नयाँ आयाम थपेको छ । पहिलोपल्ट नेपालको इतिहासमा महिला राष्ट्रपति हुनुभएको छ । यसलाई पनि हामीले गौरवको रूपमा लिनु पर्दछ भन्ने मलाई लाग्छ । 

देशको परिस्थिति केही चुनौतीपूर्ण छ, तर पनि यस चुनौतीपूर्ण परि‌स्थितिको सामना गर्न अहिलेको समग्र राज्यसंरचना सफल हुनेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु । सरकारका तर्फबाट अहिलेका सङ्क्रमणकालीन जटिलता र तिनीहरूको समाधानका सन्दर्भमा आइपर्ने सानातिना चुनौतीहरूको समाधान गरिने कुरामा पनि म प्रतिबद्धता जनाउन चाहन्छु । 

अहिले केहीकेही असहमतिका, असन्तुष्टिका कुराहरू देखिएका छन् । त्यस्ता कुराहरू अरूतिर पनि संविधान जारी भएका बखत हुने गर्दछन् । अरू धेरै ठाउँमा भन्दा हाम्रो देशमा अत्यन्तै सहभागितामूलक, समावेशी जनप्रतिनिधित्वको संविधानसभा बन्यो र त्यस संविधानसभाले अत्यधिक सहभागितामा संविधान निर्माण गरयो । संविधान निर्माणका लागि जति सङ्ख्या वाञ्छित हुन्छ, आवश्यक हुन्छ, त्यो भन्दा धेरै बढी, अत्यन्तै ठूलो सहमतिका साथ, ठूलो जनमतका साथ जनताका रायसुझाव, प्रतिक्रियाहरू समेत लिएर, पुराना पुराना अनुभवहरू सँगालेर लोकतान्त्रिक संविधान बनेको छ । 

संविधानका बारेमा कहीँकतै असहमतिका र असन्तुष्टिका पक्षहरू रहेका हुनसक्छन् । संविधान असंशोधनीय र अपरिवर्तनीय दस्तावेज होइन । यो समयको माग र आवश्यकताअनुसार, जनताको आकाङ्क्षाका अनुसार, परिस्थितिलाई सहज बनाउनका निम्ति यसमा परिवर्तन, परिमार्जन र संशोधनजस्ता कुराहरू हुँदै जान्छन् । ती कुराहरूका निम्ति हामी सबै तयार छौँ भन्ने कुरा मैले दोहरयाइरहनुपर्छ जस्तो लाग्दैन । कहीँकतै, केही असहमति वा असन्तुष्टिका कुराहरू देखिएका छन् भने तिनीहरूको समाधानका निम्ति वर्तमान सरकार अत्यन्तै लचिलो छ र लचिलोपनका साथ समस्यालाई सम्बोधन गर्ने र अगाडि बढ्ने कुरामा कृतसङ्कल्पित पनि छ । 

हामी देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रको हित र स्वाभिमान जस्ता कुराहरूमा कुनै सम्झौता गर्न सक्दैनौँ । देशलाई नोक्सान पर्ने कुनै कुरा हामी सोच्न पनि सक्दैनौँ । मलाई लाग्छ – कुनै पनि नेपालीले यस्तो सोच्न सक्दैन । यी कुराहरूमा कायम रहेर बाँकी तमाम कुराहरूमा हामी अगाडि जानसक्छौँ । 

हामीले लोकतन्त्रका लागि लामो सङ्घर्ष गरेका छौँ, धेरै बलिदान दिएका छौँ । ती कुरालाई हामीले बिर्सनु हुँदैन । लोकतान्त्रिक प्रणालीअनुसार हाम्रा शान्तिका प्रयासहरूलाई हामी अगाडि बढाउँछौँ । सामाजिक न्याय, समानता र राष्ट्रिय एकता हाम्रा आकाङ्क्षा हुन् । यतिबेला, म निवर्तमान राष्ट्रपतिज्यूलाई बिदाइ गरिरहेको यस समारोहमा के कुरा दोहरयाउन चाहन्छु भने शान्ति प्रक्रियाका केही बाँकी रहेका कामहरूलाई पनि हामी सकेसम्म छिटै टुङ्ग्याउनेछौँ । 

नेपालका कोही शत्रु छैनन् र कोही विरोधी छैनन् । नेपाल शान्तिको पक्षमा छ, नेपाल मित्रताको पक्षमा छ, नेपाल विश्वसँग सहकार्यको पक्षमा छ । नेपालका राजनीतिक पार्टीहरू पनि आधारभूत कुराहरूमा एक ठाउँमा छन् । लोकतन्त्रका प्रश्नमा, शान्तिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा, समानताको प्रश्नमा र राष्ट्रको हितका प्रश्नमा पार्टीहरू एक ठाउँमा उभिएका छन् । संविधानको निर्माण त्यसैको द्योतक हो । 

अबका दिनमा हाम्रा प्रयासहरूलाई हामी संविधानको सफलतापूवर्कक कार्यान्वयन, राजनीतिक क्षेत्रमा लोकतन्त्रको सुदृढीकरण, सामाजिक क्षेत्रमा सामाजिक न्याय र समानता, राष्ट्रियताको क्षेत्रमा स्वाधीनता एवम् राष्ट्रिय स्वाभिमानसहित राष्ट्रिय हितहरूको रक्षा गर्दै  खासगरी आर्थिक उन्नति र विकासको कार्यमा केन्द्रित गर्नेछौँ । हामीले पुनर्निर्माणको कामलाई पनि महत्वका साथ सम्पन्न गर्नुपर्नेछ । पुनर्निर्माण, विकासलगायतका कामहरूलाई हामी अबका दिनमा तीव्रताका साथ अगाडि बढाउनेछौँ । 

बिदाइ समारोहको यस क्षणमा म निवर्तमान सम्माननीय राष्ट्रपतिज्यूप्रति उहाँले दिनुभएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । अन्तमा, हामी सबैको तर्फबाट उहाँमा धेरैधेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।

(२०७२ साल कार्तिक १३ गते राष्ट्रपति कार्यालयमा आयोजित निवर्तमान राष्ट्रपति डा. रामवरण यादवको बिदाइ समारोहमा गर्नुभएको सम्बोधन)