NP EN

हाइट र लाइट भएको चीजलाई टाढैबाट देख्न सकिन्छ

कार्यक्रमका अध्यक्ष तथा गैर–आवासीय नेपाली महासङ्घका नवनिर्वाचित अध्यक्ष शेष घलेज्यू,सम्पूर्ण नवनिर्वाचित पदाधिकारी साथीहरू, सदस्य साथीहरू, पूर्व अध्यक्षज्यूहरू, विभिन्न ढङ्गले यस संस्थामा योगदान पुरयाउनुभएका व्यक्ति–व्यक्तित्वहरू, पूर्वप्रधानमन्त्रीज्यू, पूर्व मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू, नेपाली सेनाका प्रधान सेनापतिज्यू, एनआरएनका विभिन्न तहमा विभिन्न देशमा रहेर सेवा गरिरहनु भएका महानुभावहरू र यस कार्यक्रमलाई सफल पार्न यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू, 

यहाँहरूले गैर–आवासीय नेपाली महासङ्घको सातौँ वार्षिक साधारणसभा र अन्तर्राष्ट्रिय सम्मेलन भव्यताका साथ र सार्थक उपलब्धिका साथ सम्पन्न गर्नुभएको छ । सर्वप्रथम, म तपाईंंहरूलाई यस सफलताका निम्ति बधाइ ज्ञापन गर्न चाहन्छु । 

तपाईंहरूले विगतमा खास उद्देश्य र अठोटका साथ नै यस संस्थाको शुभारम्भ गर्नुभएको थियो र यसलाई अगाडि बढाउनुभएको थियो । यसको उपादेयता विभिन्न समयमा प्रकट हुँदै आयो र खासगरी जब विनाशकारी भूकम्पले नेपाललाई झट्का दियो, त्यतिबेला अझ बढ्ता यस संस्थाको उपादेयता बढ्यो । विदेशमा रहेका गैर–आवासीय नेपालीहरूले सङ्गठितरूपमा आफ्नो देशप्रति स्नेह प्रकट गर्न र आफ्ना दाजुभाइ, दिदीबहिनीहरूलाई परेको कठिनाइ शेयर गर्न, त्यसको हिस्सेदारी लिन सङ्गठित प्रयास अगाडि बढाउने समय पनि मिल्यो । 

तपाईंरूले यस सम्मेलनमार्फत दश–सूत्रीय घोषणापत्र जारी गर्नुभएको छ । म त्यसलाई स्वागत गर्न चाहन्छु । तपाईंहरूलाई धन्यावाद भन्न चाहन्छु । दश–सूत्रीयचाहिँ तपाईंहरूले जारी गर्नुभयो, तर  एक–सूत्रीयचाहिँ अघि नै नेपाली जनताले बुझे, पहिलोचाहिँ । बाँकी ९ वटाचाहिँ फेरि पढ्नुपर्छ । पहिलो प्रस्तावचाहिँ सबैले छर्लङ्गै बुझे । सजिलो त्यही प्रस्ताव छ । त्यो प्रस्तावलगायत सबैलाई मनन गर्नुपर्छ । 

नवनिर्वाचित अध्यक्षज्यूलाई धेरैधेरै बधाइ भन्न चाहन्छु । उहाँले एक कार्यकाल काम गरेर गैर–आवासीय नेपालीहरूको मन जित्नुभयो र पुनः निर्वाचित हुनुभएको छ । गैर–आवासीय नेपालीहरूको उहाँप्रतिको विश्वास अर्थपूर्ण छ भन्ने विश्वास मलाई पनि भएको छ ।  उहाँको अर्को कार्यकाल पनि अत्यन्तै सफल रहोस्, धेरैधेरै शुभकामना छ । अरू साथीहरू जो निर्वाचित हुनुभएको छ, सबै पदाधिकारी र सदस्यहरूलाई बधाइसहित शुभकामना व्यक्त गर्न चाहन्छु ।  

यो संस्थाको स्थापना गरेर यसलाई यहाँसम्म ल्याइपुरयाउने साथीहरू, जो एनआरएनका अभिभावकहरू हुनुहुन्छ, पूर्वअध्यक्षहरू हुनुहुन्छ, संस्थापक अध्यक्ष पनि हुनुहुन्छ, उहाँहरू जसको धेरै मेहनत पसिना, धेरै बुद्धि यो संस्थालाई यहाँसम्म ल्याइपुरयाउनमा लागेको छ भन्ने मैले विश्वास गरेको छु । 

म सन् २००० को अन्ततिर रूस भ्रमणमा गएको थिएँ । बेलारूसमा पुग्दा डा. उपेन्द्र महतोले एनआरएन गठन गर्ने सम्बन्धमा विचार–विमर्श गर्नुभएको थियो । मैले भनेको थिएँ – विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूसँग मेरो पनि सम्पर्क छ, त्यो सम्पर्क पनि तपाईंंले प्रयोग गर्न सक्नुहुन्छ, यस कामलाई अगाडि बढाउनोस्, म पनि तपाईंको साथमा हुन्छु । यो सङ्गठन बन्नुभन्दा अगाडि मैले गरेको कबुल थियो । आज फेरि यहाँहरूका अगाडि म सङ्गठित हैसियतमा पनि त्यही कबुल दोहोरयाउन चाहन्छु – म एनआरएनका साथमा छु । 

यो संस्थालाई यहाँसम्म ल्याइपुरयाउन महत्वपूर्ण योगदान गर्ने सम्पूर्ण हस्तीहरूको म प्रशंसा गर्न चाहन्छु, सम्मान गर्न चाहन्छु । आज थुप्रै साथीहरू सम्मानित हुनुभएको छ । तपाईंहरूले बेस्ट एनआरएन पनि छान्नुभएको छ । बेस्ट एनआरएनलगायत तमाम साथीहरू, जो पुरस्कृत हुनुभएको छ, उहाँहरूलाई म हार्दिक बधाइ दिन चाहन्छु, शुभकामना दिन चाहन्छु । 

सबैलाई खादा दिऊँदिऊँ लाग्ने, सबैलाई सम्मान दिऊँदिऊँ लाग्ने, सबैलाई दिँदा महत्व कम हुने । उहाँहरूको अप्ठ्यारोलाई मैले बुझेको छु । त्यसकारण उहाँहरूले अलिकति त्यसको सङ्ख्या घटाउनुभएको बुझियो । उहाँहरूको तर्फबाट म सबैलाई सम्मान भन्न चाहन्छु, सबैको प्रशंसा गर्न चाहन्छु । 

तपार्इंहरूलाई अलिअलि शङ्का थियो होला, नेपालका राजनीतिक दलहरू, नेपालको सरकार, नेपालको संविधानसभाका सदस्यहरू, नेपालका राजनीतिक पार्टीका नेताहरू बहिरा छन् कि भन्ने तर ती बहिरा छैनन्, कान सुन्छन् भन्ने कुरा संविधानका प्रावधानहरूबाट तपार्इंंहरूले थाहा पाइसक्नु भएको हुनुपर्छ । त्यहाँ एनआरएनका मागहरूलाई सम्बोधन गरिएको छ, एनआरएनले उठाएका कुराहरू पूरा गरिएका छन् । मलाई लाग्छ, संविधानको धारा १४ मा  यहाँहरूले उठाउनुभएको कुरा जस्ताको तस्तै राखिएको छ । यहाँहरूले भन्नुभएको थियो – एकपल्टको नेपाली, सधैको नेपाली, त्यो सदर भएको छ । नेपालीहरूले आफ्नो देशमा आफ्ना अधिकारहरू, सामाजिक अधिकारहरू, सांस्कृतिक अधिकारहरू प्राप्त गर्नुपर्छ भन्ने मागहरू पूरा भएका छन् । म दावाका साथ भन्छु, यहाँहरूका माग पूरा भएका छन् र म यहाँहरू सबैलाई यस सन्दर्भमा पनि बधाइ भन्न चाहन्छु । 

मान्छे सन्तुष्ट भयो भने प्रगति गर्दैन । कहीँकतै असन्तुष्टिको कुरा प्रगतितर्फ उन्मुख हुने लक्षण हो । त्यसलाई म स्वागत गर्दछु । 

यतिबेला यहाँ तपाईंहरूको यो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यो सातौँ सम्मेलन, यस्तो बेलामा भएको छ, जतिबेला नेपालले एउटा ऐतिहासिक मोड लिएको छ, नयाँ मोड लिएको छ, नयाँ उचाइ लिएको छ । नेपाली जनताले आफूबाट निर्वाचित प्रतिनिधिहरूद्वारा संविधानसभाको माध्यमबाट आफैँ संविधान बनाउने जुन सपना लामो समयदेखि देखेको थियो, त्यो पूरा भएको छ । सपनाको कुरा गर्दा अघि एकजना मित्रले भन्नुभएको थियो – निदाएको बेला देखेको सपना होइन, जागेका बेला सचेत मनले आन्दोलनका मैदानमा देखेको जुन सपना हो त्यो पूरा भएको छ । संविधानसभाले संविधान जारी गरेको छ । कस्तो संविधानसभाले ? तपाईंहरू संसारका विभिन्न कुनाबाट यहाँ आउनुभएको छ । म स्पष्ट पार्न चाहन्छु – भ्रमहरू, अन्योलहरू पनि यताउता हुन सक्दछन् । अन्योलमा हुनुपर्ने कुनै आवश्यकता छैन । अत्यन्तै व्यापकरूपमा जनताद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा निर्माण भएको छ । समानुपातिक, समावेशी प्रतिनिधित्वबाट भएको छ । इन्द्रेणी भनूँ भने सात रङ मात्र हुन्छ, महाइन्द्रेणी संविधान बनेको छ । अत्यन्तै लोकतान्त्रिक ढङ्गले गठित संविधानसभाले अत्यन्तै लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी गरेको छ । संविधानसभाले दुनियाँका अगाडि हामीले गर्व गर्नसक्ने, धक फुकाएर बहस गर्नसक्ने लोकतन्त्रका विश्वव्यापी लोकतान्त्रिक मूल्य मान्यताहरूको उचाइमा रहेको संविधान जारी गरेको छ । संविधानले जनतालाई नयाँ युगमा पुरयाएको छ, जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ । 

नेपालमा यसभन्दा अगाडि पनि संविधान थिए, तर संविधानसभाबाट यति व्यापक प्रतिनिधित्वको, यति धेरै सहभागिताको, यतिधेरै समावेशिताको संविधान बनेको  थिएन । त्यसैकारण जनता संविधानसभाबाट संविधान बनाउन चाहन्थे । जनताको त्यो चाहना पूरा भएको छ । राजनीतिक हिसाबले भन्ने हो भने लोकतान्त्रिक प्रणाली, कानुनको शासन, लोकतन्त्रका विश्वव्यापी मान्यता, शक्ति पृथकीकरणको सिद्धान्त, लोकतन्त्रका अरू विभिन्न मूल्यमान्यताहरू, स्वतन्त्र न्यायालय, मानवअधिकारको प्रत्याभूतिसमेतका कुराहरूलाई प्रत्याभूत गर्दै संविधान जारी भएको छ । संविधान जारी भएपछि विगतदेखि समाजमा रहेका असमानता र विभेदहरूको अन्त्य गर्दै सामाजिक न्याय र समानताको स्थापनाका लागि देश अगाडि बढेको छ । हामी विविध जातजाति, विविध भाषाभाषी भएका विविधताले युक्त देशमा ती विविधतामा सबैले आफ्नो अनुहार संविधानमा देख्ने गरी राष्ट्रिय पहिचानसहितको, देशअनुसारको पहिचानसहितको साझा राष्ट्रिय गौरवयुक्त पहिचानसहितको संविधान बनेको छ । सबैको अपनत्वबोध हुने संविधान बनेको छ ।  राष्ट्रिय एकतालाई सुदृढ गर्ने संविधान बनेको छ । 

नेपाल प्राकृतिकरूपले यति सुन्दर छ, साधनस्रोतले यति सम्पन्न छ, अनि हामी नेपाली त्यत्तिकै मेहनती पनि छौँ । लड्न परयो भने पनि अरूले नेपालीलाई छान्छन् । आजदेखि होइन यो, सन् १८२५ देखि नै हो । कुनै काम गर्नुपरयो भने पनि नेपालीलाई छानिन्छ । ठूलो काम कि सानो काम भन्नेमा नेपालीले धेरै महत्व दिँदैन, तर काममा इमान्दार छ, त्यसै कारण आज दुनियामा जहाँ गएपनि नेपाली श्रमिकलाई बढी प्राथमिकता दिइने गरेको छ । नेपाली जनता इमानदार र मेहनती भएकैले त्यस्तो भएको हो । त्यस्ता जनता भएको देश, यत्रा साधनस्रोतहरू भएको देश गरिब हुनु अत्यन्तै नसुहाउने कुरा हो । अब नेपाल समृद्धिको बाटोतर्फ अगाडि बढ्ने नयाँ चरणमा प्रवेश गरेको छ । हामी सबै मिलेर यो मुलुकलाई समृद्ध बनाउनैपर्छ ।  

यसबेला नेपाली जनता विपदमा छन् । विनाशकारी भूकम्पले ८ लाख घर भत्किएका छन्, ८ हजार विद्यालयहरू ध्वस्त अवस्थामा छन् । हाम्रा पुराना गौरवपूर्ण, कलात्मक, ऐतिहासिक र धार्मिक आस्था एवम् विश्वासका धरोहरहरू ध्वंस भएका छन् । यही समयमा तपाईंहरूको सम्मेलनको आयोजना भएको छ । त्यसकारण पनि यो सम्मेलन महत्वपूर्ण छ । 

म किन हो किन दुःखलाग्दो परिस्थिति देखिरहेछु । बाटोमा हिँड्दा सिलिन्डरका लाइन हुन्छन्, गाडीका लाइन हुन्छन्, मोटरबाइकका लाइन हुन्छन् । के गरयौँ हामीले, के बिरायौँ हामीले ? सोध्ने हो भने पशुपतिनाथले पनि भन्दैनन् । नाकाबन्दी छ भन्दा छैन रे, छैन भन्दा केही पनि आउँदैन । यस्तोबेलामा तपाईंहरूले विश्वभरबाट जम्मा भएर काठमाडौँमा यो सम्मेलन गर्नुभएको छ । यस अर्थमा पनि यो सम्मेलन महत्वपूर्ण छ । 

नेपाल सर्वोच्च शिखर सगरमाथा भएको देश हो । यो गौतम बुद्ध जन्मेको देश हो । यो टाढैबाट पनि देख्न सकिने देश हो । मैले धेरै ठाउँमा धेरैपल्ट भन्ने गरेको छु – एउटा हाइट भएको चीजलाई टाढैबाट देख्न सकिन्छ, एउटा लाइट भएको चीजलाई टाढैबाट देख्न सकिन्छ । सगरमाथा पनि हामीसँग छ, बुद्ध पनि हामीसँग छन् । इन्लाइटेनमेन्टका कुरा गर्ने हो भने पनि २ हजार ६ सय वर्ष अगाडिदेखिको बौद्धिकता, विश्वलाई शान्तिको सन्देश दिने बौद्धिकता हामीसँग छ । हाम्रा पुर्खाहरू जतिखेर तारा गनेर बस्थे, जतिखेर ग्रहहरू कस्ता छन्, नक्षत्रहरू कस्ता छन् गनेर बस्थे । कहिले ग्रहण लाग्छ, सूर्य कहिले उदाउँछ, शुक्र कहिले अस्ताउँछ, बृहस्पति कता छ, योगिनी कहाँ पुगेको छ ? आदि कुराहरूको हिसाब गरेर हाम्रा पुर्खा बस्थे । त्यतिबेला आजको विकसित दुनिया कहाँ थियो ? मैले भनिरहनुपर्दैन । लिपि, अङ्क, अक्षर, आयुर्वेद, औषधिविज्ञान आदि कुराहरूको राम्ररी विकास भइरहँदा आजको विकसित दुनिया कहाँ थियो ? म धेरै भनिरहन चाहन्न । केही कारणले हामी पछि परयौँ, तर म नेपाल सरकारको प्रतिनिधिको हिसाबले भन्न चाहन्छु, अब नेपाल पछाडि पर्न तयार छैन, पछाडि पर्न मान्दैन । नेपाललाई अगाडि बढाउनुपर्छ । त्यसका निम्ति म सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु । 

तपाईंहरूलाई लाग्ला – एमाले र काङ्ग्रेस फेरि सत्तापक्ष र प्रतिपक्ष भए भन्ने । चुनावमा कहिलेकाहीँ त्यस्तै त्यस्तै हुन्छ । चुनाव सिद्धिएपछि सबै सिद्धिन्छ । फेरि हामी सँगै हुन्छौँ, फेरि हामी सँगै रहनेछौँ । नेपाली काङ्ग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनमा, नेपालको लोकतान्त्रिक जागरणमा, परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको पार्टी हो । आज राष्ट्र अप्ठ्यारोमा परेको बेला र राष्ट्रलाई नयाँ ढङ्गले अगाडि बढाउने सङ्कल्प हामीले गरिरहेका बेला नेपाली काङ्ग्रेसले डिलमा बसेर टीकाटिप्पणी गर्न मिल्दैन । म सुशील कोइरालाजीलाई आग्रह गर्न चाहन्छु – एकापट्टिको जुवा म बोक्छु, एकापट्टिको जुवा सुशीलजी बोक्नोस् । तपाईंहरूलाई म विश्वास दिलाउन चाहन्छु, कुनै सस्तो व्यापार गर्न खोजिएको छैन । कुनै सानातिना कुखुरा, बाख्रा दिएर नेपाली काङ्ग्रेसलाई अल्मल्याउन चाहेको होइन, हात्ती, घोडा जे चाहिएको छ लिनोस्, सँगै बसेर काम गरौँ । अलिक समयसम्म हाम्रो प्रतिस्पर्धालाई देशले धान्न गाह्रो छ । हाम्रा प्रयासहरू, हाम्रा सङ्कल्पहरूका निम्ति सत्तापक्ष र प्रतिपक्षका व्यवहारहरू देशलाई अगाडि बढाउन अलि अप्ठ्यारो पार्नसक्ने खालका हुनसक्छन् । त्यसकारण सँगै जाऔँ, मिलेर जाऔँ, म आग्रह गर्न चाहन्छु । म यहाँहरूलाई स्पष्ट पार्न चाहन्छु, अहिले मैले भनिरहेको कुरो सफल हुनेछ र हामी फेरि सरकारमा सँगै हुनेछौँ । म मरीच दिएर हुन्छ कि, सुपारी दिएर हुन्छ कि, पान दिएर हुन्छ कि, मिठाई चढाएर हुन्छ कि नेपाली काङ्ग्रेसलाई सरकारमा आउन हार्दिक निम्तो गर्न चाहन्छु । सँगै देश बनाऔँ, मेरो हार्दिक आग्रह छ । 

केही ठाउँमा संविधानका विषयलाई लिएर केही असन्तुष्टिजन्य कुराहरू सुनिएका छन् । ती धेरै ठूला कुरा होइनन् । मैले कहिलेकाहीँ भन्ने गरेको छु – साथीहरू झोला माग्छन्, झोला दिइयो । अनि फेरि हात्ती किनिदेऊ भन्छन्, हात्ती पनि दिइयो । त्यसपछि फेरि त्यो झोलामा हात्ती हालिदेऊ भन्छन् । त्यस्तो त कसरी हुन्छ ? सबै अट्ने कुराहरूलाई अटाइन्छ तर नअट्ने कुराहरूलाई कसरी अटाउने ? सबै हुने र गर्नसकिने जति माग पूरा गरिन्छन् । आउनोस्, किन बाहिर बस्ने ? बाहिर बसिरहनुपर्ने आवश्यकता छैन । दशगजाको पुलमा बसेर नेपाली जनतालाई दुःख दिएर कुनै अर्थ हुँदैन । म भन्न चाहन्छु – आउनोस् तपाईंहरूका मागलाई सम्बोधन गरिनेछ, यथोचित ढङ्गले । आउनुहोस्, सम्वादको बाटोबाट जाऔँ । पुलमा बस्नुभएको छ, पुलले के सुन्छ, के सम्वाद गर्छ ? सरकारको तर्फबाट म भनिरहेको छु, आउनुहोस् – रेड कार्पेट ओछ्याएर स्वागत गर्छु, कुराकानीका लागि । मलाई विश्वास छ – उहाँहरू आउनुहुनेछ । 

नेपालको संविधान भर्खर बनेको छ । तपाईंहरूले हेरिसक्नु भएकै होला । यो सम्मेलन सकिएपछि तपाईंहरू फेरि विदेशतिरै लाग्नुहुनेछ । त्यहाँ विदेशमा पनि तपाईंहरूलाई सोधिनेछ हाम्रो संविधानका बारेमा । तपाईंहरू ढुक्कले भन्न सक्नुहुनेछ हाम्रो संविधानको बारेमा । तपाईंहरू गएका, तपाईंहरू बसेका देशमा महिलालाई ३३ प्रतिशत आरक्षण गर्ने व्यवस्था संविधानमा छैन, तर नेपालमा ३३ प्रतिशत महिला आरक्षण छ, स्थानीय निकायमा ४० प्रतिशत आरक्षण छ । यो हामीले ओठेभक्तिका कुरामात्र गरिरहेका छैनौँ । रोल्पामा जन्मी हुर्किएकी एउटा गाउँकी ३८ वर्षीय मगर महिला आज देशको सभामुखजस्तो अत्यन्त गरिमामय पदमा पुग्नुभएको छ । सर्वसम्मतिले उहाँ आउनुभयो । अर्को सुन्दरता तपाईंहरू देख्न सक्नुहुन्छ, सायद तपाईंहरू कसैले नाम सुन्नुभएको छैन होला, सप्तरीका गङ्गा यादव उपसभामुखको गरिमामय पदमा निर्वाचित हुनुभएको छ । यो हो नेपाल, यो हो नेपालीको वास्तविकता । यो हो वास्तविक नेपालीको बाटो । अझ पनि हेर्दै जानुहोस्, यस्ता सकारात्मक कदमहरू कसरी अगाडि बढ्दै जान्छन् । 

नेपालमा राष्ट्रिय सभामा प्रदेशहरूले आफ्ना प्रतिनिधिहरू पठाउँछन्, त्यसमा तीनजना महिला अनिवार्यरूपमा पठाउनुपर्छ, बाँकी छँदैछ । एकजना पहिलेका दलित भनिएका समुदायबाट पठाउनुपर्छ । एकजना शारीरिकरूपमा अशक्त भएका, अपाङ्गता भएका व्यक्तिहरूबाट पठाउनुपर्छ । संसारका संविधानमा अपाङ्गता भएका व्यक्तिलाई पठाउने व्यवस्था सायद छैन । त्यो कुरा गर्वसाथ हामी भन्न सक्छौँ । हाम्रो संविधानले ४५ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । 

कसैकसैले भन्छन्, अलिक समानता भएन । हामीले पछाडि परेका समुदायलाई अगाडि बढाउनका निम्ति विशेष व्यवस्था गरेका छौँ, आवधिक व्यवस्था गरेका छौँ । आरक्षण भनेको महिलाहरूको ३३ प्रतिशत विशेष व्यवस्था हो । त्यसमा अरूले प्रतिस्पर्धा गर्नै पाउँदैन । त्यो भेदभाव होइन, त्यो विशेष व्यवस्था हो – महिलाहरूलाई अगाडि बढाउनका लागि, महिलाहरूको सशक्तीकरणका लागि, महिलाको सामाजिकीकरणका लागि । दलितहरूका निम्ति आरक्षण र अरू आरक्षणहरू भेदभाव होइनन्, विशेष व्यवस्थाहरू हुन्, आवधिक व्यवस्थाहरू हुन् । पछाडि परेको समाजको हिस्सालाई अगाडि बढाउनका निम्ति यस प्रकारले ४५ प्रतिशत आरक्षण गरिएको छ । ४५ प्रतिशत आरक्षणमा पर्ने कुनै पनि समुदायले ५५ प्रतिशत खुल्ला प्रतिस्पर्धामा भाग लिन पाउँछ । सबैले ४५ प्रतिशत आरक्षणमा भाग लिन पाउँदैनन्, तर ४५ प्रतिशत आरक्षणमा भाग लिनेले, त्यो समुदायमा पर्नेले पनि ५५ प्रतिशतमा भाग लिन पाउँछ । 

एउटा कुरा आएको छ – नागरिकताको सवालमा किन महिला र पुरुषलाई भिन्नता गरियो भन्ने । बराबर गरिएको हो, महिला र पुरुषलाई, बिल्कुल बराबर । बिल्कुल बराबर गरेपछि हाम्रो नीति महिलालाई विशेष प्राथमिकता दिइनेछ, त्यसैकारण महिलालाई विशेष छुट दिइयो अनि कहाँ विभेद भयो ? बुहारी ल्याउँदा र छोरीले ज्वाइँसँग बिहे गर्दा उस्तै अधिकार हुनुपर्छ भन्ने कुरा एउटा चर्चामा छ । हाम्रो प्रचलनमा बुहारी ल्याइन्छ, ज्वाइँ ल्याइँदैन । यो कुरा हजारौँ वर्षदेखिको हाम्रो सामाजिक प्रचलनमा चलिआएको हो । बुहारी बिहे गरेर ल्याएपछि तत्क्षणबाट परिवारको सदस्य हुन्छिन् । सम्पत्तिमा उनको हक लाग्छ । सम्पत्तिमा हक लाग्ने भएकाले सम्पत्तिको हक उपभोग गर्न नागरिकता तत्काल चाहिने बित्तिकै दिनुपर्छ । सम्पत्तिको हकदार भएपछि नदिने भन्नै मिल्दैन । कसैकी छोरी कसैले बुहारी बनाएर ल्याउँदा श्रीमानको, ससुराको अथवा उसले विवाह गरेको घरको सम्पत्तिमा हक लाग्छ, तर कसैको छोराले कसैको छोरीसँग बिहे गर्दा ससुरालीको, सालीको, श्रीमतीको सम्पत्तिमा हक लाग्दैन । यो हाम्रो नेपालको प्रचलन हो । अब बराबरी नै चाहिन्छ भने दुइटैलाई बराबरी गरियो अनि महिलालाई प्राथमिकता दिइयो त के बिग्रियो ? त्यसैले महिलाले अलिकति प्राथमिकता पाउँछन् । यसभित्र हामीले भन्न नसकिने खालका कुनै कुराहरू छैनन् । मानवअधिकारको प्रश्न होस् वा अरू प्रश्नहरू होऊन्, शायद संसारको कुनै संविधानमा मौलिक हकका ३३ वटा धारा लेखिँदैन होला । ३३ वटा धारा मौलिक हकका छन्, उपधारा, दफा त कति हो कति ! अरू विभिन्न देशका संविधानहरू पनि कम्प्युटर खोलेर हेर्नुहोला । ३३ वटा धारा मौलिक हकमा हुँदैनन् तर नेपालमा छ । 

अब म धेरै समय लिन चाहन्न । हामी सहकार्य चाहन्छौँ । शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, औद्योगिकीकरणको क्षेत्र, व्यापारको क्षेत्र, निर्माणका क्षेत्रहरू वा सेवाका क्षेत्रहरू विभिन्न क्षेत्रहरूमा यहाँहरूले सहकार्य गर्न सक्नुहुन्छ । यहाँहरूका दश बुँदे प्रस्तावले जता सङ्केत गरेको छ, म त्यस सङ्केतलाई स्वागत गर्न चाहन्छु । म यहाँहरूको यो सातौँ अन्तर्राष्ट्रिय सम्मेलन र साधारणसभा जसरी अत्यन्तै सफलताका साथ सम्पन्न भएको छ, यसका निम्ति यहाँहरू सबैमा पुनः हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छु । एनआरएनले एनआरएनहरूलाई सङ्गठित गर्ने, सचेत गर्ने, एनआरएनहरूका बीचमा जुन राष्ट्रिय भावना छ, त्यसलाई एउटा सूत्रमा आबद्ध गर्ने कुरामा र देशको सेवाका निम्ति काम गर्ने कुरामा आगामी दिनमा अझ ठूल्ठूला सफलताहरू प्राप्त गरोस्, नवनिर्वाचित नेतृत्वको कार्यकाल अत्यन्तै सफल रहोस्, हार्दिक शुभकामना । 

(२०७२ आश्विन ३० गते होटल सोल्टी, ताहाचलमा आयोजित गैर–आवासीय नेपाली महासङ्घको सम्मेलनको समापन समारोहमा गरिएको सम्बोधन)