भर्खरै निवर्तमान हुनुभएका उपप्रधानमन्त्री वामदेव गौतमज्यू,सम्पूर्ण नेताज्यूहरू, भर्खरै निर्वाचित हुनुभएका एनआरएन अध्यक्ष शेष घलेज्यू, अन्य पदाधिकारीहरू र उपस्थित गैर–आवासीय सम्पूर्ण साथीहरू,
यो भेटघाट अत्यन्तै खुसीयालीपूर्ण भएको मैले महसुस गरेको छु । यहाँहरूलाई प्रधानमन्त्री निवासमा हार्दिक स्वागत गर्न चाहन्छु । एनआरएनका अध्यक्षज्यू लगायत सिङ्गो टिमलाई र सम्पूर्ण गैर–आवासीय नेपाली साथीहरूलाई हामी सबैको तर्फबाट हार्दिक स्वागत छ ।
मैले हिजै यहाँहरूका बीचमा केही कुराहरू राखिसकेको छु । यहाँहरूले खेल्नुभएको सकारात्मक भूमिकाको प्रशंसा गरेको छु र फेरि पनि प्रशंसा गर्न चाहन्छु । यहाँहरूको थप सक्रिय भूमिकाको नेपालले अपेक्षा गरेको छ । म त्यो अपेक्षा फेरि यहाँहरूलाई स्मरण गराउन चाहन्छु ।
अहिले अलिकति कन्फ्युजन भयो– राहत रकम प्रधानमन्त्री राहत कोषमा कि आइसिसीमा दिएको भन्ने । यसले केही गर्दैन, तपाईं दाहिने पट्टिबाट थालमा हाल्नुहुन्छ कि देब्रे पट्टिबाट ? थाल त त्यही हो – कुन नामको कोषबाट तपाईं निर्माण कार्य गर्नुहुन्छ, त्यसले केही फरक पार्दैन । नेपाली जनतालाई राहत, सहुलियत चाहिएको छ । घर भत्किएका छन्, आवास चाहिएको छ । विद्यालय भत्किएका छन्, विद्यालय चाहिएको छ । अनि निर्माता को, कुन संस्थाको माध्यमबाट भन्ने कुरा अरूलाई मतलब होला, तर घरमा बस्नेलाई त्यसको के मतलब ? घर चाहिएको छ, बस् त्यत्ति हो ।
हिजो एउटा हल्ला चलाइयो, अभियान नै जस्तो गरी हल्ला चलाइयो – नेपाल सरकारले स्रोतको सदुपयोग गर्दैन, ठीक ढङ्गले चलाउँदैन भन्ने । भ्रमपूर्ण हल्लाहरू भए । म के विश्वास गर्छु भने कमसेकम तपाईंहरू त्यस्ता कुरामा विश्वास गर्नुहुन्न । नेपाल सरकार एउटा आधिकारिक, आफ्नै प्रणाली भएको संस्था हो । यसको जनताप्रति जवाफदेहिता छ, जिम्मेवारी छ । कानुनको पालना यसको अनिवार्य सर्त हो । कानुनको पालना यसले गर्छ । अलिअलि गुनासो पनि छ, विलम्ब भइरहेको छ भन्ने । त्यस्तो हुनसक्दछ, तर तपाईंहरूलाई म भन्न चाहन्छु – अब पुनर्निर्माणको कामलाई बिनाविलम्ब तीव्र गतिका साथ अगाडि बढाइनेछ । पुनर्निर्माणको कामलाई पूर्णपारदर्शिताका साथ अगाडि बढाइनेछ, कुनै प्रकारको तलमाथि हुँदैन, हुन दिइँदैन । गरिब नेपाली जनता, अभरमा परेका नेपाली जनताको निम्ति आएको रकमको अत्यधिक सदुपयोग हुनेछ । हाम्रा दातृ संस्थाहरू, राष्ट्रहरू जसले प्रतिबद्धता जनाउनुभएको छ, उहाँहरूलाई पनि आश्वस्त हुन म आग्रह गर्न चाहन्छु । त्यसमा कुनै प्रकारको द्विविधा मान्नुपर्ने, शङ्का गर्नुपर्ने अवस्था छैन, रहँदैन ।
नेपाल नयाँ युगमा प्रवेश गरेको छ । अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थहरू – इन्धन, ग्याँसजस्ता कुराहरूको आपूर्तिमा भएको कठिनाइका कारण हामीले देश नयाँ युगमा प्रवेश गरेको कुरा अनुभूत गराउन सकिरहेका छैनौँ । नाकाबन्दीको कठिनाइ अस्थायी घटना हो । अहिले धेरै तर्क वा बहस गर्नु भन्दा, प्राप्त उपलब्धिहरूको रक्षा गर्ने, तिनलाई अगाडि बढाउने र देशलाई आर्थिक उन्नतिको दिशामा तीव्रताका साथ अगाडि बढाउने आवश्यकता छ । हाम्रा शताब्दीहरू त कुरैकुरामा बित्ने गरेका छन् तर अब कुरैकुरामा शताब्दी बिताउन मिल्दैन । हामी शताब्दी त के वर्ष, महिना र दिन पनि कुरैकुरामा बिताउने पक्षमा छैनौँ ।
६५ वर्ष अगाडिसम्म हामी अँध्यारो युगमा थियौँ । एकातिर जहानियाँ राणाशासन, अर्कातिर सामन्ती राजतन्त्रात्मक निरङ्कुशतन्त्र । अधिकारविहीन हामी जनता दोहोरो मारमा थियौँ । बितेका ६५ वर्षमा हामीले केही क्षेत्रहरूमा प्रगति गरेका छौँ । संविधानसभाबाट संविधान बनेको कुराले राजनीतिक क्षेत्रमा, खासगरी अधिकारको क्षेत्रमा भन्ने हो भने असाधारण उपलब्धिहरू हासिल भएका छन् । सामाजिक क्षेत्रमा सामाजिक न्यायका मूल्य र मान्यताहरू व्यावहारिक रूपमा स्थापित भएका छन् । अब आर्थिक उन्नति हामीले प्राप्त गर्नुपर्नेछ, जो सबभन्दा चुनौतीपूर्ण कुरा छ । यी चुनौतीमाथि भूकम्पबाट अतिरिक्त अप्ठ्यारो थपियो । संविधानपछि जसरी तीव्रताका साथ उन्नतिको काममा लाग्छौँ भन्ने थियो, भूकम्पले भत्काइदिएका घर, विद्यालय, मठमन्दिरहरू, मस्जिदहरू, पुरातात्विक महत्वका धरोहरहरूको अवस्थाले एउटा ठूलो धक्का महसुस गर्ने अवस्थामा पुरयाएको छ । यस अवस्थाबाट फेरि पनि हामीले देशलाई अगाडि बढाउनुछ । हामी यो वा त्यो नाममा वा कुनै बहानामा कुनै प्रकारको बाहाना बनाउन चाहँदैनौँ ।
हामीलाई काम गर्नुछ, हामी काम गर्छौँ । हामीलाई सकारात्मक परिवर्तन ल्याउनुछ, जनताको जीवनमा अनुकूल परिवर्तन ल्याउनुछ–ल्याउँछौँ । जनताका निम्ति हामीले नयाँ–नयाँ विकासका कामहरू गर्नुछ, संरचनाहरू निर्माण गर्नुछ । हामीले त्यो प्रारम्भ गरिसकेका छौँ ।
सबैलाई थाहा होला, मैले प्रधानमन्त्री भएर पहिलो हस्ताक्षर गर्दा नेपालमा तुइन–युग समाप्त गर्छु भनेर घोषणा गरेँ । झण्डै पौने दुइसय वटा तुइनहरू नेपालका विभिन्न खोलामा छन्, त्यहाँ तार समातेर तर्ने कति मान्छे खसेर मर्ने गरेका छन् । त्यसप्रकारको स्थितिलाई अन्त्य गर्ने घोषणा गरेको छु र दुई वर्षभित्र नेपाल तुइन मुक्त हुनेछ । पुनर्निर्माणको कुरामात्रै होइन, पुनर्निर्माणभन्दा बाहिर पनि सुरक्षित र नयाँ बस्तीहरूको विकास गर्छौँ । पहाडमा, भुइँचालोले नोक्सान नगरेका ठाउँहरूमा र अरू ठाउँहरूमा पनि ती निर्माणहरू हुन्छन् । हामी हजारौँको सङ्ख्यामा त्यस्ता आवासहरू बनाउँछौँ । कमसेकम बस्न लायकका घरहरू, कम्तीमा १ हजारभन्दा बढी घर भइसकेपछि त्यहाँ हामीलाई विद्यालय चाहिन्छ, अस्पताल चाहिन्छ । त्यहाँ हामीलाई एउटा बजार चाहियो, सुरक्षा निकाय चाहियो, सामुदायिक हल चाहियो । त्यहाँ अरू प्रकारका तालिम दिने ठाउँहरू चाहिए र ती मान्छेहरूलाई काम दिनका निम्ति उद्योग स्थापना गर्नुपरयो । ती उद्योगहरूका लागि हामीले तालिम दिनुपरयो । यस प्रकारका एकीकृत कार्यक्रमहरू हामी सञ्चालन गर्छौँ, जसबाट जनताको जीवनमा सीप विकासका कुराहरू, शिक्षाका कुराहरू अगाडि बढ्छन् ।
चेतनाको कमीले भएका सुविधाहरूको उपयोग हुन नसकिरहेको अवस्था छ । उदाहरणका लागि म भन्न चाहन्छु – कास्की जिल्ला अन्नपूर्णको फेददेखि, माछाच्पुछ्रेको फेददेखि नै फैलिएको छ । दुर्गम ठाउँ भएपनि त्यहाँ साक्षरता प्रतिशत वा शिक्षाको स्तर हेरयो भने धेरै छ । अर्कोतिर सर्लाही जिल्लासम्म छ, नजिकै नजिकै विद्यालयहरू छन्, तर साक्षरताको प्रतिशत धेरै तल छ । भएको सुविधा पनि जनतामा रहेको अचेतनताको कारणले सही उपयोग हुन सकिरहेको छैन । त्यसकारण हामीले त्यसलाई उपयोग गर्न चेतना अभिवृद्धि कसरी गर्नसक्छौँ, चेतनातर्फ उनीहरूलाई कसरी आकर्षित गर्नसक्छौँ, सुविधा उपलब्ध गराउने र उपलब्ध सुविधालाई अधिकतम प्रयोग गर्ने तहमा जनतालाई पुरयाउन कसरी लाग्छौँ ? यी चेतना अभिवृद्धिसँग गाँसिएका कुराहरू हुन् । हामीले एकातिर समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेका छौँ, तर यसमा प्रतिस्पर्धी क्षमताको वृद्धि गरेनौँ भने, शिक्षा र सीप विकासको अभिवृद्धि गरेनौँ भने, सामाजिकीकरण र सशक्तीकरणका ठोस प्रयासहरू अगाडि लगेनौँ भने फेरि यी प्रयासहरू सफलताका साथ अगाडि बढ्न सक्दैनन् ।
नेपाल सरकार केही गर्ने, ठोस काम गर्ने र मुलुकको अवस्थामा तीव्र परिवर्तन ल्याउने कुरामा दृढ इच्छा राख्दछ । यसमा यहाँहरूको साथ सहयोग हुनेछ, मैले विश्वास लिएको छु । तपाईंहरूको १० बुँदे काठमाडौँ घोषणापत्रलाई म स्वागत गर्न चाहन्छु । यस सम्बन्धमा हामी थप छलफल गर्छौँ । लगानीमैत्री वातावरण आन्तरिक वा बाह्य, एनआरएन वा गैर–एनआरएन समेतका निम्ति हामी निर्माण गर्छौँ । त्यसका निम्ति कहाँकहाँ केके गर्नुपर्नेछ, हामी यहाँहरूका पनि रायसल्लाह लिएर काम गर्नसक्छौँ । शिक्षा, स्वास्थ्य, पर्यटनलगायत अन्य क्षेत्रका संरचनाहरूको निर्माणसमेतका कुरामा हामी यहाँहरूसँग सहकार्य गर्नसक्छौँ । यहाँहरूको कार्यसमितिले महत्वपूर्ण निर्णय गर्नेछ, पहल गर्नेछ, र गति लिनेछ भन्ने विश्वास मैले लिएको छु ।
मैले यहाँ साथीहरूलाई दुःख दिनुको अर्थ यहाँहरूप्रति सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नका निम्ति हो । पुनः एक पटक अध्यक्ष र पदाधिकारी सबै साथीहरूलाई बधाइ ज्ञापन गर्दै स्वागत गर्न चाहन्छु । यहाँहरूको कार्यकाल सफल हुनेछ, सबैलाई शुभकामना ।
(२०७२ कार्तिक १ गते प्रधानमन्त्री निवास बालुवाटारमा एनआरएनका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा आयोजित चियापानमा व्यक्त गर्नुभएको मन्तव्य)