सम्पूर्ण अतिथि तथा प्राज्ञ साथीहरू, नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औँ प्राज्ञसभा प्रारम्भ भएको अवसरमा म यस सभाको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
एउटा राष्ट्रको रूपमा उभिन धेरे चीजहरू चाहिन्छन् । राष्ट्रलाई राष्ट्रको रूपमा बुझ्न, समय कुन समय हो भनेर जानकारी पाउन, बाटो कुन बाटो हो भनेर थाहा पाउन, हाम्रो इतिहास के हो, वर्तमान के हो र कता जाने हो भन्ने कुरा बताउन त्यति सजिलो छैन । ठीक ढङ्गले त्यही कुरा बताइयो भने ठीक मार्गमा अगाडि बढिन्छ, त्यसैमा भ्रम पैदा भयो भने बेठीक बाटोमा लागिन्छ । हाम्रो देश ठीक बाटोमा नै अगाडि बढेको छ । यसरी ठीक बाटोमा अगाडि बढ्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाको असाधारण योगदान रहेको छ । त्यो साहित्यको क्षेत्रबाट होस् वा दर्शन, कला र संस्कृतिको क्षेत्रबाट । पछिल्लो समयमा आएर हामीले अरू पनि केही प्रतिष्ठान निर्माण गरेका छौँ, तर मूल संस्था यही हो र यसले कला, साहित्य र भाषाको क्षेत्रमा अनेक प्रकारका कामहरू, अत्यन्तै सकारात्मक योगदान पुग्ने खालका कामहरू गरेको छ । तिनै राम्रा कामहरूलाई प्रोत्साहित गर्नका लागि यसले विभिन्न पुरस्कारहरूको समेत व्यवस्था गरेको छ । जसको खास अर्थ छ, खास महत्व छ र त्यसबाट धेरै प्राज्ञ, विद्वानहरू सम्मानित हुनुभएको छ । यसले अरू पनि धेरैलाई प्रेरणा प्रदान गरेको छ ।
एक शताब्दी भन्दा छोटो अवधिमा हाम्रो देशमा जहानियाँ राणा शासन पनि रह्यो, सामन्ती राजतन्त्रात्मक प्रणाली पनि रह्यो जसमा जनता अधिकारविहीन थिए, नेपाल आधुनिक युगमा प्रवेश गर्न पाएको थिएन । त्यही समयमा इतिहासको गजबको व्याख्या हुने गरेको थियो, वास्तवमा त्यो भ्रमपूर्ण व्याख्या थियो । यहाँका शासकहरू त सूर्यवंशी, चन्द्रवंशी हुन्छन् रे ! सूर्यका सन्तान, चन्द्रका सन्तान रे ! आमजनतालाई भ्रममा पार्ने गरी त्यति हदसम्मको भ्रमको खेती हुने गर्थ्यो ।
तर, यी विगतका वर्षहरूमा नेपाल ठीक बाटोमा अगाडि बढेको छ । आज आएर नेपाली जनताको चेतना र सङ्घर्षबाट धेरै उपलब्धिहरू हासिल भएका छन् । तिनलाई संरक्षण गर्ने काममा अनेक उतारचढावका बाबजुद यसपल्ट हामीले संविधानसभाबाट संविधान पाएका छौँ । जनताका हकअधिकारहरू संस्थागत भएका छन् । लोकतान्त्रिक मूल्यमान्यताहरू स्थापित भएका छन् । केही नयाँ मूल्य, मान्यताहरू स्थापित हुन खोजेका छन् । त्यस क्रममा कतिपय भ्रम, अन्योल पनि मिसिन खोज्छन्, स्पष्ट हुन पनि समय लाग्छ ।
कहीँ पनि देश सर्वसम्मतिले अगाडि बढेको छैन, बढ्दैन । जहाँ पनि जो अगाडि बढेको छ, जो सचेत छ त्यसले विचारहरू प्रवाहित गर्छ, अरूले त्यसको आलोचना गर्छन् । केही समय लखेट्छन्, अलिकपछि त्यसमा सहमत हुँदै जान्छन् । चाहे फ्रान्सको कुरा गरौँ, चाहे अन्य ठाउँका आधुनिक लोकतान्त्रिक मूल्यमान्यता, आधुनिक समाज अथवा जनताका अधिकारका प्रश्नहरूको कुरा गरौँ, उहिलेदेखि नै हामीले मान्छेका समानताका चाहना र ती प्रयासहरूलाई हेरयौँ भने लामो इतिहासमा हामी यी कुराहरू बडो स्पष्ट ढङ्गले देख्न सक्छौँ । चाहे बुद्धको समयको कुरा गरौँ, चाहे शुकरातका समयदेखिका कुरा गरौँ, अथवा पछिल्लो अवधिका रूसो, भोल्टेयर, मन्टस्क्युहरूका कुरा गरौँ, अथवा त्योभन्दा पनि पछिल्लो समयका कुरा गरौँ वा कार्ल मार्क्सको समयका कुरा गरौँ अथवा हाम्रो देशका कवि, साहित्यकारहरूले उठाएको चेतनाको एउटा लहरको कुरा गरौँ ! राजनीतिक दलहरू बन्नुभन्दा अगाडिदेखि साहित्यकारहरूले, चिन्तकहरूले, दार्शनिकहरूले विचारकहरूले आफ्ना विचारहरू प्रस्तुत गरिसकेका थिए । नेपालमा पनि समानताका विचारहरू विभिन्न स्रष्टाहरूले प्रकट गरिसकेका थिए । जहाँ पनि हुने त्यस्तै हो । हाम्रो देशमा पनि त्यस्तै भएको थियो । त्यसरी असङ्गठित तवरमा हुँदा पनि चेतनाले नेतृत्व गरेको थियो । त्यसले समाजलाई झक्झक्याएको थियो । सचेत मान्छेका ती प्रयास पछि सङ्गठित हुँदै गए । ती राजनीतिक रूपमा आए, ती साहित्यिक, सांस्कृतिक र अन्य पक्षहरूसित जोडिएर अभियानकै रूपमा आए । सचेत मानिसकै बीचबाट सङ्गठित हुने एउटा प्रक्रिया सुरु भयो । सङ्गठित प्रयासका लहरहरू सुरु भए, समाज लगातार अगाडि बढ्दै गयो र हामी अहिले यस ठाउँमा आइपुगेका छौँ ।
यतिबेला हामीले देशको सङ्क्रमणकाल टुङ्ग्याएका छौँ । लोकतान्त्रिक प्रणालीको स्थापना, सामाजिक न्याय र समानताको स्थापनासँगै सम्पूर्ण विभेदहरूको अन्त्यका लागि हामी संविधान जारी गरी त्यसको कार्यान्वयनको तहमा छौँ । यो बेला समाधान नभएका केही समस्याहरू पनि छन् । सर्वसम्मतिले कहीँ पनि कुनै पनि विचार अगाडि बढेको हुँदैन । विचारमा भिन्नताहरू हुन्छन् । भिन्नतालाई स्वीकार गर्ने, सहने, भिन्न विचारलाई पनि सम्मान गर्ने कुरा नै लोकतन्त्रको विशेषता हो । यो कुरा हामीमा अलिकति थिग्रिसकेको छैन । लोकतान्त्रिक प्रणाली स्थापना गर्ने, ९०–९५ प्रतिशतले गरेको निर्णय नमान्ने अनि ४–५ प्रतिशतले भने अनुसार नै हुनुपर्ने ? लोकतान्त्रिक प्रणालीमा समस्याहरू पैदा भए भने तिनको समाधानको मुख्य आधार हुन्छ लोकतान्त्रिक विधि र प्रक्रिया । त्यस विधि र प्रक्रियालाई नमानेर म जे भन्छु, त्यही हुनुपर्छ भन्ने तानाशाही खालको अवस्था पनि देखिन्छ । यी कुराहरू बिस्तारै स्पष्ट हुँदै जानेछन् ।
मान्छेले सुख चाहन्छ, जैविक आवश्यकता पूरा होऊन् भन्ने चाहन्छ र सबै खालका मानवीय आवश्यकताहरू पूरा भएहुन्थ्यो भन्ने चाहन्छ । त्यस्तै, सामाजिक मर्यादा, हकअधिकार, उन्नति–प्रगतिको अवसर र निर्भयपूर्ण जीवन बाँच्ने चाहना मान्छेमा हुन्छ । मान्छेका यी सबै चाहनाहरूमा एउटाले अर्काको अधिकार उल्लङ्घन गर्न नपाओस् भन्ने कुरालाई ध्यान दिएर हामी अगाडि जान खोजिरहेका छौँ । सबैका निम्ति विकास, सबैका निम्ति अधिकार, अवसर, सुरक्षा, सबैका निम्ति सम्मान भन्ने प्रणालीतिर हामी गइरहेका छौँ ।
यतिबेला हामीले केही कुरामा अलिकति ध्यान दिनुपरेको छ । कतिपय मान्छेहरूले, अहिले पनि एउटा कुरालाई विवादको विषय बनाएका छन् । शाब्दिक खेलहरू भइराखेका छन् । यो राष्ट्र हो कि, एउटा राष्ट्र हो कि, बहुराष्ट्र हो कि, बहुराष्ट्रिय राष्ट्र हो ? अनि विविधतायुक्त जातीय राष्ट्र हो कि, बहुभाषिक राष्ट्र हो कि, बहुजातीय र बहुभाषिकता भनेकै बहुराष्ट्रियता हो कि ? बङ्गाली भाषाको प्रभावबाट हामीकहाँ त्यसप्रकारको प्रभाव परेको देखिन्छ । बङ्गाली भाषाका आफ्ना खालका शब्दावली छन् र हाम्रोमा धेरै बङ्गालीको प्रभाव पनि आएको छ । राष्ट्रियलाई जातीय भनिन्छ बङ्गालीमा । एथ्निकभन्दा पनि एथ्निकको अनुवाद राष्ट्रिय भनेर गर्ने गरिन्छ । ‘जातीय’ भनेको उसको ‘राष्ट्रिय’ हो। अनुवादका त्यसखालका कुराहरूले पनि हामीकहाँ समस्या परेझैँ लाग्छ । कसैले दुई राष्ट्र भन्ने, कसैले बहुराष्ट्र भन्ने । यस प्रकारका सोचहरू एउटाचाहिँ भ्रमपूर्ण हिसाबले, अर्कोचाहिँ आफू भ्रममा नपरीकन अरूलाई भ्रममा पार्नका लागि पनि प्रयासहरू भइरहेका छन् । यी कुराहरूमा तर्क दिनका निम्ति केहीले भन्छन् – पृथ्वीनारायण शाहले राज्यको एकीकरण त गरे तर राष्ट्रको एकीकरण भएन । राज्यको एकीकरण गरे तर सामाजिक एकीकरण भएन । स्तरीय बुद्धिको कुरा हो । धेरै ‘हाइलेभल’ तर्कको यथार्थमा कुनै पनि अर्थ छैन । यस्ता विषयमा मज्जाले कुरा गरिरहन सकिन्छ, खेलाइरहन सकिन्छ, फिटिरहन सकिन्छ । कुरा फिट्न काम लाग्छ तर यथार्थमा यो तार्किकतामा मात्रै जाने कुरा हो ।
भौगोलिक विविधता, वानस्पतिक विविधता, जैविक विविधता, त्यसले सामाजिकरूपमा पारेको विविध प्रभाव र नेपाली समाजको बनावट, यहाँको बनावटको इतिहास, नेपाली समाजको बनावट कसरी भयो, अहिलेको समाज जो हो, यसको इतिहास के हो भन्ने कुरा जस्ताको तस्तै भन्न पनि गाह्रो हुन्छ । को कुन समयमा कहाँबाट आएको थियो भन्ने कुरा भन्न पनि गाह्रो हुन्छ ।
डोटी राज्यअन्तर्गत कुमाउँ गढवाल पर्थ्यो । कुमाउँबाट आएको हुनाले मलाई अहिलेसम्म कुमाई भनिन्छ । यसको केही अर्थ छैन । मैले आफूलाई भन्नसक्ने भएँ, डोटी राज्यअन्तर्गत कुमाउँ गढवालको थिएँ, डोटी राज्यअन्तर्गत नभए पनि के हुन्थ्यो ? केही पनि हुन्नथ्यो । तर साँचो के हो भने डोटी राज्यअन्तर्गत थियो । को भारोपेली भयो, को खस भयो, को भोटबर्मेली भयो, को भोटतिरको तिब्बती भयो, कुन समयमा को कहाँबाट आयो भन्नेजस्ता कुरा गर्ने हो भने मान्छेलाई यथार्थमा पुग्न गाह्रो हुन्छ किनभने यहाँ त धर्तीपुत्र को हुने भन्ने समस्या छ । आदिवासीको गलत व्याख्या हुन थालेको देखेपछि मैले एकपटक भनेँ – एक हप्तामा घ्याम्पामा पलाएको जाँडको कीराजस्तो मान्छे हुँदैन । सबै मान्छे भनेका धर्तीका आदिवासी नै हुन् । यहाँको हो कि त्यहाँको हो, एक छिनमा फुत्त त निस्कँदैन नि ? त्यसैले मान्छे सबै आदिवासी हुन्छन् । आदिवासी नभए दश पुस्ताको मात्र मान्छे भेटिन्छ ? पाँच पुस्ताको भेटिन्छ ? दुई पुस्ताको मात्र भेटिन्छ ? या १ सय पुस्ताको मात्र भेटिन्छ ? मान्छे त लाखौँ पुस्ताको हुन्छ अनि आदिवासी नभए के भो त ? यहाँको हो कि त्यहाँको हो ? यो गाउँको हो कि त्यो गाउँको हो ?
धेरै भ्रमपूर्ण कुराहरूमा देशलाई लान खोजिएको छ । कोही धर्मपुत्र, कोही धर्तीपुत्र, कोही के पुत्र । वास्तवमा हामी सबै धर्तीपुत्र हौँ । नेपालीहरू नेपालपुत्र हौँ । जेन्डर बायस नगरी भन्दा नेपालीहरू नेपाल पुत्र, पुत्री दुइटै हुन् ।
मलाई केही सञ्चार माध्यमले पनि सोधेका थिए – यो गणतन्त्र नेपालमा पृथ्वीनारायण शाहको चर्चा किन आइराखेको छ ? । मैले भनेँ – उहिल्यै पनि गणतन्त्रात्मक थियो नेपाल, राजतन्त्रात्मक थिएन । अहिलेको जस्तो गणतन्त्र होइन, त्यो बेलाको विकासको स्तरको गणतन्त्र थियो । गणतन्त्रात्मक शाासनहरू थिए । पछिल्लो समयमा आएर अलिकति मुखियातन्त्र हुर्किँदै हुर्किँदै गएर राजतन्त्रात्मक भएर अब फेरि हामी गणतन्त्रमा आइपुगेका छौँ । हरेक अवस्थामा हरेकले समाज विकासका निम्ति राज्य, राष्ट्रको निर्माण वा समाजको अग्रगमनका निम्ति विभिन्न ढङ्गले विभिन्न योगदान गरेका छन् । त्यस समयमा कुन प्रणालीमा कुन प्रणालीको मान्छेले विकास गरयो भन्ने कुरा मान्छेले कुनै आग्रहवश लिनुपर्ने कुनै आवश्यकता छैन । आज हामीले सकेको राम्रो काम गर्ने हो । हिजो जसले राम्रो काम गरयो, त्यसको प्रशंसा गर्ने हो । पृथ्वीनारायण शाहको अगुवाइमा नेपालको एकीकरण भयो । एकीकरणका प्रयासहरू विभिन्न चले, तर मूल एकीकरण पृथ्वीनारायण शाहको अगुवाइमा भयो । जो गर्नसक्ने ठाउँमा छ र गर्छ त्यसलाई गाली पनि जान्छ, श्रेय पनि जान्छ । स्वाभाविक हो । अहिले म प्रधानमन्त्री छु, मैले एक वर्षभित्रमा लोडसेडिङ समाप्त पार्छु भनेको यहाँ कोकोहोलो मच्चियो । नेपालमा विद्युतको थालनी भएको एक सय पाँच वर्ष भयो । १९६८ मा फर्पिङमा चन्द्रज्योति बिजुली निकालिएको थियो । अहिले १ सय ५ वर्षपछि हामी ३ सय मेगावाट मात्र पाउँछौँ । १ सय ५ वर्षको हाम्रो हाइड्रोपावरको इतिहासमा हामीले कति विद्युत उत्पादन गरयौँ ? बाढी आएको बेला ७ सय ५० मेगावाट, नआएको बेलामा ३ सय मेगावाट । यसरी १ सय ५ वर्षमा ३ सय मेगावाट विद्युत उत्पादन गर्ने बानी परेका हामीलाई एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भनेर मैले भन्दा हँसीठट्टाको विषय बनाइयो, यस्तो नचाहिने कुरा पनि गर्न पाइन्छ भनेर उधुमै मच्चाइयो ।
अर्को कुरा मैले भनेँ – अहिलेको जमाना भनेको ग्याँसको सिलिन्डर काँधमा बोकेर लुरुलुरु हिँड्ने जमाना होइन । चुला, चुलामा पाइप पुरयाउनु पर्ने जमाना हो । म त्यसको व्यवस्था पनि गर्छु भनेर मैले भनेँ । मान्छेलाई छक्क लाग्यो । अर्को तातोपानीबाट जियोथर्मल बिजुली निकाल्ने कुरा । ओलीले त सबै हास्यकलाकारहरूलाई पराजित गर्ने भयो भन्न थालियो । कतिले भने – तातोपानीबाट पनि कहीँ बिजुली निस्कन्छ र ? मैले सोलार पावर र विन्ड पावरको कुरा निकालेँ । हावाबाट बिजुली निकाल्ने ? गजब हावादारी कुरा भयो रे । हावाबाट बिजुली निकाल्छु भनेपछि यो हावादारी कुराको प्रमाण भयो । देश कहाँ छ र मान्छेको मानसिकता कहाँ छ ? विश्वास, आत्मविश्वास कहाँ छ भन्ने कुराको एउटा उदाहरण हो यो ।
हाम्रा पुर्खा सबै दाउरा बालेर आएका होइनन् र ? सिलौटामा पिँध्ने गरिएको थिएन र ? अब सिलौटामै पिँध्नेबाहेक केही गर्न पाइँदैन ? ग्राइन्डर चलाउन पाइँदैन ? ढिकीमै हामीले धान कुटी आएको हो । सबै पुर्खाले त्यसै गरेको हो । ढिकीबाहेक अरू चलाउन पाइँदैन ? अब कागजमै लेख्ने गरेको हो । कागजमा लेख्ने पनि हामी छँदैछौँ । कागजमा लेख्नु ठीक छ, तर अब कम्प्युटर, ल्यापटप, आइप्याड चलाउन पाइने भयो । फेसबुकको जमाना आयो । हामी आधुनिकतातर्फ जाँदैछौँ । सम्पूर्ण क्षेत्रमा आधुनिकता । सम्पूर्ण क्षेत्रमा नवीनता । सम्पूर्ण क्षेत्रमा तीव्र परिवर्तनको एउटा अभियान ।
प्रधानमन्त्रीले मात्र नेतृत्व गर्छु भन्ने हो भने यहाँ त सेकुवा बनाउने रहेछ । प्रधानमन्त्रीले मात्र नेतृत्व गर्न सक्दैन, साहित्यकारहरूले पनि, प्राज्ञहरूले पनि नेतृत्व गर्नुपर्छ र मात्रै वास्तवमा नवीनता आउँछ । उहिले पनि कविहरूले, कथाकारहरूले, साहित्यकारहरूले एक कदम अगाडि बढेर चेतना फैलाएका छन् समाजमा । जहाँनिर समाज छ, समाज भएकै ठाउँमा हिँड्यो भने त केही पनि हुँदैन । समाजभन्दा एक कदम अगाडि बढेर नयाँ काम गर्नुपर्छ भन्ने सोच साहित्यकारले निकाल्छन् । शुकरातलाई मृत्युदण्ड नै दिइएको हो । कुरा त नराम्रो गरेका थिएनन्, तर कति लोकतान्त्रिक ढङ्गले मृत्युदण्ड दिएको । समाज कहाँ थियो ? एथेन्सबासीहरूले मतदानबाट बहुसङ्ख्यकले मृत्युदण्ड नै दिनुपर्छ भने । शुकरातले भने, तिमीहरूले मलाई मृत्युदण्ड दिएर धेरै ठूलो नोक्सानी ब्यहोरयौ । मलाई मृत्युदण्ड दिइसकेपछि थाहा पाउनेछौ, तिमीहरूले नोक्सानी ब्यहोरेको कुरा । शुकरातलाई मृत्युदण्ड दिइयो, तर त्यो ठूलो भूल रहेछ भन्ने कुरा पछि थाहा भयो ।
वैज्ञानिक सत्य बोल्दाखेरि जिब्रो काटियो । धेरैको नकाटिए पनि पहिलो वैज्ञानिकको त काटियो, काटियो । सही कुरा गर्ने मान्छेहरू प्रताडित भए । मजाक उडाइए । धन्न मलाई प्रहसनकारीमात्र भनेका छन्, पागल घोषणा गरेका छैनन् । धेरै साहित्यकारहरूले त्यो आरोप ब्यहोर्नु परेको छैन र ? धेरै चेतनाका संवाहकहरू जसले अग्रगामी चेतना फैलाउन खोजेका छन्, समाजलाई झक्झक्याउन खोजेका छन्, वैज्ञानिकता, आधुनिकता, नवीनता वा न्यायिकतामा समाजलाई लान खोजेका छन्, तिनलाई दुःख दिने काम हुँदै आएको छ । त्यो पछाडि परेको हिस्साको काम हो । पछाडि परेको हिस्सा भन्नु नै असहिष्णु हुन्छ । अगाडि बढेको पक्षचाहिँ उदार हुन्छ, फराकिलो हुन्छ, सहिष्णु हुन्छ ।
यो राष्ट्र एउटा राष्ट्र हो । यो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधताले युक्त अत्यन्त सुन्दर राष्ट्र हो । म्यानेजमेन्टको अभावमा गरिब भएको छ । यसलाई अगाडि बढाउँछु, धनी बनाउँछु, सम्पन्न बनाउँछु भन्ने कुरा गर्न नपाइने भएपनि गर्ने नै हो, काम गरिछोड्ने हो । कतिपयले भन्छन्, त्यस्तो नभनिदिए हुन्छ, नबोले पनि हुन्छ नि भनेर । मैले सरकारको संयन्त्रलाई देश निर्माणको आदेश दिइनँ भने, निर्देशन दिइनँ भने कसरी हुन्छ काम ?
कहिलेकहिले मान्छे परिभाषामा अल्मलिन्छ । आजकाल एउटा शब्द छ – खोक्रो राष्ट्रवाद । अनि खँदिलो, दरिलो कस्तो हुन्छ राष्ट्रवाद ? खूब देख्छु म अखवारहरूमा – यो खोक्रो राष्ट्रवाद । अनि भित्रैदेखि अग्राख पसेको राष्ट्रवादचाहिँ कस्तो हुन्छ ? देशभक्ति, देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानलाई कायम राखेर अगाडि बढाउने कुरा खोक्रो हुँन्छ ? योचाहिँ खोक्रो हो भने बलियोचाहिँ कुन होला ?
हामी एउटा व्यक्तिको टाउको केही होइन, एउटा व्यक्तिको शिर केही पनि होइन, तर कुनै कुनै बेला त्यसले नेपालीको शिरको प्रतिनिधित्व गरिराखेको हुन्छ भने, त्यसलाई झुकाउँदा नेपालीको शिर झुकेको अर्थ लाग्छ भने झुकाउन मिल्दैन । म आफूलाई भन्छु, मेरो केही पनि छैन, म गाउँमा जन्मेर बाख्रा चराएर, गाई, भैँसी चराएर, भान्छाको कामदेखि सबै काम गरेर आएको मान्छे हुँ । न मलाई कुनै दर्प छ, न ममा कुनै घमण्ड छ । अवसर पाएको छु, शालीनताका साथ त्यस अवसरलाई देश र जनताको सेवामा लगाउनुपर्छ भन्ने ठानेको छु । देशको प्रधानमन्त्रीको हिसाबले नेपाल राष्ट्रकै प्रतिनिधित्व गरिराखेका ठाउँमा रहेको छु । मैले होसियार हुनुपर्छ । म लम्पसार पर्दाखेरि सबै लम्पसार परेको देखियो भने राम्रो हुँदैन । म लम्पसार पर्न त्यसकारण सक्दिनँ, किनभने नेपाल जहाँ सगरमाथा छ, जुन देशमा बुद्ध जन्मे, जहाँ कहिल्यै पनि घाम नअस्ताउने साम्राज्य हुँदाखेरि पनि यो चाहिँ साम्राज्यका मातहतमा भएन । दुनियाँ उपनिवेशका पैतालामुनि थिचिँदा पनि यसले आफ्नो स्वतन्त्रतालाई बाचाएर राख्यो । यो स्वाभिमानलाई तलमाथि पर्न दिनुहुँदैन भन्ने मात्रै हाम्रो कुरा हो । यसमा कुनै अर्घेल्याइँ छँदैछैन । कसैप्रति वैरभाव छैन । कसैप्रति अपमानभाव छैन । हामी सबैका मित्र हौँ, मित्रता चाहन्छौँ । मैत्रीपूर्ण व्यवहार चाहन्छौँ । नेपालीले उहिले पनि शिर झुकाएन, एक्काइसौँ शताब्दीमा गोडलागी भन्ने कुरा शरणार्थीले पनि गर्न छोडिसके । आजकल त गुड गर्ने चलन छ । हामी सबैसँग हात मिलाउँछौँ, नो गोडलागी । गोडलागी हुँदैन भनेको मात्र हो । हामी यस राष्ट्रको राष्ट्रिय गरिमालाई बढाउँछौँ र अगाडि जान्छौँ । हाम्रो राष्ट्रिय एकतालाई जोगाउँछौँ । यतिबेला हामीले हाम्रा विभिन्न सम्प्रदायहरू, हाम्रा विभिन्न भाषिक समुदायहरू, विभिन्न भूगोलमा बसेका, विभिन्न पेसाव्यवसायका जनताका बीचमा सद्भाव कायम गर्नु छ, बन्धुत्व कायम गर्नु छ, मित्रता कायम गर्नु छ, त्यो मित्रताका साथ एकजुट भएर देश अगाडि बढाउन हिँड्नु पर्नेछ । आजको हाम्रो आवश्यकता यही हो । हाम्रो राजनीतिले, हाम्रो सरकारले, हाम्रो सरकारी संयन्त्रले, हाम्रो गैर–सरकारी संयन्त्रले, हाम्रो शिक्षाले, हाम्रो संस्कृतिले, हाम्रो साहित्यले, हाम्रो कलाले सबैले हाम्रो सामाजिक सद्भावलाई मजबुत बनाउने, राष्ट्रिय एकताको भावधारालाई अगाडि बढाउने काम गर्नुपर्छ । यही नै आजको आवश्यकता हो ।
कतिपय पृथकतावादी तत्वहरू क्रियाशील छन् । छुट्टै गान, छुट्टै चिन्ह, छुट्टै झण्डाजस्ता विखण्डनकारी कुराहरू गरिरहेका छन् । म सरकारको तर्फबाट भन्न चाहन्छु – हामीले परिस्थितिलाई हेरेरै केही समय यसलाई वैचारिक हिसाबले नै परिवर्तन गरौँ भनेर सहनशीलता देखाएका हौँ । देशद्रोह कुनै पनि हालतमा सह्य हुनेछैन । विखण्डनकारी प्रवृत्ति कुनै पनि हालतमा सह्य हुनेछैन । देश टुक्र्याउने प्रवृत्ति कुनै पनि हालतमा सह्य हुने छैन । देशमा सामाजिक सद्भाव खल्बल्याएर कहाँ पुरयाउन खोजिएको ? पुरयाउन खोजिएकोे छ विभाजन र विखण्डनमा । त्यो कुरा सह्य हुने छैन । विनाआवेश, विनाउत्तेजना म निवेदन गर्न चाहन्छु – राष्ट्रिय एकता, सामाजिक सद्भाव र अग्रगामी विकासतर्फका प्रयासहरूमा हामी लाग्छौँ । मलाई लाग्छ – प्राज्ञहरूको योगदान यसै दिशामा रहनेछ । हामी जहाँ बसेर सास फेरिरहेका छौँ, त्यसप्रति इमानदार रहौँ । हामीले यहाँको हावामा सास फेरेका छौँ, यो अक्सिजन भएन भने, सास नफेर्ने हो भने हामी दुई मिनेटमा सिद्धिन्छौँ । हाम्रो जीवन यस हावामा छ । यसप्रति हाम्रो इमानदारी छ । इमान छ । इमानको बारेमा मैले यहाँहरूलाई भनिरहनु पर्दैन ।
हामी हाम्रो बगैँचाबाट कुनै पनि आँप नझरोस् भन्ने चाहन्छौँ, तर भेट्नु पहेँलिएर फत्रकफत्रक झरेको यहाँहरूले देख्नुभएको छ । झरेका छन्, भेट्नु पहेँलियो भन्दैनन् । यो त दार्शनिक हिसाबले नयाँ परिबन्द हो । दार्शनिक परिभाषा छ, नयाँ शक्तिको उपज । नयाँ परिबन्द । नयाँ प्रक्रिया । होला, त्यो नयाँ प्रक्रिया होला, तर देशको निम्ति, जनताको निम्ति, आमूल परिवर्तनको निम्ति उचित दिशाको परिवर्तनचाहिँ होइन । हामी सबै ठाउँबाट प्रयास गरौँ । दृढ विश्वासका साथ म भन्न चाहन्छु – कसैले पनि नेपालको एकतालाई भाँड्न सक्दैन । पहिचानका नाममा र अन्य विभिन्न नाममा जातीय विद्वेष र घृणा यसरी फैलाउन खोजियो, अचम्मलाग्दो, छिमेकी हो कि होइनजस्तो । साथी हो कि होइनजस्तो । उहिलेदेखि आएको परम मित्र, हेर्दाहेर्दै अर्कै स्थिति । साम्प्रदायिक विद्वेष भड्काउन खोजियो । नेपालको जनमानस, नेपालको विद्वत्वर्ग, नेपालको सचेत समुदायले दृढताका साथ अगुवाइ गरयो कि यो चीज ठीक होइन । रुवान्डाको अनुभवभन्दा पछि, युगोस्लाभियाका अनुभवभन्दा पछि, विभिन्न खालका अनुभवभन्दा पछि त्यो कुरा यहाँ आयो । त्यसकारण पनि नेपालमा सजिलो भयो । अकारण रुवान्डामा त्यत्रा मान्छे मरे आपसमा मारामार गरेर । त्यो पनि जातीय नारामा । त्यसकारण म भन्छु, हामी जातीय होइन, राष्ट्रिय कुरा गरौँ । सबै जातिलाई अधिकारसम्पन्न बनाऔँ । सबै जातिको उत्थान गरौँ । सबै भाषाको उत्थान गरौँ र संरक्षण गरौँ । सबै जना राष्ट्रिय एकता र राष्ट्रिय समृद्धिमा लागौँ ।
मलाई लाग्छ, यस प्राज्ञ सभाले यस दिशामा महत्वपूर्ण योगदान गर्नेछ । यहाँहरूले धेरै काम यस सन्दर्भमा गर्नुभएको छ । म प्रशंसा गर्न चाहन्छु । अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनारहरू गरौँ । यहाँहरूले तयारी गर्नोस् । हिजोमात्र पनि भारतको एक विश्वविद्यालयका एक प्राध्यापक आउनुभएको थियो, सायद भिसी हुनुहुन्छ, उहाँसँग कुरा भएको थियो । नेपाल–भारत–बङ्गलादेशका साहित्यिक आदानप्रदानका कार्यक्रमहरू गरौँ भनेर भन्दै हुनुहुन्थ्यो । वैरागी काइँला दाइले भन्नुभएको थियो, अलिक साहित्य–फ्रेन्डली जस्तो लाग्छ हाम्रो प्रधानमन्त्री भनेर । उहाँले भनेको ठीकै हो । म कमसेकम कला, संस्कृति, साहित्य– फ्रेन्डली छु, सङ्गीत फ्रेन्डली छु । गाउन बजाउन आउँदैन, तर सबभन्दा मनपर्ने सङ्गीत हो । म प्रधानमन्त्री भएका बेला नेपाल प्रज्ञा प्रतिष्ठानले र अरू प्रतिष्ठानहरूले अधिकतम लाभ लिनुपर्छ भन्ने पनि म ठान्छु । यतिबेला लाभ लिनु वाञ्छनीय हुन्छ । तपाईंहरू योजना बनाउनोस्, काम गर्नोस्, म साथमा छु ।
(२०७२ पुस २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको ३०औँ प्राज्ञ सभालाई गर्नुभएको सम्बोधन)