NP EN

मान्छेको बारेमा मरेपछि थाहा हुँदोरहेछ

कार्यक्रमका सभापति महोदय, विभिन्न पार्टीका प्रतिनिधि साथीहरू, देशका विभिन्न भागबाट आउनुभएका पार्टीका नेता साथीहरू र यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण साथीहरू,  

देशका विभिन्न भागबाट आउनुभएका सबै साथीहरूलाई झापा जिल्लामा, यस ऐतिहासिक भूमिकाको जिल्लामा, म यही जिल्लाको व्यक्तिको हैसियतले पनि हार्दिक स्वागत गर्दछु । तपाईंहरू विश्वस्त भए हुन्छ, ढुक्क भए हुन्छ, यस जिल्लाले तपाईंहरूलाई भव्य स्वागत गर्नेछ । यस अञ्चलले गर्नेछ । मलाई विश्वास छ, यो अञ्चलमात्र हैन पूर्वी नेपालका जहाँजहाँ तपार्ईंहरू पुग्नुहुन्छ, त्यहाँ तपाईंहरूको भव्य स्वागत हुनेछ । 

मेची अञ्चलको पर्यटन प्रवर्द्धनको सम्बन्धमा आन्तरिक पर्यटन, त्यो पनि नेकपा (एमाले) जस्तो देश विकासका लागि ध्यान पुरयाउने पार्टीको आयोजनामा हुँदैछ । देश विकासको एउटा क्षेत्र पर्यटन हो । त्यसका लागि विशेष ध्यान पुरयाउने पार्टीको आयोजनामा त्यसका नेताहरूलाई झापा जिल्ला र देशका पूर्वका विशेष ठाउँहरू देखाउने कार्यक्रम रहेको छ । खासगरी पूर्वका सबै ठाँउहरू देखाउन त सम्भव छैन यतिबेला, तर मेची अञ्चलका केही ऐतिहासिक ठाउँहरू छन् पुग्नैपर्ने । तपार्ईंहरूको पाथीभरा जाने कार्यक्रम छ कि छैन, तोक्मेडाँडा, ओलाङ्चुङगोला, श्रीअन्तु पुग्ने कार्यक्रम छ कि छैन त्यो म भन्न सक्दिन, तर ती अत्यन्तै रमणीय ठाँउहरू हुन् । नेपाल यसै रमणीय छ । त्यसमाथि नेपालको पूर्वी भेग उस्तै रमणीय छ । त्यसमा पनि मेची अञ्चल त असाध्यै रमणीय छ । झापा जिल्लाको त मैले केही भन्नै पर्दैन ।    

यो ठाँउसँग मेरो व्यक्तिगत तवरमा पनि अत्यन्तै निकटको सम्बन्ध छ । म पहाडका भीरपाखामा खेलेको ठिटो २०१८ सालको अन्तिममा यही यमद्वारी, यही चिसापानी, यही सोक्तिम लोदियाबाट अनौठो–अनौठो मान्दै तराइतिर प्रवेश गरेको थिएँ । यही बाटो यहाँ चोकमा पुग्दाखेरि बाटोभन्दा दक्षिणपट्टि एकजना मोटो मान्छे खाट हालेर बस्नुभएको थियो । मलाई गाउँका मान्छेहरूले चिनाए डबल सुब्बा भनेको उहाँ नै हो । यसो हेरेको डबल डबलनै जस्तो लाग्यो, म अहिले पनि सम्झिन्छु उहाँलाई ।

आजै बिहान हामीले सुखानीमा सहिदहरूप्रति श्रदाञ्जलि अर्पण गरयौँ । रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठजस्ता क्रान्तिकारी वीरहरूलाई निरङ्कुश राजतन्त्रले हत्या गरेको थियो । सुखानीको त्यही ठाउँनिरबाट बाटो थियो । त्यही बाटो पारगर्दै म ओरालो झरेको थिएँ, उहिले २०१८ सालको चैततिर । 

त्यसैबेलादेखि यस जिल्लासँग मेरो लगातार सम्पर्क–सम्बन्ध रहिआएको छ । ५५ वर्ष पूरा भएछ । हामी एउटा तीर्थस्थल जस्तो ठाउँमा छौँ । झापा आन्दोलन भनेर यहाँहरूले सुन्नु–जान्नु भएकै छ । यो त्यही ठाउँ हो । कम्युनिस्ट पार्टीको स्थापनासँगै गणतन्त्रको माग पनि हुँदै आएको हो । झापा आन्दोलनसँगै गणतन्त्रको माग पनि उठ्यो । गणतान्त्रात्मक लोकतन्त्र, जनताको शासन भएको जनवादी गणतन्त्र, सामाजिक न्याय र समानता, राष्ट्रिय एकता र समृद्धिजस्ता कुरा कम्युनिस्ट पार्टीले आफ्नो स्थापनासँगै उद्घोष गरेका विषयहरू हुन् । ती कुराहरूलाई २०२७ सालदेखि यही ठाउँबाट हामीले सङ्घर्षका माध्यमबाट अगाडि बढाएका थियौँ । त्यो अभियान थाल्नेहरूको बारेमा मैले भनिरहनुपर्ला जस्तो लाग्दैन। त्यो अभियान थाल्ने एकजना मुकुन्द न्यौपाने अघिल्लो पङ्क्तिमै हुनुहुन्छ ।  कहीँकतै गएपनि, यस पार्टीमा नआएर अहिलेसम्म कतै अल्मलिइरहेको भएपनि देशको विकास गर्नु छ भने, सुख समृद्धि देशमा ल्याउनु छ भने हामीले मनकुमार तामाङलाई हेरौँ । त्यसैगरी मनकुमार गौतम हुनुहुन्छ । उहाँ कति वर्ष त जेल नै बस्नुभयो । आजको यो समय ल्याउनका लागि उहाँ १८ वर्ष जेलमा बस्नुभयो । अर्को व्यक्तित्व हुनुहुन्छ नरेश खरेल । उहाँ २०३० साल साउन २० गते गरामुनिको नडियाबाडीबाट पक्राउ पर्नुभयो । त्यहीँ कमरेड चन्द्र डाँगीलाई गोली हानेर हत्या गरिएको थियो । त्यस्तै अमर कार्की हुनुहुन्छ । उहाँ पनि १८ वर्ष जेल बस्नुभयो । यसरी नै दधिराम उप्रेती, कृष्ण सेढाइँ हुनुहुन्छ । कृष्ण सेढाइँ पनि १३ वर्ष जेल बस्नुभयो । अर्का मित्र दुर्गाप्रसाद अधिकारी हुनुहुन्छ, उहाँ १७ वर्ष जेल बस्नुभयो  ।

जे होस्, त्यो आन्दोलन सुरु गरेर त्यसलाई अगाडि बढाउने कुरामा धेरै साथीहरूले महत्वपूर्ण योगदान गर्नुभएको छ । त्यस्तो योगदान गरेकाहरूमध्ये जीवित साथीहरू थुप्रै हुनुहुुन्छ । घनेन्द्र बस्नेत, नारद वाग्ले, विश्वेश्वरा दाहाल, गङ्गा उप्रेती, हरिचरण सिवाकोटी, सिपी मैनाली, नरेश खरेल, राधाकृष्ण मैनाली, जीवन घिमिरे, सूर्य उप्रेती आदि साथीहरू अहिले पनि सक्रिय हुनुहुन्छ । सिपी मैनाली, विष्णु प्रसाई र म सँगसँगै गिरफ्तार भएका थियौँ । त्यही आन्दोलनका क्रममा प्रदीप नेपाललाई समाएर जेलमा हालिएको थियो । पछि सिपी, प्रदीपलगायतका साथीहरू नख्खु जेल तोडेर हिँड्नुभयो । केही साथीको हत्या भयो, केही साथीहरू फेरि त्यही आन्दोलनलाई डुब्न नदिने झन्डा उठाएर हिँडिरहनु भएको छ यसै जिल्लामा । हाम्रा यिनै साथीहरू हुन् जो राजतन्त्र फाल्न भनेर लागेका थिए र आज राजतन्त्र फालिइसकेको छ । 

एकजना साथी हुनुहुन्छ डाक्टर के.आर. खम्बु । सायद उहाँ आउनु भएको छैन । आँखाको समस्याले गर्दा उहाँ आउनुभएको छैन । उहाँकी म्याडम शुभलक्ष्मीजी मेरो पुरानो साथी हुनुहुन्छ । उहाँका श्रीमान् के.आर.खम्बु हामीले झापा आन्दोलन सुरु गर्नुभन्दा अगाडिदेखि झापामा सक्रिय हुनुहुन्थ्यो । २०२९ सालमा उहाँले नै महेन्द्र मोरङ कलेजमा पढ्दै गर्दा मलाई लगेर माधव नेपालसँग परिचय गराउनुभएको थियो । 

जे होस्, एउटा नयाँ आन्दोलन यस ठाँउबाट सुरु भएको थियो, त्यसलाई दमन गर्नका लागि, त्यसलाई समाप्त पार्नका लागि, राजतन्त्रलाई टिकाउनका लागि, निरङ्कुशतन्त्रलाई टिकाउनका लागि हाम्रा थुप्रै साथीहरू मारिएका थिए जसमध्ये ५ जनालाई २०२९ साल फागुन २१ जेलबाट निकालेर साँझपख सुखानीमा हत्या गरिएको थियो । सहिद रामप्रसाद प्रधान जसलाई २०२९ सालमा बाँसका भालाले घोचीघोची हत्या गरिएको थियो । उहाँकी धर्मपत्नी हुनुहुुन्छ इन्द्रमाया प्रधान । जो सहिद बन्नुभयो, उहाँहरूले धेरै ठूलो त्याग गर्नुभएको छ, देशका लागि महान योगदान दिनु भएको छ । वास्तवमा बाँचुञ्जेल मान्छेको बारेमा थाहा हुँदो रहेनछ, मरेपछि मात्र थाहा हुँदोरहेछ । जो साथीहरू हामीसँग अहिले पनि हुनुहुन्छ उहाँहरूको योगदानलाई कहिल्यै पनि भुल्न सकिन्न । उहाँहरूको योगदान सधैँका लागि महान् रहेको छ । 

(२०७२ फागुन २७ गते मेची पर्यटन प्रवर्द्धन अभियानका सन्दर्भमा झापाको खुदुनाबारीमा दिनुभएको मन्तव्य)