माननीय मन्त्रीज्यू, मुख्य सचिवज्यूलगायत विभिन्न विशिष्ट महानुभावहरू, सहभागी दिदीबहिनीहरू, दिदीबहिनीको कार्यक्रममा सहभागी हुनुभएका दाजुभाइहरू,
मलाई लाग्छ तपाईंहरूले यो अत्यन्तै सामयिक, सान्दर्भिक र महत्वपूर्ण कार्यक्रमको आयोजना गर्नुभएको छ । यो कार्यक्रम सफल होस्, मेरो शुभकामना !
नेपाली समाज एउटा सङ्क्रमणकालीन अवस्थामै छ । यद्यपि, हामीले संविधान जारी गरेर प्रमुखरूपमा सङ्क्रमणकाललाई टुङ्ग्याएका छौँ । हामी अब स्थिरता र स्थायित्वतर्फ अगाडि बढेका छौँ । लामो समयदेखि नेपाली जनताले गरेका सङ्घर्षहरू संस्थागत गरिएका छन् । तिनलाई अत्यन्तै उच्चस्तरीय वैधानिकता प्रदान गरिएको छ र हामी नयाँ चरणमा अर्थात् संविधान कार्यान्वयन, प्राप्त अधिकार र उपलब्धिहरूको कार्यान्वयन र तिनलाई सुदृढ गर्ने काममा लागेका छौँ ।
२००७ सालमा जहाँनिया राणा शासनको अन्त्य भएर नेपाल अन्धकार युगबाट आधुनिकतातर्फ, सम्पूर्णरूपमा अधिकारविहीन अवस्थाबाट अधिकारयुक्त युगमा प्रवेश गरयो । त्यतिबेलादेखि हामी सङ्क्रमणकालमै छौँ । पूर्णरूपमा हामीले चाहेको अधिकारयुक्त, अवसरयुक्त, सुरक्षित, सबैका निम्ति उत्तिकै सम्मान भएको न्यायपूर्ण समाजको स्थापना हो । हामीले चाहेको सबै प्रकारका असमानता र विभेदको अन्त्य र सम्पूर्ण क्षेत्रमा सामाजिक न्याय र समानताको स्थापना हो । पछौटेपनको अन्त्य, आधुनिकता, विकास, समृद्धि र सुखमय समाजको स्थापना नै हाम्रो चाहना हो । हामीले ती कुराहरू चाहेका हौँ र त्यससम्बन्धमा हामीले उल्लेखनीय प्रगति पनि गरेका छौँ ।
हाम्रो समाज २००७ सालको आन्दोलनपछि एउटा सङ्क्रमणकालीन अवस्थामा आयो । त्यसभन्दा अगाडि पनि हाम्रा आकाङ्क्षाहरू थिए होलान्, इच्छाहरू थिए होलान्, तर ती पूरा हुने सम्भावना थिएन । नयाँ युगमा र आधुनिक युगमा हामी आयौँ । यद्यपि त्यसका पनि सीमाहरू थिए, त्यसले एकैचोटि सबै कुराहरू ल्याएको होइन, तैपनि एउटा नयाँ युगमा प्रवेश गरायो, तर त्यो समय पनि समाप्त पारियो । २०१७ सालमा अधिकारहरू खोसिए । उपलब्धिलाई खोस्न त खोसियो, तर त्यसको प्रभावलाई खोस्न सकेनन् । जनताले कुनै ठूलो परिवर्तन ल्यायो भने त्यसलाई शासकले अस्वीकार गर्नसक्छ, तर त्यसको जुन प्रभाव परेको हुन्छ आमजनतामा त्यसलाई समाप्त पार्नसक्दैन । २०१७ सालदेखि २०४६ सालभरिको अवधि पनि प्रणालीगत हिसाबले अस्वीकार गर्ने अवस्था रह्यो, तर जुन परिवर्तन र चेतना समाजमा आएको थियो, त्यसलाई अस्वीकार गर्नसक्ने वा त्यस प्रभावलाई मेट्नसक्ने कुरा भएन । अस्वीकार गर्नका लागि पनि केही काम गर्नुपर्ने आवश्यकता त्यसबेला पनि हुन्थ्यो, किनभने त्यो अन्धकार युगबाट हामी अगाडि बढिसकेका थियौँ ।
२०४६ सालपछि हामी अर्को एउटा नयाँ खालको सङ्क्रमणकालमा प्रवेश गरयौँ । यो असाधारण र तीव्र खालको सङ्क्रमणकाल थियो । पहिलोचोटि महिलाहरू पनि सांसद हुनुपर्ने व्यवस्था भयो, यद्यपि त्यो सङ्ख्या सानो थियो । महिलाहरूका निम्ति केही सकारात्मक परिपाटी भने बसालियो । त्यसको असर के भो ? त्यसले अरू थुप्रै प्रभावहरू पैदा गरे, जसलेगर्दा विद्या भण्डारीजीको नेतृत्वमा एउटा अभियान सुरु भयो – कम्तीमा पनि २० प्रतिशत महिलाको सहभागिता स्थानीय तहमा हुनैपर्छ भन्ने । स्थानीय निकायहरूमा २० प्रतिशत महिला सहभागिता हुनैपर्छ, भन्ने कुरामा उहाँले ज्यादै नै जोड गर्नुभयो । अरू राजनीतिक पार्टीका महिलाहरूसमेतलाई सँगसँगै लिएर उहाँले त्यस विधेयकलाई पारित गराएरै छोड्नुभयो, जसले गर्दा त्यसपछिका निर्वाचनहरूमा खासगरी २०५४ को स्थानीय निर्वाचनमा २ लाख निर्वाचित जनप्रतिनिधिमध्ये ४० हजार महिला जनप्रतिनिधिको सहभागिता रहन पुग्यो । यो ठूलो ब्रेकथ्रु थियो । २ लाखमध्ये ४० हजार निर्वाचित महिला जनप्रतिनिधिको सहभागिता कानुनी हिसाबले नै हुन आयो ।
महिला सहभागिता आन्दोलनमा मात्र होइन, हरेक ठाउँमा छ तर त्यो सहभागिताअनुसार महिलाले अधिकार पाएका छैनन् । यतिबेला हामी आधुनिक समाजमा छौँ, लोकतान्त्रिक समाजमा छौँ, जनताले संविधानसभामार्फत आफैले बनाएको, आफूलाई अधिकारसम्पन्न बनाएको, लोकतान्त्रिक संस्थाले लोकतान्त्रिक प्रक्रियाबाट बनाएको लोकतान्त्रिक संविधान कार्यान्वयन भइरहेको समयमा छौँ । आज पहिलोपल्ट सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा रहेका महिला दिदीबहिनीहरूको सहभागितालाई लिएर यो अन्तव्रिक्रिया कार्यक्रमको आयोजना गरेको छ । मलाई खुसी लागेको छ । अधिकृत तहमा पनि अब नेपालमा महिलाको सहभागिता राम्रो सङ्ख्यामा छ । अघि पनि कुरा उठ्यो – विश्वमा चर्चित महिलाहरू भए र नेपालमा पहिलो महिला राष्ट्रपति भइसक्नुभएको छ । त्यसमा मलाई सन्तोष लागेको छ । नेपालमा महिला राष्ट्रपति हुनुहुन्छ, महिला सभामुख हुनुहुन्छ । मैले प्रस्ताव राख्नसक्ने, मैले क्याम्पेन गर्नसक्ने दिशामा मैले यस विषयमा ध्यान दिएको छु ।
हामीले हाम्रा पूर्वज, हाम्रा पुर्खा, हाम्रा आमाहरूलाई सम्झनुपर्छ, जसले हजारौँ वर्ष बुहार्तनमा बसेर बिताए । सुखको इच्छा त जैविक इच्छा हो, त्यो त पढेका नपढेका जस्तोसुकै समाजका हुन्, हरेकलाई हुन्छ । जाडो जसलाई पनि हुन्छ, भोक जसलाई पनि लाग्छ, थकाइ जसलाई पनि लाग्छ, आरामको आवश्यकता र भोजनको आवश्यकता सबैलाई हुन्छ । मान्छेलाई अलिकति स्नेहपूर्ण व्यवहारको पनि आवश्यकता हुन्छ, सम्मानको पनि आवश्यकता हुन्छ । त्यस्ता कुराहरू देख्नै नपाई हजारौँ वर्षसम्म हाम्रा आमाहरू दिवङ्गत भए । अन्याय सहेर, अपमान सहेर, दुःखमा कहिले सङ्गिनी गाएर, कहिले मेलापातमा पीडाहरू पोखेर, कहिले तीजका गीतमार्फत् आफ्ना वेदनाहरू व्यक्त गरेर तिनले आफ्नो जीवन बिताए । अरू केही गर्नसक्ने समय थिएन त्यतिखेर । त्यसक्रममै अलिकति आवाज उठाएर सङ्घर्ष गर्ने महिलाहरू पनि देखापरे । ती सङ्घर्षशील वीराङ्गनाहरू सबैप्रति म भित्री मनदेखि नै श्रद्धासुमन अर्पण गर्दछु ।
आज जो आमाहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ आफ्नै दाजुभाइ, आफ्नै पति, आफ्नै ससुरा, आफ्नै छिमेकी, आफ्नै नातागोताबाट अपमानित हुनुपर्ने अवस्था अझै पनि छ । पढ्न लेख्न पाएको छैन, त्यस्तो अवस्थामा देउता खेलाउँछे, मसानघाटका मसान खेलाउँछे रे, कठैबरी ! पढ्न लेख्न पाएको छैन, यत्रायत्रा देवता खेलाउँछे, फलाना ठाउँका देवी खेलाउँछे रे ! आफ्नै सासूससुराले प्रताडित गरिराखेको अवस्था छ, आफ्नै लोग्नेले आफूलाई वास्ता गरिराखेको छैन, यस्तोबेलामा त्यहाँ मसानघाटका मसानहरू खेलाउँछे, दोबाटोमा केके खेलाउँछे, कुन्नि के के भनेर याताना दिने गरिन्छ । यस्ता आरोपहरू हाम्रा आमाहरूले, दिदीबहिनीहरूले व्यहोर्नुपरयो । त्यस अवस्थाबाट आज हामी उन्मुक्त भएका छौँ र हामीले अब ठोस कदमहरू पनि चालेका छौँ । हाम्रो संविधानले महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।
मैले अन्तरव्यवस्थापिका सङ्घको एउटा आकडा हेरेको थिएँ, त्यहाँ विकसित देशका महिलाहरूको पनि आकडा थियो । स्केन्डेनिभियन देशका महिलाहरू कसरी अगाडि बढेका छन् वा बढाइएका छन् भन्ने कुरा त्यसमा थियो । त्यसपछि मैले त्यहाँ क्युबाको प्रतिशत देखेँ । शिक्षकमा यति, डाक्टरमा यति, पाइलटमा यति, अरू कुरामा यति भनेर क्युबाले योजनाबद्ध ढङ्गले नै हरेक क्षेत्रमा महिलालाई अगाडि बढाएको पाएँ । उनीहरूको प्रतिशत धेरै माथि छ महिला सहभागितामा । त्यसको कारण के हो भने क्युबा शिक्षामा अगाडि छ । हामीले पनि वास्तविक अर्थमा महिला शिक्षामा ध्यान दिनुपर्छ । आमाबाबुले नपढाएको भए, आफूहरूले नपढेको भए, तपाईंहरू अफिसर हुन सक्नुहुन्नथ्यो । शिक्षा नै नभएपछि त के गर्ने ? त्यसैले महिला सहभागिता बढाउनका लागि शिक्षामा जोड दिनु आवश्यक छ ।
स्विडेनमा त्यहाँका एकजना सेक्रेटरीसँग मेरो कुरा भएको थियो । उनले मलाई गाइड गरिरहेकी थिइन् । उनलाई नेपालको बारेमा धेरै जानकारी रहेनछ । नेपालका बारेमा एउटा अचम्मको कुरा सुनेको उनले बताइन् । उनले सुनेकी रहिछन् – नेपलामा छोरी बिग्रिन्छे रे ! बिग्रिने भनेको के हो भन्दा त – बिग्रिने भनेको या त तल्लो जातसँग जाने या त तल्लो आर्थिक स्थितिको सँग जाने भन्ने रहेछ । यो बाहेक अर्को परिभाषा रहेनछ । हाम्रो निम्ति सामाजिकीकरणका लागि अहिले पनि यी दुइटा कुरा समस्याको रूपमा रहेका छन् । छोरी बिग्रने चिन्ता अभिभावकलाई छ । सामाजिकीकरणमा जानका लागि यो अहिले पनि समस्या छ । बिग्रने भन्ने डर । त्यसकारण सामाजिकीकरणमा लागेका हामीले छोरीहरूलाई प्रोत्साहित गर्नुपर्दछ, महिलाहरूलाई प्रोत्साहित गर्नुपर्दछ र अगाडि बढाउनुपर्छ ।
सबभन्दा मुख्य कुरो विभिन्न क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्ने कुरा अन्ततोगत्वा नीति निर्माण र शासनसँग जोडिने गर्छ । शासनमा र नीति निर्माणमा महिला सहभागिता कुन स्तरमा गरिएको छ, मुख्य कुरा त्यो हो । म दुनियाँमा जहाँ गए पनि छाती फुलाएर कुरा गर्न सक्छु – छोटो समयमा हामीले ३३ प्रतिशत महिलाहरूको सहभागिता गराएका छौँ । केहीकेही देशमा मात्रै यस्तो छ, बाँकी देशले त्यो गर्न सकेका छैनन् । स्थानीय निकायमा ४० प्रतिशत हामीले सुनिश्चित गरेका छौँ । यो कुरा पनि छाती फुकाएर भन्न सकिन्छ । निजामती सेवामा कति सचिव छन्, त्यसमध्ये पुरुष कति महिला कति भन्यो भनेचाहिँ अरु नै कुरा गर्नुपर्ने हुन्छ । एउटा पनि सचिव महिला छैनन् । एउटा पनि सचिव नहुनु भनेको साह्रै गलत कुरा हो । तत्कालै हामी बनाउन पनि सक्दैनौँ । आउट अफ द ट्रयाक गएर बनाउन सकिँदैन । विधि–विधानभित्रबाट अहिले तत्काल कुनै सम्भावना छ कि छैन भनेर अहिले भर्खरै सामान्य प्रशासन मन्त्रीज्यूलाई सोधेँ । उहाँ पनि महिला हुनुहुन्छ । उहाँ आफैँ महिला भएर पनि के गर्ने र ? म आफैँ पनि महिलाको हितैषी, तर पनि अहिले तत्काल बनाउनसक्ने अवस्था छैन । यो हाम्रो निम्ति अत्यन्त बिझाएको, खट्केको कुरा हो ।
कसैले यदि तपाईंहरूको उच्च ओहदामा, सरकारी ओहदामा, निजामती सेवामा, महिलाहरूको स्थिति के छ भन्यो भने के कर्मचारीको कुरा गरिराखेको, राष्ट्रपति र सभामुख हेर न भन्नुपर्ने अवस्था छ । यो उपयुक्त जवाफ होइन, यो हाम्रो तर्किने मेलो मात्र हो । यस स्थितिमा भिन्नता ल्याउनुपर्छ र महिलाहरूलाई उचित महत्वका साथ अगाडि बढाउनुपर्छ । अब पनि महिलालाई पछाडि पार्ने काम कसैले पनि गर्नु हुँदैन । हुन त म महिलालाई अगाडि बढाउनुपर्छ भनेर भन्नेमा पनि धेरै छैन, पछाडि नपारे आफैँ अगाडि बढिहाल्छन् नि । पछाडि नपारे पुग्छ ।
मान्छेको अस्तित्व थिएन भने यस धर्तीको केही पनि अर्थ हुँदैनथ्यो । कुनै फुलेको फूल पनि थाहा पाउने, कुनै झरेको झरना पनि थाहा पाउने कोही नभएपछि सारांशमा भन्दा मान्छे नै नभएपछि यस धर्तीको के काम ? यो धर्तीको यसकारण महत्व छ कि यहाँ मान्छे छ । यहाँ मान्छे किन छ भने महिलाहरू छन् । महिलाहरूको त्यो गुणलाई मान्छेले बुझेका छन् । त्यसकारण हाम्रा व्यवहार, हाम्रा सामाजिक व्यवहार र हाम्रा सम्पूर्ण व्यवहारहरूमा ती गुणहरूलाई अवगुणको रूपमा नबुझी गुण र योगदानको रूपमा बुझेर नीतिहरू निर्माण गर्नुपर्छ ।
हामीले ठूलो परिवर्तन गरेका छौँ, तर पनि एउटा हल्ला चल्ने गरेको छ – महिलाहरूको स्थिति जहाँको तहीँ छ, केही पनि भएन भन्ने । राणा शासनको समयमा १९८० मा दासप्रथा उन्मूलन गरियो । यसको आसपासतिरै सतीप्रथा उन्मूलन गरियो । हाम्रो समाज त्यहाँ थियो, त्यस ठाउँबाट आज हामी उन्मुक्त खुला समाजमा, आरक्षणको समयमा, राष्ट्रपति, सभामुखसमेत भएको समयमा कमसेकम नीति निर्माणको ठाउँमा, यो कार्यक्रम गरिरहँदा पनि महिला मन्त्री, महिला अध्यक्ष, महिला सभापति भएको ठाउँमा त आइपुगेका छौँ नि । प्रधानमन्त्री आएका ठाउँमा कार्यक्रमको सभापति त महिला नै हुनुहुन्छ । अनि केही पनि भएन भन्ने कुरा हुन्छ र ? हाम्रा दिदीबहिनीहरूले त्यत्रो सङ्घर्ष गर्नुभएको छ, त्यत्रो बलिदान गर्नुभएको छ, त्यत्रो त्याग गर्नुभएको छ, त्यसको उपलब्धि केही पनि छैन र ? यो पनि त एउटा उपलब्धि हो । तर हामी यत्तिमै चित्त बुझाउँदैनौँ, हाम्रो गन्तव्य यति मात्रै होइन । हाम्रो गन्तव्य पूर्णसमानता, पूर्णविकास हो । पूर्ण सन्तुष्टिको अवस्था हो । हाम्रो लक्ष्य त्यो हो, त्यहाँसम्म हामी पुग्छौँ । त्यसका निम्ति हामी प्रयास गर्छौँ । त्यसभित्र बनावटी कुरा, देखावटी कुरा, अल्मल्याउने कुराको केही पनि अर्थ छैन ।
अघि पनि कुरा उठ्यो, महिलाहरूको एटिच्युड खूब पोजिटिभ हुन्छ । मनोवैज्ञानिक हिसाबले नै पोजिटिभ एटिच्युड हुन्छ । घरका परिवारलाई यो सब्जी मन पर्छ कि पर्दैन, यो मन पर्दैन भने त्यो बनाऊँ । त्यहीँदेखि एटिच्युड पोजिटिभ र कम्प्रोमाइजिङ हुन्छ । फर्सी मनपर्छ कि, लौका मनपर्छ कि, घिरौँला मनपर्छ कि भनेर विचार गरेरमात्र काम गर्ने एटिच्युड । त्यहाँ पुरुष भयो भने आज फर्सीमात्र छ, लौ खा त्यही भन्छ । उसले अनेकथरी विकल्पका कुरा गर्दैन, अलिकति एग्रेसिभ स्वभावको हुन्छ पुरुष । त्यो बाइ नेचर नै हुने हो । त्यसो भन्दैमा पुरुषलाई मात्र लखेट्नु पनि राम्रो हुँदैन । पुरुषले पनि आफूलाई बदल्नैपर्छ । समानताकै आधारमा अगाडि बढ्नुपर्छ । मिलेर अगाडि बढ्नुपर्छ । तपाईंहरूले देख्नुभएको छ – दुइटा गाई भेट भएर कहिल्यै लडाइँ गरेको ? झगडा गरेको देख्नुभएको छ ? दुइटा गोरू भेट भयो भने लडाइँ सुरु गरिहाल्छन् । कुखुराका दुइटा पोथीमात्र भए भने लडाइँ गर्दैनन् । दुइटा भाले भए भने लडाइँ सुरु भइहाल्छ । विकास र परिवर्तनका लागि यस्तो स्थितिमा पनि परिवर्तन हुनु आवश्यक छ ।
नेपालका धेरै राजनीतिक आन्दोलनहरूमा महिलाहरूको सहभागिता राम्रो रह्यो । फलस्वरूप हाम्रा राजनीतिक पार्टीको नेतृत्व तहमा पनि महिलाहरूको सहभागिता राम्रो रहेको छ । आफ्नो सहभागिता अनुचित लागेको कुरामा महिलाहरू स्वयम् सहभागी हुँदैनन् । देख्नु भएकै होला वीरगञ्ज नाकाको धर्नामा एउटै पनि महिला छैनन् ।
अन्तमा, यस्तो राम्रो कार्यक्रमको आयोजना भएकोमा आयोजकलाई धेरैधेरै धन्यवाद । पुनः कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु ।
(२०७२ पुस २२ गते निजामती सेवामा महिला सहभागिताका विषयमा स्टाफ कलेज, जाउलाखेलमा व्यक्त गर्नुभएको मन्तव्य)