NP EN

​सेवा र परोपकारी भावना – समयको माग

नेपाल स्काउटका अध्यक्ष माननीय मन्त्रीज्यू, स्काउटसँग धेरै निकटको सम्बन्ध राखिराख्नुभएका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय वामदेव गौतमज्यू, स्काउटका  पदाधिकारी र भेट्रान्स साथीहरू, उपस्थित स्काउटहरू र यस कार्यक्रममा सहभागी हुनुभएका अन्य साथीहरू, 

आज मलाई पनि तपाईंहरूले शपथ–ग्रहण गराउनुभएको छ । शपथ–ग्रहण गरिसकेपछि यसअनुसारको काम पनि गर्नैपर्ने हुन्छ । विधिवत् म स्काउट परिवारको सदस्य भएको छु, खुसी लागेको छ । तपाईंहरूसँग खुसी सेयर गर्न चाहन्छु, साट्न चाहन्छु । म सबै साथीहरूलाई धन्यवाद भन्न चाहन्छु । स्काउट संस्थालाई धन्यवाद भन्न चाहन्छु ।

नेपाल स्काउटले लामो समयदेखि विभिन्न ढङ्गले महत्वपूर्ण सेवाहरू विभिन्न क्षेत्रमा पुरयाइरहेको छ । म यसको प्रशंसा गर्न चाहन्छु । मलाई थाहा छ, त्रिसट्ठी–चौसट्ठी वर्षअगाडिदेखि नेपाल स्काउटले आफ्नो ढङ्गले सेवा पुरयाउँदै आएको छ । यसैकारणले यो संस्था आज विश्वका २ सय १६ वटा देशमा फैलिन सफल भएको छ । 

१ सय ८ वर्ष भएको छ यसको स्थापना भएको । स्थापनायताको अन्तर्राष्ट्रिय अस्तित्व र अनुभवलाई हेरेर भन्नुपर्दा यसमा प्रत्यक्ष भौतिक लाभको पक्ष केही पनि छैन । लिने पक्ष नभएको, दिने पक्ष भएको छ स्काउट । यस संस्थामा लागेकाहरूसँग लिउँला भन्ने कुरा केही हुँदैन, दिने कुरामात्र धेरै हुन्छ । समय दिने, मेहनत दिने, सेवा दिने र परोपकारी काम गर्ने ।  अनुशासनमा बस्नु, एकताबद्ध हुनु, सकारात्मक ढङ्गले सोच्नु यसका विशेषता हुन् । अनुशासन त यसको आधारभूत कुरा नै हो । एकता यसको आधारभूत कुरा हो । सेवा र परोपकार यसको उद्देश्य नै हो । 



सामान्य अवस्थामा मात्र होइन कुनै विशेष र विपद्का अवस्थामा समेत आवश्यक परेका ठाउँहरूमा यसले आफ्नो ढङ्गले सेवा पुरयाउँदै आएको छ । नेपालमा र विश्वका विभिन्न ठाउँमा यसले महत्वपूर्ण सेवा गरिआएको छ । नेपालमा यस संस्थाले आफूलाई अझ बढी विशेषतासहित, नेपाल स्काउट भनेपछि तदनुसार नै राष्ट्रिय अवधारणा, राष्ट्रिय एकता, राष्ट्रिय आवश्यकता, राष्ट्रिय भावनाका साथ यो अगाडि बढेको छ र सोहीअनुसार काम गर्दै आएको छ । सङ्कीर्णता होइन, राष्ट्रिय भावनाका साथ यो संस्था अगाडि बढेको छ ।

विभिन्न अप्ठ्यारा परिस्थितिहरूमा पनि संस्थालाई जीवित राखेर लगातार सेवा पुरयाउने र योगदान गर्ने काममात्र यस संस्थाले गरेको छैन, यसको महत्व र भूमिकालाई प्रभावकारी बनाइराख्ने कुरामा पनि म साथीहरूको प्रशंसा गर्न चाहन्छु । तपाईंहरूले राम्रो काम गर्नुभएको छ, धन्यवाद छ । 

सरकारका तर्फबाट प्रशिक्षक प्रशिक्षण तालिमका निम्ति केही सहयोग मन्त्रालयमार्फत विनियोजन भएको छ भन्ने मैले जानकारी पाएको छु । तत्सम्बन्धमा स्काउटका काम हेरेर, यसका आवश्यकतालाई हेरेर र यसको प्रभावकारितालाई हेरेर सहयोग बढाउन नसकिने भन्ने कुरा हुँदैन, वृद्धि गर्न सकिन्छ । यहाँहरूले हरेक निर्वाचन क्षेत्रमा, हरेक विद्यालयमा स्काउटलाई पुरयाउने जुन अभियानलाई अगाडि बढाउनुभएको छ, त्यो सकारात्मक छ । नयाँ पिँढीमा यसलाई पुरयाउन एकदमै जरुरी छ, किनभने यसले एउटा व्यापक दृष्टिकोण, आधुनिक दृष्टिकोण, वैज्ञानिक दृष्टिकोण अपनाउन सिकाउँछ । सङ्कीर्ण, जातिवादी,  धार्मिक समुदाय विशेषको, एउटा भूगोलको नारा बोकेर हिँड्ने, एकथरीप्रति मित्रता र अरूप्रति वैरभाव राख्ने सोचहरू स्काउटले अपनाउँदैन । यसले मानवतावादी सोच अपनाउँछ, को अप्ठ्यारोमा परेको छ, कसलाई सङ्कट आइपरेको छ भन्ने कुरा मान्छेको अनुहार हेरेर होइन, जोसुकैलाई परेको सङ्कट पनि समाधान गरिनुपर्छ भनेर यो दौडन्छ । सबैप्रति यसको समभाव हुन्छ, प्रेमभाव हुन्छ, सहयोगी भाव हुन्छ र सबैप्रति सकारात्मक सोचका साथ यो अगाडि बढ्छ । यसले मानवतालाई जोड दिन्छ, यसले राष्ट्रियतालाई जोड दिन्छ र यसले देशभक्तिलाई जोड दिन्छ । 

अहिले विभिन्न प्रकारका गलत कुराहरू फिँजाउन खोजिएको छ, साम्प्रदायिक विद्वेषका कुरा, भौगोलिक हिसाबमा विभेदजस्ता कुरा, कटुता, वैमनस्यता फैलाउने जस्ता कुरा । त्यस्तो परिस्थितिमा मानवजातिलाई फराकिलो रूपमा, आफ्नो दाजुभाइको रूपमा हेर्नसक्ने र सबैको परोपकार गर्नुपर्छ भन्ने परोपकारी भावनाका साथ काम गर्ने यस्तो संस्थाका गतिविधिहरूलाई तीव्रता दिनु समयको माग नै भएको छ । यसकारण म नेपाल स्काउटलाई आफ्ना कामहरू तीव्रताका साथ अगाडि बढाउन सुझाव दिन चाहन्छु, आग्रह गर्न चाहन्छु र त्यसो गर्दाखेरि सरकारका तर्फबाट यहाँहरूलाई चाहिने मद्दत सरकारले गर्नेछ, त्यो विश्वास पनि म यहाँहरूलाई दिन चाहन्छु । 

अहिले नेपाल स्काउटले म जस्तो स्काउटप्रियलाई संरक्षक बनाउनुभएको छ । यसमा के गर्नुपर्छ म छँदैछु, तपाईंहरूले काम अगाडि बढाउनोस् । संरक्षणका निम्तिमात्र होइन, यसको बिस्तारका निम्ति पनि, यसको सक्रियताका निम्ति पनि, यसको प्रभावकारिताका निम्ति पनि के गर्नुपर्छ, त्यो म गर्छु । संरक्षक भनेको त अप्ठ्यारो पर्दा रक्षा गर्नका लागिमात्र हाजिर हुने होइन, यसलाई खतरामा पर्नै नदिने गरी हाजिर हुने हो । त्यस कुरामा पनि म सचेत बनेको छु । 



यसको बिस्तारका क्रममा अभिभावकहरूलाई भन्नुपर्छ – तपार्ईंहरू हरेकले आफ्ना छोराछोरीलाई स्काउटमा लगाउनोस् किनभने चर्को बोल्ने बानी परेका केटाकेटीहरू स्काउटमा आएपछि नरम बोल्ने हुन्छन् । हातखुट्टा बजार्नेहरू हातखुट्टा नबजारी राम्ररी बोल्ने हुन्छन् । आनीबानी राम्रो नभएकाहरू स्काउटमा आएपछि राम्रा हुन्छन् । अनुशासन थाहा नपाएकाहरूलाई यसले अनुशासन सिकाउँछ, अनुशासनमा बस्न, अनुशासन बुझ्न प्रेरित गर्छ । मान्छेलाई जातको आधारमा भिन्न देख्ने, भूगोलको आधारमा भिन्न देख्ने वा अरू विभिन्न प्रकारका सम्प्रदायका आधारमा भिन्न देख्नेजस्ता कुराहरूलाई नहेरेर आफ्नै दाजुभाइ देख्ने मानवीय भावना यसले सिकाउँछ । अनि यसले सबैभन्दा ठूलो कुरो लेऊ, लेऊभन्दा पनि के दिन सकिन्छ भन्ने भावना सिकाउँछ । त्यसो भएको हुनाले नयाँ पिँढीलाई सानैदेखि हामीले स्काउटतर्फ आकर्षित गर्ने, स्काउटमा आबद्ध गर्ने, उनीहरूलाई स्काउट भएर काम गर्न प्रेरित गर्ने गर्नुपर्दछ । 

मानिसले सेवा गर्न पायो भने र उसले सेवाको अर्थ बुझ्यो भने पानी परिरहेका बेला पनि उसलाई आनन्द आउँछ, घाम लागिरहेका बेला पनि उसलाई आनन्द आउँछ । चर्को घाम लागेको बेला पनि उसले सेवा गरेको हुन्छ, पानी परिरहेका ठाउँमा पनि सेवा गरिरहेको हुन्छ । यतिसम्म कि आगलागीले ध्वंस गरिरहेको ठाउँमा पनि उसले आफ्नो ज्यान खतरामा पारेर अरूको सेवा गरिराखेको हुन्छ । ज्यान खतरामा पार्दा पनि आनन्द आउँछ । बाढी आएका ठाउँमा उसलाई बाढीले बगाउने खतरा हुन्छ, तर अरूलाई बचाउने कुरामा उसलाई जुन आनन्द छ, त्यसले आफूमाथिको खतरा पनि उसले कम ठान्छ । सम्पूर्ण मानिसको, विशेषगरी विपद्मा परेका मानिसको भावनाका साथ काम गर्ने संस्था हो यो । यस्तो संस्थालाई बढाउनुपर्छ, फैलाउनुपर्छ । म तपाईंहरूको प्रयासको सराहना गर्छु । यो संस्था निरन्तर अगाडि बढ्नेछ भन्ने विश्वास मैले लिएको छु । 

अहिले धेरै कुरा गर्ने भन्दा पनि मैले अघि नै भनेँ, अध्यक्ष माननीय मन्त्री सत्यनारायण मण्डल हुनुहुन्छ । उहाँ अध्यक्ष भएको बेलाको फाइदा लिनोस् संस्थाका लागि । उहाँ केही गरौँ भन्ने भावनाको मान्छे हुुनुहुन्छ । त्यस्तो भावना भएको मान्छे भएका बेला यो लाभ संस्थाले लेओस् भन्ने म चाहन्छु । संरक्षकमात्र भएर नबस्ने भनिसकेँ मैले । यसलाई गतिशील बनाउने कुरा, यसलाई अगाडि बढाउने कुरालाई तीव्रता दिने कुरामै लाग्छु म भनेपछि झन् के चाहियो । स्काउटलाई विद्यालयहरूमा लाने जुन कुरा छ, यसलाई सर्वत्र नै योजनाबद्ध ढङ्गले विकास गर्दै लानुपर्छ । तपाईंहरूको योजनाका सम्बन्धमा फेरि म यसको नेतृत्वसँग बसेर पनि विचार विमर्श गरौँला, कुरा गरौँला । सबैमा धेरैधेरै शुभकामना । 

(२०७२ पुस २१ गते नेपाल स्काउटको दीक्षान्त समारोहमा दिनुभएको मन्तव्य)