पत्रकार साथीहरू, देशका समस्याहरूप्रति चिन्तित हुँदै ती समस्याहरूको समाधान हुनुपर्छ भन्ने भावनाबाट ओतप्रोत भएर कसैले पनि आफ्ना विचार वा स्वार्थहरूमा अह्ररो हुने होइन, लचिलोपनका साथ सम्वाद र सहमतिको बाटोबाट समाधान पहिल्याउनुपर्छ भन्ने उत्कट अभिलाषाका साथ तपाईंहरूले जुन ज्ञापनपत्र दिनुभएको छ, त्यसलाई हार्दिक स्वागत गर्न चाहन्छु । तपाईंहरूको ज्ञापनपत्रले देशको परिस्थिति, देशले भोग्नुपरेको समस्या, तिनका समाधानका सम्भावित र उपयुक्त उपायहरू आदिको सम्बन्धमा सङ्क्षिप्तमा राम्रो व्याख्या गरेको छ । म त्यसको समर्थन गर्न चाहन्छु । जहाँसम्म तपाईंहरूको सरोकारको प्रश्न छ, जायज छ, चिन्ताको प्रश्न छ । समाधानका जो उपायहरू सुझाउनुभएको छ, ती सर्वोत्तम उपायहरू छन्।
हामीले संविधान प्राप्त गरेका छौँ । अत्यन्तै लोकतान्त्रिक संस्थाबाट, लोकतान्त्रिक प्रक्रियाबाट, लोकतान्त्रिक संविधान प्राप्त गरेका छौँ । जनताको संविधान प्राप्त गरेका छौँ । यस संविधानले जनतालाई आफैँले बनाएको संविधानमार्फत संवैधानिक हिसाबले अत्यन्तै सुदृढताका साथ सार्वभौम बनाएको छ । जनताका हकअधिकारहरू – शोषणबाट उन्मुक्तिको हक, न्याय प्राप्त गर्ने हक, नीति निर्माण र शासन सञ्चालनमा सहभागिता, हिस्सेदारीको हक, अधिकार, अवसर, सुरक्षा र सम्मान बराबर प्राप्त गर्ने हक, सामाजिक न्याय र समानता प्राप्त गर्ने हक, मौलिक हक, स्वतन्त्रताका हकदेखि लिएर सम्पूर्ण हकहरू जनताले प्राप्त गरेको अवस्था छ । यतिबेला लामो समयको प्रतीक्षा, आकाङ्क्षा र प्रयत्नपछि प्राप्त भएको यस लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गर्नु सबैको साझा दायित्व रहेको छ । जनताले संविधानसभाबाट संविधान प्राप्त गर्ने लामो समयदेखिको चाहना र प्रयास सफल हुँदा पनि त्यसलाई उपलब्धिको रूपमा बुझाउन नसक्नु, यस्तो संवैधानिक हैसियतका साथ सामाजिक न्याय र समानता प्राप्त हुँदा पनि उपलब्धिको रूपमा बुझ्न नसक्नु विडम्बनापूर्ण कुरा हो । सम्पूर्ण लोकतान्त्रिक अभ्यासमा विकास गर्नका लागि, समाजका पछाडि परेका हिस्साहरूलाई अगाडि बढाउनका निम्ति विशेष प्रबन्धहरू जे गरिएका छन् वा आरक्षण जस्ता जे कुराहरू गरिएका छन्, तिनको महत्वलाई बुझ्नुपरयो । एक जातले अर्को, एक भूगोल वा क्षेत्रकाले अर्को ठाउँका, एउटा पेसा व्यवसायकाले अर्को पेसा व्यवसायकालाई, एउटा पार्टीले अर्को पार्टीका मान्छेलाई विरोधीको रूपमा, शत्रुको रूपमा बुझ्नु वा त्यसरी बुझाउन खोजिनुले अत्यन्तै असामयिक, अनुचित र हानिकारक प्रवृत्तिहरू पनि देखापरेका छन्, जुन विल्कुलै अनुपयुक्त र अनुचित छ । यस्तो अवस्थामा संविधानको कार्यान्वयनका लागि यो सरकार बनेको छ । म यहाँहरूमार्फत भन्न चाहन्छु सरकार आग्रहहीन छ, पूर्वाग्रहहीन छ, यसको निष्ठा देशप्रति हो, यसको निष्ठा जनताप्रति हो, यसको निष्ठा मानवजातिको सर्वोपरि हितप्रति हो, यसको निष्ठा त्यसबाट सिर्जित अनेकन् कुराहरू वा त्यसका निम्तिका उपकरणहरूको निम्ति हो, जस्तो संविधानको, यो एउटा माध्यम हो त्यसका लागि । त्यसैगरेर लोकतान्त्रिक प्रणाली एउटा प्रणालीगत मान्यता वा अभ्यास हो । यी सब कुराहरूप्रति अहिलेको सरकार प्रतिबद्ध छ । समाजमा सामाजिक सुव्यवस्था कायम गर्ने, लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने, असमानता र विभेदको अन्त्य गरेर सामाजिक न्याय र समानता स्थापना गर्ने, विविधताको बीचमा एकता अथवा भिन्नतालाई पारस्पारिक सम्मानका आधारमा, समझदारीका आधारमा, सामाजिक सद्भाव कायम गर्ने र त्यस सद्भावको माध्यमबाट राष्ट्रिय एकतालाई सुदृढ गर्ने काममा सरकार लागेको छ । नेपाली जनता गरिबीबाट छुट्टी चाहन्छन्, समृद्धि चाहन्छन् र सुख चाहन्छन् । त्यसका लागि आर्थिक उन्नतिका दिशामा अगाडि बढ्नु आवश्यक छ । त्यतापट्टि हामीले ध्यान दिइरहेका छौँ ।
यहाँहरूलाई थाहा छ, मैले लगातार केही घोषणाहरू गरेको छु । कोहीकोही राजनीतिक स्वार्थवश, बङ्ग्याइटिङ्ग्याई पनि लेख्छन्, बोल्छन्, विरोध गर्छन् । ती राजनीतिक स्वार्थका कुरा बेग्लै हुन् । जतिबेला यो सरकार बन्यो, त्यतिबेला मधेसमा आन्दोलन थियो र ४५–४६ जनाको ज्यान गइसकेको थियो । नाकाबन्दी भइसकेको थियो । सामानको आपूर्ति थिएन, बन्द थियो । भूकम्पको सम्बन्धमा समयमा अध्यादेशलाई कानुनको रूपमा परिणत गर्न संसदमा पेस नभएको अवस्था थियो र त्यो अगाडि बढ्न सकिरहेको थिएन । विभिन्न राजनीतिक स्वार्थका कारण त्यो अल्झिरहेको, अल्मलिरहेको थियो । प्राधिकरण ऐन पनि थिएन, पुनर्निर्माणसम्बन्धी प्राधिकरण बनेको पनि थिएन । अरू पनि धेरै जटिलताहरू थिए । केही तयारी थिएन । त्यति लामो समयसम्म केही पनि नभएको अवस्थामा अहिले हामीले कामहरू अगाडि बढाउनु परेको छ । केहीकेही रेडिमेड धारणाहरू आएका देखिन्छन् । हामी त्यतापट्टि अल्मलिने होइन, अब शान्ति, सुव्यवस्था र सुशासन कायम गर्दै समृद्धिको बाटोमा अगाडि बढ्छौँ । त्यसका निम्ति आवश्यक कदम चाल्छौँ । विकास निर्माणका कुरामा व्यवधान पुरयाउने कुरालाई हामी मानिरहँदैनौँ । हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । यहाँ राजतन्त्र छैन । यहाँ लोकतान्त्रिक प्रणाली छ । यसमा तानाशाहीको विरोध गर्न आन्दोलन गर्नुपरिरहेको अवस्था छैन । अहिले जनताको सरकार छ, जनताद्वारा निर्वाचित सरकार छ, संसदबाट निर्वाचित सरकार छ, यसलाई फरक ढङ्गले बुझ्नु आवश्यक छैन । म विश्वास गर्छु, छिट्टै नै परिस्थितिमा सुधार आउँछ । हामी सघन ढङ्गले कुराकानी गरिरहेका छौँ । आजमात्रै पनि हामी प्रमुख तीन दलले गम्भीरताका साथ केही सयम लिएर नै छलफल गरयौँ । अझ तीव्रताका साथ, अझ सुदृढ ढङ्गले अगाडि बढ्ने कुरा हामीले गरेका छौँ ।
विभिन्न समुदायहरू, आन्दोलनरत भनिएका विभिन्न पक्षहरू अहिले बुझ्दै जाने क्रममा छन् । एउटा सानो तप्का बाँकी रहेको छ, त्यसलाई हामी सम्झाउने प्रयास गरिरहेका छौँ । यदि कुनै कुरा छन् भने अहिलेको अहिल्यै हुन्छ भन्ने पनि छैन । अहिलेको अहिल्यै नभएर हामी छलफल गर्दै, विचार विमर्श गर्दै अगाडि जान पनि सक्छौँ । संविधान असंशोधनीय दस्तावेज, अपरिवर्तनीय दस्तावेज होइन, त्यसमा संशोधन हुनसक्छ । संसारका विभिन्न देशमा सङ्घीयताका मामलामा सङ्ख्या, नाम, सीमा आदि कुराहरू परिवर्तन भएका छन् । हाम्रोमा पनि परिवर्तन हुनै नसक्ने भन्ने कुरा छैन । हाम्रा आवश्यकताले, हाम्रा अनुभवले के देखाउँछन्, त्यहीअनुसार हामीले गर्नुपर्ने हुन्छ तर आग्रहवश होइन । झापाका जनताले हुम्लाको माग गरेर कहाँ हुन्छ ? त्यहाँका जनतालाई नचाहिएका कुरा अर्कोले थोपरिदिएर अथवा जिद्दीलाई राजनीतिक मागको रूपमा बुझ्नुपर्ने जस्ता कुराहरूलाई हामीले अलिकति होसियारीका साथ नै हेर्नुपर्छ । त्यसबाट देशलाई नोक्सान पर्छ भने त्यस्ता कुराहरूमा होसियार हुनुपर्छ ।
पारदर्शिता र लोकतान्त्रिक मूल्यमान्यता हाम्रा आदर्श हुन् । ती हाम्रा बाटा हुन्, तिनैबाट हामी अगाडि बढ्छौँ । मैले विश्वास लिएको छु, छिट्टै समस्या समाधान हुन्छ । यदि सम्पूर्ण समाधान भएन भने पनि समस्याको मात्रा कमजोर हुँदै जान्छ र कामचलाउ स्थितितर्फ जानसक्छ । संसदलाई प्रभावहीन बनाउने, संसदलाई काम गर्न नदिने, संसदले केही काम गरेन भन्ने पार्ने, संसदीय प्रणाली काम लाग्दैन भन्ने पार्ने अथवा यी जनप्रतिनिधि काम लाग्दैनन् भन्ने पार्ने, प्रतिनिधिमूलक व्यवस्था काम लाग्दैन भन्ने सन्देश दिने, त्यसका निम्ति संसद नै चल्न नदिने वा संसद नचलाउने जस्ता कुराहरू उचित हुँदैनन् । संसद जनताका समस्या, देशका समस्याका सम्बन्धमा छलफल गर्ने, निष्कर्ष दिने थलो हो । त्यसलाई त्यसैगरी अगाडि बढाइन्छ ।
हाम्रो संविधानले दुनियाँभरिबाट विश्वास प्राप्त गरेको छ, समर्थन प्राप्त गरेको छ । अलिकति अन्योल भारतमा थियो, त्यसकारण भारतले स्वागत भन्ने शब्द भन्न पाएको थिएन, अहिले संशोधन हामीले राखिसकेपछि भारतले पनि स्वागत गरेको छ । त्यसकारण अब स्वागत गर्न बाँकी कुनै देश, कुनै राष्ट्र, कुनै सरकार, कोही पनि छैन, खुलस्त सबैले स्वागत गरिसकेको अवस्था, स्वागत गर्नैपर्ने अवस्था छ । स्वागत नगर्नुपर्ने कुनै कारण छैन ।
आन्दोलनको नाममा तराई धेरै पछाडि छ, सबभन्दा पीडा तराईले भोगेको छ । अब हामी यही अवस्थालाई अगाडि जान दिइरहन सक्दैनौँ । बहुदलीय व्यवस्था हाम्रो बाध्यता होइन, हाम्रो रोजाइ हो । प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हामीले रोजेर ल्याएका हौँ । कारण, बहुदलीय व्यवस्थाका प्रकृति र प्रवृत्तिहरू हाम्रो लागि नयाँ कुरा होलान्, तर यतिबेला हामी सबैले गम्भीरताका साथ जिम्मेवार भएर चल्नुपर्छ । अब यस्तो अवस्थामा तपाईंहरूले ज्ञापनपत्र दिनुभएको छ, म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु ।
सरकारको आलोचनाका बारेमा दुइटा कुरा छन् । एउटाचाहिँ सरकारले बेठिक कदम चालेर नै पनि आलोचना हुन्छ । अर्कोचाहिँ बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा यसै पनि आलोचना हुन्छ । यो सरकार बन्नुभन्दा अगाडिदेखि नै आलोचनाहरू छँदैथिए, यो सरकार बन्नुहुन्न भन्नेहरू पनि थिए । यसलाई बन्न नदिन अर्कोतिर भोट हाल्नेहरू पनि थिए । भनेपछि यो असहमतिको कुरा लोकतन्त्रमा कुनै ठूलो कुरा होइन । असहमतिलाई धेरै अनौठोरूपमा लिनुहुँदैन । कुनै अर्थपूर्ण विरोध छैन । हामीले असाधारण ढङ्गले कामलाई अगाडि बढाएका छौँ, जस्तो लोडसेडिङको उदाहरण लिऊँ । यो लोडसेडिङ आजको उपज होइन । मैले भनेको थिएँ, एक वर्ष जतिमा लोडसेडिङ समाप्त पार्छु । उहिलेदेखिको अकर्मण्यताले जुन लोडसेडिङ छ, २४ घण्टामा २ घण्टा बिजुली दिने अवस्था छ भने यो त दयनीय अवस्था भयो । ८३ हजार मेगावाट क्षमता छ, दुनियाँको दोस्रो जलस्रोतको धनी देश छ, १ सय ५ वर्षमा जम्मा ७ सय मेगावाट, त्यो पनि बाढीको बेला । हिउँदमा त ३ सय मेगावाट । मन्त्रालय छ, प्राधिकरण छ, गर्छन् के त ? यत्रो वर्षमा भयो के त ? त्यसकारण तपाईंहरूमार्फत म भन्न चाहन्छु, यही सिलसिलामा अर्को १ सय ५ वर्षमा अर्को ७ सय मेगावाट बनाउने ढाँचाको कार्यशैलीमा म बस्दिनँ । १ सय ५ वर्षमा गरेको जति काम हो, त्योभन्दा डबल काम म १ वर्षभित्र गर्छु । देशका लागि, जनताका लागि राजनीति नगर्ने, आफ्ना लागि राजनीति गर्ने एकथरी मान्छे, अर्कोथरी आफ्नो बौद्धिक स्तरको करामत देखाउनका लागि कुरा फिटिराख्ने, अर्कोथरी पनि हुनसक्छन्, करेन्टहरू आउनसक्छ, त्यो धेरै ठूलो कुरा होइन । म फेसबुक हेरेर, ट्वीटर हेरेर काम गर्ने मान्छे होइन । काम गर्छु, जसलाई जे भन्न मन लाग्छ भने हुन्छ । राम्रो काम गर्ने र राम्ररी काम गर्ने लक्ष्यमा म अगाडि बढेको छु ।
मलाई सानो र छरितो सरकार बनाउने मन थियो । बरु एकजना मन्त्रीले दुई वटा मन्त्रालय लिने र १७ जनाभन्दा बढीको सरकार नबनाउने मनसाय थियो तर म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडोजस्तो परिस्थिति बन्यो । अकल्पनीय ढङ्गले सहकार्य गरिरहेको एउटा प्रमुख शक्ति जिम्मेवार ढङ्गले सोचेर सँगै जाने जुन सहमति थियो, जुन देशको आवश्यकता पनि थियो, त्यसैगरी अगाडि जाला भन्ने नै मैले ठानेको थिएँ, त्यो भएन । दुई वा तीनवटा प्रमुख पार्टीको सरकार भएको भए त्यो कुरा पूरा हुन्थ्यो । यो त धेरै पार्टीहरूको संयुक्त सरकार हो । धेरै पार्टीको संयुक्त सरकार भएपछि अलिकति त्यसले फरक पार्ने नै भयो । राष्ट्रिय सहमतिको सरकार बनाएर जाऔँ, विकास निर्माणतर्फ केन्द्रित भएर जाऔँ भन्ने मेरो उद्देश्यलाई जसले साथ दिएन वा त्यस उद्देश्यबाट विमुख हुने कुरा जुन भयो, त्यसले नयाँ परिस्थिति जन्मायो ।
मान्छेहरू विचित्र विचित्रका कुराहरू गर्छन्, अपव्याख्या गर्छन्, भ्रमपूर्ण कुराहरू मच्चाउँछन् । केपी ओलीले यस्तो भन्यो, प्रधानमन्त्रीले उस्तो भन्यो भनेर भन्छन् । कुनै समयमा केही गर्न परयो भने उपयुक्त आधारमा अध्ययन विश्लेषण गरेर आवश्यकता र अनुभवले देखायो भने जनताको इच्छाअनुसार गर्ने कुरा आफ्नो ठाउँमा छ । अहिले प्रधानमन्त्रीको हैसियतले संविधानको पालना गर्ने प्रतिज्ञा गरेर म आएको छु । म संविधानको पालना गर्छु । संविधानले जुन सीमा भनेको छ, प्रदेशहरूको जुन सीमा संविधानले भनेको छ, त्यही मैले मान्ने हो । अन्यथा केही संवैधानिक प्रक्रियाबाट, राजनीतिक सहमतिको बाटोबाट भोलि अध्ययनमा आधारित भएर अघि मैले भनेका आधारहरूका साथ भयो भने त्यसलाई मान्ने कुरा एउटा हुन्छ तर कसैको लहडबाजीमा मैले अरूअरू कुरा गर्न मिल्दैन । एक इञ्च छोड्दिन, छोड्छु भन्ने आफ्नो निजी कोठेबारी जस्तो झैँ न भन्न हुन्छ, न जिद्दी गर्न हुन्छ, कसैले गर्न हुँदैन । त्यसकारण खास आधारहरू हुन्छन् । मैले एक इञ्च, दुई इञ्चका कुरा गरेको होइन । एक ठाउँको मान्छे हुन्छ, अर्को असम्बन्धित ठाउँमाचाहिँ यस्तो हुनुपर्छ भन्ने ? यस्तो कुराले त्यहाँको विकासमा बाधा पुग्छ, त्यहाँको विकासलाई नराम्रो हुन्छ, त्यहाँको प्रशासनिक सुविधा, त्यहाँको शान्ति, सुरक्षा, सेवा, सुविधाहरू, स्वास्थ्य, शिक्षाजस्ता कुराहरूदेखि लिएर सामाजिक बनोट अनि सर्वोपरि विकासका कुराहरूमा प्रतिकूल असर पर्छ । त्यसैले त्यस्तो गर्नुहुँदैन भनेर त्यहाँका जनता भन्ने, अन्त कतैका मान्छेले होइन त्यो त यसै गर्नुपर्छ भन्ने कुरो सदर गरिरहनुपर्ने वा त्यसबाट निर्देशित हुनुपर्ने जस्तो म देख्दिनँ । त्यो निर्देशित हुनुपर्ने विषय होइन । मसँग कुनै आग्रह छैन, पूर्वाग्रह छैन ।
मान्छेहरूले आन्दोलनका नाममा, अरू नाममा जे गतिविधि जसरी गर्ने गरेका छन्, त्यसमा म कुनै जुहारी खेल्न पनि जान्न । दोहरी गाउनु पनि छैन मलाई । मैले देश र जनताको हित कायम गर्ने हो । एउटा क्षेत्र विशेषको, जाति विशेषको कुरा म गर्दिन किनभने म क्षेत्रीय पार्टी पनि होइन, क्षेत्रीय सङ्गठन पनि होइन, जातीय सङ्गठन पनि होइन, धार्मिक सङ्गठन पनि होइन, म राष्ट्रिय पार्टीको अध्यक्ष हुँ । नेपालको प्रधानमन्त्री हुँ । त्यसकारण मैले हुम्ला होस् कि दार्चुला होस्, कञ्चनपुर होस् कि ताप्लुजुङ होस्, झापा होस् कि ओखलढुङ्गा होस् अथवा धनुषा होस् कि महोत्तरी, सर्लाही होस् कि कञ्चनपुर, यी सबै ठाउँ मेरा आफ्ना हुन् र यी सबै ठाउँका जनता बराबर हुन् भन्ने धारणाअन्तर्गत म कुरा गर्छु । क्षेत्रीय, जातीयजस्ता कुरा म गर्दिन ।
सम्वादबाट समस्याहरू समाधान गर्नुपर्छ भन्ने मेरो धारणा हो । म सबै पक्षलाई जिम्मेवाररूपमा आवेश, उत्तेजनमा होइन, गम्भीरताका साथ सोचविचार गर्न र सम्वादबाट समस्या टुङ्ग्याउन आग्रह गर्छु । देश यति जटिल अवस्थामा भएको बेला कसैले पनि खिचलोको राजनीति गर्नु वाञ्छनीय हुँदैन । सबै पक्ष देश र जनताप्रति जिम्मेवार हुनुपर्छ ।
हामी दुनियाका मित्र हौँ, दुनियामा हाम्रा कोही शत्रु छैनन् । हामी सबैसँग मैत्री भाव राख्छौँ । भारत र चीन दुइटै हाम्रा मित्र हुन् । भारतसँग हाम्रो खुला सीमा छ, सामाजिकदेखि लिएर, आर्थिकदेखि लिएर धेरै कारोबार ज्यादै ठूलो मात्रामा भारतसँग छ । यो हाम्रो भौगोलिक अवस्थितिले र हाम्रो विगतदेखि चलिआएको सम्बन्धका आधारमा रहेको छ । त्यो सम्बन्ध निकै महत्वको छ र त्यही गहिराइमा छ । हाम्रो अर्कोे छिमेकी चीन हो । चीनसँग हाम्रो परम्परादेखि नै सुमधुर सम्बन्ध छ । हामी दुबै मित्रराष्ट्रसँगको सम्बन्धलाई पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा नै अगाडि बढाउन चाहन्छौँ । हामीले एउटा छिमेकीसँग मित्रता छ भन्यौँ भने अर्को छिमेकीसँग मित्रता छैन, गर्दैनौँ भन्ने कुरा होइन । हामी दुबै छिमेकीसँग मित्रता गर्छौँ, सुमधुर सम्बन्ध राख्छौँ । पारस्परिक सहयोगात्मक भावना राख्छौँ । हाम्रो भूमि कसैका विरुद्ध प्रयोग हुन दिँदैनौँ । हामी हाम्रा मित्रहरूका लागि कति उपयोगी हुनसक्छौँ, उचित ढङ्गले हामी हाम्रा मित्रहरूका लागि प्रतिकूल नहोस्, राम्रो होस्, हामी त्यही चाहन्छौँ । हामी एउटा छिमेकीका विरुद्ध अर्कोलाई र अर्को छिमेकीका विरुद्ध अर्कोलाई प्रयोग गर्ने खालका कुरा गर्दैनौँ । हाम्रो नीति स्पष्ट छ । त्यसकारण कसैले यसलाई उछालेर वातावरण बिगार्ने प्रयास गर्छ भने त्यो अनुचित छ, बेठीक छ ।
(२०७२ पुस ११ गते रिपोर्टर्स क्लब, नेपालका प्रतिनिधिमण्डलसँग व्यक्त गर्नुभएका विचारहरू)