NP EN

​उत्कृष्टको पगरी होइन, काम चाहिएको छ

कार्यक्रमका सभापतिज्यू, उपस्थित नेताज्यूहरू र सहभागी कमरेडहरू, आज पार्टीले चलाइरहेको विशेष अभियानअन्तर्गत तपाईंहरूले यो भेलाको आयोजना गर्नुभएको छ । यो अत्यन्तै सामयिक छ, सान्दर्भिक छ, यसलाई अत्यन्तै सार्थक उपलब्धि मान्नुपर्छ । 

तपाईंहरूले संविधानसम्बन्धी पुस्तिका प्राप्त गर्नुभएकै छ । यसमा थुप्रै विश्लेषणहरू ठीक ढङ्गले प्रस्तुत भएका छन् । केहीकेही अङ्क र आकडामा तलमाथि भएको हुनसक्छ । त्यो ठूलो कुरा होइन, त्यो प्राविधिक विषयमात्र हो । यसमा विश्लेषणहरू अत्यन्तै उपयुक्त ढङ्गले प्रस्तुत गरिएको छ र यो पुस्तिका पढेर पनि हामी संविधानका विशेषताहरू, हाम्रा उपलब्धिहरू र हामीले के प्राप्त गरेका छौँ यसबाट, नेपाली जनताले के प्राप्त गरेका छन् यस संविधानबाट भन्ने कुराहरू यसमा उल्लेखित छन् । जुन कुरा बुझेर हामी कहींकतै पनि हरेक विषयमा बहस गर्न सक्षम हुन सक्दछौँ । यो पुस्तिका पढेपछि मलाई लाग्छ, हरेक विषयमा अथवा संविधानसम्बन्धी मूलभूत विषयमा सबै प्रश्नहरूको जवाफ आउँछ र सही जवाफ आउँछ ।  

अहिले संविधान जारी भएको छ । देशले ठूलो उपलब्धि हासिल गरेको छ । जनताले लामो समयदेखि गर्दै आएका सङ्घर्षहरू, तिनका उतारचढाव, बलिदान, सबै चीजबाट अन्तिममा के निष्कर्ष निस्केको छ भने जुन सफलता हामीले प्राप्त गरेका छौँ, त्यसलाई अत्यन्तै संवैधानिक हिसाबले, संवैधानिक संस्थाबाट संस्थागत गरेका छौँ । यो धेरै ठूलो उपलब्धि हो, तर विचित्रको कुरा के छ भने एकातिर हामीले यत्रो उपलब्धि हासिल गरेका छौँ, अर्कातिर उपलब्धिको कुरै छैन, चर्चै छैन, उल्टै नराम्रो काम  भएको हल्ला पिटाउने गरिएको छ । कतिपय आफूलाई लोकतान्त्रिक भन्ने व्यक्तिहरू, लोकतन्त्रवादी भन्ने बुद्धिजीवीहरू, सञ्चारमाध्यमहरूसमेत आफूलाई लोकतान्त्रिक कलेवरमा राख्नचाहिँ खोज्ने तर भन्दाचाहिँ संविधान जारी भएर समस्या पैदा भयो भन्दै हिँडेका छन् । अलिक ढिलो किन नगरेको हो भन्छन् । अलिक ढिलो गरेको भए हुन्थ्यो पनि भन्छन् । 

जनताका अधिकारहरू संस्थागत गरेर समस्या पैदा भयो ? समस्या बल्झियो, समस्या निस्कियो, जनता अधिकार सम्पन्न भए, त्यसकारण समस्या पैदा भयो ? साँच्चै नै जनता सार्वभौमसत्ता सम्पन्न भए । त्यसकारण समस्या पैदा भयो ? अनेक प्रकारका भ्रम फिँजाउने र त्यो भ्रममा आधारित ढङ्गले हल्ला मच्चाउने कामहरू भएका छन् । हाम्रा सम्पूर्ण कमरेडहरू स्पष्ट हुनुहुन्छ भन्ने मलाई लाग्छ । के स्पष्ट हुनुहुन्छ भने यो संविधान नेकपा (एमाले)को अगुवाइमा, पहल र प्रयासमा भएको हो । नेकपा (एमाले) को अगुवाइमा संविधान बनेको यो नेपालमा पहिलो पटक हो । 

२००४ सालदेखि अहिलेसम्मको संवैधानिक इतिहास हामीले हेरयौँ भने एमालेको अगुवाइमा संविधान बनेको थिएन । यसपल्ट एमालेकै अगुवाइमा संविधान बन्यो । यो कुरा सबैलाई थाहा छ भन्ने मलाई लाग्छ । एमालेको अगुवाइमा संविधान बन्यो भने त्यो संविधान लोकतान्त्रिक नभएर, प्रगतिशील नभएर, जनमुखी नभएर अरू केही हुनसक्छ ? अहिलेसम्मका सबै संविधानभन्दा यो उत्कृष्ट छ ।  एमालेले अगुवाइ गरेर बनाएपछि उत्कृष्ट हुँदैन ? उत्कृष्ट त भइहाल्छ नि । संविधानसभाका अध्यक्ष यहाँ हुनुहुन्छ । उहाँको अध्यक्षतामा बनेको संविधान । हामीले बल गरेर, विभिन्न ढङ्गले विभिन्न शक्तिहरूलाई सम्झाएर, बुझाएर, सहमत गराएर र तानेर यो संविधान बनाएको हो । 

होला, सानातिना कमीकमजोरीहरू रहनसक्छन् । संविधान एउटा गतिशील दस्तावेज हो । अहिलेको चेतना, चेतना पनि हाम्रोमात्र चेतनाले हुँदैन, सामाजिक चेतना चाहिन्छ;  राजनीतिक दलहरूबीचको चेतना चाहिन्छ । ती सबै कुराको स्तरमा हेर्ने हो भने अत्यन्त राम्रो संविधान बनेको छ । 

२०४७ सालको संविधान संवैधानिक राजतन्त्रसहितको संविधान थियो । हामीले त्यसमा तत्कालीन अवस्थाअनुसार असहमतिका कुराहरू राखेका थियौँ, बाँकी आमरूपमा भन्ने हो भने त्यो संविधान प्रगतिशील नै थियो । पञ्चायती व्यवस्थालाई ढालेर, निर्दलीय निरङ्कुशतालाई ढालेर, निरङ्कुश राजतन्त्रलाई पराजित गरेर बहुदलीय लोकतान्त्रिक प्रणाली, संवैधानिक दायरामा राजतन्त्रलाई ल्याउने कबुल गराएर गरिएको संविधान तुलनात्मक रूपमा उत्तम थियो । त्यो संविधानलाई वास्तवमा ठीक ढङ्गले कार्यान्वयन गरेर अगाडि जानसकेको भए राजतन्त्रलाई पनि संसदले नै बिदा गर्नसक्थ्यो, संसदले संविधान संशोधन गर्नसक्थ्यो अनुकूल परिस्थितिमा, ती ठाउँहरू थिए । त्यसपछि जुन परिस्थिति आयो, तीनवटा कारणले आयो । एउटा, त्यसको उपयुक्त ढङ्गले कार्यान्वयन गर्ने र त्यसलाई जनस्तरमा अनुभूत हुने गरी परिवर्तनलाई अगाडि बढाउने त्यसको वास्तविक कार्यान्वयनको पक्ष एउटा । त्यसपछि पैदा भएको हिंसात्मक क्रियाकलापहरूको, त्यस मारमा पैदा भएको सामन्ती राजतन्त्रको फेरि निर‌ङ्‌कुश बन्ने चाहनाले फेरि लोकतन्त्रलाई खोस्ने, निरङ्कुशतन्त्र कार्यान्वयन गर्ने प्रयास । यी कुराहरूका कारणले गर्दा हामीलाई अर्को एउटा सशक्त आन्दोलन गर्नुपर्ने, नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने अवस्था आयो र हाम्रा अधिकारहरू अब फरक ढङ्गले कार्यान्वयन गर्नुपर्ने, फरक ढङ्गले संस्थागत गर्नुपर्ने अवस्था आयो । हामीले यो महसुस गरयौँ । अत्यन्त वैधानिक ढाँचामा संविधान जारी गरिएपछि त्यसको अर्थ बेग्लै हुने भयो । नत्र फेरि संविधान गलत निस्कन्छ, त्यो फेरि कुल्चिन्छ, फेरि मिचिने खालको स्थिति आउँछ । 

विभिन्न समयमा संविधान बने तर ती सबै मिचिँदै आए । बल्लबल्ल हामीले २०१९ सालको संविधान २०४६ मा गएर रद्द गरयौँ । त्यसलाई हिंसाबाट उल्टाउने दुईवटै प्रयास भए । त्यसको श्रेय एक्लै लिन खोज्ने नेपाली काङ्ग्रेसको चरम याथास्थितिवादी रूप प्रकट भयो । हामीले संविधान सभाबाटै संविधान निर्माण गर्नुपर्ने र सबभन्दा उन्नत वैधानिकता, संवैधानिकता प्राप्त गर्नुपर्ने स्थिति बन्यो । धेरैले भन्छन् किन हतार गरेको भनेर । एउटा संविधानसभा, दुई वर्षका लागि बनाएको संविधान सभा चार वर्ष म्याद बढाउँदा पनि संविधान बनाउन नसकेर असफल भएको अवस्था । अर्को संविधानले बाटो नदिने, जनताका निर्वाचित निकायहरू नहुने, संवैधानिक र राजनीतिक दुईटै रिक्तताको एउटा जटिल अवस्था देशमा देखापरयो । राज्यका विभिन्न अङ्गहरू समाप्त हुँदै गए । चुनाव गराउन निर्वाचन आयोग थिएन । अरू अङ्गहरू खत्तम हुँदै गएका थिए । अदालत पनि समाप्त हुने बिन्दुतिर जाँदै थियो । यसरी राज्यका विभिन्न अङ्गहरू नै समाप्त हुने र अन्ततोगत्वा संवैधानिक र राजनीतिक दुईटै शून्यताको स्थितिमा राज्यका अङ्गहरू निप्प्रभावी हुने अथवा असफल राज्यतिर जाने एउटा परि‌स्थिति रह्यो । त्यसमा हामीले अत्यन्त सावधानीका साथ संविधानसभाको दोस्रो निर्वाचन गरायौँ । एक वर्षभित्र संविधान बनाउँछौँ भन्दा बनाउन सकिएन । बनाउनै  दिइएन । विभिन्न प्रकारका खेलहरू भए । हामीले  अलि फरक ढङ्गले अगाडि बढ्ने कुरा सोच्यौँ । हाम्रा विश्लेषणहरू, हाम्रा तरिकाहरूलाई अलिकति बदल्यौँ । हामी संविधान बन्न सम्भव हुने बिन्दुतिर लाग्यौँ । 

कमरेडहरूलाई थाहा छ, जब संवैधानिक र राजनीतिक रिक्तता आयो; बाबुराम भट्टराईको नेतृत्वको सरकारले खास योजना र खास उद्देश्यका साथ नै संवैधानिक रिक्तता र राजनीतिक रिक्तता कायम गरयो । खास उद्देश्यका साथ नै गरेको हो, अञ्जानमा होइन । त्यतिबेला सहज संवैधानिक र राजनीतिक उपयुक्त प्रक्रिया र प्रणालीबाट देश अगाडि बढ्ने सम्भावना नै रहेन । राजनीतिक निकाय पनि छैन । अर्को निकाय बनाउन पनि सकिँदैन । संविधानले बाटो दिँदैन, संविधानलाई बाटो दिलाउन राजनीतिक निकाय छैन, जन–प्रतिनिधिको संस्था छैन । अत्यन्तै जटिल अवस्था । हामीले अलिकति अन्योल–अन्योल, द्विविधा–द्विविधा जस्तो स्थितिमा पनि त्यस स्थितिलाई पार लगाउनैपर्छ भनेर दृढताका साथ अगाडि बढ्यौँ । त्यसबीचमा हामीले अत्यन्तै सावधानीका साथ थुप्रै कदमहरू चाल्यौँ । अत्यन्तै सावधानीका साथ यस्ता कदमहरू चाल्यौँ जो मानिसले अलिकति पछि काम भइसकेपछि बुझिहाल्थे । पहिले नै बुझेको भए असफल बनाउँथे । सफल हुन नदिने धेरै नै षडयन्त्रहरू थिए, तर हामीले त्यसलाई सफल बनाउँदै लग्यौँ । संविधान बनायौँ । असाधारण बाटोबाट संविधान बनायौँ । एमाओवादी, मधेसी मोर्चा लोकतान्त्रिकसमेतलाई साथमा लिएर १६ बुँदे सहमति गर्नु, १६ बुँदे सहमतिबाट संविधान निर्माणका लागि दुई तिहाइको अत्यधिक सङ्ख्या पूरा गर्नु सहज कुरा थिएन । त्यो हामीले पूरा गरयौँ । त्यो बाटोबाट हामीले संविधान निर्माणको कुरालाई सफल बनायौँ । धेरै शक्तिहरूलाई मन परेको थिएन, जो नेपाललाई एउटा असफल राष्ट्रतर्फ लान चाहन्थे । जसले नेपालको भलोभन्दा कुभलो चाहन्थ्यो  त्यस्ता तत्वहरूलाई पराजित गर्दै संविधान जारी भयो । 

संविधान बनाउने प्रक्रियाका क्रममा संविधान बन्न नदिनका निम्ति विभिन्न प्रकारका क्रियाकलापहरू भए, मैले भनिरहनुपर्दैन । हाम्रो पार्टी दृढ थियो, एकताबद्ध थियो, सक्रिय थियो, संविधान बनाएर छोड्यो । हाम्रो त्यही बलमा संविधान बन्यो । अब कतिलाई सहिनसक्नु, खपिनसक्नु भएको छ, स्वाभाविक हो जो संविधान बन्नुभन्दा अगाडि संविधान बन्न नदिने प्रयासमा थिए । 

हामी एउटा ठूलो उपलब्धिका साथ अगाडि बढेका छौँ, तर देशमा उपलब्धि हो कि होइन भन्ने खालको नकारात्मक वातावरण बनाइएको छ । नेपाली जनताले लामो समयदेखि सङ्घर्ष गरेर सङ्घर्षको अन्तिम किस्ताको रूपमा सफलतापूर्वक संविधान बनाएर आफ्ना हक अधिकारलाई सुरक्षित गर्ने सफलता प्राप्त गरेका छन् । यस उपलब्धिलाई नजरअन्दाज गर्ने, अवमूल्यन गर्ने प्रयासहरू भइराखेका छन् । जनतामा जुन दुष्प्रभाव र भ्रम फिँजाउन खोजिएको छ, तिनलाई हामीले स्पष्ट पार्नुपर्छ । हाम्रा यी कार्यक्रमहरूको अर्थ, हाम्रा भेलाहरूको अर्थ, हाम्रा छलफलहरूको अर्थ संविधानका कमीकमजोरी अर्थात् कहीं गल्ती पो भयो कि यस्तो सोच्नु पर्ने कुनै आवश्यकता छैन । ठूलो उपलब्धि भएको छ, उपलब्धिका साथ हामी अगाडि बढेका छौँ ।  भ्रम फिँजाउन खोज्ने तत्वहरूका भ्रमबाट जनतालाई मुक्त गर्नुपर्छ र अगाडि बढ्नुपर्छ । समस्याको समाधान, समस्याको सम्बोधन गर्ने कुरा आधारभूत रूपमा लोकतान्त्रिक संस्था, लोकतान्त्रिक विधि, लोकतान्त्रिक प्रव्रिmया र बाटोबाट नै हुसक्दछ । संविधानसभाले बनाएको संविधान नमान्ने भनेको के ? त्यो त चरम अराजकता, चरम अलोकतान्त्रिकता हो । संविधानसभाका ९२ प्रतिशत सदस्यहरूले हस्ताक्षर गरेर, मतदान गरेको संविधान । अत्यन्त लोकतान्त्रिक विधिबाट संविधान सभाले प्रस्तावनादेखि लिएर अन्तिमसम्म धाराधारामा छलफल गरेर, प्रत्येक धारामा मतदान गरेर पारित गरेको संविधान । अनि यो मान्दिन भन्ने ?

संविधान मानेर संविधानका दायराभित्रबाट मात्रै कुनै पनि समस्याको समाधान खोज्न सकिन्छ । असंवैधानिक, संविधान विपरीतका समाधान खोज्न सकिँदैन । जनताका उपलब्धिलाई रक्षा गरेर मात्रै समाधान खोज्न सकिन्छ । यो संविधान कुनै राजा–महाराजाले जारी गरेको होइन, चारजना बसेर जारी गरेको होइन । यो अन्तरिम संविधानजस्तो मात्रै पनि होइन । यो निर्वाचित संविधानसभाले जारी गरेको संविधान हो । संविधान मानेर यसै संविधानभित्रबाट समाधान खोज्न सकिन्छ । म भन्छु, संविधान गतिशील दस्तावेज हो, यसमा परिवर्तन, परिमार्जन, संशोधन हुनसक्दछ, तर संवैधानिक प्रक्रियाबाट । केही केहीले पुनर्लेखनजस्ता कुराहरू अत्यन्त विषाक्त भावनाका साथ गरेका छन् । पुनर्लेखन भन्ने जुन कुरा छ, त्यसभित्र अलोकतान्त्रिकता, जनविरोधी, देशलाई नोक्सान पार्ने र हानिकारक भावनाहरू छन् । आवश्यकताअनुसार र अरू अनुभवका अनुसार संविधानमा संशोधन हुनसक्दछ । सबैले संविधानको स्वागत गरेका छन् र भनेका छन्– अब संविधानको प्रभावकारी कार्यान्वयनतिर जानोस् । म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, हामीहरूमा अस्पष्टता हुनुहुँदैन । हामी स्पष्टताका साथ सक्रिय ढङ्गले लाग्नुपर्छ । 

अहिले यसो हेर्दाखेरि सरकारका विरुद्ध हमला भएको देखिन्छ । सरकारको नेतृत्व एमालेले गरिराखेको छ, त्यसकारण हमला भइरहेको छ । सरकार के गरिरहेको छ ? अत्यन्त गहन कुराहरू, त्यसमा बढ्ता ध्यान गएको छ सरकारको । हामी नेपाललाई नयाँ युगमा प्रवेश गराइराखेका छौँ । हामीले नेपाललाई आधुनिकतातर्फ लानु छ । एउटा धारणा के थियो भने नेपाल भूपरिवेष्ठित हो, तर नेपाल भारतवेष्ठित होइन । हाम्रा सीमानाहरू चीनतिर पनि छन् । समुद्रसम्म पुग्ने पारवहन सुविधा चीनतिरबाट पनि हुनसक्छ । भारतबाट पनि आउनसक्छ, तर हामी जहिले पनि भारतबाट मात्रै ध्यान दिने, अर्को पाटो पनि छ भन्ने कुरामा ध्यान नदिने अवस्थामा रह्यौँ । 

अहिले हामीले स्मरण गर्नसक्छौँ, २०५१/०५२ मा एमालेको सरकार नराम्रो काम गरेर नहटाई नहुने अवस्थामा पुगेको थिएन । राम्रो काम गरेको थियो । राम्रो काम नै अरू पार्टीहरूका लागि आतङ्क बनेको थियो । त्यस आतङ्ककै कारण उनीहरू जसरी भए पनि त्यस सरकारलाई विस्थापित गर्ने अवस्थामा थिए । अहिले एमालेको नेतृत्वको सरकारले यस्तो अवस्थामा, यस्तो विषम परिस्थितिमा, एमालेसँग बहुमत छैन, गणितीय हिसाबमा एमाले प्रमुख पार्टी पनि होइन, तर एमालेले संविधान निर्माण गर्ने कुरामा पनि अगुवाइ गरयो, सरकारको पनि नेतृत्व गरिरहेको छ,। आज नेपालको राजनीति भनेको एमालेले जे भन्छ त्यही हो । यो कुरा त सुन्दैखेरि कतिलाई झनन्न झनन्न आउँछ । एमालेले राष्ट्रपति जो भन्यो, त्यही बनायो, एमालेले उप–राष्ट्रपति जसलाई भन्यो, त्यसलाई बनायो । एमालेले सभामुख जसलाई भन्यो त्यसलाई बनायो । एमालेले उप–सभामुख जसलाई भन्यो, त्यसैलाई बनायो । एमालेले जसलाई प्रस्ताव गरयो, त्यही प्रधानमन्त्री भयो । यो त कास्टिङ हो, सुरुआत । एमालेले गर्दै जान्छ । हामीलाई उत्कृष्टताको पगरी चाहिएको छैन, उत्कृष्ट काम चाहिएको छ । एक वर्षभित्रै हामीले लोडसेडिङ समाप्त पार्छौँ भनेका छौँ । सबै आत्तिएका छन् । उनीहरूलाई पिर त्यही छ । मैले भनेँ – अलिकति समय पर्खनोस् ग्याँसका सिलिन्डर काँधमा बोकेर, कारमा बोकेर, मोटरसाइकलमा बोकेर कुद्नुपर्दैन, सिलिन्डरको फेज समाप्त गरिदिन्छु, घरघरका चुल्हा–चुल्हामा पाइप ल्याइदिन्छु । यो सुनेपछि आत्तिएकाहरूले सोचे – संसदमा सरकारविरुद्ध सदस्य सङ्ख्या कसरी बहुमत पुरयाउने होला ? यसले त मार्ने भयो । मैले फेरि भनेँ – अब फुरुरुरु धुवाँ छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउँछौँ । बनेपादेखि नागढुङ्गासम्म, दक्षिणकालीदेखि बुढानीलकण्ठसम्म । काठमाडौँमा बिजुलीबाट चल्ने रेल चलाउने । अब बाटो खन्न, पिलर बनाउन सुरु गरिहालिन्छ । त्यसपछि त यसले बिताउने भयो भन्ने उनीहरूलाई लाग्यो र उनीहरू सरकार ढाल्ने काममा लागे । 

हामी भूकम्पसम्बन्धी पुनर्निर्माणको माहौल माघ २ बाट देशभरि प्रारम्भ गर्दैछौँ । यत्रो समयसम्म न कानुन छ, न केही छ । यो स्थिति हामी समाप्त पार्छौँ । अब हामी फास्टट्रायक तुरुन्त बनाउँछौँ । तपाईंंहरूले सुन्नुभएको होला, भर्खरै हावाबाट चल्ने बिजुली टिस्टुङ, पालुङमा सुरु गरेर गाउँ झलमल्ल भएको छ । अब आधुनिक नेपालको निर्माण सुरु हुन्छ, नयाँ नेपाल बन्छ । काठमाडौँका शहरमा फोहर थुप्रिँदैन । त्यस फोहरबाट हामी ग्याँस निर्माण गर्छौँ, घरघरमा ग्याँस पुरयाउने कुरा मैले अघि नै गरिसकेँ । 

कृषिलाई अगाडि बढाइन्छ, आधुनिक ढङ्गले । स्वस्थानी व्रतकथा होइन, यो राष्ट्रनिर्माणको अभियान हो । स्वस्थानी व्रत कथामा के हुन्छ ? यस्तो छाप्रोमा ल्याएर राख्यो मलाई भनेर सतीदेवीले शिवजीलाई भनेपछि छाप्रो उधारेर हेरभन्दा उतापट्टि त झलमल्ल दरबार रहेछ । हामीले स्वस्थानी व्रतकथा सुनाउन लागेको होइन, देश बनाउन खोजेका हौँ, त्यसकारण यसो च्यातेर हेर्दा महल बन्दैन, महल बनाउनुपर्छ हामीले । नयाँनयाँ योजनाहरूका साथ सरकार अगाडि बढ्छ । हामीले तातोपानी भनेको कहिलेकाहीँ जाँदाखेरि नुहाउनेमात्र बुझेका थियौँ, अब हामीले त्यहाँबाट जियोथर्मल इलेक्ट्रिसिटी निकाल्छौँ । तातोपानी मात्रै हुँदैन त्यहाँ, तातोपानी जमिनबाटै आउँछ, तताउनुपर्दैन, बिजुली निकाल्छौँ, हट वाटरको स्विमिङ पुल बनाउँछौँ । फाइभ स्टार होटल बनाउँछौँ । हिमालका फेदमा गएर मान्छे तातोपानीको पुलमा झम्लङझम्लङ पौडी खेल्न लाग्छन् । हामी काम अगाडि बढाउँछौँ, बढाउँछौँ । 

हामी कुनै देशसँग वैरभाव राख्दैनौँ । हाम्रा छिमेकीहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्छौँ । कसैको अहित चिताउँदैनौँ । हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिदैनौँ । आजको जमानामा कसैसँग गोडलागी हैन, सबैसँग हात मिलाउन तयार छौँ । त्यसै भएर हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरू बहुत राम्रा छन् । 

असहमत पक्षहरूसँग कुरा भइरहेको छ । मुस्लिम समुदायसँग पनि डिल गर्छौँ । अर्को मधेसी गठबन्धनसँग पनि कुरा गरिराखेका छौँ । हिजो वार्ता भयो । आज पनि भइराखेको छ । मिल्न सक्नेसम्म, मिलाउनसक्नेसम्म, हुनसक्नेसम्म मिलाएर जान सरकार तयार छ, तर कानुन हातमा लिने, तोडफोड गर्ने, आगजनी गर्ने, हिंसा फैलाउने वा राष्ट्रलाई विखण्डित गर्ने कुरा वा नीतिका साथ गतिविधि गर्ने कुराहरूलाई सहन सकिँदैन । ती कुराहरूलाई राज्यले मान्दैन, ती कुराहरूलाई राज्यले नियन्त्रण गर्नुपर्छ । शान्तिसुरक्षा, राष्ट्रिय एकता, अखण्डतालाई कायम गर्नु राज्यको कर्तव्य हो । अलिक समय चुप लागेको रहेछ भनेर यस्तै चल्ने रहेछ भनेर कसैले पनि नसोचे हुन्छ । शान्ति सुरक्षा कायम गरिन्छ, विखण्डनका विचार र प्रवृत्तिहरूलाई रोकिन्छ, हिंसावादी प्रवृत्तिहरूलाई रोकिन्छ । यो सरकारको कर्तव्य हो, त्यो दायित्व सरकारले निर्वाह गर्छ । वार्ता गरेर अनुकूल वातावरण बनाउनका लागि हामीले दश लाख दिने कुरा थियो दिएका छौँ, उपचार गराउने कुरा गराएका छौँ । 

अब जहिले निर्वाचन होस्, जहिले निर्वाचन हुँदाखेरि पनि नेकपा (एमाले) को सङ्घर्षको इतिहास, बलिदानको इतिहास, यसको सही दृष्टिकोण, यसले गर्न खोजेका कामहरूको उद्देश्य, यसले नेपाललाई कता लान खोजेको छ भन्ने कुरा जनताले बुझ्नेछन् । जनताका निम्ति हामीले गर्ने हो, जनतालाई त्यो कुरा बुझाउनुपरयो । मैले अघि भनेँ, चुल्हाचुल्हामा ग्याँसको पाइप पुरयाउँछु, सिलिन्डरको युग समाप्त हुन्छ भनेर । यही कुरा गर्न नदिन, भ्रम फिँजाउन अर्काथरी लागेका छन् । त्यसकारण भ्रम फिँजाउन नदिइकन हामी लाग्नुपरयो । अहिलेको सरकारबारे विचार गर्नोस् त, प्रमुख पार्टी प्रतिपक्षमा छ । कस्तो अप्ठ्यारो परिस्थिति छ, हामी सबैलाई थाहा छ । यस्तो परिस्थितिमा गोरेटोसम्म नभएको, केही नभएको भीरको बाटोबाट हिँड्नुपरेको छ । भीरको बाटो भए पनि यस्तो तीव्रताका साथ कुदेको छ, यो सरकार । 

हामी ठूला अभियानमा लागेका छौँ, ती ठूला अभियानमा हामी हरेकले लाग्नुपर्छ । अब पनि काठमाडौँ उपत्यकामा अरू कसैले जित्छ भने त एमालेलाई लाज हुनुपर्छ तर अब अरू कसैले जित्दैन । महिला राष्ट्रपतिको कल्पना कसैले गरेको थियो ? एमालेले मात्रै गरेको थियो । महिला सभामुख कसैले कल्पना गरेको थियो ? एमालेले नै गरेको थियो । ३३ प्रतिशत महिलाको सहभागिता एमालेले बनायो । स्थानीय निकायहरूमा ४० प्रतिशत महिलाको आरक्षण कसले बनायो ? जनतालाई अगाडि बढाउने एमाले हो, एमालेले नै बनायो । हामी खेतमा रोपाइँ गर्छौँ, बाली लगाउँछौँ । अरू आलीमा बसेर कुरा काट्छन् । आलीमा बसेर कुरा काट्नेलाई काटिरहन दिनुपर्छ, केही गर्न सकिँदैन । हामी काम अगाडि बढाउँछौँ । आजको आवश्यकता यही हो । यसमा मैले अलिकति फरक पाटोबाट साथीहरूलाई भनेको हुँ ।

यो सरकारले भ्रष्टाचार गर्दैन । एउटा पत्रिकाले अघिल्लो सरकारले बाँडेको लिस्ट देखाएर यसलाई बाँड्यो, त्यसलाई बाँड्यो भनेर अन्योलमा पर्ने गरी भनेको रहेछ । गोरेबहादुर खपाङ्गी भनेको नेपालमा लोकतान्त्रिक आन्दोलनमा, शिक्षक आन्दोलनमा लामो समयसम्म योगदान गरेका व्यक्ति हुन् । हामीसँग भएको, हामीलाई सहानुभूति राख्ने मान्छे होइनन्, तर नेपालमा योगदान गरेका मानिस हुन्, बिस्तरामा परेको कति भो, देश विदेशमा कहाँकहाँ उपचार गरे, कसैले वास्ता गरेका थिएनन्, अहिलेको सरकारले हेरयो । अलिकति सहयोग गरयो । उहाँको उपचारमा मद्दत पुगोस् भनेर १० लाख रुपैयाँ हामीले दियौँ । गोरेबहादुर खपाङ्गीलाई दश लाख दियो रे, भनेर तमासा गरियो । सांसद महिम सुब्बा क्यान्सर जस्तो गम्भीर बिमारी हुनुहुन्छ, उहाँलाई हामीले केही गरयौँ । प्युठानका पुराना योद्धा खगुलाल गुरुङ, ९६ वर्षका वृद्ध मान्छे । उनलाई पनि सरकारले केही सहयोग गरयो । नेपालको सामाजिक जागरण र परिवर्तनमा योगदान गरेका मान्छेको सम्मान गरेको हो, उपचारमा सहयोग गरेको हो । 

साथीहरूले मलाई भन्छन्, प्रधानमन्त्रीले धेरै यसो गर्छु, त्यसो गर्छु भन्नुभएन । तर म भन्छु –  जनतालाई थाहा दिनुपरयो नि के गर्दैछौँ हामी । हाम्रा विपक्षीहरूले के ठानेका छन् भने सरकारबाट हटाउँछौँ भनेर यिनीहरूलाई निदहराम गरिदिन्छौँ । सरकारमा बसिरहन आएकै होइन, केको निदहराम हुन्छ ? अब हाम्रो तर्फबाट हाम्रो विरोधीलाई भनिदिन चाहन्छौँ, देश त अगाडि बढ्ने भयो, अब गर्छौँ के ? देश त अगाडि बढ्छ । म आग्रह गर्न चाहन्छु, आउनोस्, सबै मिलेर देश बनाऔँ । हामी खुला छौँ, हामी उदार छौँ, हामी फराकिला छौँ । आन्दोलन गरिरहेका मधेसी मोर्चाका साथीहरूलाई म भन्न चाहन्छु, – आउनोस् न, सरकारमा बसेर तराईमा के के गर्नुपर्छ गर्नोस् । उद्योग बन्द गराइदिने, स्कूल बन्द गराइदिने, त्यहाँका टमाटर पानीमा कुहाइदिने अनि मधेसी जनताका लागि भनेर भन्ने ? के गर्नुपर्छ मधेसका लागि, ल आउनोस् गरौँ । त्यहाँका सुकुम्बासी, गरिबका लागि आवासको व्यवस्था गर्नुपर्छ कि ? त्यहाँका गरिब बालबच्चाका लागि पढाइको व्यवस्था गर्नुपर्छ कि ? के गर्नुपर्छ गरूँला, आउनोस् सरकारमा । 

नेकपा (एमाले) देशको नेतृत्वदायी पार्टी हो । देशलाई नेतृत्व गर्नुपर्छ यस पार्टीले । सफल नेतृत्व दिनुपर्छ, सही नेतृत्व दिनुपर्छ यो पार्टीले । त्यसकारण हामी अल्झिने, अल्मलिने सानातिना कुरामा लाग्नु हुँदैन । अगाडि बढ्नुपर्छ । हामी अगाडि बढ्दै जाऊँ । 

(२०७२ पुस १८ गते संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान अन्तर्गत नेकपा (एमाले) को विशेष सम्पर्क कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत मन्तव्य)