NP EN

​सही उद्देश्यका अगाडि गलत विचार टिक्न सक्दैनन्

यस कार्यक्रमका सभापतिज्यू, माननीय मन्त्रीज्यूहरू, राज्यमन्त्रीज्यूहरू, सांसदज्यूहरू, अतिथि महानुभावहरू, खेलकुद क्षेत्रका विशिष्ट एवं गन्यमान्य व्यक्तित्वहरू, स्पोर्टस एकेडेमीका साथीहरू, विभिन्न सङ्घसंस्थाबाट आउनुभएका साथीहरू, खेलाडी भाइबहिनीहरू र कार्यक्रममा सहभागी सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू ।

आज मदन भण्डारी स्पोर्टस् एकेडेमीले ७ वर्ष पूरा गरेर ८ औँ वर्षमा प्रवेश गरेको दिन हो । यसले अप्ठ्यारा ७ वर्ष पारगरिसकेको छ र अब भविष्यमा विगतका अनुभवहरूलाई लिएर अगाडि बढ्ने नै छ । म स्पोर्टस् एकेडेमीको सफलताको निम्ति, उज्ज्वल भविष्यका निम्ति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । स्पोर्टस् एकेडेमीलाई सङ्गठित गर्ने, योगदान गर्ने काममा अगाडि बढाउने मदन भण्डारी फाउन्डेशनलाई धन्यवाद भन्न चाहन्छु । मदन भण्डारी फाउन्डेशनको नेतृत्वमा युवा व्यक्तित्व उषाकिरण भण्डारी अध्यक्षमा आउनुभएको छ, बधाइ छ । उहाँको मन्तव्य अघि हामीले सुन्यौँ । आशालाग्दो छ, उत्साहप्रद छ । मदन भण्डारी फाउन्डेशन अगाडि बढ्नेछ, स्पोर्टस् एकेडेमीलाई अगाडि बढाउनेछ, मैले विश्वास लिएको छु । 

स्पोर्टस् एकेडेमीले थुप्रै खेल क्षेत्रका कामहरूलाई अगाडि बढाएको छ । यही दशरथ रङ्गशालाभित्र पूर्व राष्ट्रपति रामवरण यादवजीले जनवरी १ का दिन यसको प्रारम्भ गर्नुभएको थियो । त्यहाँदेखि यसले देशका विभिन्न भागमा विभिन्न कार्यक्रमहरूसहित आफूलाई अगाडि बढाएको छ, अझै अगाडि बढाउनेछ भन्ने विश्वास मैले लिएको छु । 

नेपालीहरू उन्नति, प्रगति गर्न सक्छन् । नेपालीहरू कुनै पनि हिसाबले पछाडि छैनन् । पछाडि पर्दैनन् तर पछाडि पर्न गए, पारिए विगतमा । अब पछाडि परिरहन, गरिब भइरहन नेपालीलाई मञ्जुर छैन, नेपाल अवश्य नै अगाडि बढ्छ । हामीले हाम्रो खेलकुद क्षेत्रलाई व्यापकताका साथ फराकिलोपनका साथ राष्ट्रको उन्नति, प्रगति, विकासका निम्ति खेल क्षेत्रको व्यापक महत्वलाई बुझेर नै तदनुसार अगाडि बढाउनुपर्छ । आफ्नो स्वार्थ, निजी स्वार्थ, समूहका स्वार्थ, दलका स्वार्थ, गुटका स्वार्थजस्ता सङ्कीर्ण कुराहरूभन्दा माथि उठाएर मानवजातिको हितको निम्ति, राष्ट्रको हितको निम्ति, राष्ट्रको उन्नतिका निम्ति, राष्ट्रमा शारीरिक, मानसिक हरेक हिसाबमा स्वस्थ, सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ, प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ खेलकुद जगतलाई अगाडि बढाउनुपर्छ । नेपालले आगामी दिनमा त्यसै गर्नेछ । नेपालले खेलकुद क्षेत्रमा उन्नति गर्नेछ । 

यो सगरमाथाको देश हो । यो बुद्धको देश हो । यो उचाइ भएको देश हो । अरूतिरका मानिसहरू यहाँका पहाडतिर आए भने सास फेर्नै गाह्रो हुन्छ, यहाँका मान्छेहरू अरूलाई सास फेर्न गाह्रो ठाउँमा दौडिरहेका हुन्छन् । यो यस्तो ठाउँ हो । यस्तो देश हो यो । नेपालमा प्रगतिका सम्भावनाहरू धेरै छन् । 

आज हामी केही कठिनाइहरूमा छौँ, अप्ठ्यारामा छौँ, सङ्क्रमणकालमा छौँ । सङ्क्रमणकाल आकार लिँदैछ । सङ्क्रमणकाललाई कसरी उपयुक्त ढङ्गले टुङ्ग्याउने ? विचारका विविधता छन् । सोचका विविधता छन् । कतिका स्वार्थहरूमा पनि विविधता होलान् । ती चीजहरूलाई हामीले समयक्रममा सम्झाउँदै जानुपर्छ, बुझाउँदै जानुपर्छ । राम्रा कुराहरूले, राम्रा व्यवहारले उनीहरूलाई पराजित गर्दै लानुपर्छ । राम्रा विचार, राम्रा व्यवहारले उपलब्धि दिन्छ, उपलब्धिका अगाडि कोही पनि टिक्न सक्दैन । गलत विचारहरू, गलत मनसायहरू, गलत उद्देश्यहरू सही विचार र उद्देश्यहरूका अगाडि टिक्न सक्दैन । हामी त्यसैगरी अगाडि बढ्छौँ, सही उद्देश्य लिएर अगाडि बढ्छौँ र हाम्रो अगाडि देखिएका चुनौतीहरू, भूकम्पले पारेका समस्याहरू, पीडाहरूलाई पनि हामी सामना गरेर अगाडि बढ्छौँ । अहिले देखापरेका केही समस्याहरूलाई पनि सामना गरेर अगाडि बढ्छौँ । राजनीतिक क्षेत्रमा रहेका वा राखिएका मतभेदहरू जुन छन्, तिनीहरूलाई पनि हामी उचित ढङ्गले सम्बोधन गर्छौँ । देशलाई दृढताका साथ डोरयाउँछौँ । देशको शान्तिसुरक्षा, जनताको हकअधिकारको रक्षा, देशको लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै समृद्धिको बाटोमा अगाडि बढ्ने आकाङ्क्षालाई हामी पछाडि पर्न दिँदैनौँ, अगाडि बढाउँछौँ । 

यो एउटा सार्वभौमसत्ता सम्पन्न, स्वाभिमानी राष्ट्र हो । यसको स्वाभिमान, यसको सार्वभौमसत्ता अत्यन्त महत्वपूर्ण छ । यसको रक्षा गर्दै हामी समृद्धिको बाटोमा तीव्रताका साथ अगाडि बढ्नेछौँ । 

खेलकुदले देशको विकासको स्तर, सामाजिक सभ्यताको स्तरसममेतलाई प्रतिबिम्बित गर्छ  ।  तसर्थ हामीले हाम्रो देशको पहिचान, हाम्रो देशको नाम माथि उठाउने गरी खेलकुद जगतलाई उठाउनु जरुरी छ । यतापट्टि सरकारको ध्यान छ । अघि मन्त्रीज्यूले पनि भन्नुभयो  खेलकुद क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा सरकारको तर्फबाट के के गर्नुपर्छ ती कुराहरू गर्न सरकार तयार छ । त्यो कुरा म पनि यहाँहरू समक्ष दोहरयाउन चाहन्छु । 

मदन भण्डारी स्पोर्टस् एकेडमीले आगामी दिनमा झन् ठूल्ठूला सफलताहरू प्राप्त गर्दै जाओस् । सिङ्गै खेल जगतमा यसले महत्वपूर्ण स्थान बनाओस् । यसले राम्रा खेलाडीहरू विविध क्षेत्रमा उत्पादन गर्ने खेलमैत्री वातावरण बनाओस्, खेलमार्फत सिङ्गै नेपाललाई मैत्री वातावरणमा हिँडाओस् । हिमाल, पहाड, तराई, जातजाति, भाषा, संस्कृति, पूर्व, पश्चिम, कुनै कुराका सङ्कीर्ण, साम्प्रदायिक, देशलाई नबुझ्ने, देशबन्धुहरूलाई नबुझ्ने, देशका दाजुभाइ, दिदीबहिनीहरूलाई आफ्नै नठान्ने सोचहरूलाई खेल जगतको एकता र एकताको भावनाले पराजित गर्न सक्छ, राष्ट्रिय एकतालाई मजबुत पार्नसक्छ, आजको आवश्यकता यही हो । आज खेलाडी भाइबहिनीहरूले असाध्यै सुन्दर, राम्रो खेल प्रदर्शन गर्नुभएको छ, म धन्यवाद भन्न चाहन्छु हाम्रा खेलाडी भाइबहिनीहरूलाई उहाँहरूको प्रदर्शनले सुन्दर सम्भावनाहरू, उज्ज्वल सम्भावनाहरू देखाएको छ, म प्रशंसा गर्न चाहन्छु । यस कार्यक्रमको आयोजनाका निम्ति आयोजक संस्थालाई धन्यवाद । सहभागी सबै उत्साहित खेलाडीहरू, दाजुभाइ, दिदीबहिनीहरूलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । हामीले आज सञ्चार क्षेत्रबाट स्पोर्टस् एकेडेमीका गतिविधिहरूलाई अगाडि बढाउनका निम्ति एउटा थप कामको पनि प्रारम्भ गरेका छौँ । यो प्रभावकारी ढङ्गले अगाडि बढ्नेछ भन्ने मैले विश्वास लिएको छु ।

(२०७२ पुस १६ गते मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन)