यहाँहरूलाई लागेको होला, केके कामले प्रधानमन्त्रीले बोलायो भन्ने । तपाईंहरूसँग भेट्न मन लागेरै बोलाएको हो, एकपल्ट भेटिहालौँ भनेर । तपाईंहरूलाई स्वागत छ, भेट भयो, खुसी लाग्यो ।
मैले १९९७ मा हङकङमा एउटा पत्रिकामा एउटा लेख हेरेको थिएँ । त्यसमा सन् २००२ मा के हुन्छ र हाम्रो गार्मेन्ट इन्डस्ट्रीजको सम्बन्धमा हामीले के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा थियो । त्यो एकजना विज्ञले नै लेखेका थिए । त्यसमा धेरै कुराहरू थिए । मैले त्यसपछि आएर यहाँ एफएनसिसिआइका नेताहरू, अरू गार्मेन्ट इन्डस्ट्रीजका अगुवाहरू, सबै साथीहरूसँग भेटेर कुरा गरेको थिएँ, त्यस्तो लेख मैले पढेँ भनेर । चीनले यस्तो भन्छ, हामीले जान्नु जरुरी छ भन्ने कुरा पनि गरेँ ।
त्यसबेला त्यस्तै परयो । अब अहिले तपाईं–हामी सबैलाई थाहा छ जस्तो लाग्छ, अमेरिकाले नेपाललाई गार्मेन्ट र कार्पेटमा कोटा फ्री र ड्युटी फ्री गर्ने कुरा दुई वटै सदनबाट पारित भइसकेको छ । अब राष्ट्रपतिले हस्ताक्षर गरिसकेपछि त्यो कार्यान्वयनमा आउँछ । मलाई लाग्छ यो नेपालका लागि असाधारण उपलब्धि हो, अनुपम मौका हो । हामी फ्री ढङ्गले जान सक्छौँ । अर्को करमुक्त ढङ्गले हामीले व्यवहार गर्नसक्छौँ । यस्तो अवस्थामा हाम्रो तयारी कस्तो हुन्छ ? हामी काम कसरी गर्छौँ ? यसमा मैले अरू पक्षहरू पनि सहभागी गर्न खोजेको थिएँ, यस सम्बन्धमा तपाईंहरूको तयारी भएपछि अरू पक्षहरूसमेत बसेर पनि कुरा गर्नुपर्छ ।
हामीले हाम्रो व्यापार असन्तुलन भयो, व्यापार घाटा भयो भनेर कुरामात्र गरेर केही पनि हुँदैन । हरेक ठाउँबाट हामीले निर्यात बढाउनुपर्छ । हरेक ठाउँबाट हामीले निर्यातमूलक उद्योगहरू बढाउनुपर्छ । बढी दिगो र टिकाउ ढङ्गले हामीले ती उद्योगहरू सञ्चालन गर्नुपर्छ । मैले यहाँहरूसँग अघिल्ला भेटहरूमा पनि धेरैपल्ट भनेको छु । पहिलो कुरा त गुणस्तरमा हाम्रो प्रतिस्पर्धा हुनुपरयो । दुनियाँमा कार्पेट इन्डस्ट्रीजमै पनि बेल्जियम भयो, इरान भयो, बंगलादेशनै भयो, अरू पनि धेरै अगाडि छन् । अत्यन्तै स्तरीय, कलात्मक देखिने, आकर्षक देखिने गुणस्तर छन् । हामीले बनाउने पनि आकर्षक, कलात्मक अनि टिकाउ पनि हुनुपरयो । त्यो गुणस्तरीय पनि हुनुपरयो । त्यसमा शुद्धताको प्रश्न आउँछ, ती कुराहरूमा हामीले ध्यान दिनुपरयो । हामीलाई करबाट मुक्त गरेपछि पनि हामीले मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैनौँ भने, नेपालजस्तो सस्तो श्रमशक्ति भएका ठाउँमा उत्पादन गरेर पनि मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैनौँ भने त्यो उपयुक्त हुँदैन । भनिँदै आएअनुसार – हामी त भूपरिवेष्ठित राष्ट्र हौँ नि ! हामीसँग कलकत्ता पनि छैन, हामीसँग चटगाउँ पनि छैन, हामीसँग साङ्घाई पनि छैन । चीनकै सबै उद्योगहरू साङ्घाईकै किनारमा त छैनन् नि, अन्तअन्त पनि छन् । अन्तबाट त्यसैगरी ढुवानी गरेरै लाने हो । पश्चिमोत्तर चीनमा पनि उद्योगहरू छन् । तिनीहरू निर्यातमा जान्छन् । त्यसो हुनाले तिनको मूल्यमा प्रतिस्पर्धाको हिसाबले पनि हामी अगाडि बढ्नुपर्छ । तेस्रो कुरा, हामीकहाँ भएको, मैले अघि पनि भनेँ, अरू पनि पक्षहरू बसेर सरसल्लाह गर्नुपर्छ, गर्ने हो । त्यो सल्लाह हो हामीले समयमा उपलब्ध गराउने–टाइमली डेलिभरी–अथवा उचित समयमा डेलिभरी गराउने कुरा । यदि उचित समयमा हामीले दिन सकेनौँ भने कसैले आफ्नो बिजनेस हामीप्रति सहानुभूति राखेर कोटा फ्री गरिदिन सक्छ, कर फ्री गरिदिन सक्छ तर हाम्रा निम्ति व्यापारले पर्खेर त बस्दैन नि । कसैले हाम्रा निम्ति शोरूम त खाली राखेर बस्दैन नि ।
हामीले समयमा डेलिभरी गर्नुपर्छ । समयमा डेलिभरी गर्नका निम्ति हाम्रो समग्र उत्पादन सेक्सन–उद्योगपति अथवा लगानीकर्ता, त्यहाँको व्यवस्थापन र त्यहाँका श्रमिकहरू सबैको जिम्मेवार तरिका हुनु जरुरी छ । यो उद्योगमा लगानी कसैको होला, तर पनि उद्योग मेरो हो, यस देशको उद्योग हो, हामीले यस उद्योगमार्फत यस देशको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ, जनताको जीवनस्तरलाई अगाडि बढाउनुपर्छ, अलिअलि एउटै उद्योगले त सबै कुरा सक्दैन, तर त्यसमार्फत जति गर्न सकिन्छ, त्यति गरेर देशलाई आधुनिकतामा लानुपर्छ, नवीनतामा लानुपर्छ, औद्योगिकीकरणमा लानुपर्छ । यी कामहरू गर्नुपर्छ भन्नका निम्ति हडतालजस्ता कुरा, व्यवधानजस्ता कुरा, बैँक, लोडअनलोड कतै पनि व्यवधान हुनुभएन, हरेक जिम्मेवार हुनुपरयो, नत्रभने अहिलेको अवस्थामा हाम्रो अर्थतन्त्रले धान्ने अवस्था छैन । हामी त कस्तो भने – क्रान्तिकारी हुने, तर के क्रान्तिकारी हो, के क्रान्तिकारी हो, आफैँलाई ध्वस्त पार्ने क्रान्तिकारी । उद्यमीहरू, लगानीकर्ता अलि छिटो डराउँछन् पनि । मैले त्यो फिल गरेको छु । माओवादी द्वन्द्वका बेला माओवादीलाई पैसा दिएर खुसी पार्न खोज्ने, अर्कोचाहिँ माओवादीका कामदार राखिदिएपछि खुसी हुन्छ, अनि चल्छ भन्ने, अनि टम्म भरिएपछि बन्द गरिदिन्छ अनि सिद्धियो । डराएरै राम्रो चलोस् न त भनेरै होला । यता पछिल्लो समयमा पनि जसले बन्द गर्छु भन्यो, त्यसैलाई खुसी पारेझैँ गर्ने । अब अलिकति जिम्मेवार तरिकाले जानुपर्छ । मैले यहाँहरूसँग सल्लाह, छलफल गर्न खोजेको कुरा, झन्डै ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित छ । कृषिमा त्यत्रो जनसङ्ख्या आधारित देश आज पछाडि परेको छ, अविकसित छ । अथवा देश आधुनिकतातर्फ गएको छैन, देश औद्योगिकीकरणतर्फ गएको छैन, देश विकासतर्फ गएको छैन, देशमा राम्रो पूर्वाधार छैन, देश विद्युतीकरणतर्फ गएको छैन । देश पर्यटनतर्फ गएको छैन । सेवाका क्षेत्रहरूतर्फ गएको छैन ।
अहिले पनि परम्परागत कृषितर्फ अत्यन्त ठूलो सङ्ख्या रहेको छ । यसको अर्थ ब्याकवार्डनेस हामीसँग छ । त्यसलाई हटाउने हो भने पनि त्यहाँबाट, कृषिबाट, गाउँगाउँबाट तानेर ल्याएर रत्नपार्कमा थुपारेर त हट्दैन, त्यहाँबाट हट्नका लागि उसले जाने ठाउँ त हुुनुपरयो । कहाँ जान्छ ? जाने ठाउँ चाहियो । यस सन्दर्भमा मैले उद्योगमन्त्रीसँग पनि कुरा गरेको छु । तपाईंहरूसँग पनि कुरा गरेको छु ।
हामीसँग समय रहेन, लामो समय रहेन, राम्रो ढङ्गले सोच्नका लागि । यो सैद्धान्तिक सोचाइमात्र होइन, व्यावहारिक र जुन कुरा व्यवहारमा कार्यान्वयन गर्नुपर्छ, त्यसका निम्ति हो । तपाईंहरूका सोचहरू स्पष्ट रूपमा आऊन् । कृषिको क्षेत्रमा हामीले २ वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाएरै छोड्ने भनेका छौँ । यो त खाद्यान्नको कुरा भयो । यसका अनेक पक्षहरू छन् । हामीले उद्योग, कृषिलाई अनि पशु विकासलाई अलगअलग गरेका छौँ । उद्योगको क्षेत्रमा पनि कुनकुन सेक्टरलाई, मैले केही ठाउँमा बोल्दा भन्ने गरेको छु, रुग्ण उद्योगहरू जो थला परिसकेका छन्, तिनलाई पनि हामी सञ्चालन गर्छौँँ किनकि त्यहाँ पूर्वाधारहरू छन् । अलिकति तयारी गर्दाखेरि त्यो चल्नसक्छ, तर चल्ने गरी चलाउनुपरयो । नयाँ उद्योगहरू स्थापना गर्नुपरयो ।
अहिले अमेरिकाले जुन निर्णय गरेको छ, त्यो मलाई लाग्छ, धेरै ठूलो कुरा हो । अर्को कुरा हामी उद्योगसँग र कृषिसँग पनि धेरै कुराहरू टाइअप गर्नसक्छौँ । वातावरणसँग टाइअप गर्नसक्छौँ । वनसँग टाइअप गर्नसक्छौँ । प्लाइउडका लागि भेनेयर उत्पादनदेखि हामीलाई रेसम उत्पादन गर्नुपर्ला । अथवा हामीलाई कटनमा आत्मनिर्भर हुनका लागि कपास लगाउनेदेखि लिएर निर्यात गर्नेसम्म गर्नुपर्ला । बटनदेखि गार्मेन्टसम्म गर्नसक्छौँ हामी । यसकारण चेन अफ इन्भेस्टमेन्ट फ्रम कटन फार्मिङ टु गार्मेन्ट एस्पोर्ट । हाम्रो आफ्नै देशका लागि पनि धेरै कामहरू गर्नसकिन्छ । अब हामी आफैँचाहिँ किन गर्दैनौँ ? म यहाँहरूलाई भन्न चाहन्छु, अस्ति नै सरकार बन्ने बेलामा कतिकतिलाई अलिअलि डर पनि लागेको थियो होला । ढुक्क हुनुहोस्, अहिलेको सरकार आधुनिकीकरण गर्न, व्यावसायिकीकरण गर्न, औद्योगीकीकरण गर्न, उद्योगलाई संरक्षण दिन, प्रोत्साहन गर्न, सुविधासहुलियत दिन र अगाडि बढाउन कृतसङ्कल्पित छ । मेरो एउटा आग्रह छ – त्यसमा तपाईंहरूका योजनाचाहिँ आऊन् ।
गुणस्तरको प्रतिस्पर्धा, मूल्यको प्रतिस्पर्धा र डेलिभरीको प्रतिस्पर्धा भनेको कुनै पनि चीज हामीले कस्तो समयमा उपलब्ध गराउने हो भन्ने कुरा हो । यदि समयमा गराउँदैनौँ भने कसैले हामीलाई पर्खेर बस्दैन । जहाँ आपूर्ति व्यवस्था ठिक छ, जहाँबाट ठिक ढङ्गले सप्लाई हुन्छ, त्यतापट्टि खोज्छ र त्यहाँको सामानलाई उपयोग गर्छ । यसको अर्थ हामीले हाम्रा धेरै कुराहरूमा परिवर्तन गर्नुपर्छ ।
साथीहरूले राजनीतिक समस्याको समाधान होस् भन्ने कुरा उठाउनुभएको छ । बिल्कुल जायज हो, राजनीतिक समस्याको समाधान हुनु जरुरी छ । यथार्थमा भन्ने हो भने राजनीतिकरूपमा नेपाल खुसी हुनुपर्ने, कुनै चित्त दुखाउनुपर्ने, छाती पिट्नुपर्ने, लौ बर्बाद भयो भन्ने यी सबै हल्ला नगरीकन, फेरि प्रधानमन्त्रीले यसो भन्यो भन्ने कुरा आउँछ, तर सुटुक्क तपाईंहरूलाई भन्दाखेरि यो अधिकार भएन, त्यो अधिकार भएन भन्ने कुरा बेकारको कुरा हो । संविधानसभाबाट संविधान बनेको छ, सबैलाई बराबर अधिकार दिइएको छ, केही पछाडि परेकालाई अगाडि बढाउने कुरा छ, फेरि भएन भन्नु कुनै अर्थपूर्ण कुरा होइन । बेग्लै राजनीतिक उद्देश्यहरू त्यसभित्र घुसेका छन् । ती कुराहरूलाई हामी सम्बोधन गर्न चाहिरहेका छौँ, फेरि पनि सम्बोधन गर्नुपर्छ जस्तासुकै उद्देश्य भएपनि । हामी तिनीहरूलाई सम्बोधन गर्न सोचिराखेका छौँ ।
हामीले राजनीतिक असहमति र असन्तुष्टिका नाममा हिंसा, तोडफोडजस्ता अनुत्तरदायी प्रवृत्तिलाई उत्साहित गर्नु हुन्न । तोडफोड गरयो, आगजनी गरयो अनि वक्तव्य दिएर म जिम्मा लिन्छु भन्यो । के जिम्मा लिन्छौँ भन्दा, केही न केही । जिम्मा लिएपछि त कि कानुनबमोजिमको कारबाही भोग्न तयार हुनुपरयो । मेरो संस्था जिम्मेवार छ भनेर एउटाले वक्तव्य दिन्छ । जिम्मेवार भनेको के ? सरकारले यस्ता कुराहरूलाई जिम्मेवार बनाउँछ । स्पष्टताका साथ म राख्न चाहन्छु, तोडफोड, आगजनी, हिंसाजन्य कुराहरू लोकतन्त्रमा स्वीकार्य हुँदैनन् । असन्तुष्टि र असहमति शान्तिपूर्ण ढङ्गले कानुनका दायराभित्र राख्न पाइन्छ तर देशलाई बर्बाद गर्न, उद्योगधन्दालाई बर्बाद गर्न, अर्थतन्त्रलाई बर्बाद गर्न, सामाजिक जनजीवन अस्तव्यस्त पार्न र अवरोध पुरयाउन पाइँदैन । जसलाई जतिखेर मन लाग्छ, त्यतिखेर बन्द गर्नेे कुनै क्रान्तिकारिताको कुरा होइन, त्यसलाई हामीले सभ्यताका दायराभित्रबाट, मर्यादाका दायराभित्रबाट, लोकतन्त्रका दायराभित्रबाट, शान्ति र कानुनी दायराभित्रबाट नै समाधान खोज्नुपर्छ, त्यो भन्दा बाहिर गएर समाधान खोजेर दिन सकिँदैन । सरकारले शान्तिसुरक्षा कायम गर्छ, शान्तिसुरक्षा कायम गर्ने बाटोतर्फ सरकार अगाडि बढ्छ । फेरि यसो भन्नु पनि अपराध हो कि जस्तो अवस्था छ नेपालमा । शान्ति सुरक्षा कायम गर्छु भन्न पनि नपाइएला कि जस्तो । तर, अब शान्ति सुरक्षा सरकारले कायम गर्छ, संवैधानिक र शान्तिपूर्ण, कानुनी बाटोभन्दा बाहिरबाट असन्तुष्टि, विरोध वा केही कुराहरू प्रकट गरिरहने गैर–जिम्मेवार प्रवृत्ति, आगजनी, तोडफोडजस्ता कुराहरू अब समाजले सहन मान्दैन ।
अर्को कुरो, हामीले ऊर्जा सङ्कट र आर्थिक असहजतालाई सहज बनाउनका निम्ति केही प्रभावकारी कदम चाल्ने कोसिस गरेका छौँ । श्वेतपत्रमा आएका जुन निर्माणसम्बन्धी कुराहरू छन्, त्यससम्बन्धमा वर्कआउट भएको छ, हामी त्यही गर्छौं । यहाँहरूले जुन मागहरू राख्नुभएको छ, वातावरण अनुकूलताका लागि, त्यससम्बन्धमा हाम्रो ध्यान गएको छ, त्यही गर्छौँ हामी । यहाँहरूले आफ्ना तयारीहरू गर्नोस्, मैले आज बोलाउन खोजेको यो कुराका लागि पनि हो । सरकार तयारीको पक्षमा छ र तयारी अगाडि बढाउँदैछ । त्यसकारण सरकार र यहाँहरू सबै मिलेर नै देशलाई अगाडि बढाउनुपर्छ, यससम्बन्धमा यहाँहरूलाई अनुकूल वातावरण प्रदान गर्नका निम्ति सरकार दत्तचित्त छ ।
यहाँहरूलाई थाहा छ, यो सरकार त बन्द हडताल भएका बेला, मान्छे मारिराखेको बेला, नाकाबन्दी भएका बेलामा बन्यो । देशलाई सामान्य अवस्थातर्फ फर्काउन यो सरकार प्रयासरत रहेको छ । सबै प्रकारका प्रयासहरू भइरहेका छन् । अहिलेको सरकारको विशेषता नै हो – सत्यसँग सिङ नजोड्ने, असत्य, अनुचित खालका कुराहरूसँग नझुक्ने । त्यसरी नै यो सरकार अगाडि बढ्छ ।
आज यहाँहरूले उठाउनुभएका केही महत्वपूर्ण कुराहरू छन् । तिनमा सरकारको पनि ध्यान गएको छ । मैले भनेका कुराहरू पनि तपाईंहरूलाई इन्डिकेसन गर्ने खालका छन्, त्यसमा ध्यान जाओस् भन्ने चाहन्छु ।
(२०७२ पुस १३ गते नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर, परिसङ्घका प्रतिनिधि उद्योगी, व्यापारीहरूलाई बालुवाटारमा गर्नुभएको सम्बोधन)