NP EN

हाम्रो संस्कृति – हाम्रो गौरव

आज सम्मानित हुनुहुने सम्पूर्ण विशिष्ट महानुभावहरू, सम्पूर्ण ज्यापू दाजुभाइ, दिदीबहिनीहरू र १२ औँ ज्यापू दिवस एवम् योमरी पुन्हिलाई सफल पार्न यहाँ आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू ।

नेपाल भौगोलिक विविधताले युक्त, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो । धेरै अगाडिदेखि यो देश विभिन्न प्रकारका विविधताले युक्त छ । यो देश भाषा, संस्कृति, हाम्रा अनेक प्रकारका चाडबाडहरू, रीतिरिवाजहरू, भेषभूषा, पहिरन, परिकार, वाद्यवादन, गीतसङ्गीत, कलासंस्कृति अनेकले सम्पन्न रहिआएको छ । यो देशको विशेषता, यसको सम्पन्नता, यसको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक गौरव हाम्रा विविधताहरूमा झल्किएको छ । यस्ता विविधताहरूकै सन्दर्भमा यहाँहरूले विविधतामा एकता र अनेकतामा एकता देखाउने अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ । आफ्नो संस्कृति, भेषभूषा, पहिरन, वाद्यवादन र प्रचलनहरूलाई कायम राख्नका लागि हाम्रो सांस्कृतिक सम्पन्नता, हाम्रो वैभव, हाम्रो कला, हाम्रो सांस्कृतिक परम्परा र समग्रतामा हाम्रो गौरवपूर्ण संस्कृतिलाई सम्झिरहन, त्यसलाई कायम राख्न, त्यसलाई अगाडि बढाउनका निम्ति यहाँहरूले जुन प्रकारले १२ औँ ज्यापू दिवस मनाइराख्नुभएको छ, यो अत्यन्तै खुशीको कुरा हो । म यस दिवसको सन्दर्भमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

हामी आधुनिक युगमा प्रवेश गरेका छौँ, २१ औँ शताब्दीमा । एकातिर २१ औँ शताब्दीका आधुनिकतासँगै हामी दौडिनु छ, आजको प्रतिस्पर्धात्मक दुनियाँमा आजको विज्ञान र प्रविधिले गरेको विकासको रफ्तारमा हामीले अगाडि बढ्नुछ, अर्कातिर हामीले हाम्रा सभ्यता, संस्कृतिहरूलाई, उपयुक्त परम्पराहरूलाई र सुन्दर संस्कृतिहरूलाई कायम राख्दै लोप हुन नदिएर तिनलाई सुरक्षित राख्दै, तिनलाई अगाडि बढाएर समृद्ध बनाउँदै, तिनलाई विकसित गर्दै अगाडि जानुपर्ने पनि छ । खासगरी हाम्रा सांस्कृतिक वैभवहरू, हाम्रा ऐतिहासिक परम्पराहरू, हाम्रा सम्पन्नताहरू र हाम्रा पहिचानहरूलाई कायम राख्दै आजको आधुनिकतासँगै यिनलाई अनुकूल बनाउँदै संयोजनकारी ढङ्गले अगाडि बढ्‌नुपर्ने आवश्यकता छ । 

हामी ऐतिहासिक हिसाबले सम्पन्न छौँ । ऐतिहासिक, सांस्कृतिक पक्षहरूलाई हामीले अगाडि लिएर जानुपर्नेछ । सँगसँगै आधुनिकतालाई पनि हामी छोड्न सक्दैनौँ, त्यसलाई पनि समातेर अगाडि बढ्नुपर्नेछ । यी सबै पक्षहरूमा तपाईंहरूको ध्यान पुगेको मैले पाएको छु । वास्तवमा नेपालका संस्कृतिहरू, नेपालका कला, नेपालका अनेक प्रकारका विविधतामा नेवार संस्कृति, नेवारभित्रका अनेक प्रकारका बाजागाजाहरूदेखि लिएर धेरै कुराहरूमा विशेष मौलिकता रहेको छ । तिनमा नेपालीपन रहेको छ । नेपाल चिनाउने पन रहेको छ । ती कुराहरूको एउटा पक्षको रूपमा, एउटा हिस्साको रूपमा ज्यापू संस्कृति पनि कायम रहिआएको छ । यसलाई तपाईंहरूले अगाडि बढाउनुभएको छ । म यसमा खुसी व्यक्त गर्न चाहन्छु । 

केही समय अगाडिदेखि सरकारले यससम्बन्धमा अक्षय कोष राख्नका निम्ति केही सहयोग पुरयाएको  थियो । यसपछि केही समयमै मन्त्रिपरिषद्को बैठक बस्दैछ । यहाँहरूलाई यस सन्दर्भमा के कस्तो सहयोग पुरयाउन सकिन्छ, अहिलेको अवस्थाअनुसार त्यसमा मैले छलफल गर्नेछु र केही सहयोग पुरयाउने कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु । 

भूकम्पबाट हामी पीडित छौँ । भूकम्पबाट धेरै क्षति भएको छ । हामीले ठूलो समस्या झेलेका छौँ, तर पनि हाम्रो राष्ट्रिय गौरवलाई हामीले तलमाथि पर्न दिएका छैनौँ । नेपाली जनता नेपाललाई एउटा स्वाभिमानी राष्ट्रको रूपमा अगाडि बढाएर विकासको बाटोमा अगाडि बढ्नेछ । 

अहिले हामीले जुन संविधान पाएका छौँ, यो संविधानले नेपालका सबै भाषा–संस्कृतिका, विभिन्न भूगोलमा बस्ने, सबै पेसा, व्यवसायका जनतालाई अधिकार सम्पन्न बनाएको छ । सबैका अधिकारहरू सुनिश्चित गरेको छ । अब हामी आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्दैछौँ । सामाजिक उन्नतिको बाटोमा अगाडि बढ्दैछौँ । हाम्रो संविधानले हामीलाई सांस्कृतिक समानता, जातीय र भाषिक समानता, संरक्षण र विकासका अवसरहरू उपलब्ध गराएको छ । ती अवसरहरूको उपयोग गर्दै हामी अगाडि बढ्नेछौँ । 

हामी नेपालका संस्कृतिहरू, हाम्रा कलाहरू, हाम्रा साहित्यिक वा अरू पहिचानहरूको सुरक्षा र सम्वर्धन गर्दै अगाडि बढ्नेछौँ । अहिलेको सरकारले विभिन्न भाषा, जाति, धर्म, संस्कृतिका जनतालाई, विभिन्न भूगोलका, विभिन्न पेसा व्यवासायमा संलग्न जनताका अनेक प्रकारका पौराणिक, ऐतिहासिक वा सांस्कृतिक परम्पराहरूलाई अगाडि बढाउँदै जाने कुरामा म यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु । 

म यहाँहरूको बीचमा लामो समय लिन चाहन्न । म यहाँहरूसमक्ष के भन्न चाहन्छु भने तपाईंहरूको यो कार्यक्रममा जुन खालको उत्साह देखिएको छ, त्यसको म अत्यन्तै प्रशंसा गर्न चाहन्छु, सम्मान गर्न चाहन्छु । तपाईंहरूको साथमा अहिलेको सरकार छ । अहिलेको सरकार भनेको सबै नेपालीको सरकार हो, सबै नेपाली जनताको सरकार हो, यो सबै जातिका जनताको सरकार हो, सबै भेगमा बस्ने जनताको सरकार हो, सबै जातिका सबै भाषाका जनताको सरकार हो । यसले सबैका समस्याहरूलाई हेर्छ, सबैको उन्नतिका लागि काम गर्छ । 

मलाई यस कार्यक्रममा आमन्त्रण गर्नुभयो, यसका लागि धन्यवाद भन्न चाहन्छु । पुरस्कृत साथीहरूलाई फेरि पनि बधाइ भन्न चाहन्छु । अन्तमा ज्यापू दिवसका अवसरमा यहाँहरू सबैमा धेरैधेरै शुभकामना भन्न चाहन्छु ।

(२०७२ पुस १० गते ज्यापु दिवसका अवसरमा काठमाडौँमा दिनुभएको मन्तव्य)