सहकुलपतिज्यू, उपकुलपतिज्यू, विश्वविद्यालय सभाका विद्वान् सदस्यहरू, प्राध्यापक, विद्यार्थी तथा अभिभावकहरू र आज उपाधि प्राप्त गर्नुहुने विद्यार्थीहरू, यस विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहको यस कार्यक्रममा उपस्थित हुनुभएका यहाँहरू सबैमा हार्दिक स्वागत गर्न चाहन्छु । गत हप्ता मात्रै यस विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सेसअन्तर्गतका विभिन्न विधामा स्नाकतोत्तर तथा स्नातक विद्यार्थीहरूलाई उपाधि प्रदान गर्न आयोजित २१ औँ दीक्षान्त समारोहको प्रथम चरणमा मेरो सहभागिताको म स्मरण गर्न चाहन्छु । आज फेरि दोस्रो चरणमा आयोजित यसै विश्वविद्यालयको स्कूल अफ एजुकेशन, आर्टस्, म्यानेजमेन्ट, साइन्स र इञ्जिनियरिङका विभिन्न विधामा स्नातकोत्तर तथा स्नातक विद्यार्थीहरूको दीक्षान्त समारोहमा सहभागी हुन पाएकोमा म खुसी व्यक्त गर्दछु ।
बदलिँदो परिस्थितिमा उच्च शिक्षामा यस विश्वविद्यालयले पुरयाएको महत्वपूर्ण योगदान सबैमा विदितै छ । यस्ता औपचारिक समारोहहरूमा मैले भन्दै आएको छु – शिक्षा जीवनका लागि हुनुपर्छ, मानव जाति र राष्ट्रहितका लागि हुनुपर्छ । यसभन्दा अगाडि आजका प्रमुख अतिथि विद्वान् मदनमणि दीक्षितज्यूले जुन दृष्टिकोणहरू प्रस्तुत गर्नु भएको छ, ती अत्यन्तै मननयोग्य छन् । ती कुराहरूलाई म दोहरयाइरहन चाहन्न । यसैगरी उपकुलपतिज्यूले कार्यक्रमको प्रारम्भमै अत्यन्तै दार्शनिक ढङ्गले जुन विषयहरू प्रारम्भ गर्नुभएको छ, आज दीक्षान्त प्राप्त गर्ने विद्यार्थीहरू र अरु सबैका निम्ति पनि उपयोगी दृष्टिकोणहरू र विचारहरू प्रस्तुत गर्नुभएको छ, त्यसको महत्वको बारेमा मैले प्रकाश पार्न चाहेको हुँ । दोहरयाउन चाहेको होइन ।
वास्तवमा यस सृष्टिको उपादेयता, यस धर्तीको उपादेयता, यहाँ जीव छ, त्यसकारण यहाँ मानव जाति छ, वास्तवमा यसकारण यस धर्तीको महत्व छ । यदि मानवजाति हुँदैनथ्यो भने यस धर्तीको खास अर्थ रहँदैनथ्यो । मान्छे छैन, सुन्दरता बुझ्दैन भने सुन्दर फूल फुलेको छ कि छैन, के थाहा ? के मतलब ? मान्छे छ, मान्छेले जान्दछ, मान्छेले बुझ्दछ, आज अन्तरिक्षको महत्व पनि मान्छेले अध्ययन गर्ने, चन्द्रमामा टेक्ने कुराले बढाएको छ । नत्र निर्जीव पिण्डहरूको के अर्थ हुन्छ ? यो धर्तीको महत्व, यसको अर्थ, यसको सार्थकता मानवजातिसँग छ, जब मानवजातिसमेत यसको अस्तित्वकै महत्व छ भने, सार्थकता छ भने सचेत, अझ सचेत, सुखी मानवजाति यस धर्तीको वास्तविक हकदार हो । हाम्रो शिक्षा यसैमा केन्द्रित छ । हाम्रो धर्तीलाई अझ सार्थक, यसको अस्तित्वलाई अझ सार्थक बनाउनका निम्ति मानवजातिलाई कसरी सुखी बनाउने ? हाम्रो शिक्षा त्यसैमा केन्द्रित छ । यस कुरालाई आज दीक्षित हुनुभएका तपाईंहरूले गम्भीरताका साथ मनन गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । यस विश्वविद्यालयबाट दीक्षित तपाईंं विद्यार्थीहरूले आफूले सिकेको र जानेको ज्ञान, सीप, कला, कौशल मातृभूमिका लागि र मानवजातिका लागि समर्पण गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
धेरै पछिमात्र स्वतन्त्र र सार्वभौम भएका विश्वका कतिपय मुलुकहरूले आश्चर्यजनक उन्नति गरेका छन् तर हामी सदैव स्वतन्त्र रहेरपनि पछाडि परिरहेका छौँ । कतिपय देशहरू हाम्रोजस्तो प्राकृतिक सम्पदाले सम्पन्न छैनन्, तर पनि विकासको यात्रामा धेरै अगाडि बढेका छन् । मैले धेरै ठाउँमा भन्ने गरेको छु, मरुभूमिका भनेर चिनिएका देशहरूमा हाम्रोजस्तो जीवनमय देशबाट जीवनको खोजीमा हाम्रो नयाँ पुस्ता, युवा पुस्ताले जानुपर्ने, भौँतारिनुपर्ने अत्यन्तै तीतो र दुःखपूर्ण अवस्था आज छ । हाम्रो देश गरिब छ, पछाडि छ । हामी सँधै स्वतन्त्र रह्यौँ र हामीसँग अथाह स्रोत छ, तैपनि हामी पछाडि परेका छौँ, हाम्रो विकासको गति सुस्त छ । यस्तो अवस्थाबाट देशलाई पार लगाउनका लागि विश्वविद्यालयले दिने शिक्षा सहयोगी र सार्थक हुनुपर्दछ । शैक्षिक प्रमाणपत्र वा हामीले यति उत्तीर्ण गरेका छौँ, यति तहको शिक्षा हासिल गरेका छौँ भनेर मात्रै यसको उपादेयता हुँदैन । त्यस ज्ञानलाई, त्यस शिक्षालाई हामीले व्यवहारमा उतारेरमात्रै हामीले त्यसको सार्थकता पाउन सक्दछौँ । हामीले सिकेको ज्ञान वास्तवमै व्यवहारमा कार्यान्वयन गर्नसक्ने भयो भने मात्रै अथवा त्यसको व्यवहारमा कार्यान्वयनबाट मात्रै मुलुकको आवश्यकता पूरा हुनसक्छ ।
विभिन्न स्कूलहरूमार्फत टेस्टिङ ल्याब, विभिन्न विधामा प्रयोग हुँदै आएको प्रविधि, व्यावसायिक तालिम, मध्यम तथा उच्चस्तरीय व्यवस्थापन, अध्ययन, सूचना तथा प्रविधिको अध्ययन, अध्यापन, निर्माण प्रविधि, औषधि विज्ञान प्रविधि, जडीबुटी, जीव तथा वन्यजन्तुको स्थलगत अध्ययन, अनुसन्धान तथा तिनीहरूको व्यावहारिक प्रयोगजस्ता कुरामा समेत यस विश्वविद्यालयले चालेका कदमहरू प्रशंसनीय छन् । यस विश्वविद्यालयले सहकार्यको क्षेत्रमा एउटा नमूनाको रूपमा काम गरेको छ र त्यसलाई असाधारण उपलब्धिका साथ अनुकरणीय, अनुसरणीय ढङ्गले अगाडि बढाएको छ । समुदाय–समुदाय बीचको सहकार्य, जनता र समुदायबीचको सहकार्य, सरकार र निजी क्षेत्रबीचको सहकार्य र निजी–निजी क्षेत्रबीचको सहकार्यजस्ता अवधारणाहरूलाई आत्मसात गरेर यो विश्वविद्यालय अघि बढेको छ । यसो गर्दा नै यसले सफलता पाएको छ ।
आजको जमाना सहकार्य र सहयोगको जमाना हो । यस विश्वविद्यालयले सहकार्यको अवधारणालाई व्यवहारमा राम्ररी उतारेको छ । म खुसी व्यक्त गर्न चाहन्छु । यस विश्वविद्यालयसँग नेपाल सरकारका विभिन्न निकायहरूले गर्दै आएको सहकार्यलाई पनि म यहाँ स्मरण गर्दछु ।
काठमाडौँ विश्वविद्यालय र भूमिसुधार मन्त्रालयबीच भएको सहकार्यअनुरूप नेपाल सरकारका कर्मचारीहरूले यहाँ अध्ययन गर्ने अवसर पाएको र यस वर्षको चान्सलर पद सहकार्य कार्यक्रमअन्तर्गत सञ्चालित जियोम्याट्रिक्स इञ्जिनियरिङमा उत्कृष्टता हासिल गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । संसारका जुनसुकैले पनि पत्याउन सक्ने गरी उच्चकोटिका जनशक्ति उत्पादन गर्ने विश्वस्तरीय संस्थाको आवश्यकताप्रति म सचेत छु । आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षाको गुणस्तरीयताप्रति सबैको विश्वास जित्दै यस विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र बनाउनेतर्फ विश्वविद्यालय परिवारको प्रयत्न जारी रहेकोमा म खुसी व्यक्त गर्न चाहन्छु ।
मलाई थाहा छ, काठमाडौँ विश्वविद्यालयले आफ्नो रजत वर्ष स्थापनाका चौबीस वर्ष पूरा गरेर रजत महोत्सव मनाउने क्रममा छ । विभिन्न कठिनाइहरू यस विश्वविद्यालयले पार गरेको छ । एउटा चौथाइ शताब्दीको अवधिमा भएका आफ्ना प्रगतिहरूको विवरण प्रस्तुत गर्दै आगामी अर्को चौथो शताब्दी अर्थात् अर्को २५ वर्षमा यस विश्वविद्यालयलाई कहाँ पुरयाउने योजना छ भन्ने जानकारी हामीले भर्खरै पायौँ । म त्यो योजनाप्रति हर्ष व्यक्त गर्न चाहन्छु । यसैगरी विश्वविद्यालयको तर्फबाट रजत पार्क निर्माण गर्ने लगायतका विभिन्न रचनात्मक काम गर्ने जानकारी पनि यहाँ दिइएको छ । म त्यसमा समर्थन जनाउँछु र त्यसमा सरकारको तर्फबाट के कस्तो सहयोग गर्नुपर्छ, सरकार तयार छ भन्ने कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।
यस विश्वविद्यालयको उन्नति–प्रगतिको लागि र यसलाई नमूना विश्वविद्यालयको रूपमा विकास गर्दै जाने कुरामा सरकारको पूरा साथ रहनेछ । आजको यस गरिमामय दीक्षान्त समारोहमा यसरी सम्बोधन गर्ने अवसर मिलेकोमा मलाई धेरै खुसी लागेको छ, म विश्वविद्यालयलाई यसका निम्ति हार्दिक धन्यवाद ज्ञापन गर्दछु, सबैमा धेरैधेरै शुभकामना । खासगरी आज दीक्षित हुनुहुने सम्पूर्ण विद्यार्थीहरूमा उज्ज्वल भविष्यको निम्ति, सफलताको निम्ति धेरैधेरै शुभकामना व्यक्त गर्दछु ।
(काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रस्तुत गर्नुभएको मन्तव्य)