यस कार्यक्रमका सभापति महोदय, पार्टीका महासचिव क. ईश्वर पोखरेलज्यू, यहाँ उपस्थित हुनुभएका अन्य नेतागण, प्रतिनिधि साथीहरू र यस कार्यक्रमलाई सफल पार्न विभिन्न भूमिकामा र सहभागिताका लागि उपस्थित हुनुभएका दाजुभाइ, दिदीबहिनीहरू,
नेकपा (एमाले) को जिल्ला परिषद् बैठकको उद्घाटन सत्रमा हामी छौँ । हामीलाई थाहा छ, नेकपा (एमाले) का कार्यक्रमहरू भव्यताका साथ, उपलब्धिपूर्ण, सफलतायुक्त ढङ्गले सम्पन्न हुनेछन्, तैपनि म पार्टी केन्द्रको तर्फबाट र मेरो आफ्नो तर्फबाट पनि यस कार्यक्रमको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
आज यहाँ यस्तो पार्टीको परिषद्को बैठक आयोजना भइरहेको छ, जुन पार्टीले आफ्नो स्थापनाकालसँगै सर्वाधिक नवीन चेतना, वैज्ञानिक चेतना, न्यायपूर्ण चेतना, लोकतान्त्रिक चेतना, गणतन्त्रात्मक चेतना, समतामूलक चेतना, अग्रगामी चेतना र जनताको निम्ति सुख, समृद्धिको चेतनासहित आफ्ना लक्ष्यहरूलाई अगाडि बढाएको छ । यस्तो पार्टीको आज यहाँ कार्यक्रम भइरहेको छ, जुन पार्टीले विगत ६५–६६ वर्षदेखि नेपाली समाजलाई सचेत गराउने, सङ्गठित बनाउने, आफ्ना जायज मागहरूका लागि, सामाजिक परिवर्तनका लागि जनतालाई आन्दोलित गर्ने र त्यस क्रममा अनेकौँ ठूला बलिदानी सङ्घर्षहरू सञ्चालन गरेर अत्यन्तै ठूलो योगदान गरेको छ । यहाँ त्यस्तो पार्टीको आज कार्यक्रम भइरहेको छ, जुन पार्टी आज देश अप्ठ्यारोमा परेको बेला त्यसबाट मुक्त गर्न अगुवाइ गर्ने भूमिकामा रहेको छ र त्यो जिम्मेवारीलाई आमनेपाली जनताको विश्वासका साथ सम्पन्न गर्ने नेतृत्वदायी भूमिकामा रहेको छ ।
नेपाली जनताले लामो समयदेखि सङ्घर्ष गरे । विभिन्न समयमा आन्दोलनहरूलाई सफलतामा पुरयाए, तर ती सफलताहरूलाई संस्थागत गर्न दिइएन, चिरस्थायी हुन दिइएन र विभिन्न प्रकारका बनावटी, नक्कली, आकर्षक नाराहरूबाट जनता अल्मल्याउने, भड्काउने, बर्गल्याउने तरिकाहरूबाट जनतामाथि दमन गर्ने दमनकारी प्रवृत्तिहरूबाट अथवा हिंसाको चपेटाबाट, हिंसाको भरमा जनतालाई तर्साएर फेरि जनताका अधिकारहरू खोस्ने काम पटकपटक भइरहे ।
नेकपा (एमाले) आज जुन ठाउँमा छ, यसले इतिहासका धेरै उतारचढावहरू देखेको छ । यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेर, समानुपातिक मत सङ्कलन गरेर, एक दुई सांसद, सभासद् बनाऊँ भनेर गठन भएको पार्टी होइन । यो पार्टी राणाशासनको अन्धकार युगमा पढ्नलेख्न समेत नपाइने, जनतामा हकअधिकार नभएको, स्वतन्त्रताको हक, मौलिक हक, मानवअधिकार वा कुनै प्रकारको राजनीतिक हक अधिकार नभएको, जहानियाँ राणा शासनको समयमा, एकातिर जहाँनिया राणाशासन, अर्कातिर सामन्ती राजतन्त्रात्मक शासन– यी दुइटा सामन्ती घरानियाँको द्वैध शासनको मातहतमा नेपाल थिचिएको, जनता अन्धकारमा परेको अवस्थामा धेरैलाई अचम्म लाग्ला, २००६ सालमा यो पार्टीको स्थापना भयो, २००७ सालमा राणा शासन ढल्यो । यस्तो हुने गर्छ, अँध्यारो प्यारो लाग्नेहरूको आँखामा टर्चलाइट बालिदियो भने तिरीमिरी हुन्छ, केही पनि देख्दैन । नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि सामन्तवादी शक्तिहरू, अँधेराका प्रतिनिधिहरू, जनतालाई अल्मल्याउने शक्तिहरू तिरिमिरी भए । जनतामा एउटा नयाँ आशा, भरोसा, विश्वासको स्थिति बन्यो । यही पार्टी हो, जसले सामाजिक न्याय र समानताका कुरा पहिलोपल्ट गरयो नेपालको राजनीतिमा । महिला र पुरुषका बीचमा समानताका कुरा पहिलोपल्ट यही पार्टीले गरयो ।
जातीय भेदभाव, छुवाछूतजस्ता कुराहरूलाई हटाउने कुरा यही पार्टीले गरयो, समानताका कुरा यही पार्टीले गरयो । हकअधिकार सबैले बराबरी पाउनुपर्छ भन्ने मान्यता यही पार्टीले अगाडि सारयो । नेपाल जनताको शासन भएको लोकतान्त्रिक अथवा जनतान्त्रिक अथवा जनवादी देश हुुनुपर्छ भनेर यही पार्टीले भन्यो । जन्मँदै कोही शासक हुन जन्मने सामन्ती परिपाटी होइन, आधारहीन, अवैज्ञानिक, जन्मँदाकै जन्मसिद्ध श्रेष्ठताका पाखण्डी सिद्धान्त होइन, वैज्ञानिकताका आधारमा जनताको शासन हुने गणतन्त्रात्मक व्यवस्था चाहिन्छ भनेर यही पार्टीले भन्यो । त्यस समयदेखि नेपाली समाजलाई सचेत गर्दै, सङ्गठित गर्दै, आन्दोलन गर्दै यो पार्टी यहाँ आइपुगेको छ । यो पार्टी कुनै क्रेनले टिपिदिएर माथि पुरयाइदिएको पार्टी होइन, दमनचक्र चलाएर, बुटले कुल्चिएर, गोली, जेलनेल, अनेक प्रकारका हत्कण्डा, आतङ्क सबैलाई पराजित गरेर यो पार्टी आज यहाँ आइपुगेको छ ।
आज नेकपा (एमाले) सिटको हिसाबले संसदमा दोस्रो पार्टी छ, तर यहाँहरू सबैलाई थाहा छ, नेपाली जनतालाई थाहा छ, विश्वलाई थाहा छ – गणितीय हिसाबले एमाले दुई चार सिट पछाडि भए पनि आजको नेपाली समाजलाई सही बाटोमा अगाडि बढाउनका निम्ति, जनतालाई अलमलमा पर्न नदिनका निम्ति, नेपाली समाजलाई अग्रगामी बाटोमा लानका निम्ति नेकपा (एमाले) प्रमुख पार्टीको हैसियत, नेता पार्टीको हैसियत, गुरू पार्टीको हैसियत, समानताको चेतना बोकेर हिँड्ने संवाहक पार्टीको हैसियतमा स्थापित छ । हामी सबैलाई थाहा छ, संविधान बन्न नदिन कति कोसिस भए, कत्रा षडयन्त्र भए, जालझेल भए । भ्रम फिँजाउन खोजियो । संविधान बनाउँछु भनेर जनताबाट आएका मान्छेहरू संविधान सभाभन्दा बाहिर गएर ढुङ्गा हान्न थाले । संविधान बनाउन संविधान सभाभित्र आएका मान्छेहरू संविधान बनाउन छोडेर के भएन भनेर बाहिर गए ? उनीहरू संविधान बन्न नदिन भ्रम फिँजाउनका लागि बाहिर गए । अरू कुनै कारण थियो र ? बेठिक संविधान बन्यो भन्ने हो भने संविधान बनेकै थिएन । संविधान त बन्दै थियो, बनेकै थिएन, आफ्ना कुरा केही थिए भने त्यहीं राख्न सकिन्थ्यो, छलफल गर्न सकिन्थ्यो तर त्यहाँ भ्रम फिँजाउन नसकेपछि बाहिर गएर समस्याहरू खडा गर्ने प्रयासहरू भए ।
तपाईं हामीलाई थाहा छ – नेपाल विविध जातजाति र भाषाभाषी बसोबास गरेको भौगोलिक विविधताले युक्त देश हो । यो देश एउटा जातको देश होइन, जातैजात छन् यहाँ । १ सय २५ जातजाति छन्, १ सय २३ भाषाभाषी छन् । अनेक धर्मावलम्बी जनता छन् यहाँ । हिमाल, तराई, पहाडमा जनता बसोबास गर्छन् । पूर्वदेखि पश्चिमसम्म नेपाली छौँ तर नेपालीहरूका बीचमा पूर्वेली र पश्चिमा भनेर हिमाली, पहाडी, तराईका वा मधेशी भनेर, यो जात र त्यो जात भनेर, पहिचानका अनुचित, अनावश्यक नाराहरू उचालेर जनतालाई भ्रममा पार्ने, जनतामा मध्ययुगीन खालका असभ्य धारणाहरू घुसाउने, साम्प्रदायिक विद्वेष भड्काउने प्रकारका कोसिसहरू भए । नेपाली जनता र नेपाल राष्ट्रको विविधतामा बेठीक ढङ्ले जाति–जातिका कुरा गरेर लडाइँ गराउने, जहाँनिर भिन्नता देखिन्छ, त्यहाँ लडाइँको विषय बनाइदिने, पहाडमा बस्ने र तराईमा बस्ने, होचोअग्लो भूभागमा बस्ने र समथरमा बस्नेका बीचमा लडाइँ गराउने प्रयत्नहरू भइरहेका छन् । त्यसले के हुन्छ ? केही पनि हुँदैन । त्यस्तो चाहनेहरूका सपना पूरा हुनेछैनन् ।
आज नेपालको आवश्यकता नेपालको विकास हो । पूर्वाधारको विकास हुनुपरेको छ यहाँ । बाटाहरू बनाउनुपरेको छ, एयरपोर्टहरू बनाउनुपरेको छ, कृषिको आधुनिकीकरण गर्नुपरेको छ, व्यावसायिकीकरण गर्नुपरेको छ । उद्योगधन्दाहरू स्थापना गर्नुपरेको छ । रोजगारीका अवसरहरू दिनुपरेको छ । विदेश पलायन हुने युवाहरूलाई यहीँ रहेर काम गर्ने स्थितिको निर्माण गर्नुपरेको छ ।
भुइँचालोले देश ध्वस्त भएको छ । ८ लाखभन्द बढी घरहरू भत्किएका छन् । ९ हजार मान्छे मरेका छन् । २३ हजार घाइते भएका छन् । सरकारी संरचनाहरू, भवनहरू भत्किएका छन् । हाम्रा कतिपय ऐतिहासिक भवनहरू भत्किएका छन् । यस्तो अवस्थामा हामीले देश निर्माण गर्नु छ । चिसो बढेको छ, हिमाली क्षेत्रमा हिउँ पर्न थालेको छ । हिमाली भेगका जनता कस्तो दुःखमा छन् । म भर्खरै विभिन्न दुर्गम ठाउँहरू हेरेर आएँ, पानी जमेको छ । बग्दै गरेका खोला जमेका छन् । त्यो खोलामाथि हिउँ यसरी जमेको छ, त्यसमा टेकेर पार गर्नुपर्ने अवस्था छ । त्यस्तो ठाउँमा मान्छे प्लास्टिकमुनि छ । त्यस्तो ठाउँमा मान्छे त्रिपालमुनि छ । अनि नेपाली जनताकै नेता हौँ भन्नेहरूचाहिँ नाकाबन्दी गरेर सामान ल्याउन नदिने र त्यहाँ निर्माण हुन नदिने काम गरिरहेका छन् । यत्रो लामो समयसम्म जनता दुःखकष्टमा छ, पुनर्निर्माण विधेयक पारित गर्न नदिएर अन्तिममा सरकारले भन्नुपरयो– अब सहमति हुँदैन भने पनि हामी अगाडि बढ्छौँ । बल्ल विधेयक पारित भएको छ । काम हुन नदिने, विधेयक पारित हुन नदिने, सामान ल्याउन नदिने, हिंसा मच्चाउने, तोडफोड मच्चाउने, घृणा फैलाउने, अनि भन्ने – सरकारले केही पनि गरेन । प्रहरीमाथि आक्रमण गर्ने, जिल्ला कार्यालयमा आक्रमण गर्ने, जिल्ला कार्यालयमा गएर कम्प्युटर तोडफोड गर्ने, कार्यालयमाथि आक्रमण गर्ने, प्रहरीमाथि आक्रमण गर्ने, आक्रमण गरेपछि प्रहरीले अलिकति रोक्न खोज्यो भने भन्ने – सरकारले उत्पात गरयो, दमन गरयो भन्ने । अहिलेको सरकार नेपाली जनताको सरकार हो । तमाम जनताको सरकार हो । हिमाल, पहाड, तराईमा बस्ने पूर्व वा पश्चिम सबैतिर बस्ने जुनसुकै पनि पेसा व्यवसाय अपनाएका तमाम जनताको साझा सरकार हो यो । यो सरकारले कुनै पनि नेपालीमाथि दमन गर्ने त कुरै छोडिदिऊँ, त्यसबारे सोच्न पनि सक्दैन ।
कानुन हातमा लिने, प्रहरीमाथि आक्रमण गर्ने काम कहाँबाट सुरु भयो ? कैलालीमा आठ जना निर्दोष प्रहरीमाथि आक्रमण भयो र मारिए । घटना त्यहाँबाट सुरु भयो । शान्तिपूर्ण आन्दोलन भन्ने, प्रहरीलाई क्रूरतापूर्ण ढङ्गले हत्या गर्ने । हत्या गर्नेहरू समातिए भने हाम्रो मान्छे गिरफ्तार भयो भनेर कोकोहोलो मच्चाउने ? तोडफोड गर्ने, पुलिस चौकीमा आगो लगाउने, बिरामीलाई एम्बुलेन्सबाट तानेर मार्ने, हस्पिटलबाट निकालेर बिरामीलाई चुट्ने, पिट्ने, अनि त्यसलाई रोक्यो भने सरकारी दमन भयो भन्ने ? म भन्न चाहन्छु, अहिलेको सरकार शान्तिको निम्ति काम गर्छ । हिंसा भड्काउन, कानुन हातमा लिन, मार्न, तोडफोड गर्न, आगो लगाउन, काटमार गर्न पाइने कुरा लोकतन्त्रमा हुनसक्दैन । सरकारले अहिलेसम्म धेरै संयम अपनाएको छ, तर म भन्न चाहन्छु, सरकारले शान्ति सुव्यवस्था कायम गर्नुपर्छ र गर्छ । कसैमाथि अन्याय गर्दैन, जथाभावी गर्न दिइँदैन, त्यो कुरा सबैले बुझ्नुपर्छ ।
यहाँहरूले सुन्नुभएको छ, कतै बसेका मान्छेलाई झापा, मोरङ, सुनसरी नभई भएन रे । यहाँका जनतालाई होइन, जनकपुरभन्दा अलि परतिरका मान्छेले झापा, मोरङ, सुनसरी मेरो हुनुपर्छ भन्छन् । के भनेको हो, म बुझ्दिन । झापा, मोरङ, सुनसरीका जनता मिलेर बसेका छन्, त्यहाँ फाटो कसरी पार्ने, ती परतिर बसेकालाई चिन्ता छ । यस ठाउँमा विकास भइरहेको छ, त्यस विकासलाई कसरी कुठाराघात गर्ने ? त्यसमा उनीहरूको ध्यान छ । यो ठाउँका जनता जातीय लडाइँमा परून्, पहाड र तराईको झगडामा फसून्, त्यो उनीहरूको इच्छा छ, तर म भन्न चाहन्छु – मेची, कोशी, सगरमाथा अहिले हामीले जुन १ नम्बर प्रदेश भनेका छौँ, यो १ नम्बर प्रदेशका कुनै पनि जिल्ला, कुनै पनि ठाउँ तलमाथि पर्दैनन्, जोसुकै कराओस् । यहाँ विकास जरुरी छ । मैले तपाईंहरूको इच्छा बुझेको छु । किमाथाङ्का जाने बाटो, दुई वर्षभित्र दुई लेनको पक्की सडक, बडा आरामदायी पक्की सडक यो सरकारले निर्माण गर्ने योजना बनाइसकेको छ । त्यो निर्माण हुन्छ । हुलाकी राजमार्ग हामी निर्माण गर्छौँ, आरामसँग चल्ने ढङ्गले । मध्यपहाडी राजमार्गको हामी स्तरोन्नति गर्छौँ । त्यसबाहेक धनकुटा–तेह्रथुम बाटोलाई हामी विकसित गर्छौँ । वसन्तपुर हुँदै अन्ततिर जाने बाटाहरू अथवा मेचीका बाटाहरू पनि हामी स्तरोन्नति गर्छौँ । यस ठाउँमा उद्योगहरूको स्थापना, उद्योगहरूको विकास, रोजगारीहरूको सिर्जना, त्यसै गरेर कृषिको आधुनिकीकरण, पशुहरूको नश्लसुधारजस्ता कुराहरू गरिनेछ । यहाँ साथीहरूले भन्नुभएको छ, सर्पको विष झार्ने वा सर्पको विषलाई उपचार गर्ने औषधि बाहिरबाट ल्याएर काम गरिएको छ, अब यहीँ उत्पादन गर्ने भनेर साथीहरूले भन्नुभएको छ । यस कुरामा सरकारले सहयोग पुरयाउँछ । म यहाँहरूलाई कुनै भावनामा नबग्नका लागि आग्रह गर्न चाहन्छु ।
नेपाल यसै पनि सुन्दर छ, यस क्षेत्रमा सगरमाथा, ल्होत्से, मकालु, कञ्चनजङ्घा जस्ता ८ हजार मिटरभन्दा माथिका ५ वटा हिमालहरू रहेका छन् । त्यसैगरी ५ हजारभन्दा माथिका ५ वटा हिमालहरू छन् । यसै ठाउँमा प्रसिद्ध गुराँसका अनेक प्रजातिहरू छन्, पक्षीहरूमा भन्ने हो भने धेरै प्रकारका पक्षीहरू यहीं धनकुटा, मिल्के क्षेत्रमा, भोजपुर, तेह्रथुमका क्षेत्रहरूमा, संखुवासभाका क्षेत्रहरूमा पाइन्छन् । मैले भनेको छु, यहाँका तीर्थस्थलहरूलाई विकास गरिनेछ । पाथीभरा जानका लागि केबलकारको व्यवस्था गरिनेछ । दुर्गम ठाउँहरूका लागि केबलकारको व्यवस्था गरिनेछ । अरू बाटाघाटाहरू पनि हामी बनाउनेछौँ । चतराबाट पुल बनेको छ, सिन्धुली सोझै निस्कने बाटो खुला गर्नेछौँ, स्तरोन्नति पनि गर्नेछौँ । यस ठाउँमा तपाईंहरूले देख्नुहुनेछ, आगामी दुई वर्षभित्रमा अहिलेको सरकारले के के गर्छ भन्ने कुरा तपाईंहरूले थाहा पाउनुहुनेछ । काग कराउँदै गर्छ हामी विकास गर्दै गर्छौँ । उता काग कराउँदै गर्छ, यो क्षेत्र अगाडि बढ्दै जान्छ । काग कराउँदै गर्छ, हाम्रो किमाथाङ्का बाटो बन्दै गर्छ । काग कराउँदै गर्छ, हामी विकासका आयोजनाहरू बनाउँदै गर्छौँ ।
मैले यसभन्दा अगाडि नै घोषणा गरेको छु – एक वर्षभित्रमा हामीले लोडसेडिङ समाप्त पार्छौँ, विजुली हरेकले प्रयोग गर्न पाउनेछन् । हामी आफ्नै ग्याँस उत्पादन गरेर, नेपालमा नै कुकिङ ग्याँस उत्पादन गरेर नेपालमा नै उपभोग गर्नसक्ने स्थितिमा पुरयाउँछौँ । अब अरूलाई टाउको किन दुख्ने ? नेपालले ग्याँस उत्पादन गर्छ, केही समय तपाईंहरू हेर्दै जानुुस् । अलिकति समय हामीलाई घाँटी अँठ्याइयो, अलिकति समय हामीलाई अप्ठ्यारोमा पारियो, तर हामी ती अप्ठ्याराहरू पार गरेर अब अगाडि बढ्छौँ । मैले भनेको छु, काठमाडौँमा त केही महिनाभित्र इलेक्ट्रिक कारहरू, इलेक्ट्रिक बसहरू सुरु गर्छु । काठमाडौँमा इलेक्ट्रिक रेल सुरु गर्छु, काठमाडौँमा चारैतिरबाट – दक्षिणकालीदेखि बुढानीलकण्ठ, पूर्वदेखि पश्चिमसम्म रिङ्गरोडमा विद्युतीय रेलको सुरुवात गर्छु भनेर मैले भनेको छु । त्यसो भएपछि हाम्रो फ्यूल अथवा पेट्रोलियमको खपतको, प्रदूषणको धेरै मात्रा घट्छ । अहिले फोहरमैलाबाट ग्याँस उत्पादन गर्ने, फोहरमैलाबाट बिजुली उत्पादन गर्ने काम सुरु भएको छ । ती कुराहरूमा आजको उच्चस्तरीय प्रविधिको प्रयोग गरेर हामी अगाडि बढ्छौँ । यी कुरा सुनिसकेपछि भरे केहीलाई चित्त दुख्छ, ती छट्पटाउँछन् । तिनलाई निद्रा लाग्दैन । तिनलाई पिर पर्छ, नेपाल साँच्चै बन्छ कि क्या हो ? कतिपय पार्टीहरूलाई लाग्छ यहाँ एमालेको प्रधानमन्त्रीले, एमालेबाट गएको प्रधानमन्त्रीले यसो भन्यो । एमालेले जस लियो भने अरूलाई टेक्न गाह्रो हुन्छ । खुट्टै टेक्न दिँदैन कि क्या हो ? पहिले नै ढाल्नुपर्छ ।
मैले धेरै ठाउँमा भन्ने गरेको छु – मलाई कति समय बाँच्छु भन्ने कुराको मतलब छैन । जति समय बाँच्छु, देश र जनताका लागि इमान्दारिताका साथ काम गर्छु । कति समय प्रधानमन्त्रीको पदमा बस्ने मेरो सरोकारको विषय होइन, जुन दिन जतिबेलासम्म बस्छु, त्यतिबेलासम्म जनताका विकासका निम्ति तीव्रताका साथ काम गर्छु । तपाईंहरूलाई सुनाइदिऊँ अहिले पनि १६ देखि १८ घण्टासम्म काम गरिरहेको छु ।
नेपाल सुन्दर मात्रै होइन, अत्यन्तै ठूला सम्भावनाहरू बोकेको सम्पन्न देश हो । यस सम्पन्न देशलाई त्यसैगरी अगाडि बढाउनुपर्छ । यस पूर्व–पश्चिम राजमार्गलाई वन क्षेत्रमा, शहर क्षेत्रमा प्राविधिक कारणले ४ लेनदेखि ६ लेन र ८ लेनसम्म बनाएर लगिनेछ । यसलाई ठूलो बनाइन्छ । हुलाकी राजमार्गको निर्माण कामलाई तीव्रताका साथ अगाडि बढाइनेछ । तपाईंहरूलाई मैले एउटा कुरा भन्नैपर्छ – हामी विकास निर्माण गर्न चाहन्छौँ, विकास निर्माण गर्ने काममा कुनै प्रकारका बाधा व्यवधान, कुनै प्रकारका अल्झाउने कुराहरू, देश र जनतालाई सरकारले सुख–सुविधा पुरयाउन आँट्यो भनेर व्यवधान गर्ने कुराहरू मान्य हुन सक्दैनन् । म सबैलाई आग्रह गर्न चाहन्छु – राजनीति गर्नोस्, आफ्ना विचार राख्नोस् । लोकतन्त्रमा विचार राख्न पाइन्छ, असहमति राख्न पाइन्छ, तर आगो लगाउन पाइँदैन । अरुणको कार्यालय जलाइयो, करिब करिब ४०, ५० लाखको नोक्सानी भयो । कसैले कुनै पनि कार्यालय, कुनै आयोजनामा आगो लगाउँछ भने थाहा पाउनुपर्छ, कानुनबमोजिम कारबाही हुन्छ । बसले के अपराध गरयो र तोडफोड गर्ने ? सरकारले सहनसम्म सहेको छ, अब सरकार सहँदैन ।
तपाईंहरूले अखबारमा देख्नृुभयो होला, राजिनामा गर भन्ने । मलाई अघि पत्रकारहरूले सोधेका थिए, राजिनामा गर् भने नि भनेर । उसैबेला भोट नदिएकाले अहिले राजिनामा गर् भनेर भन्यो भने कुन ठूलो कुरा भयो ? भोट पनि दिएका थिएनन् । त्यतिबेलै भोट नदिएको त मान्दिनँ भनेर भनेकै हो नि । भोट दिनेले मागेको भए त भोट दिएको थियो भन्नुहुन्थ्यो । त्यस्तो कुरा होइन ।
नेकपा (एमाले) एकजुट छ, एक ढिक्का छ, एमालेका नेता, कार्यकर्ताहरूले अत्यन्त सुझबुझका साथ आज देशको जिम्मेवारी बहन गरेका छन् । मान्छेहरूले यसो चर्चा गरेको सुनिन्छ, एमाले त राष्ट्रपति पनि भयो, एमाले त प्रधानमन्त्री पनि भयो । एमालेले वामपन्थी उपराष्ट्रपति पनि बनायो, सभामुख पनि बनायो । नेपाली काङ्ग्रेसलाई हामीले राष्ट्रपति खाऊ न त भनेकै हो । होइन सबै चाहिन्छ भन्यो । त्यसो भएदेखि सकेको गर् भनिदियौँ हामीले । भएको त्यो मात्र हो । अहिले पनि म नेपाली काङ्ग्रेसलाई आग्रह गर्न चाहन्छु, यतिबेला आक्रोश, आवेश, उत्तेजनामा चल्ने समय छैन, देशले लोकतान्त्रिक शक्तिहरूका बीचमा एकताको आवश्यकता माग गरेको छ । जनता चाहन्छन्– पार्टीहरू मिलेर चलून् । नेपाली काङ्ग्रेसका हरेक नेताका दुइवटै कान देखिन्छन्, सुन्छन् कि सुन्दैनन् त्यो ?
हामीले हाम्रो तर्फबाट काङ्ग्रेसको राष्ट्रपति पनि मान्यौँ, प्रधानमन्त्री पनि मान्यौँ । सबै कुरा काङ्ग्रेसै हुँदाखेरि हामीले सहयोग गरयौँ । काङ्ग्रेसलाई हामीले साथ दियौँ । हामीले भनेको होइन, काङ्ग्रेसले नै भनेको हो – अहिले हामीलाई साथ देऊ, पछि संविधान बनेपछि एमालेले नेतृत्व गर् भनेर । हामीले मागेको थिएन, काङ्ग्रेसले नै भनेको हो । हामीले हुन्छ नि त भन्यौँ । संविधान बनेपछि काङ्ग्रेस के भो ? कसले उल्क्यायो कि ? काङ्ग्रेसले भाका फेरयो । हामीले भन्यौँ, हामीले भनेको होइन, तपाईंले भनेको कुरा गर्नुहोस् न । काङ्ग्रेसले मानेन । कसैले भनिदियो, राष्ट्रपति पनि तिम्रै हुन्छ, प्रधानमन्त्री पनि तिमी नै हुन्छौ । सभापति पनि तिमी नै हुन्छौ, सबै तिमी नै हुन्छौ । अनि काङ्ग्रेस सबै आफैँले लिनका लागि कस्सिएर मैदानमा उत्रियो ।
म आग्रह गर्न चाहन्छु, एउटा च्याप्टर सिद्धियो, अब मिलेर अगाडि बढौँ, मिलेर अगाडि जाऔँ, देश बनाऔँ । अहिले देश बनाउने बेला छ, जसले राम्रो काम गर्छ, जसले देशलाई अगाडि बढाउँछ, जनताले उसलाई साथ दिइहाल्छ । काङ्ग्रेसले यो कुरालाई बुझ्नुपर्छ । नेकपा (एमाले)को तर्फबाट म भन्न चाहन्छु – नेकपा (एमाले) यी प्रश्नहरूमा छोटो मन, छोटो बुद्धि, साँघुरो मन वा तत्कालीन स्वार्थ, दलगत स्वार्थ यस्तोमा अल्मलिएर राष्ट्रका हित, जनताका हितलाई पछाडि पार्ने काम गर्दैन । एमाले अगाडि छ, फराकिलोपनका साथ । अहिले तपाईंहरू विचार गर्नसक्नुहुन्छ, राप्रपा नेपालदेखि, राप्रपादेखि अनेक पार्टीहरू – एमाओवादीसम्म हुँदै गएर कहिले पनि सरकारमा नआउने भनेको राष्ट्रिय जनमोर्चासमेत सरकारमा सहभागी भएको छ । एउटा ध्रुवदेखि अर्को ध्रुवका शक्तिहरू सरकारमा आएका छन् । देश बनाउने साझा सङ्कल्पमा एक ठाउँमा उभिएका छन् । यस ठाउँमा काङ्ग्रेस फुत्त परतिर गएर पिर्कामा बसेर कहिले कपाल लुछ्छ, कहिले पाखुरा सुर्किन्छ, कहिले के गर्छ । तमासा भयो । म आग्रह गर्न चाहन्छु, काङ्ग्रेसजस्तो परिपक्व पार्टीले यस प्रकारको व्यवहार देखाउनु हुँदैन । सरकारमा आउनोस्, मिलेर चलाऔँ । मैले प्रधानमन्त्रीको निर्वाचनपछि भनेको थिएँ – काङ्ग्रेसलाई हात्ती घोडा के चाहियो, दिन तयार छु, आउनुहोस् सँगै जाऔँ तर उहाँहरू आउनु भएन ।
अहिले तराईमा भ्रम फिँजाउन खोजिएको छ । तराईका जनताले केही पाएनन्, मधेसीले केही पाएनन् भनेर । मधेसीले के पाउने ? संविधानको कुनै धारामा कसैप्रति असमानता र विभेद छ ? बिल्कुल छैन । यो संविधान कुनै राजा, महाराजाले जारी गरिदिएको संविधान होइन, सबै क्षेत्र, वर्ग, तह, तप्काका प्रतिनिधिहरूले सोची विचारीकन, जनताका सुझावहरू लिएर धेरै लामो प्रयास गरेर बनाएको संविधान हो । यसमा जनताका समानताका हकहरू, लोकतान्त्रिक प्रणालीका मूल्यमान्यताहरू सबै सामेल छन् । प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, जनउत्तरदायी सरकार यस्ता कुराहरू सबै छन् । शक्तिको बाँडफाँडदेखि लिएर सबै कुरा छन् । संसारमा कहीं हुँदैन होला, १६ देखि ४८ धारासम्म लगातार मौलिक हकको सम्बन्धमा व्यवस्था गरिएको छ । जम्मा ३३ वटा धारा मौलिक हकसम्बन्धी छन् । धारा ४६ सम्म मौलिक हकहरू, ४७ औँ धारा ती मौलिक हकहरूको कार्यान्वयन कसरी हुने भन्ने सम्बन्धमा छ । ४८ औँ धारामा नागरिकका कर्तव्य पनि छन् भन्ने कुरा सम्झाइएको छ । त्यसकारण संविधानमा यो भएन, त्यो भएन भन्ने कुरा होइन, अहिले धेरैलाई भ्रम परेको छ र भ्रम फिँजाइएको छ । विवाह गरी ल्याएका हाम्रा बुहारीहरूले अङ्गीकृत नागरिकता पाउँदैनन् भन्ने भ्रम फैलाइएको छ । तपाईंहरूलाई बताऊँ, तीन दिन अगाडिसम्म मैले डाटा लिँदा आश्विन ३ गते संविधान जारी भइसकेपछि ५९६ जना बुहारीहरूले भारतबाट बिहे गरेर आएर नेपालको नागरिकता लिइसकेका छन्, अनि संविधानमा व्यवस्था छैन भनेको के हो ? साँचो कुरा कतै नहेर्ने, राम्रो कुरा नसुन्ने । सत्य बोल्दै नबोल्ने, देख्दा पनि नदेख्ने । अचम्मको रोग र भ्रम फिँजाउन मन पराउने । झूट बोल्न मन पराउने । त्यसप्रकारका प्रवृत्तिहरू देखिएका छन् ।
एउटा कुरा, विदेशी कोही आयो भने उसले अङ्गीकृत नागरिक हुनेमात्रै अधिकार होइन, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानसेनापति सबै हुन पाउनुपर्छ भन्ने छ । यस देशमा यहाँका बासिन्दा, वंशजका आधारमा नागरिक भएका, यहाँका नागरिकहरूचाहिँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख हुन योग्य छैनन् र बाहिरबाट आएर नागरिकता लिएर बन्नुपर्छ ? अङ्गीकृत नागरिकलाई त्यो दिइँदैन, तिनका सन्तानले प्राप्त गर्नेछन् । त्यो कुरा यहाँको मात्र होइन, धेरै देशको संविधानमा छ, संविधानमा छैन भने व्यवहारमा छ । भारतमा हामीले हेरयौँ, बहुमत ल्याएर प्रधानमन्त्री हुन खोज्दा एक जनालाई अर्को देशको उत्पत्ति भएको हुनाले प्रधानमन्त्री हुनुहुँदैन भनेर रोक्ने काम भएको छ । यो दुनियाको अभ्यास हो ।
हाम्रो संविधानले पछाडि परेको समुदायलाई अगाडि बढाउनका लागि विशेष व्यवस्था गरेको छ । दुनिया आश्चर्यचकित भएको छ, नेपालको संविधान देखेर । संसारको कुनै पनि संविधानमा ३३ प्रतिशत अनिवार्य महिला आरक्षण छैन, नेपालको संविधानमा मात्रै हो, दुनिया आश्चर्यचकित भएको छ । हामीले कुरा गरिराखेका छौँ, दुनियाका अनेक नेताहरूसँग, राजदूतहरूसँग, सबै मित्रहरूसँग कुरा गरिराखेका छौँ, उनीहरू चकित परेका छन् । जनजाति, आदिवासी, दलित, महिला, मधेसी, थारू, मुस्लिम, अल्पसङ्ख्यक र पछाडि परेका समुदायका लागि ४५ प्रतिशत आरक्षणको व्यवस्था छ । ५५ प्रतिशत खुल्ला प्रतिस्पर्धामा पनि उनीहरूले भाग लिन पाउने व्यवस्था छ । ५५ प्रतिशतमा पनि भाग लिन पाउने र ४५ प्रतिशत ती समुदायका लागि मात्र आरक्षणको व्यवस्था छ । संसारको कुनै संविधानमा त्यस्तो छ ? कुनै संविधानमा त्यस्तो छैन । त्यो नेपालको संविधानमा छ । त्यसो भएर हामीले कुनै भ्रम राख्नुहुँदैन । संविधानले कसैलाई ठग्यो, मधेसलाई ठग्यो, पहाडलाई ठग्यो, पूर्वलाई ठग्यो, पश्चिमलाई ठग्यो भन्ने कुरा भ्रममात्रै हो । संविधानले सबैलाई समानताको हक दिएको छ । बरु पछाडि परेको हिस्सालाई अगाडि बढाउने व्यवस्था गरेको छ ।
राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८ जना जान्छन्, ८ जनामध्ये ३ जना महिला आनिवार्य हुनुपर्दछ । एकजना दलित अनिवार्य हुनुपर्दछ । शारीरिकरूपमा अशक्त एकजना हुनुपर्दछ । ५ जना आरक्षित, ३ जनामात्रै राज्यले अरू पठाउन सक्दछ । संसारको कुनै संविधानमा यस्तो छैन । त्यसकारण म दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु – अनेक प्रकारका भ्रमहरू फिँजाउने प्रयासहरू हुनसक्दछ, सचेत रहनु होला । अरूका हितका निम्ति नेपाललाई दुःख दिने, अरूका हितका निम्ति नेपालको विरुद्ध काम गर्ने, अन्तका मान्छे खुसी पार्न नेपाली जनतालाई दुःख दिने– यस्ता प्रवृत्तिलाई जनताले अस्वीकार गर्नुपर्दछ । तराईका जनताले यति दुःख पाएका छन् कि यस्ता प्रवृत्तिहरूले गर्दा स्कूलमा केटाकेटी पढ्न पाएका छैनन् । बिरामी अस्पताल जान पाएका छैनन् । सुत्केरी हुने महिलाहरू अस्पताल जान पाएका छैनन् । अस्पतालमै गएर बिरामीलाई कुट्ने गरिएको छ । अस्पताल लाने एम्बुलेन्स जलाइएको छ । अस्पताल जाने बिरामीलाई बाटैमा हत्या गरिएको छ । यस्तो अमानवीयता, यस्तो बर्बरता ! यो कुनै मानवीय तरिका हो र ?
यहाँहरूले सुन्नुभयो, अस्ति १ गते महामहिम राष्ट्रपति जनकपुर जानुभयो, जानकीको दर्शन गर्न । यो सांस्कृतिक प्रचलन हो । सांस्कृतिक परम्परा हो । राष्ट्रपति जाँदा केहीले महान् अग्रगामी, क्रान्तिकारी भनिनेहरूले राष्ट्रपति जानुहुँदैन भने । राष्ट्रपति फर्केर आएपछि नेपालको राष्ट्रपतिले छोएर मन्दिर अपवित्र भयो भनेर भारतबाट पानी ल्याएर छम्किए । नेपालको राष्ट्रपतिले छुँदा अपवित्र भयो, भारतबाट पानी ल्याएर छम्किएपछि पवित्र भयो, कठैबरी ! भक्तिको पनि त एउटा तरिका हुन्छ । उनीहरूले अपमान गरे, महिला भएको हुनाले । महिला राष्ट्रपति किन पसेको ? अर्को उनीहरूले भने, राष्ट्रपति त विधवा हुनुहुँदो रहेछ, एकल महिला । आजको जमानामा महिला भएको कारणले अपमान गर्ने, असभ्य व्यवहारलाई आजको सभ्य संसारमा कसैले स्वीकार गर्छ ? राष्ट्रपति जस्तो देशको अभिभावकीय एकताको प्रतीक जस्तो । त्यस्तो संस्थालाई अपमानित गर्ने यस्ता उच्छृङ्खल क्रियाकलाप । जो नेताले तिनलाई खटाए, ती नेताहरू भन्छन्, राष्ट्रपति किन गएको त ? गल्ती भयो, त्यो पनि छैन । असभ्यता देखाइयो, त्यो पनि छैन । सेना, प्रहरीले बाहिरबाहिर बुठ लगाएर हिँडेको थियो, त्यसमा उनीहरूको आपत्ति, मन्दिर भएको भित्र चाँदीको ढोकामा गएर उनीहरूले लात्ताले हानेर हाम्रो सांस्कृतिक परम्परा, हाम्रो मर्यादा, हाम्रो धार्मिक आस्थामाथि जघन्य, अपराधपूर्ण ढङ्गले आक्रमण गरे । जुत्तासहित चाँदीको ढोकामा हाने, चाँदीको ढोकालाई भित्र देवता राखेको गर्भाशय मानिन्छ । गर्भ भन्छौँ त्यसलाई । त्यसलाई लात्ताले हाने । संस्कृतिमाथि लात्तीले हान्ने । कसैलाई विश्वास लाग्छ बेग्लै कुरा होला । कसैलाई मन्दिरमा विश्वास नलाग्ला, कसैलाई मस्जिदमा विश्वास नलाग्ला, कसैलाई चर्चमा विश्वास लाग्ला, नलाग्ला, ती आफ्ना ठाउँमा छन् । आ–आफ्ना ठाउँको कुरा होलान् तर जनताको आस्था, विश्वासमाथि खेलबाड गर्ने, त्यसप्रकारको दुष्ट क्रियाकलाप, त्यस प्रकारको गैरजिम्मेवार प्रवृत्ति उचित हुन सक्दैन ।
अहिलेको सरकार नेपालको सरकार हो । नेपाल, नेपालका जनताको सेवा गर्न बनेको, नेपालको विकास गर्न बनेको सरकार हो । यसले देशको सार्वभौमसत्तालाई तल–माथि हुन दिँदैन । स्वाधीनतालाई तलमाथि हुन दिँदैन । स्वतन्त्रतालाई तलमाथि हुन दिँदैन । भौगोलिक अखण्डतालाई तलमाथि हुन दिँदैन । यसले नेपालको स्वाभिमानलाई झुक्न दिँदैन । यो यस नेपाल राष्ट्रको पहरेदार हो । हामीले भनेका छौँ – हामी आफ्ना समस्याहरूको आफैँ समाधान गर्छौँ । हाम्रो यतिबेलाको उद्देश्य संविधान कार्यान्वयन गर्दै देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने हो । हामी समृद्धिको बाटोमा देशलाई अगाडि बढाउँछौँ ।
अब पनि नेपाल गरिब भइरहन सक्दैन । नेपाल पछाडि परिरहन सक्दैन । नेपाली जनता गरिब भइरहन, नेपालका युवायुवतीहरू विदेशमा भौँतारिरहन, अन्त गएर काम गरिरहन अब सक्दैनन् । यहीँ रोजगारीको विकास, यहीँ सीप विकास, यहीँ उद्योगधन्दा, यहीँ आधुनिकीकरण सबै चीज हामी गर्छौँ र केही वर्षभित्र विदेश गएका युवा बोकेर होइन, फर्किएर आउने, फेरि विदेश जान्न, आफ्नै देशमा काम गर्छु भन्ने अवस्था हामी सिर्जना गर्छौँ । हाम्रा यी प्रयासहरूमा म सञ्चार माध्यमहरूलाई आग्रह गर्न चाहन्छु – सञ्चार माध्यमहरूले अत्यन्तै जिम्मेवारीपूर्ण ढङ्गले देश विकासको, राष्ट्र निर्माणको यस अभियानमा सकारात्मक भूमिका खेल्नुपर्दछ । म धन्यवाद भन्न चाहन्छु, उहाँहरूले त्यो भूमिका खेल्नुभएको छ । म धन्यवाद भन्न चाहन्छु – हाम्रा बुद्धिजीवीवर्गलाई । आमजनतालाई धन्यवाद भन्न चाहन्छु, जसले राष्ट्रिय दृष्टिकोण, राष्ट्रिय अडान देखाउनुभएको छ र दुःखकष्ट परेपनि राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिने, जुन देशभक्ति प्रकट गर्नुभएको छ, त्यसलाई म साँच्चै नै सम्मान गर्न चाहन्छु ।
वर्तमान अवस्थामा सरकारको नेतृत्व गरिरहेको, सामान्य अवस्थाको सरकारको नेतृत्व होइन, अत्यन्तै जटिल अवस्थामा सरकारको नेतृत्व गरिरहेको पार्टीको यस सुनसरी जिल्लामा यति महत्वपूर्ण कार्यक्रम छ, यसले आफ्ना अभिभाराहरू पूरा गर्ने गरी आफूलाई प्रस्तुत गर्नेछ भन्ने मैले विश्वास लिएको छु । अहिले म अरू धेरै कुरा भन्ने भन्दा पनि यहाँहरूको साथ सहयोगको अपेक्षा गर्दछु र भन्न चाहन्छु – तपाईंहरूले जुन विश्वास दिनुभएको छ, त्यसलाई तलमाथि पर्न दिइने छैन । तपाईंहरूले जुन आशा गर्नुभएको छ, त्यसलाई पूरा गरिनेछ । तपाईंहरूले जुन भरोसा गर्नुभएको छ, त्यसलाई पूरा गरिनेछ । जनताले गरेको विश्वास एमालेले तलमाथि हुन दिँदैन । यो विकासको अगुवा हो, यो देशभक्तिको पहरेदार हो र यो पार्टी राष्ट्रिय एकताका साथ अगाडि बढ्न चाहन्छ ।
(२०७२ पुस ६ गते इटहरीमा आयोजित सुनसरी जिल्ला परिषद् बैठकको उद्घाटन समारोहको सम्बोधन)