कार्यक्रमका अध्यक्ष महोदय, पूर्व सांसदज्यूहरू र विभिन्न सङ्घसंस्थाहरू खासगरी थारू समुदायसँग सम्बन्धित सङ्घसंस्थाहरूबाट आउनुभएका अगुवा साथीहरू, सम्पूर्ण अतिथि महानुभावहरू र यस उल्लासमय चाडलाई आत्मसात गर्न र यसलाई मनाउन यहाँ उपस्थित हुनुभएका सम्पूर्ण थारू दाजुभाइ, दिदीबहिनीहरू, नेपाल सरकारको तर्फबाट र मेरो आफ्नो तर्फबाट पनि माघीको यस अवसरमा हार्दिक शुभकामना भन्न चाहन्छु । सबैमा धेरैधेरै शुभकामना ! साथै, यहाँहरूमार्फत यस कार्यक्रममा सहभागी नहुनुभए तापनि देशभरिका र विदेशमा समेत पुगेका हाम्रा सम्पूर्ण थारू दाजुभाइ, दिदीबहिनीहरूलाई शुभकामना भन्न चाहन्छु । त्यसैगरी सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई पनि माघीको शुभकामना भन्न चाहन्छु ।
यो माघी अथवा माघे सङ्क्रान्ति सबै नेपालीको चाड हो । विभिन्न ढङ्गले सबै नेपालीहरूले यसलाई मनाउने गरेका छन् । परिकारको केही थोरै भिन्नता होला । तरिकाको केही थोरै भिन्नता होला, तर हाम्रो संस्कृतिमा मकर सङ्क्रान्ति वा माघे सङ्क्रान्तिलाई साधारणतया मौसम गर्मीतर्फ लाग्ने समय–क्रमका रूपमा लिइन्छ । थुप्रै ठाउँहरूमा, थुप्रै देशहरूमा यस अवसरलाई नयाँ वर्षको रूपमा मानिन्छ र अरू समाजले पनि यसलाई आफ्नो नयाँ वर्षको रूपमा मनाउँछन् । थारू समुदायको यो सबभन्दा महत्वपूर्ण चाडको रूपमा रहेको छ । यस अवसरमा तपाईंहरू सबैमा म फेरि पनि खुसीयाली साट्नका निम्ति, शुभकामना साट्नका निम्ति र सबैमा शुभेच्छा व्यक्त गर्नका निम्ति यस अवसरलाई प्रयोग गर्न चाहन्छु ।
मान्छेमा अलिकति भ्रम पनि छ । जाडोले मान्छे कठ्याङ्ग्रिएका छन्, तर सरकार कानमा तेल हालेर बसेको छ भन्ने भर्खरभर्खर पनि सुनेको सुन्यै छौँ हामी । सरकारले कानमा तेल हालेको छैन । सरकार भर्खरभर्खर बन्यो । यसले आफूले गर्नुपर्ने काम स्लिपिङ ब्यागदेखि लिएर सबै कुराहरू कसरी पुरयाउन सकिन्छ, ती कुराहरू तदारुकताका साथ पुरयाउन कोसिस गरेको छ । पुनर्निर्माणका लागि कानुन थिएन, त्यो कानुन अहिले बनेको छ । पुनःनिर्माण प्राधिकरण थिएन, त्यो बनेको छ । गृह मन्त्रालयमार्फत तीन दिन अगाडिमात्र मैले विभिन्न ठाउँहरूमा तत्काल गएर अवस्था बुझ्न, त्यहाँ के गर्नुपर्छ भनेर जानकारी लिन र ती ठाउँहरूमा सहयोग पुरयाउन बहुतै स्पष्ट आदेश दिएको छु । यहाँहरूलाई बताऊँ – भूकम्पबाट क्षति भएका ठाउँहरूको पुनर्निर्माणका लागि भोलि माघ २ गतेबाट हामी राष्ट्रिय पुनर्निर्माणको एउटा महाअभियान सुरु गर्दैछौँ । भोलि ११.४५ बजे रानीपोखरीबाट सम्माननीय राष्ट्रपतिज्यूले त्यस राष्ट्रव्यापी महाअभियानको सुरुआत गर्नुहुनेछ, जहाँ नेताहरू, सबै क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ । हामीले योजना बनाएका छौँ, हामीले समितिहरू बनाएका छौँ र कामलाई अगाडि बढाएका छौँ । माघ ५ गतेबाट देशका विभिन्न ठाउँबाट अर्को चरणमा फेरि न्याना कपडाहरू, ज्याकेटहरू, स्लिपिङ ब्यागहरू, कम्बलहरू वितरण गर्ने पनि हामीले कार्यक्रम राखेका छौँ । सरकारले मात्र नसकेका ठाउँमा बाह्य संस्थाहरूलाई पनि आग्रह गरेर हामीले सामान वितरण गर्नेछौँ । पर्सि आइतवार पनि केही सामानहरू आउँदैछन् र हामी तिनलाई वितरण गर्दैछौँ ।
हाम्रो देश गरिब छ, नाकाबन्दीले भन्सार चलेका छैनन्, राजस्व उठेको छैन । पेट्रोल डिजलको अभावमा सामानहरू पुरयाउन सजिलो छैन । हिमाली भेग चुरेभावर जस्तो वा तराई जस्तो सजिलो छैन, हिमाली भेग एउटा गाविसबाट अर्को गाविसमा जान १ हप्ता लाग्छ । एउटा वडाबाट अर्कोमा पुग्न कतिपय ठाउँहरूमा केही दिन लाग्छ । त्यहाँ बाटो छैन । त्यस्ता ठाउँहरूमा हामी पुगेका छौँ र जनतालाई सक्दो सहयोग पुरयाउने कोसिस गरेका छौँ ।
आज हामी माघे सङ्क्रान्ति मनाइरहेका छौँ, घिउ चाकु, तरुल अथवा खिचडी आफ्नो ढङ्गले प्रचलनअनुसारका परिकारहरू खाइरहेका छौँ तर मलाई चिन्ता छ – मेरो देशका दाजुभाइ, दिदीबहिनीहरूलाई अहिले पनि चिसोमा कठ्याङ्ग्रिएर अप्ठ्रोमा बाँचिरहनु परेको छ । मैले त्यहाँ स्वास्थ्य सामग्रीहरू पठाएको छु, त्यहाँ राहतका सामग्रीहरू पठाएको छु । त्यहाँ न्याना कपडाहरू पठाएको छु । अहिलेसम्ममा हामीले लगभग ६ अर्व रुपैयाँ न्याना कपडाका लागि बाँडेका छौँ । त्यसकारण साथीहरूलाई यो भ्रम नहोस् कि सरकार कानमा तेल हालेर बसेको छ ।
तपाईं हामीलाई थाहा छ, हाम्रो देशको क्षमता कति छ, देशको अवस्था कस्तो छ भन्ने । दुर्गम पहाडी, हिमाली भेगसमेत हाम्रो देशमा छ । हामी अभावको बीचमा छौँ, सम्पूर्ण जनता अभावको बीचमा छन् । अर्को पाटोमा भन्न चाहन्छु – जनता दुःखको अवस्थामा छन्, पीडाको अवस्थामा छन्, त्यसप्रति म अत्यन्तै गम्भीर छु । सरकार गम्भीर छ र हामी सक्दो प्रयास गरिरहेका छौँ र छिट्टै नै यस दुःखको अवस्थाबाट पीडित जनतालाई माथि उठाउन अथवा मुक्त गर्न हामी चाहन्छौँ ।
नेपाल जस्तो सुन्दर देश, नेपाल जस्तो समृद्ध देश गरिब छ । यहाँ टाठाबाठाले गरिखाए, सोझासीधा जनतालाई सदैव पछाडि पारे । म यहाँहरूलाई भन्न चाहन्छु – अहिले आएको यस प्रधानमन्त्रीले यो अवस्थामा जनतालाई पुरयाएको होइन । यो अवस्थामा यसभन्दा अगाडिका सरकारले पुरयाए, यो कुरा मैले धेरै ठाउँमा भन्ने गरेको छु । यही ढङ्गले अघि जान सक्दैन नेपाल । अब तीव्र विकासका साथ एक वर्षभित्र लोडसेडिङ समाप्त पार्छु । किन त्यसो भनिस् भनेर भन्नेहरू पनि छन्, तर मेरो ठम्याइ छ – अब यो कछुवा गतिमा नेपाल हिँड्न सक्दैन ।
मैले भन्ने गरेको छु, गाउँमा जन्मिएर हुर्केर आएको एउटा किसानको छोरो देशको प्रधानमन्त्रीको ठाउँमा छ भने मैले किसानका समस्या हेर्नुपर्छ, जनताका समस्या हेर्नुपर्छ । म सिंहदरबारमा फोटो झुन्ड्याउन गएको होइन, देशमा परिवर्तन गर्न गएको हुँ, विकास गर्न गएको हुँ । म काम गर्छु, कराउने कराउँदै गर्छन् । हामी फोहरमैलाबाट ग्याँस निकाल्छौँ । उत्खनन गरेर ग्याँस निकाल्छौँ । अन्यत्रबाट ग्याँसका पाइपलाइन ल्याउँछौँ, जे सुकै गरेर भए पनि अहिलेको जमानामा चुलाचुलामा ग्याँस पुग्नुपर्छ । अलिकति समय लाग्छ तर हामी गर्छौँ । बुद्धिजीवीहरूलाई थाहा होस्, कलमबाजहरूलाई थाहा होस् यहीँ हाम्रो छिमेकको बङ्गलादेश, हाम्रोजस्तै देशमा चुलाचुलामा ग्याँसको पाइप पुगेको छ । विद्वानहरूलाई थाहा छ कि छैन ? त्यही पाकिस्तानमा चुलाचुलामा पुगेको छ । हाम्रो यहाँ कठिनाइ छ, अब सबैले कठिनाइमा बानी पार्ने ? अब यसमा बानी पर्ने होइन । अब हाम्रो देशका कुनै पनि जातजातिका जनता, भाषाभाषीका जनता, कुनै पनि ठाउँमा बस्ने जनता बेरोजगार र गरिब हुनुहुँदैन । अशिक्षित हुनुहुँदैन । स्वास्थ्य उपचार पाउन नसक्ने अवस्थामा हुनुहुँदैन । सरकारको काम विकासको योजनालाई अगाडि बढाउने हो । जनतालाई सुख सुविधा दिने हो । त्यो कामतिर अहिलेको सरकार लागेको छ । अब कसैलाई सुनेपछि डर लाग्छ । अब यो सरकारले त्यस्तै काम गरेपछि त बर्बादै भो । यो सरकारले त्यस्तै काम गर्नेछ । मैले भनेँ काठमाडौँमा इलेक्ट्रिक बसहरू चलाउने, कारहरू चलाउने । मान्छे हाँसे । दुनियाका अनेक शहरहरूमा अहिले इलेक्ट्रिक बसहरू चल्छन्, कारहरू चल्छन् । नेपालमा चाहिँ चल्न नहुने भन्ने छ र ? दिल्लीमा जानुभयो भने त्यहाँ मेट्रो रेल अथवा इलेक्ट्रिक रेल चलेको देखिन्छ अनि काठमाडौँमा चलाउन मिल्दैन ? काठमाडौँमा चलाउन मिल्छ र काठमाडौँमा केही समयभित्रै इलेक्ट्रिक रेलको काम सुरुआत गर्छु । काठमाडौँ, पोखरा, उत्तर दक्षिण बाटाहरू बन्छन्, बनाइन्छन् । नयाँ काम नगरेर के गर्ने त ? बालुवाटार र सिंहदरबार, सिंहदरबार र बालुवाटारमा गरेर म समय काटूँ ? त्यसो गर्ने होइन, काम गरेर देशलाई अगाडि लाने हो ।
एउटा धारणा छ, हामी ठगियौँ भनेर भन्ने । दुई दिनमा बाटो बनेन, उहाँलाई पिर छ । कुनै बहादुर छ, नेपालमा दुई दिनमा केही गरिहाल्ने, इलेक्ट्रिक रेल ल्याइहाल्ने ? छ भने भन्नुपरयो, होइन भने मेरो योजना छ, त्यो योजना अगाडि बढ्छ । जनता निरास हुनु पर्दैन । सम्पूर्ण जनता अधिकारसम्पन्न छन् । यो जनताको शासन हो । यो लोकतान्त्रिक प्रणाली हो । यो कुनै राजा महाराजाको शासन होइन । चीन त्यत्रो ठूलो देश विकसित हुनसक्छ भने नेपाल विकसित हुनुहुँदैन ? अर्को देश विकसित हुनुहुने, नेपाल विकसित हुन नहुने पनि कहीँ हुन्छ ? अन्तका जनता गाडीमा कुद्ने, नेपाली जनता गाडीमा कुद्ने अवस्था आउनुहुँदैन ? गर्छु भन्यो भने केहीलाई रिस उठ्छ । अचम्म लाग्छ मलाई गर्छु भन्दा रिस उठ्ने मान्छेहरू देख्दा । गर्छु भन्न पनि नपाइने ?
संविधानले सबैलाई समानरूपमा अधिकार र अवसर दिएको छ, कसैमाथि विभेद गरेको छैन । थारू समुदायलाई अगाडि बढाउनका निम्ति सायद यो पहिलोपल्ट होला यो कार्यक्रम मनाउनका निम्ति सरकारका तर्फबाट ६ लाख रुपैयाँ दिएको । यो पर्याप्त होइन, यो यस कार्यक्रमका लागिमात्र हो । थारू जनताको विकासका लागि, उन्नतिका लागि, तिनका खेतहरूमा सिँचाइ पुरयाउन, तिनको कृषिलाई आधुनिकतामा लान, तिनका ठाउँहरूमा उद्योगहरू खोल्न र तिनलाई रोजगारीका अवसर दिन, तिनका निम्ति शिक्षाका अनुकूल अवस्था उपलब्ध गराउनका लागि अहिलेको सरकारले काम गर्छ । पण्डितजीहरूले भन्ने गर्छन् नि – मङ्गलम् भगवान् विष्णु, मङ्गलम् गरुडध्वजः । यस्तोमात्र होइन, यो मङ्गलम् गरुडध्वजमात्र होइन, मङ्गलम् भगवान् विष्णुमात्र होइन, यो मङ्गलम् गर्ने उद्देश्यका साथ यो सरकार अगाडि बढेको छ । यसकारण म आग्रह गर्न चाहन्छु – हामी कठिनाइमा छौँ, हामीकहाँ आपूर्तिको व्यवस्थामा बहुतै कठिनाइ छ । अहिले ग्याँस, पेट्रोल, डिजेल हामी पाइरहेका छैनौँ । हामीले कसैको केही बिगारेका छैनौँ । कसैको केही नोक्सान गरेका छैनौँ तर पनि हामी कठिनाइमा छौँ । तैपनि यो कठिनाइ अब धेरै लामो समय चल्दैन । यो कठिनाइ समाप्त हुन्छ । त्यसपछि हाम्रो विकासको रफ्तारलाई कसैले पनि रोक्न सक्दैन ।
अब पूर्व–पश्चिम राजमार्गलाई चौडा गरिन्छ । फास्ट ट्रयाकलाई छिटो बनाइन्छ, द्रुतताका साथ । मध्य–पहाडी लोकमार्गलाई अगाडि बढाइन्छ । अरू थुप्रै आयोजनाहरू अगाडि बढाइन्छ ।
यो आरोप–प्रत्यारोप लगाउने, ठूला कुरा गर्नेमात्र समय होइन, हामीले देशका निम्ति केही गर्नुछ । हाम्रो देश हामीले नै बनाउनुछ । हामी एकजुट भएर, एकताबद्ध भएर विकासको बाटोमा लाग्नुछ, आधुनिकताको बाटोमा लाग्नु छ, परिवर्तनको बाटोमा अगाडि बढ्नुछ । यस माघीले पनि हामीलाई यो एकताको सन्देश दिनुपर्छ ।
म सुन्दैछु, थारू समुदायको अर्को समूहले अर्कातिर अर्कै कार्यक्रम गर्दैछ । चाहिएको छ राष्ट्रिय एकता, यस्तो महान् सांस्कृतिक पर्वमा पनि फेरि अलिकति राजनीति गर्ने, फेरि अर्को भान्छा अर्कोतिर बसाउने ? थारू समुदायको प्रचलनअनुसार एउटा परिवार पनि संयुक्त परिवार हुन्छ, ठूलो परिवार हुन्छ । यो देशमा सबभन्दा ठूलो परिवार कसैको हुन्छ, सबभन्दा ठूलो भान्छा कसैको हुन्छ, संयुक्त परिवार कसैको हुन्छ भने थारू समुदायको हुन्छ । यस्तो संस्कृतिबाट आएको थारू समुदायले परतिर अर्को चौको बसाल्नुु, अर्को कार्यक्रम गर्नु कतिको सुहाउँदो कुरा होला ? यसमा म अरू केही भन्न चाहन्न । सबैमा मेरो शुभकामना छ । तापनि हामी सबैमा एकताको चेतना आउनुपर्छ ।
यो कुरा काट्ने समय होइन, काम गर्ने समय हो । खट्ने समय हो । यस चाडबाट हामीलाई अगाडि बढ्ने प्रेरणा मिलोस् । नेपालीहरूको एकता अमर रहनुपर्छ । हाम्रो विकासको चाहना, उन्नतिको चाहना अगाडि बढ्नुपर्छ । त्यसलाई साकाररूप दिनुपर्छ । म यहाँहरू सबैलाई माघीको सन्दर्भमा फेरि एकपल्ट शुभकामना भन्न चाहन्छु ।
(२०७२ माघ १ गते माघी महोत्सवका अवसरमा काठमाडौँमा गर्नुभएको सम्बोधन)