NP EN

नेपाल प्रहरी खरो उत्रिएको छ

६० औँ प्रहरी दिवस – २०७२ का अवसरमा आयोजित कार्यक्रममा उपस्थित हुनुभएका महान्यायाधिवक्ताज्यू, मुख्य सचिवज्यू, सचिवज्यूहरू, प्रहरी महानिरीक्षक, नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र निजामती क्षेत्रका अधिकृत महानुभावहरू, प्रहरी परिवारहरू, सम्पूर्ण तह र दर्जाका प्रहरी एवम् राष्ट्रसेवक मित्रहरू, अमर तथा वीर प्रहरीका परिवारका आदरणीय सदस्यज्यूहरू र कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू, 

आज हामी नेपाल प्रहरी स्थापनाको ६० औँ वर्ष पूरा गरेको अवसरमा यहाँ उपस्थित भएका छौँ । यो  बितेका ६० वर्षमा प्रहरीहरूले गरेको योगदान, देखाएको वीरता, पुरयाएको सेवा, अर्पण गरेको बलिदान सबैलाई अत्यन्तै गौरवका साथ, अत्यन्तै सम्मानका साथ स्मरण गर्ने बेला हो । यसक्रममा अमरत्व प्राप्त गर्ने र वीरगति प्राप्त गर्ने सम्पूर्ण प्रहरी अधिकृत एवम् जवानहरू सबैमा म हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु र सबैप्रति आदरसम्मान व्यक्त गर्न चाहन्छु । सम्पूर्ण अमर तथा वीर प्रहरी परिवार जनमा सम्मान व्यक्त गर्न चाहन्छु, उहाँहरूको दुःखमा सहभागिता जनाउन चाहन्छु । 

जनता ढुक्कले बाटोमा हिँड्छ, ढुक्कले बजारमा घुम्छ, राति ढुक्कले आरामको निद्रा सुत्छ, किनभने देशमा प्रहरी छ । प्रहरी भएको हुनाले प्रहरीले सुरक्षा गर्छ, त्यस विश्वासमा जनता निदाउँछ, जनता ढुक्कले आफ्नो पेसा, व्यवसाय, कारोबार सञ्चालन गर्छ । नेपाल प्रहरीले आफ्ना कामहरूमार्फत कानुनको पालना, कर्तव्यनिष्ठता, देश र जनताको सेवामा समर्पणभाव आफ्ना व्यवहारबाट देखाएको छ । यतिबेला, ६० वर्षको यस लामो सेवाका निम्ति र विगतका अझै कष्टकर समयहरू र कहिलेकहिले भएका विभिन्न प्रकारका परिस्थितिका अनुचित अवस्थाहरूले पारेको अप्ठ्यारोको सामना प्रहरीले जसरी गर्दै आएको छ, त्यो अत्यन्तै प्रशंसनीय छ । यसक्रममा अपाङ्ग भएका, घाइते भएका, विभिन्न ढङ्गले क्षति ब्यहोर्नुपरेका प्रहरी अधिकृत र जवानहरूप्रति म सम्मान व्यक्त गर्न चाहन्छु र जो घाइते छन्, उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु । 

नेपाल प्रहरी एउटा अनुशासित सङ्गठनको पर्यायको रूपमा रहिआएको छ । देशभित्रमात्र होइन, देशबाहिर पनि आफ्नो कर्तव्यपालना, अनुशासितपन, कामका लागि सदैव तत्पर रहने र अत्यन्तै निष्ठाका साथ काम गर्ने प्रवृत्ति नेपाल प्रहरीले व्यवहारमा प्रकट गरेको छ । यतिबेला म नेपाल प्रहरीको यस गौरवपूर्ण इतिहासको अत्यन्तै उच्च मूल्याङ्कन गर्न चाहन्छु र सम्मान गर्न चाहन्छु । प्रहरीहरूको काम, त्यसले यी क्षेत्रहरूमा पुरयाएको योगदानको फेरि पनि उच्च प्रशंसा गर्न चाहन्छु । चाहे दुनियाका विभिन्न ठाउँमा शान्ति स्थापना गर्ने प्रश्नमा होस्, चाहे देशभित्र अप्ठ्यारा परिस्थिति र स्थानहरूमा अग्रपङ्क्तिमा रहेर, साधनस्रोतको अभाव समेतको स्थितिमा जसरी घामपानी, भोक निद्रा नभनी नेपाल प्रहरीले सेवा पुरयाउने गरेको छ, त्यो अत्यन्तै स्मरणीय छ, प्रशंसनीय छ र म अपेक्षा गर्दछु, नेपाल प्रहरीले आफ्नो छवि, आफ्नो मर्यादालाई आगामी दिनमा अझ उन्नत ढङ्गले अगाडि बढाउनेछ । समाजमा शान्ति, सुव्यवस्थाको स्थिति कस्तो छ ? अपराध नियन्त्रण कस्तो छ ? दण्डहीनता छ कि अपराधकर्मीहरूले कानुनको कठघरामा उभिनु परेको छ ? त्यसका आधारमा समाजको, विकासको र व्यवस्थाको आकलन गरिन्छ । यस सम्बन्धमा नेपाल प्रहरी खरो उत्रिएको छ भन्ने मैले ठानेको छु । म के भन्न चाहन्छु भने नेपाल प्रहरीलाई वृत्ति विकासको निम्ति, दक्षता अभिवृद्धिका निम्ति, साधनस्रोत सम्भव भएसम्म उपलब्ध गराउनका निम्ति, यस संस्थाको प्रभावकारिता, दक्षता र मर्यादा अभिवृद्धिको निम्ति सरकारको तर्फबाट गरिने काम कुनै पनि कसर नराखीकन, कुनै कसर बाँकी नराखीकन नेपाल प्रहरीलाई अगाडि बढाउने काममा लागिनेछ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु । 

हामी सबैलाई थाहा छ, विभिन्न समयमा नेपाल प्रहरीले अत्यन्तै महत्वपूर्ण कामहरू गरेको छ । केही महिना अगाडि भूकम्पको सन्दर्भमा नेपाल प्रहरीले देखाएको जनताप्रतिको समर्पणभाव अत्यन्तै उच्च र प्रशंसनीय रहेको छ, म त्यसको अत्यन्तै सम्मानका साथ स्मरण गराउन चाहन्छु, प्रशंसा गर्न चाहन्छु र कदर गर्न चाहन्छु । यसैगरी हामीले केही कार्यक्रमहरू भूकम्प भन्दापछि पनि आयोजना गरयौँ, ती कार्यक्रमहरूमा प्रहरीको भूमिका अत्यन्तै प्रशंसनीय र प्रभावकारी र≈यो । त्यसबाहेक सार्कको शिखर सम्मेलन आयोजना गरयौँ, त्यसमा रहेको नेपाल प्रहरीको भूमिका अत्यन्तै प्रशंसनीय रह्यो । कुनै खोट लगाउने ठाउँ नराखीकन नेपाल प्रहरीले अत्यन्त व्यवस्थित ढङ्गले सेवा उपलब्ध गरायो । यी सबै प्रसङ्गहरूमा र सन्दर्भहरूमा म यी ६० वर्षहरूमा नेपाल प्रहरीलाई आफ्ना पसिनाहरूले, विवेकले, बुद्धिले, मेहनतले अगाडि बढाउने र यहाँसम्म ल्याइपुरयाउने पूर्व महानिरीक्षकहरूलगायत सम्पूर्ण अधिकृत र सम्पूर्ण प्रहरी जवानहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । उहाँहरूको मेहनतले नै यी कामहरू भएका छन् ।

अहिले नेपाल प्रहरीमा पुरुष र महिला त्यत्तिकै सफलतापूर्वक अगाडि बढिरहनुभएको छ । नेपाल प्रहरी एउटा दृष्टान्त पनि बनेको छ, जेन्डर ब्यालेन्सको । जेन्डर व्यालेन्समात्र होइन, कामको सफलतामा पनि नेपाल प्रहरीभित्रका महिला अधिकृत र जवानहरूले देखाएको उत्कृष्टता, प्रतिस्पर्धी क्षमता प्रशंसनीय छ, म सबैलाई धन्यवाद भन्न चाहन्छु । अघि भर्खरै पनि लाइफ टाइम अवार्ड प्राप्त गर्नुहुने पूर्व एआइजीले अलिकति विगतका तीता अनुभवहरूको पनि सन्दर्भ उठाउनुभयो । म के भन्न चाहन्छु भने नेपाल प्रहरी सङ्गठन देश, जनता र मानवजातिप्रति समर्पित, कानुनद्वारा निर्देशित, कर्तव्यबाट अभिप्रेरित सङ्गठन हो । यस सङ्गठनले आफ्ना कर्तव्यहरू, देश, जनता र मानवजातिप्रति आफ्नो निष्ठा र कानुनको परिधिमा रहेर बिनाबाह्य हस्तक्षेप सम्पूर्णरूपमा स्वतन्त्र ढङ्गले पूरा गर्दैआएको छ । प्रहरी सङ्गठनलाई अत्यन्तै जिम्मेवारीका साथ, भेदभाव, पक्षपात नगरीकन, कुनै प्रकारका अरू भावना नलिइकन, देश र जनताप्रतिको निष्ठाका साथ कानुनका अधीनमा रहेर स्वतन्त्रढङ्गले आफ्ना अधिकारको प्रयोग गर्दै काम गर्न म निर्देशन पनि दिन चाहन्छु । हस्तक्षेपबाट निर्देशित, सञ्चालित हुने होइन, कर्तव्य र कानुनबाट, उद्देश्यहरूबाट निर्देशित र सञ्चालित हुनुपर्दछ । यसको अर्थ मैले चेन अफ कमान्ड कायम हुनुपर्दैन भनेको होइन । माथिदेखि तलसम्म सकल दर्जामा चेन अफ कमान्ड, कानुनको राज, कानुनको शासन, कानुनको अग्राधिकार, देश र जनताप्रतिको कर्तव्यनिष्ठताजस्ता कुराहरूमा अडिग रहनु नै भनसुन, हस्तक्षेपजस्ता कुराहरूबाट मुक्त हुने आधार तयार हुनु हो । म निर्भीकताका साथ काम गर्न सबैलाई आग्रह गर्न चाहन्छु । अनुचित कार्य गर्न कसैले पनि दबाब दिन मिल्दैन, सक्दैन र पाउँदैन । त्यो कुरा म राख्न चाहन्छु, तर जिम्मेवार भूमिकामा प्रहरी उत्रिनैपर्छ, जिम्मेवार प्रवृत्तिका साथ, भावनाका साथ लाग्नै पर्दछ, त्यतापट्टि म जोड दिन चाहन्छु । 

आज हामीले अमर प्रहरीका र वीर प्रहरीका परिवारजनलाई प्रशंसा, सम्मान गरेका छौँ, म उहाँहरूप्रति फेरि एकपल्ट समवेदना व्यक्त गर्न चाहन्छु । हामी एउटा परिवारको रूपमा, एक–अर्काका समस्याहरूलाई हेरेर, देखेर, बुझेर अगाडि जानेछौँ । अमर प्रहरीका परिवार जनलाई प्रहरी सङ्गठनले र नेपाल सरकारले पनि उहाँहरूका समस्यालाई आफ्नो समस्याको रूपमा बुझ्ने र समाधान गर्न कोसिस गर्नेछ । 

यो अत्यन्त गौरवको दिन हो । मैले अघि नै पनि भनेँ, यस गौरवमा हामी सबैले आफूलाई हिस्सेदारको रूपमा पाएका छौँ । मलाई यस कार्यक्रममा आएर यसरी आफ्ना विचार राख्ने मौका मिलेकोमा सन्तोष लागेको छ । म आयोजक नेपाल प्रहरीलाई धन्यवाद भन्न चाहन्छु । 

(२०७२ कार्तिक ३० गते ६०औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालको सम्बोधन)