NP EN

अबको सरकार कोदालो खन्नेहरूको हो

अध्यक्ष महोदय, माननीय मन्त्रीज्यू, माननीय सांसदज्यूहरू, पार्टीका नेताज्यूहरू, डोलिडारका प्रमुखज्यू, राष्ट्रसेवक मित्रहरू, समाजसेवक साथीहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, 

आज एउटा राम्रो काम सम्पन्न गरिएको छ । तुइनलाई विस्थापित गरेर झोलुङ्गे पुलको स्थापना गरिएको छ । हामीले झोलुङ्गे पुलमै जान खोजेका होइनौँ । हामीले सजिलो र सहज यात्रा, राम्रो बाटो, फराकिलो पुलको कुरा गरेका हौँ । सुरक्षित यात्रा, सुरक्षित बाटो, सुरक्षित पुल र सुरक्षित आवागमनको कुरा गरेका हौँ । अहिले तत्कालका लागि हामीले सजिलैसँग छिटै तयार गर्नसक्ने झोलुङ्गे पुल नै हो । त्यसकारण तुइनलाई विस्थापित गरेर झोलुङ्गे पुल स्थापना गर्ने यो हाम्रो पहिलो कदम हो । यस ठाउँमा हाललाई तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण भएको छ । 

यहाँका जनताले राइटार, मकवानपुरको फाफरबारी हुँदै वागमती करिडोरबाट फास्टट्राकमा निस्कने अथवा अर्को कान्तिपथमा मिसिने बाटोको कुरा गर्नुभएको छ । तपाईंहरूले एउटा पक्की पुलको माग पनि गर्नुभएको छ । मैले त्यो भन्दा अलि बढी नै कुरा सोचेको छु । 

हाम्रो देश अत्यन्तै उर्वर छ, अत्यन्तै सुन्दर छ, साधनस्रोतहरूले सम्पन्न छ तर हाम्रो देशमा विकास गर्नेतिर कसैको ध्यान गएन । विकास गर्नेतिर ध्यान नजाने, माथिमाथिकाको शासनमा मात्र ध्यान जाने । तलतलका तलतलै बस्ने, तलतिरकाले माथितिर हेर्ने, के के भन्छन्, के के भन्छन्, कुरा बुझिनसक्नुजस्तो हुने । माथिकालाई शासन बनाउने, टिकाउने, खोस्ने, हेरफेर गर्ने यसैमा समय जाने । मैले हिजो पनि एक ठाउँमा बोलेको थिएँ । नेपाल संसारमा जलस्रोतको दोस्रो धनी देश, ब्राजिलभन्दा पछि नेपाल संसारको धनी देश । दक्षिण एसियामा कसैले पनि जलविद्युत् आयोजना सुरु नगर्दा नेपालमा १ सय ५ वर्ष अघि फर्पिङबाट चन्द्रज्योति सुरु भएको थियो । नेपालमा १ सय ५ वर्षमा कति विद्युत उत्पादन भयो त ? बर्खायाममा बाढी आएका बेला ७ सय ५० मेगावाट, बाढी नआउँदा हिउँदको निम्ति भन्ने हो भने ३ सयदेखि ३ सय ५० मेगावाट । ८३ हजार मेगावाटको क्षमता हामीसँग छ । अहिले तत्काल लोडसेडिङ हटाउन पनि हामीलाई १ हजार ५ सय मेगावाट आवश्यक छ । यो चाहिने कुरा हो, सुहाउने कुरा हो ? यो सुहाउने कुरा होइन ।  खोलामा एउटा झोलुङ्गे पुल हाल्न, अलिकति बाटो बनाउन, एक दुई वटा पुल बनाउन पनि नसक्ने हो भने सरकारमा बस्ने किन ? म तपाईंहरूलाई भन्न चाहन्छु – राई गाउँ, फाफरबारी समेतलाई हामी योजनाभित्र पार्छौ, शीघ्रातिशीघ्र यसलाई अगाडि बढाउँछौँ र बाटोलाई कालोपत्रे गर्छौँ । तपाईंहरूले एउटा पक्की पुल भन्नुभएको छ, मैले एउटाभन्दा बढी पक्की पुलको आवश्यकता देखेको छु । वारिबाट बाटो लान जरुरी छ भने वारिबाट बाटो लाने, पारिबाट लान भौगोलिक हिसाबले अनुकूल छ भने पारिबाट लाने; पुल त चाहिहाल्यो ।  त्यसो गर्दा ललितपुर र मकवानपुर दुबै क्षेत्रको विकास हुने भयो ।  

अब मान्छेहरूले भन्छन्, एक हप्तापछि तपाईंहरूले अखबारमा देख्नुहुन्छ, ललितपुर र मकवानपुरको बीचमा गएर पक्की पुल बनाउँछु भन्थ्यो, खै त ? विरोध गर्नु न छ । जसरी भए पनि विरोध गर्नु छ । म कहिलेकाहीँ सोध्छु, विरोध किन गरेको भनेर । लोकतन्त्रमा विरोध भनेको त धर्म नै हो नि भन्छन् । चाहिने कुरा नगर्ने, नचाहिने कुरा गर्ने लोकतन्त्र होइन । लोकतन्त्र जनताको शासन व्यवस्था हो, जनताको प्रणाली हो । जनताको विकासका निम्तिको प्रणाली हो । तपाईंहरूका धेरै कुरा मैले सुन्न पाएको छैन, तर यस देशलाई विकास गरिछोड्ने, विकास निर्माणका पूर्वाधारहरू तयार गरिछोड्ने, बाटाघाटा, पुलहरू बनाइछोड्ने, दुई वर्षभित्र कमसेकम देशका सबै तुइनहरू विस्थापित गर्ने योजनासहित म अगाडि बढेको छु । यहाँ एउटी बच्चीको हात तुइनले विगारेको मैले देखेँ । उनको हात तुइनले खाएको रहेछ । आजको महँगीमा पनि ८२ लाखले यो झोलुङ्गे पुल बनेको छ भने त्यो बेला कति सस्तोमा बन्थ्यो होला ? १० लाखमै बन्न सक्थ्यो ।  

म पनि यस्तै दुर्गम गाउँमा जन्मेर बाख्रा चराएर, गाईगोठ गरेर, गाईभैँसी चराएर हुर्केर आएको गोठालो केटो यहाँ आइपुगेको छु । मेरो काम तपाईंहरूको जीवनमा अनुकूल परिवर्तन ल्याउने हो, देश विकास गर्ने हो । तपाईंहरूलाई समृद्ध बनाउने हो । कसैकसैले मलाई बाख्रा चराएको कुरा किन गर्ने भन्छन् । बाख्रा चराएकै हो, गाईभैँसी चराएकै हो, झूट बोल्न आउँदैन मलाई । मैले भन्न खोजेको के हो भने अबको नेपाल गाईभैँसी चराउनेहरूको  हो । अबको शासन, अबको सरकार भनेको कोदालो खन्नेहरूको हो । अबको नेपाल भनेको चुलाचौकामा खाना बनाउने र भाँडा माझ्नेहरूको हो । अब हाम्रा गाउँघरमा जन्मेका दिदीबहिनीहरू राष्ट्रपति हुन्छन्, कसैले टाउको दुखाएर हुन्छ र ? लोकतन्त्र सबैका लागि हो तर अबको समय जनताको समय हो, अबको समय आमजनताको समय हो, अहिलेका नेताको समय होइन । 

हामी जुनसुकै पार्टीका भए पनि, जतासुकै भोट हाल्ने भए पनि झोलुङ्गे पुल सबैलाई चाहिएको छ । एकताबद्ध भएर तपाईंहरूले साथ सहयोग दिनुभयो, यहाँ झोलुङ्गे पुल बन्यो । बाटो चाहिएको छ भने तपाईंहरू एकजुट हुनोस्, बाटो बन्छ । तपाईंहरू एकजुट हुनुहोस्, पुल बन्छ । तपाईंहरू एकजुट भएर प्रयासहरू अगाडि बढाउनोस् गाउँको विकास हुन्छ । केके गर्नुपर्छ, तपाईंहरूको प्रतिनिधि, गाउँको प्रतिनिधि यहाँ प्रधानमन्त्री भएर बसेको छ । तपाईंहरूको समस्या नहेर्ने हो भने मेरो के काम ? त्यसकारण म तपाईंहरूका कठिनाइहरूलाई हेर्छु । देशलाई विकासमा अगाडि बढाउने कुरामा म सधैँ जनताको साथमा हुनेछु ।  

नेपाल बल्ल सार्वभौम देशको सार्वभौमसत्ता सम्पन्न बनेको छ । संविधानसभाले हाम्रा अधिकारहरू प्रदान गरेको छ । संविधानसभा जस्तो संवैधानिक संस्थाबाट वैधानिकताप्राप्त लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउनुपर्छ । विभिन्न प्रकारका मतभेद र विभेदहरू छन्, तिनको अन्त्य गर्नु आवश्यक छ । त्यसमा टेकेर हाम्राबीचमा विरोध उछाल्न खोज्ने, लडाइँ लडाउन खोज्ने, यो जात र त्यो जात भनेर मारामार गराउन खोज्ने, विकासका हाम्रा प्रयासहरूमा अवरोध गर्न खोज्ने कुराहरू पनि भइरहेका छन् । त्यसप्रति हामी सजग हुनुपर्छ । यो देश हिमाल, पहाड, तराईमा बस्ने हामी सबै नेपालीको साझा हो । हामी सबै मिलेर यसलाई बनाउँछौँ । सरकारको काम तपाईंहरूको सेवा गर्ने हो । सरकारको काम तपाईंहरूलाई सुशासन दिने हो, शान्ति सुरक्षा दिने हो र पछाडि परेका ठाउँहरूको विकास गर्ने हो, जनताका निम्ति काम गर्ने हो । 

आज म भन्छु – अब उप्रान्त नेपालमा हाम्रा चेली, हाम्रा छोराहरूले तुइनबाट खोलामा झरेर मर्नुपर्ने छैन । हामी त्यो अन्त्य गर्छौँ । कसैले पनि तुइनबाट आफ्नो हात बिगार्नुपर्ने छैन । हामीले त्यसलाई अन्त्य गर्ने बाटो समातिसकेका छौँ । 

साधनस्रोत प्रयोग गरेर, मुहान प्रयोग गरेर यदि सिँचाइ पुरयाउन सकिने ठाउँ छ भने हामी सिँचाइको प्रबन्ध गर्छौँ । माटोको परीक्षण, उन्नत जातको बीउबीजन, पशुहरूको नश्ल सुधार, किसानलाई प्राविधिक सहायता दिने कुरा, यसमार्फत कृषिको व्यावसायिकीकरण, आधुनिकीकरण गर्छौँ । आधुनिकीकरणपछि, व्यावसायिकीकरणपछि हामीलाई बाटो चाहिन्छ, बजार चाहिन्छ । त्यसकारण एकातिर आधुनिकीकरण, व्यावसायिकीकरण र अर्कोतिर बाटो र बजारको व्यवस्था । सबै कुरामा व्यवस्थित ढङ्गले सरकारको ध्यान पुगेको छ । एउटा क्षेत्रमा मात्र होइन, शहरमा मात्र होइन, शहरदेखि गाउँ, पूर्वदेखि पश्चिम सबैतिर, सबै पेसा व्यवसायका जनतालाई अगाडि बढाउने अहिलेको सरकारको सङ्कल्प हो । त्यो सङ्कल्प सरकारसँग छ । सङ्कल्पसँगै प्रतिबद्धता पनि छ । त्यही प्रतिबद्धताअनुसार हामी अगाडि बढ्छौँ। 

तपाईंहरूलाई बधाइ छ, तपाईंहरूले सफलता प्राप्त गर्नुभएको छ । आगामी दिनमा अझै ठूल्ठूला सफलताहरू प्राप्त गर्नुहुनेछ । अहिलेको सरकार तपाईंहरूको सेवाको निम्ति तयार छ । तपाईंहरूले सम्झनोस्, तपार्इंंहरूका विकासका कामहरू अगाडि बढाउने काम सरकारले गर्नेछ । तपाईंहरू सबैमा म धन्यवाद पनि भन्न चाहन्छु । यो झोलुङ्गे पुल निर्माण कार्यमा योगदान पुरयाउनु हुने सम्पूर्ण सङ्घसंस्थाहरू, डोलिडारलगायत, हाम्रा इञ्जिनियरहरूदेखि लिएर हाम्रा प्रशासकहरू, हाम्रा राजनीतिक दलहरू र आमजनता जसको यस काममा महत्वपूर्ण सहयोग रहेको छ, यसका निम्ति आवाज उठाउनेदेखि लिएर निर्माण सम्पन्न गर्नेसम्म सबैलाई धन्यवाद छ । 

(ललितपुर र मकवानपुर जोड्ने झोलुङ्गे पुल उदघाटन कार्यक्रममा प्रस्तुत मन्तव्य)