यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विद्वान् मित्रहरू, हामी एउटा अप्ठ्यारो परिस्थितिमा, देशले नोक्सान ब्यहोरेको बेला, देशले धक्का खाएको बेला देशलाई त्यस धक्काबाट उठाएर अगाडि बढाउने सङ्कल्पका साथ यहाँ भेला भएका छौँ । आज थुप्रै कार्यक्रमहरू यस सन्दर्भमा आयोजना भएका छन् । एउटा त प्रोफेसनल्स इञ्जिनियरहरूले भूकम्प प्रतिरोधक, हाम्रो संस्कृति अनुकूलका र सस्तो मूल्यका घरहरू कसरी बनाउन सकिन्छ, स्थानीय तवरका सरसामानहरू, सामग्रीहरू प्रयोग गरेर हामी कसरी पुनर्निर्माण गर्नसक्छौँ जस्ता कुराहरूलाई केन्द्र भागमा राखेर जुन प्रदर्शनी आयोजना गर्नुभएको छ, डिजाइनसम्बन्धमा जेजे प्रस्तुत गर्नुभएको छ, प्रतिस्पर्धा गर्नुभएको छ, यो धेरै खुसीको कुरा हो । थुप्रै साथीहरू पुरस्कृत हुनुभएको छ, म पुरस्कृत हुने साथीहरूलाई बधाइ ज्ञापन गर्न चाहन्छु । अरू सहभागी सबैलाई पनि शुभकामना भन्न चाहन्छु । सहभागिता आफैँमा ज्यादै महत्वपूर्ण छ ।
हामी भौतिक हिसाबले अप्ठ्यारामा परेका, धक्कामा परेका मात्र होइन, अरू पनि हिसाबले आक्रमणको शिकार भइरहेका छौँ । यो कुनै चानचुने कुरा छैन । अघि भर्खर मेरो अगाडि एउटा म्यागजिन राखिएको थियो । म्यागजिनमा मैले यसो हेरेँ – दुइटा प्रधानमन्त्रीका फोटा थिए, एउटा ऋषिमनको प्रधानमन्त्री र अर्को राक्षसी प्रवृत्तिको प्रधानमन्त्री भनेर । नेपालकै नागरिकता खल्तीमा हालेर लेखिएको कुरा हो त्यो । उद्देश्य कसका हुन् भनिरहन म चाहन्न, म न्यायाधीश पनि होइन ।
सरकारले केही गरेन, बाह्र लाखको भोज खाएर समय बितायो, बाह्र लाखको भोज ! प्रधानमन्त्री निवासमा प्रायः चिया पनि दूधचिनी होइन, आजकाल ग्रीन टी चल्ने गरेको छ । दुर्इ वटा पात हालिदियो, तातो पानी खन्यायो, चिया भइहाल्यो । ख्वाउने चलन त्यो छ, चर्चाचाहिँ बाह्र लाखको ? म त्यसमा केही रुचि राख्दिनँ । मैले केमात्र शङ्का गर्न खोजेको हो भने अहिले पनि सर्टिफिकेट हातमा लिई काम गर्ने बुद्धिजीवीहरू छन् । तिनीहरू आरामसँग लेख्छन्, लाज नमानी, अप्ठ्यारो नमानीकन लेख्छन् – संविधान बनेरै समस्या पैदा भयो ।
सङ्क्रमणकाल मुख्यरूपमा टुङ्गियो, जनताका अधिकारहरू संस्थागत गरिए, राजनीतिक अधिकारको प्राप्तिको निम्ति र सामाजिक न्याय र समानता प्राप्तिका निम्ति हाम्रा जुन सङ्घर्ष थिए, ती उपलब्धिमा गएर टुङ्गिए, तिनलाई संस्थागत गरियो । यति ठूलो वैधानिक हैसियत प्राप्त गरियो, संविधानसभाबाट संविधान आयो, निर्वाचित संविधान सभाबाट । लामो प्रयासपछि, एउटा संविधानसभा असफल भयो, संविधानसभा नै असफलतामा गयो । फेरि संविधानसभाको निर्वाचन गरियो, संविधान जारी हुन नदिने कोसिसहरू थिए, षड्यन्त्रहरू थिए । हामीले ती षड्यन्त्रहरूलाई सफल हुन दिएनौँ । कोही कडा भाषामा, कोही गुलिया मीठा भाषामा संविधान बन्न हुँदैन भन्ने उद्देश्यहरू राख्थे । हामीले त्यसलाई मानेनौँ । हाम्रो देशका निम्ति संविधान चाहिएको थियो । संविधान जारी गर्ने कुरासँग त्यत्रो विरोध किन ? अन्तरिम संविधान त केही पार्टीहरूले मिलाएर बनाएको हो, त्यसलाई कसैले अस्वीकार गर्दा पनि हुन्छ । यो त संविधानसभाले बनाएको हो, जनताका निर्वाचित प्रतिनिधिले बनाएको । यसको असाधारण वैधानिकता छ । यसको संवैधानिक हैसियत छ । दुई तिहाइमात्र होइन, कुनैकुनै देशमा टुपुक्क दुई तिहाइ हुन्छ, कुनैकुनै देशमा दुई तिहाइ पनि नभईकन संविधान जारी हुन्छ । हाम्रो देशमा ९२ प्रतिशतभन्दा बढीले संविधान जारी गरेको छ । यो वैधानिकता कसैले यताउति गर्नै सक्दैन । त्यो रुवाबासी किन त भन्दा यसले यत्रो वैधानिकता पायो कि यसलाई उलटफेर गर्नै नसकिने भयो । २०१७ साल पनि आउन सक्दैन, २०५९ साल पनि आउन सक्दैन, २०६१ साल पनि आउन सक्दैन, आपत् पर्ने भयो, यही हो । अब उहाँहरूका लागि के गर्न सकिन्छ र ? साह्रै पिर मान्नुभएको छ, संंविधान बनेकोमा, आँसु पुछिदिन सकिन्छ, अरू केही गर्न सकिँदैन । संविधान बन्यो, देश अगाडि बढ्छ ।
हामी यस्तो भूगोलमा छौँ, जहाँ बेलाबेलामा भुइँचालो जान्छ । वि.सं. १९९० सालमा गयो । २०४५ सालमा पनि गएको थियो । यसपालि ठूलो गयो, धेरै नोक्सान भयो । हामी दुःखित छौँ ।
यस विषयमा अहिलेको प्रधानमन्त्रीमाथि बेस्सरी आक्रमण हुनेगरेको छ । वैशाख १२ गते भुइँचालो गयो, आश्विन २५ गते म प्रधानमन्त्री भएँ । ६ महिना लगभग बितेको थियो । ती छ महिनामा के के भएको थियो ? ती छ महिनामा अस्ति मैले सुनेँ, प्रधानमन्त्री कानमा तेल हालेर बसेको छ । कसले भनेको भनेँ, म प्रधानमन्त्री बन्नुभन्दा अगाडि सरकार चलाउने साथीहरूले भनेको हो । अहिलेको प्रधानमन्त्री कानमा तेल हालेर बसेको छैन र बस्दैन । विधेयक पनि थिएन, विधेयक ल्याउन नदिएर विभिन्न ढङ्गले व्यवधान खडा गरेर, एकातिर विधेयक ल्याउन नदिने, अर्कोतिर विधेयक ल्याएन भन्ने । राजनीति ढाँटछलको विषय होइन तमासाको विषय होइन, मैले देशको माया गर्ने देखाउनका लागि होइन, पर्दामा हिरोले खेलेको जस्तो कुरा पनि होइन । मैले फिल्मको पर्दामा होइन, मैले देश र जनताका निम्ति केही जवाफदेही, केही जिम्मेवारी, केही उत्तरदायित्व लिएर आएको छु र मलाई कामसँग मतलब छ । मलाई अभिनय गर्नु छैन । अहिले विधेयक बनेको छ, प्राधिकरण बनेको छ, हामीले काम अगाडि बढाएका छौँ । भोलिबाट तत्कालै ठूला टहराहरू–ट्रसहरू बन्ने, शीतको चिसोमा बसेका मान्छेहरूलाई त्यसमा बसाउने काम सुरु हुनेछ ।
आपूर्ति व्यवस्थामा भएको समस्या हामी सबैले बुझेका छौँ । कच्चा पदार्थ छैन, ढुवानीका निम्ति सामग्री छैन । प्राधिकरणसम्बन्धी विधेयक पारित भएको छ । कसैले नमाने पनि सरकारले पारित गर्ने भएपछि मात्रै उहाँहरूले पारित गर्ने काममा लाग्नु भएको छ, नत्र भने पास गर्नै नदिने, पेस गर्नै नदिने स्थिति उहाँहरूले बनाउनुभयो । कसैले मान्दैन भने पनि जनता मरिराखेको छ, म चुप लागेर बस्न सक्दिनँ, म अगाडि बढेँ, अब यो पास गर्ने भनेर म अगाडि बढेपछि पास भयो ।
जनतालाई भोकै मार्ने कुरा, जनतालाई तड्पाएर मार्ने कुरा, चिसोमा कठ्याङ्ग्रिन लगाउने कुरा, समस्या समाधान गर्न नदिने कुरा कहीँबाट हुन्छ भने म त्यो मान्दिनँ । अगाडि बढ्छु म । यसो गर्दा अलिक आरोप आउँछ, अलिकति जबर्जस्ती गर्नुपर्छ । जबर्जस्ती नगरेको भए राणाशासन हट्दैनथ्यो, जबर्दस्ती गरेरै हटाएको हो । पञ्चायत खुसीले हट्थ्यो ? राजाले छोडेको हो र ? जबर्जस्ती नै गर्नुपरयो । संविधान बन्न दिन्थे ? जबर्जस्ती नै गर्नु परेको होइन र ? जबर्जस्ती गरेरै भए पनि यो देशलाई अगाडि बढाइन्छ । कसैले यस देशलाई अगाडि बढाउने कुरामा टाङ अडाउन नआए हुन्छ, हामी त्यसलाई स्वीकार गर्दैनौँ ।
भुइँचालोले हामीलाई मर्माहत बनायो, हामी मर्माहत छौँ । हामीले समयमा जनताका लागि जे गर्नुपथ्र्यो, त्यो सकिएन । हामीसँग तयारी नै थिएन । अहिले भर्खर पनि हामीले चर्चा गरयौँ, बेरोजगार इञ्जिनियर भनेर । बनाउनुपर्ने देश, देश बनाउन चाहिने इञ्जिनियर । यत्रो पुनर्निर्माण गर्नुपर्नेछ, इञ्जिनियर बेरोजगार छन् । के भनेको त्यो, इञ्जिनियर पनि बेरोजगार ? बनाउने काम सिद्धिसक्यो ? पुल पनि बनिसक्यो, घर पनि बनिसक्यो, विद्यालय भवन पनि बनिसक्यो, के के बनिसक्यो त ? इञ्जिनियरको काम छैन यस देशमा? काम लाखौँ इञ्जिनियरको छ, तर इञ्जिनियर बेरोजगार छ । हाम्रो काम गराइ कस्तो छ ? ८३ हजार मेगावाट बिजुली निकाल्ने क्षमता हामीसँग छ, ब्राजिलपछि दोस्रो जलस्रोतको धनी देश हो हाम्रो । १ सय ५ वर्षअगाडि हामीले फर्पिङबाट चन्द्रज्योति हाइड्रोपावर सुरु गर्दा दक्षिण एसियामा कतै पनि विद्युत आयोजनाको सुरुआत भएको थिएन, नेपाल पहिलो हो । १ सय ५ वर्षमा हामीले कति निर्माण गरयौँ भन्दा लगभग ७ सयदेखि ७ सय ५० मेगावाट । अब त्यो सबै पापको जिम्मा अहिलेको केपी ओलीले लिनुपर्ने ? तैपनि म भन्छु – एक वर्षभित्र लोडसेडिङ समाप्त पारिन्छ, पारिन्छ । अस्ति नै तपाईंहरूले जनताका साथमा इञ्जिनियर भन्ने अभियान चलाउनुभयो । अब इञ्जिनियरहरूको साथमा सरकार छ, आउनोस् देश बनाऔँ ।
प्रधानमन्त्री भएपछि मैले अगाडि बढ्ने योजनाहरूबारे सोचेँ तर पाइलो सार्न पाइने कानुन छैन । एउटा पाइलो सार्न दुई महिना लाग्छ । अर्को पाइला सार्न चार महिना लाग्छ । १५ दिनमा हुने काम दुर्इ वर्षमा हुँदैन, अहिलेको अवस्था यस्तो छ । खरिद ऐन भनेको छ, घर भत्केको छ, टेन्डर गर, कुन्नि केके गर, समय त्यसै जान्छ । ६ महिनाको सूचना निकाल्यो, सूचना निकाल्दा निकाल्दै मान्छे जाडोले मरिसकेको हुन्छ । यस्ता खालका कुरालाई म सच्याउँछु । छोटो बाटोबाट, छिटोछरितो ढङ्गले अगाडि बढ्ने परिस्थिति मिलाइन्छ । भ्रष्टाचार कसैले गर्छ भने निर्मम ढङ्गले कारवाही गरिन्छ । भ्रष्टहरूलाई जेल हालिन्छ । पारदर्शिताका साथ काम गरिन्छ ।
संसारमा भुइँचालो जान्छ, समुद्री आँधी जाने हुन्छ, बढी पहिरोको समस्या हुन्छ । प्राकृतिकरूपमा केही न केही समस्या विभिन्न देशमा हुन्छन् नै । जेजे प्राकृतिक समस्या आइलाग्न सक्छ, त्यसको सामना गर्ने तयारीमा समाज बस्नुपर्छ, राज्य बस्नुपर्छ तर हाम्रो त केही पनि छैन । हामीले कुनै तयारी नै गरेनौँ । त्यसो भएर अहिले हामीलाई असाधारण आपत्ति आइलाग्यो । यस विपत्तिबाट हामीले देशलाई अगाडि बढाउनुपर्छ ।
इञ्जिनियर्स एसोसिएशनले राम्रो काम गरेको छ, म प्रशंसा गर्न चाहन्छु । तपाईंहरूले भूकम्पपछि जनतालाई राहत सहुलियत पुरयाउने काममा आफूहरूलाई लगाउनुभएको छ । विद्यार्थीहरूको प्रदर्शन अहिले मैले हेरेँ, डिजाइनहरू बहुतै राम्रा छन्, सुन्दर छन् । प्रोफेसनल इञ्जिनियरहरूले जो राख्नुभएको छ, कन्सल्टान्सीहरूबाट जुन राख्नुभएको छ, ती अत्यन्तै सुन्दर छन्, इनोभेटिभ छन् र अझ मलाई के लाग्छ भने जुनजुन आइडिया निकाल्नुभएको छ, ती आइडियाहरूका बीचमा, ती आइडियाहरूलाई सम्मिश्रण गरेर अरू पनि आइडियाहरू बनाउन सकिन्छ । कसैको कष्टमा अलि बढ्ता ध्यान छ । कसैको भूकम्प प्रतिरोधक पक्षमा बढी ध्यान छ, कसैको स्थानीय सामग्री प्रयोग गर्ने कुरामा बढी ध्यान छ, कसैको ढुवानीको कुरालाई ध्यानमा राख्ने कुरामा बढी ध्यान छ, कसैको हाम्रो परम्परागत डिजाइन वा सांस्कृतिक पक्ष पनि नमरोस् भन्ने कुरातिर ध्यान छ । यी सबै कुरा आवश्यक छन् र सबैको सम्मिश्रण हामीले गरयौँ भने झन् उत्कृष्ट कुरा हुनसक्छ । यसका निम्ति हामीलाई छलफल कार्यक्रमको बढी आवश्यकता होला । यिनको औचित्य त छँदैछ; जस्तो बाटोघाटो नभएका एकदम दुर्गम ठाउँमा कसरी तपाईंले सामग्री पुरयाउनुहुन्छ ? त्यसकारण स्थानीय उपलब्ध सामग्रीहरूको प्रयोग गर्नु राम्रो हुनेछ । काठमाडौँजस्तो ठाउँमा, पोखरा वा दमौलीजस्तो ठाउँमा अथवा पुग्न सजिलो ठाउँमा अलिकति फरक होला । त्यहाँ हामीले फरक सामग्रीहरू प्रयोग गर्न सकौँला । त्यसमा विभिन्न ढङ्गले यहाँहरूको ध्यान गएको मैले पाएको छु । मलाई खुसी लागेको छ ।
हिजो मात्रै हामीले दश दिनभित्र दश हजार रकम पुरयाउने भनेर निर्णय गरेका छौँ । अरू सन्दर्भमा हामीले पुनर्निर्माण अभियानलाई अगाडि बढाएका छौँ । विकासका सम्बन्धमा हामीले छलफल गरेका थियौँ । विकासमा देखिएका समस्याहरूको समाधानहरूको सम्बन्धमा पनि हामीले छलफल गरेका छौँ । मन्त्रिपरिषद्बाट पनि हामीले निर्णय गरिसकेका छौँ । भूकम्पपीडितलाई सहुलियत पुरयाउने ठाउँमा कतिपय संस्थाहरूबाट ती ठाउँहरूमा राहत सामग्रीहरू पुरयाउने काम भएको छ । लत्ताकपडाजस्ता कुराहरू पुरयाउनेसम्बन्धमा जुन कुराहरू भएको थियो, मलाई लाग्छ, कतिपय ठाउँमा त्यसअनुसार पुगेको छैन होला । नपुगेका कुराहरू पुरयाउनका निम्ति सम्बन्धित निकायहरू तत्काल लागिहाल्नेछन् । कतिले ढुवानीका समस्या, इन्धनका समस्याका कुराहरू पनि गरिरहनुभएको छ । ती समस्याहरूलाई मिलाएर अविलम्ब ती ठाउँहरूमा सामान पठाउन म सबैसँग आग्रह गर्न चाहन्छु ।
नेपालमा धेरैले ठूला कुरा गर्ने गरेका छन् । बाबुआमाले खर्च गरेर पढाइलेखाइ दिएको हुनाले पढ्न जानेका छन् । मजाले लेखिदिन्छन् तर ती लेख्नेहरूलाई म एउटा कुरा फेरि सम्झाउन चाहन्छु, भुइँचालो जाने बित्तिकै आफ्नै खाना, आफ्नै खर्च, आफ्नै सबै कुरामा स्वयंसेवक खटाएर सबै जिल्लाहरूमा अभियान चलाउने काम मैले नै सुरु गरेको होइन ? नेकपा (एमाले) ले नै एक महिना लगातार आवासीय ढङ्गले, कम्ती भएको दिन २२ हजार नत्र दैनिक ३० हजारका दरले भोलिन्टियर परिचालन गरेको होइन ? त्यो अभियानबाट २७ हजार २ सय ७६ वटा अस्थायी आवासहरू बनाएर भूकम्पबाट प्रभावित जनतालाई उपलब्ध गराएको होइन ? डटपेन बहादुरहरू थुप्रो भेटिनुहुन्छ । कुरा गर्न सजिलो छ । १ हजार १३ वटा विद्यालय भवन बनाएर हस्तान्तरण गर्ने काम एमालेले नै गरेको होइन ?
स्वयंसेवी हिसाबले काम गर्ने तपाईंहरूको जुन उत्साह मैले देखेको छु, म त्यसको अत्यन्तै प्रशंसा गर्न चाहन्छु, सम्मान गर्न चाहन्छु । हामी देशका निम्ति हौँ, हामी जनताका निम्ति हौँ । हामी भोलिन्टियर सर्भिस गर्न सक्छौँ । आवश्यक पर्दाखेरि म इञ्जिनियर साथीहरूलाई आग्रह गर्न चाहन्छु, तयार रहेर बस्नोस्, कुनै पनि समय भोलिन्टियर सर्भिसका लागि सरकारका तर्फबाट आ≈वान गर्नुपर्ने हुनसक्छ । देश गरिब छ, जनता गरिब छन् । देख्नुभएको छ, राजस्व उठेको छैन । यस्तो बेलामा किनारमा बसेर काखी बजाउनु कुनै ठूलो कुरा हुँदैन । काम गरेर देखाउने बेला हो यो । समस्याहरूको समाधान गरेर देशमा परिवर्तन ल्याउने बेला हो यो ।
म यहाँहरूसमक्ष एउटा कुरा राख्न चाहन्छु । म भन्न चाहन्छु – कन्सल्टेन्सीका नाममा, वैदेशिक सल्लाहकारका नाममा, एउटा पाँच अर्वको आयोजना आयो भने चार अर्वचाहिँ कन्सल्टेन्सीका नाममा फिर्ता जाने परिस्थिति अब अन्त्य हुन्छ । बिल्कुल अत्यावश्यकबाहेक नेपाली इञ्जिनियरहरूले गर्नसक्ने कामहरू विदेशीलाई दिइँदैन । अनुभव कति वर्षको भन्छन् । खुट्टा टेक्नै नदिएपछि अनुभव कति वर्षको हुन्छ ? मादल बजाउने दुई वर्षको अनुभव भएकालाईचाहिँ साङ्गीतिक क्षेत्रमा, वाद्यवादनको क्षेत्रमा मादल छुन नदिने अनि दुई वर्षपछि फेरि त्यही सूचना निकाल्ने – दुई वर्षको अनुभव भएकाले पाउने भनेर ? हाम्राहरूलाई अनुभव गर्न दिऊँ न, हाम्राहरूलाई बजाउन दिऊँ न, अरूको भन्दा राम्रो गर्छन् । त्यसकारण इञ्जिनियरहरूलाई नै ठाउँ दिनुपर्छ, अवसर दिनुपर्छ । अरूले बनाइदिएर बन्ने होइन देश । चीनजस्तो विशाल देश केही दशक अगाडिसम्म गरिब थियो, कङ्गाल थियो । चीनको जनसङ्ख्या यति ठूलो छ, कसैले चिनियाहरूलाई एक छाक भात पनि ख्वाउन सक्दैन । एक अर्व पचास करोड ! विचार गर्नोस् त, मात्र एक कप चिया ख्वाउनुपरयो र एक–एक डलरको मात्र चिया ख्वाउने हो भने एक अर्व पचास करोड डलर चाहिन्छ, एक कप चिया ख्वाउनका लागि । कसले ख्वाउँछ ? सिङ्गै देश उठाउनका लागि कसैले दिएर वा अलिकति मद्दत गरेर हुन्छ ? आफैँले गरेर मात्र हुन्छ । चिनियाँहरूले त्यत्रो चीन बनाउन सक्छन् भने हाम्रो नेपाल हामी बनाउन सक्दैनौँ ? हाम्रो नेपाल, यति सानो नेपाल, यति मेनेजेबल पपुलेसन, हामी यो देशलाई यस्तो चिटिक्क पार्न सक्छौँ, अझै सुन्दर बनाउन सक्छौँ, ज्यादै रमणीय बनाउन सक्छौँ, सम्पन्न बनाउन सक्छौँ । हामीसँग हिमाल छ, ग्लेसियर छ, खोला छन्, पहाड छ, तराई छ । हामी सबै एक भएर लाग्यौँ भने केके हुन्छ केके ।
कतैकतै लडाइँको कुरा हुँदैछ । केको लागि लडाइँ ? लडाइँ त अधिकारको लागि हुनुपर्छ । अधिकारको लागि हाम्रो लडाइँ हिजो थियो । आज केको अधिकारको लडाइँ ? के पाउनुभएन तपाईंले ? अरूले के पायो, तपाईंले के पाउनुभएन भन्यो भने थाहा छैन । लडाइँ अधिकारको, कुन अधिकार पाएन, भोटिङ राइट पाएन कि ? उम्मेदवार हुन पाएन कि ? कुनै अधिकार पाइनँ भन्ने विद्वान्ले नमूना देशको संविधान ल्याएर मलाई देखाइदेओस् । ३३ प्रतिशत महिलाका लागि आरक्षण गरिदिऊन् न त तिनले, पढेलेखेका विद्वानहरू छन् नि त । इन्टरनेट खूब खेलाएर बसेका छन्, गरे हुन्छ । कुनचाहिँ देशलाई नमूना, कुनचाहिँ लोकतन्त्रलाई नमूना मानेको हो, त्यो देशको संविधानलाई देखाइदिए भो नि त ३३ प्रतिशत महिलाका लागि आरक्षण । ४५ प्रतिशत पछाडि परेको समुदायका लागि आरक्षण कुनै संविधानमा देखाइदिए भइहाल्यो नि ? राष्ट्रियसभामा आउँदाखेरि ८ जनामध्ये कम्तीमा ३ जना महिला अनिवार्य, १ जना दलित अनिवार्य, १ जना अपाङ्गता भएका समेत अनिवार्य । कुनै पनि संसारको संविधानमा देखाइदिनोस् त यस्तो ? अपाङ्गता भएको भनेको कुद्न, उठ्न नसक्ने, एउटा कुनामा थन्केर बसेको हो, त्यसलाई पनि अहिलेको संविधानले देखेको छ । कुनै कुरो बाँकी छैन । देखाइदिनोस् त अन्त कहाँ छ ? धारा १६ देखि ४८ सम्म मौलिक अधिकार छ । यति धेरै मौलिक अधिकार संसारका कुनै संविधानमा देखिँदैन ।
यो देशमा यस्तो विष छरियो, डरलाग्दो गरी – पहिचानका नाममा, जातीय नाममा, जातीय राज्य, जातजातको राज्य, १ सय २५ जातजाति छ, छरिएको जातजाति छ, एउटा जाति एक ठाउँमा भइदिएको भए पनि एक जातिको राज्य भनिदिँदा हुन्थ्यो होला, छरिरहेको जात छ, तिनीहरू सबैलाई राज्य दिने कुरा गर्दै हिँड्ने ? यो जनतालाई लडाइरहने कुराबाहेक केही होइन । मैले अक्सर भन्ने गर्छु – रुवान्डा भन्ने एउटा देश छ, विचरा देश । सय दिनमा १० लाख मान्छे मरे । कसले मार्योभन्दा दाजुभाइले, दिदीबहिनी आफैँले । आपसमा मारामार गरेर, वल्लो घरकाले पल्लो घरकालाई मारे, पल्लो घरकाले वल्लो घरकालाई मारे । त्यस प्रकारको स्थिति रुवान्डामा भयो र दश लाख मान्छे तीन महिनामा मरे । अनि जात भन्न नपाइने भन्ने शब्द त्यहाँका जनताले संविधानमै लेखे । जात भन्ने कुरा त विष रहेछ भन्ने बुझे । छिमेकीबाट छिमेकी किन मरयो ? कुनै देशको आक्रमण भएको होइन, कहीँबाट केही भएको होइन । त्यहीँकाले त्यहीँकालाई मारे ।
रुवान्डाको लडाइँका फोटोहरू हेर्नुभयो भने देख्नुहुनेछ – फाटेको गञ्जी लगाएका छन्, फाटेका कट्टू लगाएका छन्, फाटेका गन्जी फेर्न सकेका छैनन्, तर हातमा १५–२० लाखका नयाँ–नयाँ बन्दुक समातेका छन् । टलक्क टल्कने नयाँ गोलीको माला दुई तिरबाट भिरेका छन् । तिनलाई गन्जी कसैले दिँदैन, तर २० लाखको बन्दुक दिन्छ किनभने ऊ अधिकारको लडाइँ लड्दैछ । अधिकारको लडाइँ कसका विरुद्ध ? आफ्नै घरछिमेकीका विरुद्ध । छिमेकीका विरुद्ध, कठै ! मान्छेमा सनक चढाइदिएपछि । कुरा बुझेपछि त्यो सनक रुवान्डामा उखेलिएको थियो । रुवान्डामा उखेलिएको विषको बिरुवा यहाँ ल्याएर रोप्न खोजिएको थियो, हामीले उखेलिदिएपछि पुर्पुरोमा हात लाएर छाती पिटेर रोइराखेका छन् ।
१ सय २५ जातजाति भएको, १ सय २३ भाषाभाषी भएको यो देश । कतिले भन्छन् यहाँ जातीय राज्य थियो भनेर । मैले अस्ति पनि एक ठाउँमा बोल्दाखेरि भनेँ – राणाशासनमा कुनै जातले पढ्नलेख्न पाउँथ्यो कि ? कुनै जातले चुनाव लड्न पाउँथ्यो कि ? कुनै जातले पार्टी खोल्न पाउँथ्यो कि ? कुनकुन अधिकार दिइएको थियो, पार्टीलाई ? त्यस्तो त थिएन । दाजुभाइ त काटाकाट गरेर मर्थे । त्यो एउटा नितान्त जहाँनियाको पनि सामन्ती निर्मम परिपाटी थियो । केको जातीय शासन ? पञ्चायती व्यवस्थाको कुरा पनि त्यस्तै हो । त्यही समयमा शेरबहादुर देउवाजी पनि हुनुहुन्थ्यो, म पनि थिएँ । म १४ वर्ष झ्यालखानामा बसेको थिएँ, गोलघरमा चार वर्ष बसेको थिएँ, नेल हथकडी लगाएर बसेको थिएँ । अनि बाहुनका राजमा म त बाहुनकै छोरा भएर झुक्किएर भए पनि त्यहीँ जन्मेको हुँ नि त । बाहुनको राज्यमा क्षेत्रीबाहुनकै छोरालाई गोलघर किन हाल्यो होला ? त्यो भ्रमपूर्ण धारणा हामीले राख्नुहुँदैन । समाज विकासका क्रममा अनेक तानाशाही प्रयासहरू हुने गर्छन्, जनतालाई अल्मल्याउनका निम्ति, बर्गल्याउनका निम्ति, अहिले पनि नेपाललाई अगाडि बढ्न नदिनका निम्ति अनेक प्रयासहरू भएका छन् । हामी सबै त्यसमा सचेत रहनुपर्छ ।
हामी यस देशलाई अब पनि यस्तै अवस्थामा लामो समय रहनदिन सक्दैनौँ । हामी एकताबद्ध भएर देशलाई अगाडि बढाउँछौँ । हामी अधिकारसम्पन्न भएका छौँ । सम्पूर्ण जनताले अधिकार, अवसर, सुरक्षा, सम्मान, समानरूपमा प्राप्त गर्छन् अब यस देशमा । भूकम्पबाट प्रभावित क्षेत्रहरू अहिले हाम्रा प्राथमिकताका क्षेत्र हुन् । ती जनतामा केन्द्रित भएर काम गर्छौँ । उद्योगधन्दा हिमालमा खोल्ने होइन, ठावैँ छैन, तराईमा खोल्नुपर्ने बन्द हडतालले कोही खोल्नै नमान्ने अवस्था भइसक्यो । मान्दैमान्दैन कोही मान्छे । कसरी खोल्ने ? हडताल हुन्छ, बन्द हुन्छ । यस्तो अवस्थामा हामी यस्तो प्याकेज लिएर जान्छौँ त्यहाँ विकासको, केहीलाई फेरि पिर पर्छ, हल्ला गर्न थाल्छन्; झुक्याउन, अल्मल्याउनका लागि तराईमा पनि कार्यक्रम दिन आयो भनेर । तराईमात्र होइन अब सिङ्गै नेपाललाई अगाडि बढाइन्छ, सिङ्गै नेपाली जनतालाई अगाडि बढाइन्छ । यस अभियानमा इञ्जिनियरहरूको सर्वाधिक महत्व रहन्छ । म यहाँहरूलाई अगाडि बढ्न आग्रह गर्न चाहन्छु । विशेष आग्रह हाम्रा प्रोफेसनल्स, हाम्रा इञ्जिनियर, हाम्रा कन्सल्टेन्सी र इञ्जिनियरिङ विषय पढिरहेका, राम्रो ज्ञान भएका हाम्रा विद्यार्थीहरू जसले आज पनि विभिन्न डिजाइनहरू प्रस्तुत गर्नुभएको छ । उहाँहरूको पनि काम यसमा धेरै आउँछ, जसले हिजो पनि धेरै काम गर्नुभएको छ, भूकम्प भन्दापछि पनि । हाम्रो आत्मविश्वास मर्न हुँदैन । जुन देशका जनता निरास हुन्छन्, सबभन्दा दुर्भाग्यको कुरा त्यहाँ हुन्छ । जब जनता आशावादी बन्छ, त्यो देश अगाडि बढ्छ । अबको समय विकास निर्माण र समृद्धिको समय बन्छ, बनाउनुपर्छ । त्यसकारण म आशावादी बनेर आत्मविश्वासका साथ अगाडि बढ्न सबै साथीहरूलाई आग्रह गर्दछु ।
(नेपाल इन्जिनियर्स एसोसिएशनद्वारा इन्जिनियरिङ कलेज, पुल्चोकमा आयोजित कार्यक्रममा व्यक्त विचारहरू)