NP EN

हामी नेपाललाई विभिन्न जातजाति र भाषाभाषीको एकताको राष्ट्र बनाउँछौँ

सम्पूर्ण तमु दाजुभाइ, दिदीबहिनीहरूमा छ्याजलो  ! यस कार्यक्रमका सभापतिज्यू,

विशिष्ट अतिथि पूर्व प्रधानमन्त्री, मेरा पुराना, अत्यन्तै आदरणीय मित्र शेरबहादुर देउवाजी, विशिष्ट महानुभावहरू, अतिथिगण, आयोजक साथीहरू, यस तमु ल्होसारमा उल्लासमय ढङ्गले उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू,

सबभन्दा पहिले म यस तमु ल्होसारको यस अवसरमा यहाँहरू सबैमा धेरैधेरै शुभकामना भन्न चाहन्छु । यो कार्यक्रम त सफल भइ नै सकेको छ । सफल नहुने कुरै छैन । पुस १५ वर्ष परिवर्तनको दिन π खासगरी नेपालका गुरुङ जाति अथवा तमुहरूले मनाउने तमु ल्होसार यो नयाँ वर्षमा प्रवेश गरेको छ, प्र–ल्होमा प्रवेश गरेको छ । तपाईंहरूले यत्रो भव्य कार्यक्रमको आयोजना गर्नुभएको छ । म तपाईंहरूको यस उत्साहका लागि धन्यवाद भन्न चाहन्छु । आज यहाँ उपस्थित हुनुभएका, यहाँ उपस्थित नभएका, देशभित्र रहेका र दुनियाको जुनसुकै भागमा रहेका भए पनि सबै तमुहरूमा, गुरुङ दाजुभाइ, दिदीबहिनीहरूमा धेरैधेरै शुभकामना भन्न चाहन्छु । गुरुङ भाषामा आशिमाल भन्छ क्यारे । आशिमाल दुनियाकै तमुहरूमा । यो तमुहरूकै मात्र चाड होइन, यो हामी सबै नेपालीहरूको चाड हो । सबै नेपालीहरूमा पनि आशिमाल !

हाम्रो देश भौगोलिक विविधताले युक्त छ । हाम्रो देश हिमाल, पहाड, तराईको देश हो । पूर्वपश्चिम फैलिएको छ । हामी धेरै जातिका, धेरै समुदायका, धेरै भाषा बोल्ने, धेरै भेषभूषा लगाउने जनता यस देशमा बसोबास गर्छौँ । नेपाल हामी सबैको देश हो । कहिले–कहिले अलिकति भड्किएका–भड्किएका धारणाहरू देखिन्छन् । हाम्रा धारणाहरू भड्किनु हुँदैन । हामी एउटा जात र अर्को जातका भनिएपनि दाजुभाइ, दिदीबहिनी हौँ । हामी एउटा जात र अर्को जात भन्ने गरिए पनि छिमेकी पनि हौँ  । हामी जुनसुकै जातको भए पनि नेपाली हौँ । नेपालबाहेक अन्त तमु हुँदैन, गुरुङ हुँदैन । तमु भाषा पनि नेपालकै उत्पत्ति हो । यो संस्कृति, यो भेषभूषामा हाम्रो मौलिकता छ । आज मैले झाँकीहरू हेरेँ । झाँकी प्रदर्शन गर्ने सम्पूर्ण तमु दाजुभाइ, दिदीबहिनीहरूलाई म धन्यवाद भन्न चाहन्छु । उहाँहरूले हाम्रो संस्कृतिलाई, हाम्रो सभ्यतालाई, हाम्रो पहिचानलाई हाम्रो परिचयलाई, जीवित राख्नुभएको छ । त्यसको आकर्षण बढाउनुभएको छ । हामीसँग हाम्रा संस्कृतिहरू छन् । राम्रा संस्कारहरू छन् । राम्रा परम्पराहरू छन् । ती राम्रा संस्कृति र परम्पराहरूलाई हामीले अगाडि बढाउनुपर्छ । हामी एक्काइसौँ शताब्दीमा छौँ । हामी पुराना कुरामा माात्र अल्झेर बस्न सक्दैनौँ । हामीले त्यसलाई आधुनिकतासँग पनि मिसाउनुपर्छ । हाम्रा संस्कृति हामीले कायम राख्छौँ, संरक्षण गर्छौँ, विकास गर्छौँ । त्यसभित्र आधुनिकता पनि मिसाउँछौँ र विकास गर्छौँ । 

हिजो हामी डुङ्गामा खोला तर्थ्याैं, तर आज पक्की पुलमा बाटोबाट तर्छौँ, यो हाम्रो संस्कृतिको अपहेलना होइन, विकास हो । कतिपय विकासको स्तरमा भएका कुराहरूलाई आजको आधुनिकतासँग जोडेर लानुपर्छ । 

हामी नेपाललाई धेरै जातजाति, भाषाभाषीको एकताको एउटा राष्ट्र बनाउन चाहन्छौँ, तब मात्र हाम्रो सगोलको राष्ट्र हुन्छ । अलिकति म यहाँहरूलाई भनुँ, राणाशासनमा क्षत्री, बाहुनलाई स्कूल खोल्ने अधिकार थियो र ? राणाशासनमा कसैलाई पनि थिएन । राणाशासनमा क्षत्री बहुनलाई मौलिक अधिकार थियो र ? त्यो पनि थिएन । गुरुङलाई मात्र नभएको होइन, मगरलाई पनि थिएन, नेवारलाई पनि थिएन, बाहुनलाई पनि थिएन, क्षत्रीलाई पनि थिएन, तामाङलाई पनि थिएन । राणाबाहेक कसैलाई छँदै थिएन । उनीहरूको मात्रै शासन थियो । कस्तो शासन थियो ? आफ्नै दाजुभाइलाई काटेर आफैँ शासन गर्ने । त्यसलाई चाहिँ एउटा जातको शासन भनेर भनियो । भाइ काटेर शासन गरेको छ, केको एउटा जातको शासन भन्ने ?

पञ्चायतकालमा बाहुनलाई चाहिँ पार्टी खोल्न दिइएको थियो र ? २०३२ सालमा शेरबहादुर देउवासँग मेरो सेन्ट्रल जेलमा भेट भएको थियो; म बाहुन, उहाँ क्षत्री । पार्टी खोल्न त दिइएको थिएन, नेविसङ्घ खोल्न दिइएको थिएन । उहाँ नेविसङ्घको अध्यक्ष हुनुहुन्थ्यो त्यसबेला । नेविसङ्घ खोल्दाखेरि उहाँलाई थुनिएको थियो । एकपटक शेरबहादुर देउवाजी रिसाउनु भएछ कि जस्तो लागेको थियो मलाई । म यतापट्टि छु, उहाँ उतापट्टि । म उहाँतिर फर्केर हेरिरहेछु तर उहाँ मतिर फर्केर हेर्दै हेर्नुहुन्न । यसो मुन्टो फर्काए हुन्थ्यो भन्ठान्यो फर्काउँदै फर्काउनु हुन्न । किन रहेछ त भनेर हेर्दा त हनुमानढोकामै सोझ्याएर ल्याएका रहेछन् । अनि त्योचाहिँ क्षत्रीको शासन थियो ? त्यसकारण हामीले केही भ्रम राख्नुहुन्न । सामन्ती शासनहरू, सामन्ती व्यवस्थाहरू जनतालाई विभाजन, गरेर दमन गरेर, फुटाएर, चेतनालाई दबाएर त्यसरी नै चलाइएका थिए । 

राणाको विरुद्ध लड्ने लखन थापा के थिए ? महिलाको चेतना उठाउने योगमाया के थिइन् ? अनि जातीय विभेद हट्नुपर्छ भनेर बाग्लुङमा लडाइँ लड्ने ती भगत विश्वकर्मा के थिए ? प्रश्न त्यो मात्र होइन, १९९७ सालमा मारिएका, कारवाही गरिएका, जेल हालिएका के थिए ? तसर्थ हामीले स्पष्ट हुनुपर्दछ, एउटा वर्गीय शासनमा, तानाशाहीमा, पञ्चायती शासनमा आमजनतामाथि दमन थियो, गुरुङमाथि दमन थियो, तामाङमाथि थियो, दलितमाथि थियो, सबैमाथि दमन थियो ।  म चौध वर्ष जेल बसेँ, बाहुनको राज थियो ? चार वर्ष गोलघरमा बसेँ, बाहुनको राज थियो ? कसरी कसरी बाँचेर आइयो, उमेर भएको हुनाले । चार वर्ष गोलघरभित्र, शेरबहादुरजीलाई थाहा छ । गोलघरभित्र चार वर्ष, एक जना मान्छे नभेटी ६ वर्ष । म त बाहुनकै कोखबाट जन्मेको थिएँ नि त ? बाहुनको शासन क्या मजा छ, नेल हथकडी ठोकेको छ । गोलघरमा हालेको छ, १४ वर्ष झ्यालखानामा राखेको छ । 

त्यसकारण हामीले कुनै भ्रममा पर्नुहुँदैन । हामी हिजोको सामन्ती शासनबाट मुक्त भएका छौँ । अब नेपाली जनता सबै जातिका जनता, १ सय २५ जातजाति यस देशमा बस्छौँ, १ सय २३ भाषाभाषी बस्छौँ । सबै जातिको, सबै भाषाको, सबै संस्कृतिको उत्थान हुनुपर्दछ, संरक्षण हुनुपर्दछ, विकास हुनुपर्दछ । सबैको विकासस्वरूप नेपालमा राष्ट्रको विकास हुनुपर्दछ, नेपाली जनताको विकास हुनुपर्दछ । नेपाली जनता सुखी हुनुपर्छ भनेको गुरुङबाहेक अरू सुखी हुँदा नेपाली जनता सुखी हुन्छ ? तामाङबाहेक, मगरबाहेक अरू सुखी भयो भने नेपाली जनता सुखी हुन्छ ? राई वा लिम्बुबाहेक अरू सुखी भयो भने नेपाली जनता सुखी हुन्छ ? होइन, हिमाल, पहाड, तराई जुनसुकै, जहाँको भए पनि जुनसुकै भाषाभाषी भए पनि, जुनसुकै जातको भए पनि र जुनसुकै पेसा अपनाउने भए पनि नेपाली जनता हो । 

हिजोका कुरा सुनेर हामी अल्मलिनु हुँदैन । अहिलेको सरकार सबै जातिको सरकार हो । यो सरकारले जनताको उत्थानको निम्ति काम गर्छ, विकासको निम्ति काम गर्छ । नेपालमा राष्ट्रिय गान एउटै छ । हामी सबैले एउटै राष्ट्रिय गान र एउटै राष्ट्रिय झण्डाको नाममा गोलबन्द हुने, एकताको भावनालाई अगाडि बढाउने काम गर्नुपर्दछ । कसैले कसैमाथि अन्याय, थिचोमिचो, विभेद गर्न पाइँदैन ।  

तमु ल्होसारको यस सुखद अवसरमा म फेरि पनि तपाईंहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु । सबैमा धेरैधेरै शुभकामना !

(२०७२ पुस १५ गते तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन)