NP EN

कला, साहित्य र संस्कृतिले देशलाई प्रतिबिम्बित गर्छन्

चलचित्र क्षेत्रका अगुवा साथीहरू र सम्पूर्ण कलाकार साथीहरू, आज एउटा राम्रो काम प्रारम्भ भएको छ, नेपाली जनताले मनोरञ्जन प्राप्त गर्नेछन् । मैले अहिलेसम्म सबै हेरेको छैन, यसमा सन्देश र शिक्षाका पाटा पनि अवश्य नै होलान् भन्ने मैले ठानेको छु । 

कला, साहित्य, सङ्गीत र खेलकुदको विकासको स्तरले देशको विकासको स्तरलाई प्रतिबिम्बित गर्छ । देश कहाँ छ, त्यस कुरालाई प्रतिबिम्बित गर्छ । अझ कला, संस्कृति र साहित्यको स्तरले देशको सांस्कृतिक स्तर कस्तो छ, देशको चेतनाको स्तर कस्तो छ र देशको वर्तमान कस्तो छ भन्ने कुरालाई प्रतिबिम्बित गर्छ । यस अर्थमा कला, साहित्य र संस्कृति धेरै महत्वपूर्ण छन् । 

हाम्रो देश कला र संस्कृतिको क्षेत्रमा बहुतै पुरानो इतिहास भएको देश हो । कला, गायन, सङ्गीत, वाद्यवादन, नाटक र अभिनयको क्षेत्रमा यो देश, धर्तीको यो भूभाग इतिहासमा धेरै अगाडि रहिआएको थियो । वास्तवमा सङ्गीत, वाद्यवादन, धुनहरू यहीँ प्रकट भए, यहीँ आविष्कार भए । उहिले–उहिले पनि हाम्रा पूर्वजहरू मनोरञ्जन मन पराउँथे । काममा र त्यसबेलाको जीवनअनुसार जीवनका विविध पक्षहरूमा पनि तिनीहरूको रुचि थियो । उनीहरू मेहनती थिए, सँगसँगै मनोरञ्जन पनि खूब मन पराउँथे । संसारमा सोमरस अन्त उत्पत्ति भएको थिएन होला, त्यसबेला नेपालमै उत्पत्ति भएको हुनुपर्छ । चाडहरू, पर्वहरूको पनि प्रादुर्भाव यहीँ भएको थियो । हामी हाम्रा पुर्खाहरूको बारेमा बुझ्न सक्छौँ, हाम्रा पुर्खाहरूले कस्ताकस्ता अन्वेषण गरेका थिए भन्ने कुरा । 

हाम्रो देश आशुकविहरूको देश हो । हाम्रो देश प्रतिभाहरूको देश हो । साङ्गीतिक र सांस्कृतिक प्रतिभाहरूको देश हो । वनमा गाई चराउँदा चराउँदै धेरै वटा गीत आविष्कार हुन्छन् । घाँस काट्दाकाट्दै, दाउरा खोज्दाखोज्दै धेरै वटा गीत आविष्कार गरिन्छन् । तिनले लय प्राप्त गर्छन् । नेपालीमा मैले सुनेको छु,  गीत नै छ – दोहरीमा कुरा गर्छौँ भन्ने । दोहरीमा अथवा गीतमा, सङ्गीतमा, धुनमा तादात्म्यताका साथ कुरा गर्नु, सङ्गीतमय पाराले कुरा गर्नु, कवितामय पाराले कुरा गर्नु, गीतमय पाराले कुरा गर्नु, कुरा नै गीतबाट गर्नु सजिलो अवश्यनै होइन । एउटा गीतको रचना गर्न एउटा गीतकारलाई निक्कै गाह्रो पर्छ, हम्मेहम्मे पर्छ, तर हाम्रो गाउँघरतिर उहिलेदेखि गीतकारहरूले तत्काल चाहिएका  गीतहरू रचना गर्छन् र गाउँछन् । हाम्रो त्यो परम्परा छ ।

जे होस्, यो सांस्कृतिक परम्पराहरूको धनी देश हो । यस देशमा परम्परागत हिसाबले, इतिहासको हिसाबले हामी धनी छौँ । आज विज्ञान र प्रविधिले उन्नति गरेको छ । विज्ञान र प्रविधिलाई हाम्रा सम्पन्नतासँग, हाम्रा पुराना वैभवहरूसँग हामी मिश्रित गर्न सक्छौँ र उन्नतस्तरको कला, संस्कृति हामी सिर्जना गर्नसक्छौँ । हामी चिन्तकहरूका, कलाकारहरूका, कविहरूका, गीतकारहरूका, सङ्गीतज्ञहरूका सन्तान हौँ । यसमा आजको विज्ञान प्रविधि मिसाएपछि त्यसले स्तरीयता प्राप्त गर्न सजिलो हुन्छ । उहिलेदेखि नै सुमधुर स्वरमा हाम्रा कलाकारहरू, गायकहरू, गायिकाहरू गाउँथे । एउटा गायकले गाइदिएपछि धेरै युवतीहरू त्यो स्वरमा हुरुक्क हुन्थे । एउटी गायिकाले गाएपछि धेरै युवकहरू भुतुक्क हुन्थे । त्यसमाथि हाम्रा भोकल ट्रेनिङहरू आएका छन् । हाम्रा पुर्खाले सप्तस्वर बनाएका थिए, त्यसलाई अहिलेसम्म कसैले च्यालेञ्ज गर्न सकेको छैन । फ्ल्याटमा जाऊ, सार्पमा जाऊ, जेसुकै भने पनि त्यही हो । हाम्रो पुर्खाले हजारौँ वर्ष अगाडि त्यो आविष्कार गरे । आधुनिक विज्ञान प्रविधि, आजको लाइटिङ, आजको विज्ञान–प्रविधिले हामीलाई दिएका अरू चीजहरूको सुविधा सबै मिसाएर हामी हाम्रो कलासंस्कृतिलाई उन्नत गर्नसक्छौँ । 

मैले भनेको छु, गोरखा जिल्लाको पश्चिमी–दक्षिणी भूभाग, तनहुँको पूर्वी, मस्र्याङ्दीको किनारतिर, लमजुङको दक्षिणतिर, गोरखाको पालुङटार, चुँदीरम्घा, भानु गाविसको यो क्षेत्र, भोटेओढारतिर मैले एउटा स्मार्ट सिटीको परिकल्पना गरेको छु र त्यस स्मार्ट सिटीमा अत्यन्तै सुविधासम्पन्न, अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी पनि बनाउने भन्ने मैले योजना राखेको छु, जहाँ पछिल्लो पुस्तामा होइन, तपाईंहरूकै पुस्तामा केही वर्षभित्र तपाईंहरूले यस फिल्म सिटीमा आफ्नो इन्डस्ट्रीलाई, आफ्नो सीपलाई, आफ्नो ज्ञानलाई, आफ्नो कलालाई बढी मुखरित गर्ने अवसर पाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । तपाईंहरूले फिल्म सिटी दोलखाको डाँडोमा राख्ने कुरा गर्नुभएको छ, दुई दिन घाम लाग्छ, दुइ घण्टा । मैले  अलिक अगाडि पनि कलाकार साथीहरूसँग भेटेँ । हिरोसँग साह्रै रिस उठेका बेला हिरोइनले गएर खोलामा हाम्फाल्ने पनि ठाउँ हुनुुपर्छ । अनि हिरोले त्यहाँ बचाउनु नि परयो । त्यहाँ पुल चाहियो । झोलुङ्गे पुल चाहियो । गाडीमा स्वाट्ट माइत हिडेँ भनेर हिँड्ने ठाउँ पनि चाहियो । दोलखाको डाँडामा त्यो सम्भव छैन । मैले सङ्केतमात्र गरेको छु । 

यहाँ एउटा नयाँ कृतिको सुरुआत गरिएको छ । मलाई खुसी लागेको छ । यस्तो अवस्थामा पनि तपार्ईंंहरू सिर्जना गरिरहनुभएको छ । यस्तो प्रतिकूलतामा पनि सिर्जना गरिरहनुभएको छ । यस्तो अभावका बीचमा पनि सिर्जना गरिरहनुभएको छ । म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु, बधाइ भन्न चाहन्छु । यसभित्र तपाईंहरूका उद्देश्य मैले जो सुनेँ, प्रशंसायोग्य छन्, ती उद्देश्यहरूको म प्रशंसा गर्न चाहन्छु । जे होस् तपाईंहरूका उद्देश्य सफल रहून् । 

म लामो समय लिएर धेरै कुराहरू भन्न चाहन्न । नेपाललाई विकसित बनाउनु छ, आधुनिक बनाउनु छ। आधुनिक बनाउँदा हाम्रा गौरवपूर्ण परम्पराहरू, हाम्रा सुन्दर सम्पन्न संस्कृतिहरू, हाम्रा विविधताको सम्मान गर्नुपर्छ । यो विविधता हाम्रो सम्पन्नता हो । ती भौगोलिक, भाषिक, जातीय अनेक प्रकारका छन् । मैले रेडियोमा कसले गायो भनेर त्यति ध्यान दिन पाउँदिन तर पूर्वतिरको राईले गायो भने म थाहा पाउँछु, यो राईको स्वर हो । म कुनचाहिँ गायक हो भनेर धेरै थाहा पाउँदिन, तर यो राईले गाएको हो भन्नेचाहिँ थाहा पाउँछु । यसको अर्थ के हो भने हाम्रा गायनभित्र पनि आफ्ना छाँटकाँटहरू छन् । आफ्ना तरिकाहरू छन् । आफ्ना विशेषताहरू छन् । कहीँ न कहीँ, कतै न कतै त्यो विशेषता मिसिएको हुन्छ । माया लाएको गीत सुन्यो भने त्यहाँ कतै न कतै कलाकारमा मायालु मात्र मिसिएको हुँदैन, त्यहाँ राई पनि मिसिएको हुन्छ । हाम्रा ती सम्पन्नतालाई सम्मान गर्ने, यी विविधतालाई सम्मान गर्ने, तिनको विकास गर्ने, पारस्परिक सहयोगको भावनाले अगाडि बढाउनुपर्छ । नेपाल हाम्रो हो, हामी नेपालीहरूले नेपाललाई कसैले हेप्न, मिच्न नसक्ने गरी समृद्ध बनाउनुपर्छ  । धेरै वर्ष लाग्दैन, यहाँ त काम नगर्ने, काम गर्न नदिने, कुरा गर्ने, कुरा काट्ने प्रवृत्ति धेरै छ । ती प्रवृत्तिहरूलाई तोड्न म यस ठाउँमा आएको छु । यसलाई तोडेर हामी अगाडि बढ्छौँ । 

कला, सङ्गीत र फिल्मका क्षेत्रमा के कस्तो सहयोग पुरयाउनुपर्छ, सरकार तयार छ । फिल्म क्षेत्रलाई साधनस्रोतका हिसाबले हलिउड र बलिउडको स्तरमा पुरयाइहाल्छु भन्ने कुरा म गर्न चाहन्न । तैपनि हामी आफ्नो अवस्थाबाट तीव्रताका साथ अगाडि बढ्छौँ । त्यसमा मेरो सहयोग हुन्छ । तपाईहर्इंरूलाई  धन्यवाद । आज हामीले जुन सुरुआत गरका छौँ, ‘फूलैफूलको मौसम तिमीलाई !!’ कति राम्रो नाम छ, यो सफल रहोस् । शुभकामना छ !!

(‘फूलैफूलको मौसम तिमीलाई’ को समारोहमा कलाकारहरूका बीच प्रस्तुत मन्तव्य)