NP EN

म भन्छु – हामी एकताबद्ध भएरै अगाडि बढ्नुपर्छ

नेपाली काङ्ग्रेसका सभापति एवम् विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री सुशील कोइरालाज्यू, उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक तथा एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ज्यू, नेकपा (एमाले) लगायत विभिन्न पार्टीका नेताज्यूहरू, माननीय उपप्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू र उपस्थित साथीहरू,

यहाँहरू सबैलाई म यस सङ्क्षिप्त भेटघाट र दिवाभोजसमेतको कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँ हामी केही औपचारिकताका थोरै शब्दहरू मात्रै प्रयोग गरिरहेका छौँ । म यस कार्यक्रममा उपस्थित सबै साथीहरूलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु । 

हामीले लगातार लोकतान्त्रिक अभ्यास गरेका छौँ र त्यस अभ्यासलाई प्रतिफलयुक्त बनाएका छौँ । हाम्रो राजनीतिक यात्रा सकारात्मक दिशामा उपलब्धिका साथ अगाडि बढिरहेको छ । हामीले केही समय अगाडिमात्रै संविधानसभाबाट नेपालको संविधान जारी गरेका छौँ । त्यसपछि हामीले संविधानको कार्यान्वयनको अभ्यास र अवधि प्रारम्भ गरयौँ । तत्सम्बन्धमा हामी केही अगाडि बढिसकेका छौँ । हामीले संविधानको कार्यान्वयनकै सन्दर्भमा संविधान जारी भएपछि त्यसको कार्यान्वयनको प्रसङ्गमा नै राष्ट्रपतिको निर्वाचन गरिसकेका छौँ । हामीले सोचेका थियौँ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकैचोटि गर्छौँ तर केही प्राविधिक, संवैधानिक अप्ठ्याराहरू रहेछन्, जसका कारण हामी उपराष्ट्रपतिको निर्वाचन पर्सि गर्नेछौँ । आज तीन बजे नवनिर्वाचित राष्ट्रपतिज्यूलाई शपथग्रहण गराउने कार्यक्रम छ र हामी त्यहाँ बधाइ ज्ञापन पनि गर्छौँ । त्यसपछि दुर्इ घण्टापछि निवर्तमान राष्ट्रपति जो  बिदा हुँदै हुनुहुन्छ, उहाँको विदाइ कार्यक्रम पनि हामीले राखेका छौँ । 

राष्ट्रपति निर्वाचनचाहिँ हामीले पहिले पनि गरेका थियौँ । राष्ट्रपतिको शपथग्रहण र राष्ट्रपतिलाई कार्यालयमा प्रवेशको व्यवस्था मिलाउने जस्ता कामहरू अहिले गरेका छौँ ।  त्यो एउटा नयाँ अभ्यास नै भए पनि हामीसँग एउटा नजिर थियो । कार्यकाल टुङ्ग्याएर निवर्तमान राष्ट्रपतिलाई बिदाइ गरेको हामीसँग कुनै नजिर, दृष्टान्त छैन, अनुभव छैन । त्यसकारण हामीले नयाँ कुरा पनि बनाउनु पर्नेछ । 

सम्पूर्ण नेताज्यूहरू र माननीयज्यूहरू, माननीय सांसदहरू, हामीमध्ये कोही संसदभित्र वा हिजोको संविधानसभाभित्र रहेका छौँ, थियौँ वा थिएनौँ अथवा कोही सत्तापक्ष वा प्रतिपक्षमा हौँला, तर पनि हामी हरेकले संविधान निर्माणको सन्दर्भमा आफ्नो ठाउँबाट आफ्नो ढङ्गले प्रयासहरू केन्द्रित गरेका हौँ । सकारात्मक योगदान गरेका हौँ । यस्तो स्थितिमा यहाँसम्म ल्याइपुरयाउने काममा जुन सक्रिय सहभागिता हामी सबैको रहेको छ, योगदान रहेको छ, त्यसका निम्ति सम्पूर्ण नेताज्यूहरूमा, राजनीतिक दलहरूमा र माननीय सांसदज्यूहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । 

हिजो राष्ट्रपति निर्वाचित हुनुभएको छ । शपथग्रहण कार्यव्रmम ३ बजे छ, त्यस कार्यक्रममा हामी बधाइ ज्ञापन गर्नेछौँ, शुभकामना व्यक्त गर्नेछौँ । म सबै नेताज्यूहरू, माननीयज्यूहरू र सबै साथीहरूलाई त्यस कार्यक्रममा सरिक हुन आग्रह गर्दछु । यदि कार्ड पुगेको छैन, निम्ता पुगेको छैन भने यहींबाट अहिले नै आमन्त्रण गर्न चाहन्छु, साथीहरूलाई । हार्दिक निमन्त्रणा छ, त्यस कार्यव्रmमको आयोजना मैले नै गर्ने हो। त्यसकारण म सबै साथीहरूलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु । 

अब एकछिन पछिदेखि पूर्व राष्ट्रपतिज्यू भन्नुपर्ने निवर्तमान राष्ट्रपतिज्यूले यी बितेका वर्षहरूमा राष्ट्रप्रमुखका हैसियतले देशमा अत्यन्तै ठूलो योगदान गर्नुभएको छ, महत्वपूर्ण योगदान गर्नुभएको छ, त्यसका निम्ति हामी उहाँप्रति आभारी छौँ । हामी उहाँलाई धन्यवाद दिन्छौँ ।  

अहिले देशले केही समस्याहरू झेलिरहेको छ । अनावश्यक ढङ्गले समस्या झेल्नुपरिरहेको छ । कुनै औचित्यपूर्ण कारण भएर होइन, त्यसै समस्या भोग्नुपरेको छ र गम्भीर समस्या भोग्नुपरेको छ । यस्तो बेलामा जनताले पाएको दुःखमा म संवेदनशील छु । सरकार संवेदनशील छ । म ठान्छु, हामी सबै संवेदनशील छौँ । ती समस्या समाधान गर्न हामी लागिरहेका छौँ । एकताबद्ध भएर नै यी समस्याहरूको समाधान गर्ने प्रयासलाई मैले अगाडि बढाउनेछु, यद्यपि यसको अगुवाइ स्वाभाविकरूपले सरकारले गर्नुपर्छ र गर्नेछ । 

अहिले सरकारमा रहेको, सरकारको नेतृत्व गरिरहेको र सरकारमा रहेका दलहरूको समग्रको तर्फबाट म सबै साथीहरूलाई भन्न चाहन्छु, हामीले लोकतान्त्रिक अभ्यास गरेका छौँ,  प्रधानमन्त्रीकै पनि निर्वाचन भयो, राष्ट्रपतिकै निर्वाचन भयो, त्यसमा जसरी जनताले अपेक्षा गरेको हो त्यसअनुसार कता–कति हामी जानसकेनौँ होला, तैपनि हामी राष्ट्रिय हितहरूको, जनताका सुखसुविधाहरूको, जनताले भोग्नुपरेका समस्या हटाउने सन्दर्भमा र देशलाई विकासको बाटोमा अगाडि बढाउने सन्दर्भमा एक छौँ भन्ने कुरामा म विश्वास गर्छु ।  अहिलेको सरकारको नेतृत्व गरिरहेको पार्टीको तर्फबाट र सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको हिसाबमा म के स्पष्ट राख्न चाहन्छु भने अहिलेको सरकार सरकारमा रहेका मेरो पार्टीलगायत सम्पूर्ण पार्टीको सहमतिका साथ अगाडि बढ्न चाहन्छ । हामी सबैमा आग्रह पनि गर्न चाहन्छौँ – हामी मिलेर अगाडि बढौँ । हाम्रा अगाडि केही समस्याहरू छन्, ती समाधान गरौँ । संविधानको संशोधन गर्नुपर्ने, कानुनको निर्माण गर्नुपर्ने, कानुनको संशोधन गर्नुपर्ने, सङ्घीय मामिलासम्बन्धी प्रश्न जसले एउटा संविधानसभालाई संविधान बनाउन नदिइकन असफल बनायो, अर्को संविधान सभामा जटिलताहरू बनेका छन्, केही साथीहरू त्यस प्रश्नमा संविधानसभा वा संसदबाट समेत बाहिर छन्, त्यस्तो अवस्थामा सङ्घीयताको प्रश्न, त्यसका सङ्ख्याको, नामको, सिमानाको अथवा यी सबै प्रश्नमा हामी खुला छौँ । यी सबै प्रश्नहरू देशका लागि, नेपालको दीर्घकालीन हितका लागि, सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताका लागि, राष्ट्रिय हितका लागि अनुकूल हुने गरी हामी अगाडि लान तयार छौँ । यसमा विभिन्न पक्षका मागहरूलाई सम्बोधन गर्न हामी तयार छौँ । यो म साथीहरूलाई विश्वास दिलाउन चाहन्छु । 

आन्दोलनरत साथीहरूलाई, पार्टीहरूलाई, पक्षहरूलाई अनुरोधका साथ भन्न चाहन्छु – यो आत्मघाती गोलजस्तो भयो । खेलहरूमा कहिलेकहिले खासगरी फुटबलमा आत्मघाती गोल भन्ने हुन्छ । आफ्नो सिमानामा आफूले अवरोध गर्ने, आफैँले नाकाबन्दी गर्ने, आफैँले ग्याँस, पेट्रोल भित्र ल्याउन नदिने, अनि आफैँ घरमा आएर तेल छैन, ग्याँस छैन भनेर नराम्रो मान्ने । त्यसो गर्नु भएन । अरू उद्देश्यहरू त्यसभित्र मिसिएका छन् भने पनि बोर्डरमा गएर नबसिदिए पछि त कसैले केही भन्ने ठाउँ नै हुँदैन । अरूले यसो गरे, बाटो छेके, त्यसकारण आएन भन्ने ठाउँ नै हुँदैन । नेपाली जनतालाई नै कष्ट पर्ने, नेपाली जनताको चुल्हो बाल्न गाह्रो पर्ने, नेपाली जनताले सवारी साधन चलाउन नपाउने, नेपालका एम्बुलेन्स चल्न नपाउने, नेपालका बालबालिकाले, विद्यार्थीले पढ्न नपाउने, नेपालका मजदुरहरूले काम गर्न नपाउने र नेपालको अर्थतन्त्र, नेपालको व्यापार बर्बाद हुने, नेपाली उत्पादनहरू बर्बाद हुने, नेपाली उत्पादनहरू बर्बाद हुने यसप्रकारका कामहरू गर्नु उपयुक्त हुँदैन । त्यसकारण म आग्रह गर्न चाहन्छु, यस्ता कुराहरूलाई कसैले यदि बाहाना बनाएर नै केही गर्न चाहन्छ भने त्यो बाहाना किन बनाइदिने ? म नेपालका सम्पूर्ण राजनीतिक पार्टीहरू, नेताजीहरूलाई  सिमानाका नाकाहरूमा समस्या पैदा नगर्नका निम्ति, त्यहाँको आवागमनजस्ता कुराहरूलाई व्यवधान पुरयाउने काम नगर्नका लागि अनुरोध गर्न चाहन्छु। 

हामी सम्वादबाट कुराहरू टुङ्ग्याउन सक्छौँ । सम्वादबाट, कुराकानीबाट उहाँहरूका सबै जायज मागहरूलाई हामी सम्बोधन गर्नसक्छौँ, माग पूरा गर्नसक्छौँ र अगाडि बढ्नसक्छौँ । अरू विभिन्न प्रयासहरू पनि हामी गरिरहेका छौँ । यसबीचमा हाम्रा प्रयासहरू सबै माननीयज्यूहरू, नेताज्यूहरू र साथीहरूलाई थाहा छ भन्ने म ठान्छु । त्यसकारण यसमा मैले धेरै भनिरहनु पर्ला जस्तो मलाई लाग्दैन र म विश्वस्त छु, केही दिनभित्र केही समयभित्र यसको समाधान निस्कनेछ ।

हिजो राष्ट्रपतिमा निर्वाचित सम्माननीय विद्या भण्डारीजीले नेकपा (एमाले), त्यसको उपाध्यक्षको पद, त्यसका अन्य कमिटीहरूका पद, त्यसको सदस्यताको जिम्मेवारी, सांंसदको जिम्मेवारी समेतबाट अवकाश लिनुभएको जानकारी आइसकेको छ, त्यो म साथीहरूलाई अवगत गराउन चाहन्छु । 

फेरि एकपल्ट म साथीहरू, नेताज्यूहरू, सभासद्ज्यूहरू सबैलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु । सबै साथीहरूलाई दिवाभोजमा सरिक हुन हार्दिक अनुरोध गर्न चाहन्छु । 

(२०७२ साल कार्तिक १३ गते प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित विभिन्न पार्टीका नेता तथा सांसदहरूबीचको भेटघाट एवम् दिवाभोज कार्यक्रममा व्यक्त विचारहरू)