NP EN

अर्को इतिहास आरम्भ भएको छ

यस संयुक्त संसदीय दलको बैठकमा उपस्थित हुनुभएका एनेकपा (माओवादी) का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालज्यूलगायत सबै दलका नेता साथीहरू, माननीय मन्त्रीज्यूहरू, सांसदज्यूहरू र अन्य साथीहरू । 

आज हामी एउटा इतिहासको रचना गर्ने मोडमा, यस घडीमा यहाँ उपस्थित भएका छौँ । हामीले साधारण काम गरेको जस्तो लाग्छ, एउटा कागजमा यसो रेजा चिन्ह लगाउँछौँ, तर त्यो चिन्ह राष्ट्रलाई नयाँ बाटोमा, नयाँ उचाइमा, नयाँ मोडमा र नयाँ दिशा दिएर अगाडि बढाउने चिन्ह हुन्छ । हामीले संविधान बनाउने सफलता प्राप्त गरेका छौँ । यो वास्तवमै ऐतिहासिक सफलता हो । हाम्रोजस्तो संविधानसभा जो बहुतै जटिल छ, त्यस्तो संविधान सभाबाट हामीले अत्यधिक सहभागिता र सहमतिमा संविधान जारी गर्ने सफलता पायौँ र नेपाली जनताको लामो समयदेखिको आकाङ्क्षालाई मूर्तरूप दियौँ । सङ्घर्ष र बलिदानका गाथाहरूलाई सम्मान गरयौँ । उपलब्धिहरूलाई संस्थागत गरयौँ । एउटा इतिहासलाई सुखद् ढङ्गले बिट मारयौँ । अर्को इतिहास आरम्भ भएको छ र इतिहासको आरम्भ नयाँ सङकेतका साथ अगाडि बढेको छ । 

यतिबेला हामीले लिइरहेको बाटोले सर्वोपरिरूपमा देशभक्ति, जनताप्रतिको निष्ठा, विकास, उन्नति, अग्रगमन, परिवर्तनप्रतिको प्रतिबद्धताजस्ता कुराहरूलाई स्पष्ट पारेको छ । यस्तो बेलामा म सबै नेताज्यूहरू, माननीयज्यूहरूलाई यस बैठकमा हार्दिक स्वागत गर्न चाहन्छु । यो ऐतिहासिक घडीमा, यस प्रकारको बैठक यस्ता मोडहरूमा कहिलेकाहीँ मात्र बस्छ, यो पनि एउटा ऐतिहासिक घडी हो हाम्रा लागि । हामी एउटा नयाँ इतिहासको रचना गर्दैछौँ । नेपालमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ, नयाँ संविधानले त्यसलाई संस्थागतरूप दिएको छ, जनता सार्वभौमसत्तासम्पन्न भएका छन् र सँगसँगै हामीले नयाँनयाँ कीर्तिमानहरू बनाउँदै गएका छौँ । इतिहास दोहोरिएको मात्र छैन, नयाँ इतिहासको रचना भइरहेको छ । सभामुख भन्ने शब्द लोकतन्त्र आएपछि उहिलेउहिले पनि अलि सुनिए, महिला सभामुख नयाँ इतिहास रचिएको छ । गणतन्त्र ल्यायौँ, राष्ट्रपति पनि बन्नुभयो । राष्ट्रपति भन्ने शब्द पनि अब नयाँ रहेन, तर महिला राष्ट्रपति भन्ने नयाँ इतिहास रचिएको छ । 

यस क्षण हामी इतिहासको निरन्तरताको, व्यवहारको निरन्तरताको, धर्मको निर्वाहमात्रै गरिरहेका छैनौँ, युगान्तकारी अर्थात् एउटा युगलाई अन्त्य गर्ने र अर्को युग प्रारम्भ गर्ने इतिहासको रचना गरिरहेका छौँ । यी हाम्रा अभ्यासहरू उन्नत छन्, मानवीय मर्यादा, गरिमा, सामाजिक न्याय र समानताजस्ता पक्षहरूलाई अत्यन्तै न्यायोचित ढङ्गले, वैज्ञानिक ढङ्गले, आधुनिक ढङ्गले, विकसित ढङ्गले अगाडि बढाउने सोच छ । यहाँनिर खाली लैङ्गिक सन्तुलनको मात्र प्रश्न होइन, यसले त्योभन्दा बढी हाम्रो समग्र सामाजिक न्याय, समानता र सन्तुलनतर्फका हाम्रा प्रयासहरूलाई जाहेर गरेको छ, प्रकट गरेको छ, प्रतिबद्धतालाई फेरि मुखरित गरेको छ । यस्तो बेलामा हामीले हाम्रा साझा उम्मेद्वारको रूपमा माननीय विद्या भण्डारीलाई अहिले ११ बजेबाट प्रारम्भ हुने राष्ट्रपति पदको निर्वाचनका लागि प्रस्तुत गरेका छौँ । उहाँ हाम्रो साझा उम्मेद्वार हुनुहुन्छ । यतिबेला म हामी सबैको तर्फबाट, हामीले भोट दिन त बाँकी नै छ, हामीले जिताउन त बाँकी नै छ, शुभकामना भन्न चाहन्छु । 

हामी साँच्चै नयाँ नेपाल निर्माण गर्ने उद्देश्य र उद्घोषका साथ अगाडि बढेका छौँ । नयाँ भावनाका साथ हामी विभिन्न दलहरू जुटेका छौँ, विभिन्न दलहरूको संयुक्त सरकार छ, म त्यसको प्रधानमन्त्रीको रूपमा काम गरिरहेको छु । म यहाँहरूलाई के भन्न चाहन्छु भने नेकपा (एमाले)को अध्यक्ष, संसदीय दलको नेताको हिसाबमा म प्रधानमन्त्री भएको छु, तर म एमालेको प्रधानमन्त्री होइन, देशको प्रधानमन्त्री हुँ । नेकपा (एमाले) का नेताजीहरू, माननीयजीहरू, कार्यकर्ताहरू र अरू पार्टीका नेताजीहरू, र कार्यकर्ताहरूलाई त्यसैरूपमा मलाई पनि र अहिलेको सरकारलाई पनि बुझिदिन हुन आग्रह गर्न चाहन्छु । 

देश बनाउने हाम्रो साझा सङ्कल्प छ, देश बनाउँछौँ । देश बनाउने अठोटका साथ हामी अगाडि बढ्छौँ । यस अठोटमा हामीले साझा उम्मेद्वारका रूपमा विद्या भण्डारीजीप्रति विश्वास गर्नुपर्छ । राष्ट्रपति पदको मर्यादा, गरिमा, त्यसको निष्पक्षता, त्यसको संवैधानिकता, त्यसको राष्ट्र प्रमुखको हैसियतको गरिमा, यी सबै कुराहरूलाई बढाउनुहुनेछ, उहाँले समृद्ध गर्नुहुनेछ । उहाँले रक्षामन्त्री हुँदाखेरि पनि आफ्नो प्रभाव देखाउनुभएको थियो, अब नेपाली सेनाको परमाधिपतिसमेत र नेपालको राष्ट्रप्रमुखको हिसाबले समेत त्यस मर्यादालाई कायम राख्नुहुनेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु । 

(२०७२ कार्तिक १२ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा आयोजित संयुक्त संसदीय दलको बैठकमा व्यक्त गर्नुभएका विचार)