पोखरा विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यू, सहकुलपति शिक्षामन्त्रीज्यू, यस विश्वविद्ययालयका, उपकुलपति र अरू विश्वविद्ययालयका उपकुलपति साथीहरू, अरू विश्वविद्यालयसभाका सदस्य विद्वानहरू, उपस्थित हुनुभएका अभिभावक दाजुभाइ दिदीबहिनीहरू, आज पुरस्कृत हुने र दीक्षित हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, यस विश्वविद्यालयसँग सम्बन्धित सम्पूर्ण प्राध्यापकहरू, कर्मचारी र अरू सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू,
धेरै खुसीको कुरा हो – पोखरा विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह यहाँ अत्यन्तै भव्यताका साथ आयोजना भएको छ । यो समारोह एउटा कर्मकाण्ड मात्र होइन, विश्वविद्यालयले गरेका कामहरू, प्रतिफलका रूपमा विद्यार्थीहरूले गरेको मेहनत, अभिभावकको लगानी र सपनाजस्ता सबै चीजको एउटा किनारामा पुगेको असाधारण एउटा क्षण हो यो ।
पोखरा प्रकृतिले बनाएको असाधरण ठाउँ हो । प्रकृतिले असाधारण बनाएको यो ठाउँमा कुनै विश्वविद्याालय थिएन । केही वर्ष अगाडि पोखरा विश्वविद्यालय बन्यो । यो आवश्यक थियो । छोटो समयमा यस विश्वविद्यालयले महत्वपूर्ण योगदान पुरयाएको छ । आगामी दिनमा यसले अझै राम्रा र ठूल्ठूला योगदान गर्नुपर्नेछ । म यस विश्वविद्यालय परिवारलाई शुभकामना दिन चाहन्छु ।
पोखरा नेपालमा मात्रै हैन विश्वमै प्रसिद्ध स्थल हो । पर्यटकीय हिसाबले, प्राकृतिक सुन्दरताको हिसाबले फेवाताल, बेगनासताल, रूपातालजस्ता तालतलैयाहरू यहाँ रहेका छन् । त्यसै गरेर मनोरम हिम शृङ्खलाहरूले यसको आकर्षण बढाएका छन् । हिमालहरूको काखमा अवस्थित यो पोखरा अत्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । विश्वका पर्यटक यहाँ आइपुग्छन् । यस ठाउँको महत्वलाई हेरेर नै यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय सरकारले गरेको छ । २०७३ साल वैशाख १ गतेका दिन त्यसको आरम्भसमेत भइसकेको छ । अब पोखरा प्राकृतिक हिसाबले मात्र होइन विकास निर्माणका दृष्टिले पनि तीव्रतर प्रगतिको बाटोमा अगाडि बढेको छ ।
शिक्षा देश विकासको पहिलो आधार हो । मानवीय संसाधन, पहिलो सम्पत्ति, पहिलो क्षमता जे भने पनि त्यो संसाधनसँग जोडिएको एउटा महत्वपूर्ण कुरा भनेकै शिक्षा हो । हाम्रो शिक्षा कस्तो छ, कुन स्तरको छ, हामी कस्तो जनशक्ति तयार गर्छौँ भन्ने कुराले हाम्रो देशको भविष्य, हाम्रो विकासको गति र हाम्रा गन्तव्यहरूलाई निर्धारण गर्छ । म यहाँहरू सबैमा आग्रह गर्न चाहन्छु – यी कुराहरूलाई ध्यानमा राखेर आगामी दिनमा आफूलाई तदनुसार अगाडि बढाउनुपर्छ । दक्ष जनशक्तिको उत्पादन गर्न र देश विकासका निम्ति आवश्यक आधुनिक विज्ञान प्रविधिका बारेमा थप खोज–अनुसन्धानसहित अगाडि बढ्नु अहिलेको आवश्यकता हो । आजको शिक्षाले देश विकास र जनताको जीवनस्तर उकास्ने कुरामा योगदान गर्नसक्यो भने नै त्यसको महत्व रहन्छ ।
यस विश्वविद्यालयको कुलपतिको हैसियतले म यहाँहरूलाई भन्न चाहन्छु – सरकारको तर्फबाट यस विश्वविद्यालयको उत्थानको लागि गर्नुपर्ने कामहरूमा सहयोग हुने नै छ । म कुलपति सँगसँगै देशको प्रधानमन्त्री पनि भएकाले म भन्न चाहान्छु – सरकार यस विश्वविद्यालयका समस्या समाधान गर्न, यसलाई अगाडि बढाउन, यसको उन्नति–प्रगतिका निम्ति अनुकूल वातावरण तयार गर्न सदैव तत्पर रहनेछ । ।
अहिले पनि हामीलाई डाक्टरहरूको अपर्याप्तता छ । अहिले पनि हामीलाई इन्जिनियरहरूको अपर्याप्तता छ । अहिले पनि हामीलाई म्यानेजमेन्ट र अरू क्षेत्रका विज्ञहरूको आवश्यकता छ । औपचारिक शिक्षामा जान नसक्ने देशको जुन जनसङ्ख्या छ त्यसलाई अनौपचारिक अथवा सीप विकासका कुराहरू, व्यावसायिक तलिमका कुराहरूमार्फत्, विभिन्न व्यवसायहरूमार्फत् देशलाई कृषि, उद्योग वा अन्य व्यवसायका क्षेत्रहरूमा अगाडि बढाउने सन्दर्भमा पनि सरकारको ध्यान गएको छ । हामी त्यसमा योजनाबद्ध ढङ्गले अगाडि बढ्न चाहन्छौँ ।
आज देश एउटा अनुकूल वातावरणमा आएको छ । देशमा अनुकूल परिस्थितिको निर्माण भएको छ । हाम्रा सङघर्षका, लडाइँका समयहरू सिद्धिएका छन् । संविधान बनेर त्यसमार्फत् सामाजिक समानता र सम्मानका हाम्रा चाहनाहरू अथवा राजनीतिक अधिकारका चाहनाहरू संविधानमा व्यवस्थित भइसकेको अवस्था छ । यस्तो अवस्थामा हामी अब विकास निर्माणको कामतर्फ अगाडि बढ्नुपर्छ ।
म हाम्रा गुरूहरूलाई भन्न चाहन्छु – हामी तक्षशिलाको परम्पराबाट आएका हौँ । हाम्रा गौरवपूर्ण परम्पराहरू छन् । हामी अर्काे विश्वविद्यालय नालन्दा विश्वविद्यालय, नालन्दाको परम्पराबाट आएका हौँ । गुरूकुलका परम्पराबाट आएका हौँ हामी । हामीलाई सबभन्दा बढ्ता जिम्मेवार, शालीन, ज्ञानले भरिपूर्ण हुन सिकाइएको छ । ज्ञानले ओतप्रोत तर घमण्ड गरेर गमक्क पर्ने, नबोल्ने संस्कार र परम्परा हाम्रो होइन । हामी ज्ञानले भरिपूर्ण हुन्छौँ तर अहङ्कार गर्दैनौ । हाम्रो शैक्षिक परम्पराको विशेषता नै त्यही हो । यो दीक्षान्त समारोह पनि अरूले अहिले पछिआएर गर्न थाले, तर हाम्रो परम्परामा यो कुरा उहिल्यै थियो । हाम्रा गुरूहरूले शिक्षा दिइसकेपछि आफ्ना शिष्यहरूलाई त्यो शिक्षाले सिकाएको कुरा समाजमा लागू गर्न र सबैलाई शिक्षित गर्ने, ज्ञान दिने काममा लगाउन दीक्षित समेत गर्ने गरेका थिए । गुरूहरूले दिने त्यो दीक्षा विद्यार्थीहरूका लागि आफ्नो भविष्यको निर्माण गर्ने मार्गदर्शन बन्थ्यो ।
म लामो समय लिन चाहन्न । पोखरा विश्वविद्यालयलाई यहाँसम्म ल्याइपु¥याउने कुरामा सहयोग गर्ने सबैप्रति म आभार व्यक्त गर्दछु । आज दीक्षित हुने विद्यार्थीहरूमा हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छु ।
(२०७३ वैशाख ८ गते पोखरा विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहमा प्रस्तुत मन्तव्य)