यस कार्यक्रमका सभापतिज्यू, स्थापित नेता सोमनाथ अधिकारी प्यासीज्यू, माननीयज्यूहरू, नेताज्यूहरू, मेरा पुराना मित्रहरू, जेके थापा, शुक्रराज शर्मालगायतका पुराना जेलमेट साथीहरू र उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू,
मलाई खुसी लागेको छ – हामीले भवनहरूको शिलान्यास गरेका छौँ, उद्घाटन गरेका छौँ र कृषि क्याम्पसको शुभारम्भ पनि गरेका छौँ ।
म यहाँ आउनसक्ने अवस्थामा थिइनँ तर दुईवटा कारणले म आएँ । एउटा, पोखरा विश्वविद्ययालयको १३ औँ दीक्षान्त समारोह थियो । त्यसमा कुलपतिको हैसियतले मैले आउनै पर्थ्यो । अर्को, यो पुरनचौरमा आउने मलाई साह्रै ठूलो इच्छा थियो । २०४५ सालमा यही पुरनचौरको अलिकतिमाथि मिटिङ गरेर पञ्चायत ढाल्ने निर्णय हामीले गरेका थियौँ । त्यसबेला मलाई साथदिने यस ठाउँका साथीहरूलाई आज यहाँ देख्दा मलाई अर्को खुसी लागेको छ ।
पुरानो पुरनचौर, जहाँ म लुक्दैलुक्दै आएको थिएँ, यो त्यही पुरानो पुरनचौर, जहाँ म कति दिन लुकेरै बसेको थिएँ । हामी रातिमात्र घरबाहिर निस्कन्थ्यौँ । दिउँसो–दिउँसो नीलकण्ठजीको टारमाथि बसेर, तलामाथि बसेर मिटिङ गर्ने गरेका थियौँ । पोखराबाट यहाँसम्म पैदलै आएको थिएँ म । यहाँबाट पोखरा पनि पैदलै गएको थिएँ । त्यतिबेलाको पुरनचौर र यतिबेलाको पुरनचौरको भिन्नतालाई हेर्ने मन पनि मेरो थियो ।
यस ठाँउका जागरूक, सचेत दाजुभाइ, बहिनीहरूको चेतनालाई मैले त्यसैबेलादेखि चिनेको हुँ । त्यसकारण पनि मलाई आउन मन थियो । घाँटी खराब भए पनि, घाँटीमा घाउ आए पनि, बोल्न नमिल्ने भए पनि म आज तपाईहरूको बीचमा आएको छु ।
आज हामीले कृषि क्याम्पसको शिलान्यास गरेका छौँ, आजै हामीले यहाँ भवनको उद्घाटन गरेका छौँ र कक्षा प्रारम्भ गरेका छौँ । बिएससीएजीको कक्षा सुरु गरेका छौँ । एउटा नयाँ विधाबाट क्याम्पस अगाडि बढ्ने भएको छ । आजै हामीले यसरी विद्यालयलाई भवन निर्माण गरिदिएर गुन लगाउने दातालाई सम्मान पनि गरेका छौ । त्यसकारण मलाई खुसी लागेको छ । तपार्इंहरूका प्रयासहरू सफल हुँदैँ आएका छन् । तपाईंहरूका सपनाहरू साकार हुँदै आएका छन् ।
हाम्रो देश कृषिप्रधान देश हो । हामीले कृषिलाई आधुनिकीकरण गर्नु छ । कृषिलाई व्यावसायीकरण गर्नु छ र कृषिमा आधारित उद्योगहरूलाई अगाडि बढाउनु छ । कृषिमा आधारित ग्रामीण अर्थतन्त्रको कुरामात्रै हैन, कृषिमा आधारित ग्रामीण समाजलाई आधुनिक ग्रामीण समाजमा रूपान्तरित गर्नुछ ।
हामी एउटा नयाँ अभियानमा छौँ । हामीले देशलाई नयाँ ढङ्गले व्यवस्थित, आधुनिक र विकसित बनाउनु परेको छ । हाम्रो देश प्राकृतिक हिसाबले साह्रै सुन्दर छ । यसलाई हामीले अलिक सिँगारेर चिटिक्कै बनायौँ भने सुन्दरता हेर्न संसारमा कतै जानै पर्दैन । स्विटजरल्याण्ड, स्विटजरल्याण्ड भन्छन् मान्छेले, स्विटजरल्याण्डभन्दा नेपाल राम्रो छ । मैले धेरैपल्ट स्विटजरल्याण्ड हेरेको छु । स्विटजरल्याडको कपाल तेल लगाएको छु, कोरेको छु, साँच्चै राम्रो कपाल नेपालकै छ । तपार्इंहरूले कुरा बुझ्नुभो होला भन्ने मलाई लाग्छ । नेपाल कोरेको छैन, तेल लगाएको छैन, तर केशको सुन्दरताको कुरा गर्नुभो भने नेपालसँग छ । अरूले तेल लगाएका छन्, कोरेका छन्, छाँटेका छन्, चिटिक्कै पारेका छन् । त्यसो नगर्दा पनि साँच्चैको सुन्दर नेपाल छ । अरूले जस्तै हामीले चिटिक्कै पारेपछि कस्तो होला ? तेल लगाएर कोरेपछि कस्तो होला ?
मेरो भनाइको अर्थ हो – हाम्रो देश नेपाल संसारकै सबैभन्दा सुन्दर मुलुक हो । पर्यटकीय हिसाबले सिङ्गै देश पर्यटकीय गन्तब्य जस्तै छ । जहाँ गएपनि पर्यटक आश्चर्यचकित हुन्छ । जुनसुकै ठाउँबाट आउने मान्छेहरू आश्चर्यचकित हुन्छन् । देश विकसित भइसकेपछि त झन् के होला ?
देश बनाउनका लागि योग्य, सक्षम र दक्ष जनशक्ति आवश्यक हुन्छ । हामी त्यस बाटोमा लागेका छौँ । त्यसैकारण आज शिक्षाका गतिविधिहरूमा कास्की जिल्ला सिङ्गै लागेको छ । हाम्रो मञ्चमा माननीयहरू हुनुहन्छ । एउटामात्रै पार्टीका हैन, धेरै वटा पार्टीका माननीयहरू हुनुहुन्छ । एमालेका हुनुहुन्छ, काङ्ग्रेसका हुनुहुन्छ, अरूका पनि हुनुहुुन्छ । एउटै मञ्चमा बसेर, एकै ठाउँमा उपस्थित भएर शिक्षाको अभियानलाई अगाडि बढाउने साझा सङ्कल्प हामीले गरेका छौँ । यसरी नै देश विकासको क्रम अगाडि बढ्छ । हामी हाम्रो देशलाई विकासको बाटोमा अगाडि लैजान्छौँ ।
यो सरकार, मात्र सरकार हुनका निम्ति, मन्त्री हुनका निम्ति, प्रधानमन्त्री हुनका निम्ति होइन । यो सरकार देशमा जनताले चाहेअनुसारको परिवर्तन गर्नका निम्ति, अग्रगामी परिवर्तन गर्नका निम्ति, जनताका समस्या समाधान गर्नका निम्ति, गरिबी हटाउनका निम्ति, विकासको काम अगाडि बढाउनका निम्ति, देशलाई समृद्ध बनाउनका निम्ति गठन भएको हो । हामीले विकास निर्माणको गतिलाई निरन्तर अगाडि बढाएका छौँ । दैनिकैजसो हाम्रा ठूलाठूला कामहरू अगाडि बढेका छन् । कतिपय मान्छेहरू मैले बोलेका कुराहरूलाई नै घृणा गर्छन् । कतिपय मान्छेले किन त्यस्तो बोल्नु परयो पनि भन्छन् तर मलाई त्यसबारेमा केही भन्नु छैन ।
यहाँहरूलाई थाहा छ, मैले सरकारको नेतृत्व गर्दा तराई बन्द थियो । बोर्डरमा नाकाबन्दी थियो । ४७/४८ जना मान्छे झडपमा मरिसकेका थिए । कैलालीमा ७/८ जना प्रहरीको ज्यान गएको थियो । भारतसँग असमझदारी भएर चिसोपन आएको र सम्बन्ध बिग्रिएको अवस्था थियो । पेट्रोल नपाउने, ग्याँस नपाउने र जनताको चुल्हो नबल्ने अवस्था थियो । हाहाकारको अवस्था थियो देशमा । एउटाले अर्कोलाई देख्यो भने साम्प्रदायिक विद्वेषका ढङ्गले घृणा गर्ने अवस्था पैदा भएको थियो । एउटाले अर्कोलाई, अर्कै जातको भनेर घृणा गर्ने, अर्को ठाउँको भनेर घृणा गर्ने, क्षेत्रको आधारमा, जातको आधारमा, भाषाको आधारमा घृणा गर्ने अवस्था बनिसकेको थियो । हामीले त्यो स्थितिलाई समाप्त पार्दै ल्यायौँ । हामीले भन्यौँ – अब संविधान बनिसकेपछि देश विकासतर्फ केन्द्रित हुनुपर्दछ । कृषिको आधुनिकीकरण हुनुपर्छ, व्यावसायिकीकरण हुनुपर्छ । हामी कान्लाकान्लामा किम्बु लगाउन सक्छौँ । खेर गएका कान्लामा किम्बु लगाइदिएर रेसम कीरा त्यसमा छोडिदिने हो भने रेसम बन्छ । ठूलो खर्च गर्नु पर्दैन । नेपाल रेसमको देश हुन्छ । त्यो गर्न नेपालीले हुँदैन र ? तर यहाँ यसो गर्नुपर्छ भनेर जनतालाई बाटो देखाउने सरकार बन्दैन, गफमात्र गर्ने सरकार बन्छ । सरकार बनेपछि भोलिपल्टैबाट सरकारमा अडिनका लागि कुर्सी समातेर बस्ने, अर्कोले त्यसलाई ढाल्नका लागि कुर्सी तान्न खोज्ने प्रवृत्तिले नै हामीलाई पछाडि पारेको छ । मैले भन्दिएको छु कुर्सी जजसलाई तान्न मन लाग्छ त्यसले ताने हुन्छ । कुर्सी लगे हुन्छ । अहिले मेरो ध्यान काममा छ, कुर्सीतिर हैन । मेरो एउटै मात्र ध्याउन्न छ – अब देश बनाउनुपर्छ ।
हामीले एउटा आँपको बिरुवा रोप्यौँ भने अहिले त दुई वर्ष पनि लाग्दैन, एकै वर्षमा फल्छ । लिची पनि उसै वर्ष फल्छ । मेवा रोपिदियौँ भने फल्छ । केरा रोपिदियौँ भने त्यो पनि फल्छ, हामीलाई थाहा छ, तर हामी रोप्दैनौँ । हाम्रो यस्तो बानी राम्रो होइन । हामीले आफूलाई पनि बदल्नु परयो, आफ्नो बानीलाई पनि बदल्नु परयो । हामीले केही गर्न जान्नु परयो । आधुनिकतातर्फ जानु परयो । जनसङ्ख्या बढ्दो छ, जमिन बढ्दैन । भएको जमिनलाई कसरी हामी ठीक ढङ्गले सदुपयोग गर्न सक्छौँ ? त्यो कुरामा हामीले सोच्नु परयो ।
हामीले शिक्षालाई उपयोगी बनाउनुपर्छ । शिक्षा व्यक्तिका लागि उपयोगी हुनुपर्छ, समाजका लागि उपयोगी हुनुपर्छ र देशका लागि उपयोगी हुनुपर्छ । शिक्षाले परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ । हाम्रो समाज र देशलाई परिवर्तन गर्ने र समृद्ध बनाउने शिक्षा हाम्रो आवश्यकता हो । हामी सभ्य, आधुनिक र विकसित नेपालको निर्माण गर्न चाहन्छौँ । हाम्रो शिक्षाले हाम्रो त्यो उद्देश्य पूरा गर्ने कुरामा भूमिका खेल्नुपर्छ । यतातिर तपाईहरूका प्रयासहरू सफल हुने विश्वास मैले लिएको छु । केही समस्या छन् भने सरकारको तर्फबाट म भन्न चाहन्छु – यो सरकार तपार्इंहरूको सरकार हो । यो सरकारलाई कुरा सुनाउनका लागि तपार्इंहरूले टायर बाल्नु पर्दैन, नाराजुलुस गरेर उत्पात मच्चाउनु पर्दैन । यो सरकारलाई सुनाउनका निम्ति हड्ताल र तालाबन्दी पनि गर्नु पर्दैन । यो सरकारलाई भन्दिएमात्र पनि हुन्छ, सरकारले सुन्छ, किनकि यो तपार्इंहरूको सरकार हो ।
अहिले हामी नीति कार्यक्रम बनाउने, बजेट बनाउने काममा लागेका छौँ । मैले भन्ने गरेको छु – अहिलेको नीति तथा कार्यक्रम र बजेट सधैँझैं एउटा नियमित प्रकृयामात्रै हैन, कार्यक्रम र बजेटले नयाँ नेपालको नक्सा कोर्ने छ । एउटा कोसेढुङ्गाको रूपमा बजेट आउनेछ । कराउनेहरू कराउँदै गर्छन् ट्याउँट्याउँ गर्दै गर्छन् । हामी काम गर्दै अगाडि बढ्छौँ ।
रेल आउने अरे, पोखरामा रेल आउने अरे !! काठमाडौँमा मजाक गर्नेहरू पनि छन् । तिनले देख्दा देख्दै छिटो कुद्ने, सुलुक्क परेको थुतुनो भएको रेल आउँछ यहाँ । कराउनेहरू कराउँदै गर्छन्, हामी बाटो बनाउँदै गर्छौं । दुनियाँमा रेल कुद्न हुने नेपालमा नहुने ?
नेपालमा अब हामी फलाम खानी सुरु गर्दैछौ । अरू खानीहरूको अध्ययन गर्छौ । आफ्नै ढङ्गले अब यो देशमा केही गर्छु भन्यो भने गर्छु भन्नेसँग अरू डराउँछन् । यसले त सर्वनाश गर्नेभो, खत्तम पार्दिनेभो भन्ठान्छन् अनि विरोध गर्छन् ।
मैले जहाँ पनि भन्ने गरेको छु – यो सरकार तपार्इंहरूको सेवाका लागि समर्पित छ, नेपाल राष्ट्र र नेपाली जनताको सेवाका लागि समर्पित छ । तपार्इंहरू ढुक्क भए हुन्छ – तपार्इंहरूकै प्रतिनिधिको हैसियतले मैले नेपालको इज्जत, नेपालीको इज्जतलाई अलिकति पनि, कहीँकतै तलमाथि पर्न दिने छैन । कहीँ पनि, कतै पनि नेपालको हितका निम्तिमात्र काम हुन्छ, नेपालको भलाइका लागिमात्र काम हुन्छ । कसैलाई खुसी पारेर एकातिर एउटा व्यवहार गर्ने, अर्कोतिर अर्कै व्यवहार गर्ने काम यो सरकारले गर्नेछैन ।
तपार्इंहरूले मलाई प्रधानमन्त्रीको ठाउँमा पुरयाइदिनुभएको छ । अब यो भन्दा बढी के ? यो भन्दामाथि जाने ठाउँ पनि छैन, जानु परेको पनि छैन । त्यसकारण म नेपाली जनताले जे भन्छन्, त्यो गर्छु, अरूले भनेको हैन । नेपाली जनताको भलाइका लागि गर्छु, अरूका लागि हैन । नेपाली जनताको आदेशमा गर्छु, अरूको आदेश मान्दिन । यस क्याम्पसको, यस विद्यालयको, यस ठाउँको विकासका लागि मैले के गर्नुपर्छ, भन्नुहोला । मलाई निमन्त्रणा गर्नु भएकोमा खुसी लाग्यो, धेरैधेरै धन्यवाद । यस ठाउँमा यहाँहरूका सपना साकार हुनेछन्, सबैलाई शुभकामना ।
(२०७३ बैशाख ८ गते पोखराको पुरनचौरस्थित कृषि क्याम्पसको भवन शिलान्यासमा प्रस्तुत मन्तव्य)