यहाँ उपस्थित हुनुभएका र हुन नसक्नुभएका सबै पार्टीका, सबै जातिका, सबै पेसा, व्यवसायका, सबै नगर, गाउँका झापाली दाजुभाइ दिदीबहिनीहरूमा बडादशैँ २०७२ को धेरैधेरै शुभकामना व्यक्त गर्न चाहन्छु । सबैलाई धेरैधेरै शुभकामना !!
कार्यक्रमका अध्यक्ष महोदय, नेपाली काङ्ग्रेसका महामन्त्री कृष्ण सिटौलाज्यू, एमालेका महासचिव ईश्वर पोखरेलज्यू, मालेका महासचिव सिपी मैनालीज्यू, मेरा पुराना मित्र राधाकृष्ण मैनालीज्यू, सम्पूर्ण नेतागण, माननीय मन्त्रीज्यूहरू, सभासद्ज्यूहरू, उद्योग, व्यवसाय र अन्य विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, नेकपा (एमाले)का तमाम कमरेडहरू र हाम्रो पार्टीप्रति आस्था र विश्वास राख्ने समग्र साथीहरू, दाजुभाइ दिदीबहिनीहरू,
म यहाँहरूलाई सबभन्दा पहिले दशैँको शुभकामना व्यक्त गर्न चाहन्छु । सबैमा दशैँको धेरैधेरै शुभकामना ।
यहाँहरूले स्वागत अभिनन्दन गर्नुभएको छ । मलाई धेरै पुष्पगुच्छाहरू, मालाहरू, खादाहरू, अभिनन्दन पत्रहरूले थप जिम्मेवारी बोकाउनुभएको छ । तपाईंहरूले दिनुभएको कुनै पनि पुष्पगुच्छा, कुनै पनि खादा खेर जाने छैन, तपाईंहरूको विश्वास खेर जाने छैन, यो विश्वास म दिलाउन चाहन्छु ।
हामीले नेपालको संविधान बनाएका छौँ, जननिर्वाचित संस्थाबाट, लोकतान्त्रिक संस्थाबाट, लोकतान्त्रिक विधिबाट लोकतान्त्रिक संविधान बनाएका छौँ । तत्सम्बन्धमा धेरै व्याख्या गर्ने समय अहिले हामीसँग भएन । म अलिकति छोटोमा मात्र केही कुराहरू राख्न चाहन्छु ।
म देशको प्रधानमन्त्री छानिएको छु । मलाई प्रधानमन्त्री यहाँहरूले बनाउनु भएको हो । म यहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु र हार्दिक धन्यवाद भन्न चाहन्छु । धेरै लामो समयदेखि सहकार्य गरेका साथीहरू हाम्रो बीचमा हुनुहुन्छ, राधाकृष्ण मैनालीज्यूलाई मैले हेरिरहेको छु । मलाई सम्झना भएसम्म २०२५ सालदेखि हामी सँगै छौँ । हरिचरण सिवाकोटी पनि २०२५ सालदेखिकै मेरो साथी हुनुहुन्छ । आन्दोलन गर्न सिक्दादेखिका, देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा विचार विमर्श छलफल गर्दा देखिका थुप्रै साथीहरू यहाँ हुनुहुन्छ । मैले सहिदका परिवारहरूलाई देखिरहेको छु । जानुका दाहाललाई मैले देखिरहेको छु । कृष्ण सेढाईँलाई देखिरहेको छु, मेरो पुरानो साथी । सूर्य उप्रेती हुनुहुन्छ, मेरो साथी । प्रेम कोइराला, प्रकाश सुवेदीजी हुनुहुन्छ । दुर्गाप्रसाद अधिकारी हुनुहुन्छ, त्यो पनि सानोतिनो होइन, ठूलो दुर्गाप्रसाद ।
मैले २०४७ साल वैशाख १९ गते सुरूङमा तत्कालीन मालेको तर्फबाट बोल्दाखेरि एउटा कथा सुनाएको थिएँ । त्योे कथा मलाई दुुर्गाप्रसाद अधिकारीजीले सुनाउनुभएको थियो । उहाँले कथामा बाबुछोराको उदाहरण ल्याउनुभएको थियो । कथा यस्तो थियो ः बाबु र छोरा रहेछन् । छोराको नाम रहेछ, ठेउवा । बरको छेउमा मकैबारी रहेछ । बाँदरले मकै खायो भनेर बाबुले ठेउवालाई भनेछ । ठेउवाले बाँदर खेद्यो । एकैछिनमा ठेउवा फर्केर आयो । बाबुले सोधेछ – बाँदर खेद्न पठाएको त तँ घरमै छस् ? ठेउवाले भनेछ – खेदेर आएँ बा । सबै खेदेको हो त, खेदेँ । अनि फर्केर आउँदैनन् त ? भनेर बाबुले सोध्यो । ठेउवाले भन्यो – पल्ला छेउमा पुरयाएको थिएँ बा । पल्ला छेउमा पुरयाएपछि त फर्किएर आउँदैनन् भनेको त, सबै उतातिर फर्किएर बसेछन् बा ।
कथा समय सान्दर्भिक छ । हामीले सफलता हासिल गरेका छौँ, हामीले जितेका छौँ, तर पराजित हुनेहरू जसलाई हामीले लखेट्यौँ, ती पनि भागिसकेका छैनन् । दुर्गाप्रसाद अधिकारीले मलाई सिकाएको बाँदर उता पल्ला छेउमा फर्किएर मात्र बसेको छ, यतै फर्किन सक्छ भनेजस्तै अलिकपछि हामीले देख्यौँ, ज्ञानेन्द्र त पर्खाल नाघेर फर्किहाले ।
यहाँ पुराना साथीहरू हुनुहुन्छ । विष्णु प्रसाईं पनि यहीँ हुनुहुन्छ । २०२७ साल फागुन १६ गते आइतबार बिर्ताबजारदेखिको मैदानबाट उहाँ, सिपी र म सँगै समातिएका थियौँ । त्यसपछिको समयमा थुप्रो साथीहरू, मैले भनिरहनुपर्दैन हामी झापा आन्दोलनमा सँगसँगै काम गरिरहेका राधाकृष्ण मैनाली, सिपी मैनाली अनेक साथीहरू छन् । तपार्इंंहरूलाई लाग्ला, सिपी मैनालीचाहिँ किन अहिलेसम्म अर्को पार्टीमा हुनुहुन्छ भनेर । म भन्न चाहन्छु, सिपी मैनाली अब लामो समय अर्को पार्टीमा हुन सक्नुहुन्न । यो नेकपा (एमाले), आजको नेकपा (एमाले) कस्तो एमाले हो भने काङ्ग्रेसले अलिकति निहुँ खोज्यो भने काङ्ग्रेस एक छिन बाहिर बस्छ, अलिपछि समातेर काङ्ग्रेसलाई हामी सरकारमा ल्याउँछौँ । अहिलेको सरकार कस्तो छ ? नेपालमा कहिल्यै पनि यस्तो सरकार बनेको थिएन । गिरिजाप्रसाद कोइरालाले भन्नुहुन्थ्यो – माले, मसाले, मण्डले एकै हुन् भनेर । त्यो सबै एकै ठाउँमा छौँ । दक्षिणपन्थी पनि त्यहाँ छ, वामपन्थी पनि त्यहाँ छ, एमाओवादी पनि त्यहाँ छ, एमाले पनि त्यहाँ छ । चित्रबहादुर के.सी.जीको जनमोर्चा कहिल्यै सरकारमा नजाने भनेर नीति बनाएर हिँडेको पार्टी, हेर्नुहोला, उहाँ पनि एक जना मन्त्री हुनुहुनेछ, त्यो पार्टी पनि सरकारमा आउनेछ । राप्रपा नेपाल, राप्रपा, एमाओवादी, मधेसी जनअधिकार फोरम, विश्वेन्द्र पासवान, अरू विभिन्नको सहभागिता सरकारमा हुनेछ ।
एउटा हिन्दी गीतमा भनिएको छ – कोही बच न पाए । काङ्ग्रेस पनि बाहिर बस्न पाउँदैन । सिपीजी पनि अर्को पार्टीमा बस्न पाउनहुन्न । करकाप लाउँदैनौँ, तर आफैँ आउनुहुनेछ । अब यो देश बनाऔँ हामी, सानातिना कुरामा अल्झिन छोडौँ । ठूला उद्देश्यमा लागौँ । अब राजनीति गर्नका लागि राजनीति होइन, देश बनाउनका लागि राजनीति गरौँ, देश बनाउनका लागि बाँकी राजनीति गरौँ । अहिले सिपीजी सरकारमा हुनुहुन्छ । नेपाली काङ्ग्रेस पनि अलिपछि सरकारमा आउँछ । नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक पार्टी हो, इतिहास भएको पार्टी हो । केहीकेही मान्छेले कसोकसो गरेर काङ्ग्रेस सरकारभन्दा बाहिर छ । मैले कसोकसो गरेको मात्र भनेको छु, के गरेको भनेको छैन तर त्यहाँभित्रका इमान्दार साथीहरू, इमानजमानका पक्का साथीहरू, लोकतन्त्रप्रति निष्ठा, देशप्रति निष्ठा भएका साथीहरूको यत्रो ठूलो सहयोग नभएको भए संविधान नै बनाउन सकिँदैनथ्यो । नेपाली काङ्ग्रेसभित्र देशलाई माया गर्ने, लोकतन्त्रलाई माया गर्ने साथीहरू हुनुहुन्छ । कोशीको पानी खाएका, झापाको पानी खाएका, झापाको हावामा सास फेरेका साथीहरू समेत छन् । त्यसैले तिनले अवश्यनै असल कुरा सोच्ने छन् ।
मैले अघि नै साङ्केतिक रूपमा केही भनेँ । म तपाईंहरूप्रति आभारी छु । तपाईंहरूप्रति ऋणी छु, सम्पूर्ण नेपाली जनताप्रति ऋणी छु । राजनीति गरेर, दुःख पाएरमात्रै कोही सफलतामा वा कोही जिम्मेवारीमा पुग्छ भन्न सकिँदैन, कार्यकर्ता र जनताको साथ भएन भने । तपाईंहरूको साथ भएकै हुनाले मैले त्यो मौका पाएको छु । पोहरपरार मैले एउटा कार्यक्रममा भनेको थिएँ, मलाई पत्रकारहरूले सोधे, तपाईंलाई त हलीको छोरो, के राजनीति आउँछ भनेका छन् नि विपक्षीले ? मैले भनेँ, यही जिल्लाका मान्छेहरूले हलो जोतेको देखेको हुँदो हो, हलीको छोरो । कोही साथीले भन्यो, भैँसी गोठालोलाई के राजनीति गर्न आउँछ भनेर । मैले कुनै आपत्ति गरिनँ, मैले के भनेँ भने, भैँसी चराएको देखेको हुँदो हो । अब कत्रो ठाउँको मान्छे गाई चराएर आएको, भैँसी चराएर आएको मान्छेलाई देशको प्रधानमन्त्री हुन पाउँदा मैले के गर्छु त ? देश बनाउने हो, म देश बनाउनमा लाग्छु ।
मैले शपथग्रहण गरेको दिन एउटा तारमा झुन्डिएर खोला पार गर्नुपर्ने तुइन युग समाप्त गर्ने घोषणा गरेँ । दुई वर्षभित्र हामी तुइनका ठाउँमा पुल बनाइदिन्छौँ । अब नेपालका कोही पनि मेरो घर छैन, बस्न पाइँन भन्ने हुने छैनन् । दुर्इ वर्षभित्र मैले बस्न ठाउँ पाइनँ भन्ने कुनै मान्छे खोजेर ल्याउनेलाई पुरस्कारको व्यवस्था गर्नेछु । अबको एक वर्षभित्र नेपालमा लोडसेडिङ हुनेछैन । एक वर्षभित्र लोडसेडिङ समाप्त हुन्छ । लोडसेडिङ समाप्त पार्ने मात्र होइन कि तपाईंहरूले सिलिन्डर बोकेर कुद्नु पनि पर्नेछैन । सिलिन्डर नै चाहिँदैन । पाइपबाट ग्याँस सप्लाइ हुनेछ । ग्याँस चुल्होको तार प्लगमा घुसारेर भात पकाउन सकिने छ । त्यसको व्यवस्था पनि हामी गर्नेछौँ ।
अबको नेपालमा पढ्न पाइनँ भन्ने कोही हुने छैनन् । मैले छोराछोरी पढाउन सकिनँ भनेर कुनै बाबुआमाले भन्न पाउने छैनन् । स्कूल नजाने कोही बालबालिका वा विद्यार्थी हुने छैनन् । सबैको पढ्ने प्रबन्ध गरिने छ । मैले आज सुनेँ, जेष्ठ नागरिकहरूले केही महिनादेखि भत्ता पाउनुभएको छैन भन्ने । दुःख लाग्यो । दशैँको बेला छ । अरूले त नाकाबन्दी गरे गरे, आफ्नै सरकारले जेष्ठ नागरिक भत्तामा किन नाकाबन्दी गरयो ? मलाई अचम्म लाग्यो । म यो पैसा तुरुन्तै गाउँमा पठाउने व्यवस्था मिलाउने छु।
मलाई भ्रष्टाचार गर्र्नु छैन । म त्यस्तो गर्दिन । तपाईंहरूले देशको प्रधानमन्त्रीसम्म बनाइदिइसक्नुभयो, भगवान्को कृपाले छोराछोरी छैनन् । छोराछोरी नभएपछि भ्रष्टाचार मैले गर्ने, अनि फाइदा अर्काले लिने, मैले के गर्नु ? एउटा गीत गाउने गरिन्छ – बाटो बनायो दाइले, अर्कैले मोटर गुडायो । मैले भ्रष्टाचार गर्ने, मोटर अर्कैलाई गुडाउन दिने काम म किन गरूँ ? मेरो काम देश बनाउने हो । देश बनाउने कुरामा तपाईंहरूको साथ होस् । देश बनाउने कुरामा तपाईंहरूको सहयोग होस् । यो पार्टी वा त्यो पार्टी भन्ने छैन । मैले देशको पूर्वाधारको विकास गर्ने, विद्युतीकरण गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, व्यवसायिकीकरण गर्ने, नयाँ नयाँ बस्तीहरू निर्माण गर्ने कामहरू गर्छु । अहिले नै धेरै कुराहरू नगरौँ, के के कुरा गर्छौँ भनेर अलि पछि भनौँला ।
केही मान्छेहरू भन्न थालेका छन्, दश दिन भइसक्यो प्रधानमन्त्री भएको, केही पनि काम भएन भनेर । काम कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा म दृढताका साथ यहाँहरूलाई भन्छु – देशमा शान्ति, सुव्यवस्था कायम गरिन्छ, कानुनको राज कायम गरिन्छ, उद्योगका क्षेत्रहरूलाई लगानीमैत्री, लगानीअनुकूल बनाइन्छ, आन्तरिक र बा≈य लगानी आकर्षित गर्ने उद्योगहरू स्थापना गरेर अगाडि बढाउने काम गरिन्छ । क्रान्ति, आन्दोलन र हडतालको संस्कृतिमात्र होइन, देश विकासको संस्कृतितर्फ हामी अगाडि बढ्छौँ । सरकार कुरामात्र होइन, ठूला कामहरू पनि सुरु गर्दैछ ।
अन्तमा म ज्ञात–अज्ञात सहिदहरूको स्मरण गर्दै आफ्नो मन्तव्य टुङ्ग्याउन चाहन्छु । झापा आन्दोलनका श्रद्धेय सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण राजवंशी, नारायण श्रेष्ठ, रामप्रसाद प्रधान, चन्द्र डाँगीलगायतका सम्पूर्ण सहिदहरूप्रति सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु । उहाँहरूको सपना साकार पार्ने बाटोमा हामी अगाडि बढ्नेछौँ । तपाईंहरूले देख्नुभएको छ, यो मञ्चमा नेपाली काङ्ग्रेसको उपस्थिति छ, एमालेको उपस्थिति छ, मालेको उपस्थिति छ, एमाओवादीको उपस्थिति छ । हाम्रो पार्टी फरक–फरक भएपछि हाम्रा हातहरू पनि फरक फरक होलान्, तर हामीले हाल्ने ओइरो एउटै छ, जताबाट हाले पनि । यहाँहरू सबैलाई विश्वास दिलाउन चाहन्छु, – नेपालको स्वाभिमान कायम राखिनेछ, नेपाल गरिब भइरहन सक्दैन, अब नेपाललाई अगाडि बढाइने छ । यसमा सबैको साथ–सहयोग पाउने विश्वास लिएको छु ।
(२०७२ कातिक ४ गते नेकपा एमाले झापा र विभिन्न सामाजिक सङ्घ संस्थाहरूद्वारा आयोजित अभिनन्दन कार्यक्रममा सम्बोधन)