NP EN

हामीले नयाँ अध्यायको सुरूआत गरेका छौँ

महामहिम चिनियाँ राजदूत, लेखक तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठज्यू, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू र उपस्थित मित्रहरू,

यो खुसीको कुरा हो, आज हामीले हिरण्यलाल श्रेष्ठजस्ता प्रबुद्ध विद्वान् र माझिएका कूटनीतिज्ञद्वारा लिखित ‘नेपाल र चीनको गतिशील कूटनीतिका साठी वर्ष’ शीर्षकको पुस्तक विमोचन गरिरहेका छौँ । यो एउटा महत्वपूर्ण पुस्तक हो भन्ने मलाई लागेको छ । 

यस पुस्तकमार्फत लेखक हिरण्यलाल श्रेष्ठले नेपाललाई गुन लगाउनु भएको छ, नेपालीहरूलाई गुन लगाउनु भएको छ । हामी नेपाल र चीन दुई घनिष्ट छिमेकी हौँ ।  हामी दुईको सम्बन्ध अत्यन्तै पुरानो पनि छ । औपचारिक कूटनीतिकै पनि साठी वर्ष पूरा भइसकेको छ । आज विमोचित पुस्तकले बितेका साठी वर्षका बारेमा महत्वका साथ चर्चा र विश्लेषण गरेको छ । लेखकले यथार्थपरक र वस्तुपरक ढङ्गले पुस्तक तयार गर्नुभएको छ । यस पुस्तकको आकारले पनि बताउँछ कि उहाँले कति धेरै मेहनत गर्नुभएको छ भन्ने कुरा । 

लेख्ने कुरा सजिलो छैन तर हिरण्यलालजीले यस्तो असहज अवस्थामा पनि यति ठूलो किताब लेख्नुभयो । उहाँले समग्र पक्षमा चर्चाहरू गर्नुभएको छ । म उहाँको कृतिको प्रशंसा गर्न चाहन्छु र लेखक हिरण्यलाल श्रेष्ठज्यूलाई धन्यवाद भन्न चाहन्छु ।  

नेपाल र चीन दुइटा छिमेकी राष्ट्रहरू, जहाँ कुनै समस्या छैन । चीनसँगको हाम्रो मित्रता पारस्परिक लाभभन्दा पनि पारस्परिक सम्बन्धमा आधारित रहेको छ भन्दा हुन्छ । दुई देशबीचको मित्रता समझदारीको आधारमा रहेको छ ।

चीनले नेपालप्रति सदैव अत्यन्तै सहयोगी र सम्मानपूर्ण व्यवहार गर्दै आएको छ । सम्मानको हिसाबमा बराबरीको सम्बन्ध र सहयोगको हिसाबमा सकारात्मक दृष्टिकोणका साथ नेपाल–चीन मित्रता कायम रहँदै आएको छ, जुन कुरा हामी सबैले अनुभव गरेकै छौँ । 

केही समय अघिमात्रै मैले चीनको भ्रमण गरेँ । दुई देशको सम्बन्धलाई नयाँ उचाइमा उठाउने काम भएको छ । नयाँ परिस्थितिमा नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै जानेछ । 

आज हामी २१ औँ शताब्दीमा हिँडिरहेका छौँ । नेपालले नयाँ संविधान प्राप्त गरेको छ । अब हामीले आफ्ना विकासका उद्देश्यहरूलाई अगाडि बढाउनु परेको छ र उपलब्धिहरू पनि हासिल गर्नुपर्नेछ । यसका लागि हामीले चीन र भारत जस्ता दुई छिमेकीको सहयोगलाई पनि महत्वका साथ हेर्नु पर्नेछ । हामीले राष्ट्रको हितलाई हेरेर छिमेकी मित्रराष्ट्र चीनसँग समुन्द्रसम्मको पारवहन सम्झौता गरेका छौँ । नेपाल र चीन दुबैतर्फबाट हामीले सम्बन्धमा नयाँ अध्यायको सुरुआत गरेका छौँ । यसबाट नेपाल– चीन सम्बन्ध भविष्यमा अझै बलियो बन्न पुग्नेछ । 

यी सबै प्रसङ्गमा आगामी दिनमा नेपाल–चीन सम्बन्ध र सहयोगका क्षेत्रहरू अझै बिस्तार हुँदै जानेछन् । यो कुरा हाम्रा विगतका अनुभवहरूका आधारमा पनि हामी भन्न सक्छौँ । यस पुस्तकमा हाम्रा विगतका सम्बन्धहरू कसरी अगाडि बढ्दै आए, कसरी सुदृढ हुँदै आए भन्ने सवालमा राम्रोसँग, यथार्थपरक ढङ्गले विवेचना गरेको मैले पाएको छु । 

अन्तमा, म खुसी व्यक्त गर्न चाहन्छु – हामीले भर्खरै जुन पुस्तक विमोचन गरेका छौँ त्यो नेपालको कूटनीतिक अनुभवको सँगालोका दृष्टिले एउटा उपहारको रूपमा देखापरेको छ । यसका निम्ति म लेखक हिरण्यलाल श्रेष्ठजीलाई हार्दिक बधाइ दिन चाहन्छु र उहाँको उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि दिन चाहन्छु ।  

(२०७३ असार ३ गते परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको पुस्तक विमोचन कार्यक्रममा प्रस्तुत मन्तव्य)