NP EN

साम्प्रदायिक र विद्वेषकारी विचारलाई राष्ट्रले अस्वीकार गरेको छ

पार्टीका आदरणीय महासचिव, सचिवज्यूहरू, नेतागण, कार्यक्रमका सभापति, महासङ्घका पदाधिकारी साथीहरू, विभिन्न सङ्घसंस्थाको प्रतिनिधित्व गर्दै आउनुभएका अतिथिज्यूहरू र  पेसागत महासङ्घको छैँटौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनुभएका सम्पूर्ण दाजुभाइ, दिदिबहिनीहरू,

पेसागत महासङ्घले ५ वटा महाधिवेशन यसभन्दा अगाडि नै गरिसकेको छ र हामी छैटौँ महाधिवेशनको उद्घाटन सत्रमा छौँ । छैटौँ महाधिवेशन प्रारम्भ भएको छ । यस महाधिवेशनमा ठूला क्रियाशील समुदायहरू, सङ्गठनहरू आबद्ध छन् र राष्ट्रनिर्माणका लागि, देशको आकाङ्क्षाअनुरूपको विकास निमार्णका कामहरूलाई अगाडि बढाउनका निम्ति यो सङ्गठनले विगतमा असाधारण भूमिका खेलेको छ । अब पनि यसले असाधारण भूमिका खेल्नुपर्ने परिस्थिति हाम्रो अगाडि आएको छ ।

संविधान जारी भएपछि संविधानले व्यवस्था गरेका संरचना र निकायहरूको गठन, संविधानको कार्यान्वयनको निम्ति गर्नुपर्ने कानुनहरूको निर्माण र संशोधन, स्थानीय निकायको निर्वाचन, प्रादेशिक निर्वाचन, प्रतिनीधिसभा र राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरेर सक्रमण काललाई टुङ्ग्याउनु पर्नेछ । ती काम सम्पन्न नगरेसम्म संविधान कार्यान्वयन अगाडि बढ्दैन र सङ्क्रमणकालीन अवस्थाको एक किसिमको निरन्तरता पनि रहिरहन्छ । हामीले कानुनहरू निर्माण गरेर ती निर्वाचनहरू सम्पन्न गर्नुपर्नेछ । 

संविधान जारी भइसकेपछि अब हाम्रो मुख्य जोड संविधान कार्यान्वयनका क्रममा विभिन्न निर्वाचनसँगै देशको आर्थिक विकास र समृद्धितर्फ रहेको छ । अब आर्थिक विकास प्रमुख विषय बनेको छ । तदनुसार नै हामी अगाडि बढ्नु पर्नेछ । सरकारले सोहीअनुसार योजनाहरू तय गरेको छ । हामीले विकासतर्फको हाम्रो प्रयासलाई पूर्वाधारहरूको निर्माण, कृषिको आधुनिकीकरण, उद्योेगहरूको स्थापना, कृषिको व्यावसायिकीकरण, सेवाका क्षेत्रहरूको बिस्तारजस्ता कुराहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनेछौँ । एकातिर सक्रमणकालीन जिम्मेवारी, अर्कातिर विकास र समृद्धिको पक्ष, दुबै कुरामा हामी अगाडि बढ्नु आवश्यक छ । 

पेसागत महासङ्घमा विविधताको प्रतिनिधित्व छ । विविध पेसा व्यवसायका प्रतिनिधिहरू यस सङ्गठनमा आबद्ध हुनुहुन्छ । देश विकासका लागि आवश्यक पर्ने मुख्य भागको प्रतिनिधित्व तपाईंहरूले गर्नुहुन्छ । प्रशासन, सेवा, विकास निर्माण, शिक्षा, स्वास्थ्य, सञ्चारदेखि अनेक क्षेत्रमा तपाईंहरू हुनुहुन्छ । विभिन्न संस्थामार्फत तपाईंहरू देशको विकास निर्माणमा क्रियाशील हुनुहुन्छ । ती संस्थामार्फत नै तपार्इंहरू यस महासङ्घमा हुनुहुन्छ । तसर्थ राष्ट्र निर्माणका निम्ति तपार्इंहरूको दृष्टिकोण, तपार्इंहरूको सङ्कल्प, तपार्इंहरूको अठोेट, तपाईंंहरूको आत्मविश्वास र तपाईंहरूको मनोबल राष्ट्र निर्माणका लागि असाधारण महत्वका रहेका छन् । त्यसकारण तपार्इंहरूको यो महाधिवेशन अत्यन्तै भव्यताका साथ सफल हुनुपर्दछ । यस महासङ्घले एउटा कर्मकाण्डको रूपमा होइन, देशको भविष्य निर्माणमा प्रभाव पार्ने गरी आफ्नो महाधिवेशन सम्पन्न गर्नुपर्नेछ । महाधिवेशनले अब नेपाल कसरी अगाडि बढ्नुपर्छ, कुनकुन क्षेत्रमा कस्ता नीतिहरू लिइनु पर्दछ भन्ने सम्बन्धमा गहन छलफल गर्नेछ भन्ने विश्वास मैले लिएको छु ।

तपार्इंहरू देश विकासका खम्बा हुनुहुन्छ । देश विकास तपार्इंहरूमार्फत नै हुने हो । जनताले प्राप्त गर्ने डेलिभरी र राष्ट्रले प्राप्त गर्ने उत्पादन तपार्इंहरूमार्फत नै प्राप्त हुने हो । त्यसकारण तपार्इंहरूमा नयाँ सोच, नयाँ विचार र नयाँ जाँगरको पनि आवश्यकता छ । त्यस्तो भएन भने विकास निर्माणका कुरा अगाडि बढ्न सक्दैनन् । मलाई थाहा छ, तपार्इंहरूमा नयाँ सोच र नयाँ चिन्तनहरू छन् । तपाईंका तिनै सोच र चिन्तनहरूमा हाम्रो विकास निर्माणको प्रभावकारिता झल्किन्छ । हामीले कार्य सम्पादन कसरी गर्छौँ ? त्यसैमा हाम्रो सोच र चिन्तन पनि प्रतिबिम्बित भएको हुन्छ । त्यसैले पेसागत महासङ्घले देशको विकास र समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सवालमा गहन छलफल गरेर एउटा ठोस निष्कर्ष निकाल्नु पर्दछ । म यहाँहरू सबैलाई त्यो कुरामा आफ्ना सोचहरू निर्माण गर्न र चिन्तनहरू गर्न आग्रह पनि गर्दछु ।  

सरकारको तर्फबाट कतिपय नयाँ कुराहरू अगाडि सारिएका छन् । सरकार नयाँ ढङ्गले अगाडि बढ्ने, तीव्रताका साथ अगाडि बढ्ने क्रममा छ । उच्चआर्थिक वृद्धिको उद्देश्यका साथ हामी अगाडि बढ्दैछौँ । हामी कसरी आर्थिक वृद्धिदरलाई उच्चदरमा लान सक्छौँ, त्यसलाई तीव्रता कसरी दिन सक्छौँ भन्ने सन्दर्भमा गम्भीरतापूर्वक लागिरहेका छौँ । अर्को कुरा, हामी समुचित न्यायपूर्ण वितरण प्रणालीका बारेमा पनि काम अगाडि बढाउने सोचिरहेका छौँ । त्यसका निम्ति समयलाई चिन्नसक्ने, समयलाई बुझ्नसक्ने दक्ष जनशक्ति कसरी तयार गर्न सकन्छि भन्ने बारेमा पनि नीतिगतरूपमा छलफल गरिरहेका छौँ । भोलिका लागि त्यस्तो जनशक्ति कसरी तयार गर्न सकिन्छ, जसले समयभन्दा पछाडि नपरी समयको अग्रभागमा बसेर समयलाई तान्न सकोस्, समयको गतिलाई पक्डन सकोस्, त्यसप्रकारको जनशक्ति  कसरी तयार गर्न सकिन्छ भन्ने बारेमा पनि हामी सोचिरहेका छौँ । मैले विश्वास लिएको छु, तपाईंहरूको महाधिवेशनले यस सन्दर्भमा पनि सोच्नेछ, काम गर्नेछ । 

अहिले परिवर्तनका लागि नयाँ कुरा गर्दा कतिलाई अचम्म लागेको छ । कतिपय मान्छेलाई साँचो कुरा, सत्य कुरा स्वीकार गर्न मुस्किल परिरहेको छ । हिजोका गलत सोच, गलत सङ्गत र गलत सम्पर्क –  सम्बन्धहरूले परिवर्तनका नयाँ कुरालाई स्वीकार गर्न सकिरहेका छैनन् । तिनीहरू राष्ट्रको परिवर्तनका लागि नयाँ कुरा गर्दा ख्यालठट्टा ठानिरहेका छन् । त्यस्तो ठान्नेहरू ठानिरहुन् तर हामी परिवर्तन र विकास–समृद्धिमा अगाडि बढ्छौँ, बढ्छौँ । 

अहिले पनि हामीहरूमा कताकता आन्दोलनका कुराहरू गर्न पाए अलिकति एडभान्स होइन्छ कि, अलिक व्रmान्तिकारी भइन्छ कि भन्ने भ्रम छ । कुनैपनि कुरा समय अनुकूल हुन्छ । विगतमा हामीले सङ्घर्षहरू गरर्यौँ, तानाशाहीका विरुद्ध सङ्घर्ष गरयौँ, पछौटेपनका विरुद्ध सङघर्ष गरयौँ, अन्धविश्वासको विरुद्ध सङ्घर्ष गरयौँ, विभेदका विरुद्ध सङ्घर्ष गरयौँ र लोकतान्त्रिक प्रणालीको स्थापना गरयौँ । राजतन्त्रात्मक तानाशाहीको विरुद्ध सङ्घर्ष गरयौँ र गणतन्त्रको स्थापना गरयाैँ । यति भइसकेपछि फेरि के सङ्घर्ष गर्ने ? अब त्यसैगरी सङ्घर्ष गर्नु पर्दैन । हामी सतर्क हुनुपर्दछ देश फेरि पछाडि नफर्कियोस् । 

विचारको कुनै लडाइँ हुँदैन वा छैन भन्ने होइन । अहिले पनि विचारका लडाइँहरू भइरहेका छन्, तर ती हिंसात्मक हुनुपर्ने कुनै आवश्यकता छैन । त्यस्तै, स्वार्थहरूका लडार्इँ, टकरावहरूका लडाइँ हुन सक्दछन्, तर अब लोकतन्त्रमा त्यस्ता कुराहरू मान्य हुँदैनन्, स्वीकार्य हुँदैनन् । अहिलेपनि कतिपय राष्ट्रिय संरचनाहरूको नोक्सान गर्ने काम भइरहेको पाइन्छ । अहिले पनि त्यसप्रकारका गैरजिम्मेवार, असामयिक, असान्दर्भिक, अनुचित प्रवृत्तिहरू देखापरिरहेका छन् । हामीले त्यस्ता प्रवृत्तिहरूलाई अस्वीकार गर्नु पर्दछ । अब हामी सबैले संविधानसम्मत र कानुनसम्मत ढङ्गले अगाडि बढ्नु पर्दछ । देशलाई विकासको बाटोमा अगाडि बढाउनु पर्दछ । 

शान्तिपूर्ण र संवैधानिक बाटोबाटै सबैले अगाडि बढ्नुपर्छ । निरङ्कुश शासनको बेला जनताले आफ्ना अधिकारको कुरा गर्नु ठीकै हो । संवैधानिक र शान्तिपूर्ण मार्गहरू अवरुद्ध भएको बेला जनताले दमनका विरुद्ध प्रतिवाद गर्नु एउटा कुरा हो, तर शान्तिपूर्ण र संवैधानिक मार्गहरू खुल्ला भएको बेला ध्वंसात्मक र हिंसात्मक बाटो मान्य हुँदैन । जनताद्वारा निर्वाचित हुनसक्ने, परिवर्तन गर्नसक्ने, जनताको प्रतिनिधिले शासन गर्नसक्ने, जनताको प्रतिनिधिले कानुन बनाउने लोकतान्त्रिक प्रणालीमा हिंसाको राजनीति आवश्यक पनि हुँदैन, स्वीकार्य पनि हुँदैन । राजनीतिक उद्देश्यका लागि राजनीतिक बाटो नभएर अराजनीतिक हिंसाको बाटो अङ्गीकार गर्ने कुरा पनि स्वीकार्य हुनै सक्दैन । 

जुन देश अगाडि बढ्न तयार हुन्छ, जुन देश अगाडि बढ्छ, जुन देश इतिहासका असङ्गत कुरामै रुमलिएर बस्दैन त्यसले विकास गर्नु अनिवार्य हुन्छ । हामीले हाम्रा छिमेकहरूमा देखेका छौँ, बीसौँ शताब्दीको उत्तारार्ध अथवा बीसौँ शताब्दीको पछिल्लो खण्ड तीव्र विकास र परिवर्तनको असाधारण कालखण्ड रह्यो । धर्तीको इतिहासमा, मानवजातिको इतिहासमा, विज्ञान प्रविधि अनेकका उपलब्धिको इतिहासमा यद्यपि २० औँ शताब्दी सिङ्गै नै असाधारण उपलब्धिको शताब्दी हो । त्यसमा पनि पछिल्लो अवधि, विश्वयुद्ध भइसकेको अवधि, संयुक्तराष्ट्र सङ्घ बनिसकेको अवधि, संयुक्त राष्ट्रसङ्घ बडापत्रले असाधारण उचाइका मान्यताहरू अगाडि सारिसकेपछिको स्थितिमा विभिन्न परिवर्तनहरू भए । विभिन्न आन्दोलनहरू, राष्ट्रिय मुक्तिआन्दोलन, जनताका मुक्तिका आन्दोलनहरू, असमानता, विभेदविरूद्धका आन्दोलनहरू, समनताका आन्दोलनहरू, रङ्गभेद विरोधी आन्दोलनहरूले मानवीय चेतनाको उचाइलाई निकै माथि उठाए । कला, संस्कृति, साहित्यका क्षेत्र, अरू अनेक क्षेत्रहरूमा खोज–अनुसन्धान, औषधि विज्ञान, शिक्षाजस्ता कुराहरूमा जुन उपलब्धि हासिल भएका छन्, तिनीहरू हाम्रो मानवजातिले गरेका उपलब्धि हुन् जसको जगमा विभिन्न मुलुक अगाडि बढेका छन् । हाम्रो मुलुक पनि त्यही जगबाट अगाडि बढिरहेको छ । 

यो सरकार विचारमा स्पष्ट छ, गन्तव्यमा अझ स्पष्ट र देशको विकास र समृद्धिका योजनाहरूमा त झनै स्पष्ट छ । कता जानुपर्छ, कसरी जानुपर्छ र के गरी जानुपर्छ भन्ने कुरा राम्रोसँग, बडो गम्भीर ढङ्गले बुझेको सरकार हो यो । यो सरकारसँग विगतका अनुभवहरू छन् । ती अनुभवको समीक्षा गर्ने र कार्यान्वयन गर्ने इमानदार प्रयासहरू छन् । हामीले राष्ट्रियमात्र हैन मानवजातिका सम्पूर्ण असल कुराहरू चाहे डार्बिनको विकासवाद होस् अथवा कार्लमार्क्सका दर्शन हुन्, अथवा अन्य अर्थशास्त्रीका अर्थशास्त्रीय विश्लेषणहरू नै किन नहुन्, सबैका सकारात्मक र हाम्रो परिस्थितिअनुसारका निष्कर्षहरूलाई राम्रोसँग बुझेर काम गर्ने सरकार हो यो । सरकारसँग सही विचार छ, जुन विचारकै आधारमा सरकारले देशलाई विकास र समृद्धिमा अगाडि बढाउने कुरा गरिरहेको छ । त्यसैले त बल्ल नेपाली जनतामा आशा पलाएको छ । 

सरकारले राष्ट्रलाई गौरव अनुभूत गरेर अगाडि बढ्ने बाटोमा फर्काएको छ । हामी आफ्नो स्वाभिमानका साथ खडा हुन सकेका छौँ । हामी आफ्नो स्वाधीन अस्तित्वको रक्षामा फेरि पनि अगाडि बढेका छौँ । नेपाल र नेपालीको शिर झुकाउने काम यो सरकारले गरेको छैन र गर्ने पनि छैन ।

हामी राष्ट्रिय एकताका साथ अगाडि बढ्ने कुरालाई जोड दिइरहेका छौँ । राष्ट्रिय एकता नै एकमात्र उचित बाटो हो भन्ने हामीलाई लागेको छ । पहिचानको नाममा जात–जातमा, क्षेत्र–क्षेत्रमा, भूगोल– भूगोलमा, भाषा–भाषामा लडाइँ मच्चाउने खालका हानिकारक कुराहरू पनि सुनिन्छन् । त्यस्ता साम्प्रदायिक र विद्वेषकारी विचारहरूलाई राष्ट्रले अस्वीकार गरेको छ । राष्ट्रले त राष्ट्रिय एकतालाई नै एकमात्र उचित कुरा मानेर त्यसैमा जोड दिएको छ । हाम्रा विविधताहरू हाम्रा सम्पत्ति हुन् ।  भौगोलिक विविधता, जातीय विविधता, सांस्कृतिक विविधता, भाषिक विविधता जस्ता अनेक विविधताहरू हाम्रा सम्पत्तिका रूपमा रहँदै आएका छन् । यी सबैको संरक्षण हुनुपर्छ । हरेक विविधताले अगाडि बढ्न पाउनुपर्छ । यिनका बीच लडाइँ झगडा हुनुहुन्न । राष्ट्रिय एकताको भावधारामा सबैलाई अगाडि लिएर जानुपर्छ । यसबारेमा सबै सजग हुनुपर्छ । मलाई विश्वास छ – यसमा हामी सबै स्पष्ट छौँ, तपाईंहरू पनि स्पष्ट हुनुहुन्छ । पेसागत महासङ्घको महाधिवेशनले यस विषयमा पनि उल्लेखनीय भूमिका खेल्ने विश्वास मैले लिएको छु ।  

अन्तमा, तपाईंहरूको यो महाधिवेशन बडो भव्यताका साथ सुरु भएको छ । यसको समापन पनि यस्तै भव्यताका साथ होओस् । म यस महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु । 

(२०७३ असार ३ गते पेशागत महासङ्घको छैटौँ महाधिवेशनका अवसरमा काठमाडौँमा आयोजित समारोहमा सम्बोधन)