NP EN

अब दुराहरू डाक्टर, इन्जिनियर बन्नुपर्छ

कार्यक्रमका सभापतिज्यू, उपप्रधान तथा रक्षामन्त्रीज्यू, नेताज्यूहरू, संस्थाका पदाधिकारी साथीहरू, अन्य अतिथिहरू र सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरू, 

आज दुरा सेवा समाजको २३ औँ वार्षिक उत्सव यहाँ प्रारम्भ भएको छ र अगाडि बढिरहेको छ । म यस सन्दर्भमा खुसी व्यक्त गर्न चाहान्छु । यस अवसरमा दुरा जातिको उत्थान, विकास, सुख र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । 

यस समारोहमा उपस्थित हुनका लागि मलाई साथीहरूले आग्रह गर्नुभयो । समय मिलाउन निकै गाह्रो थियो । तैपनि अलिकति भए पनि समय निकाल्न सकिन्छ कि भनेर मैले कोसिस गरेँ । यहाँ उपस्थित नहुने कुरालाई पनि मनले त्यति मानेन । बलजफ्ती समय मिलाएर यहाँहरूको बीचमा उपस्थित भएको छु । यहाँहरूसँग ऐक्यबद्धता जनाउनका लागि, यहाँहरूको साथमा सरकार छ भन्ने बताउनका लागि, यहाँहरूको विकासका निम्ति काम गर्न म तयार छु भन्नका लागि, यस जातिको संस्कृतिको संरक्षण र विकासका निम्ति सरकार खास सोच र योजनाका साथ अगाडि बढ्न चाहन्छ भन्ने कुरा बताउनका लागि नै म यहाँ उपस्थित भएको छु । 

नेपाल १ सय २५ जातजातिको बसोबास रहेको देश हो । यो हिमाल, पहाड, तराईका पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । यो देश बहुजातीय छ, हामी धेरै जातजातिहरू यस देशमा छौँ । हामी सबैको सुरक्षा, संरक्षण र उन्नति चाहन्छौँ । यसमा नै देशको पनि उन्नति हुन्छ भन्ने हामीलाई लाग्छ । 

हाम्रो देशमा पछाडि परेको, सानो सङ्ख्यामा रहेको, लोपोन्मुख प्रायः अवस्थामा रहेको दुरा जाति राष्ट्रले ध्यान दिनैपर्ने जाति हो । सरकारले ध्यान दिएकै हुनाले म तपाईंहरूको यस कार्यक्रममा उपस्थित भएको हुँ । हामी पछाडि परेका धेरै अल्पसङ्ख्यक र लोपोन्मुख जातिहरूका निम्ति केही विशेष योजनाहरू, केही विशेष कार्यक्रमहरू ल्याउने भन्ने कुरामा छलफल गरिराखेका छौँ । ती कार्यक्रमहरू तपाईंहरूको संरक्षण र विकासका निम्ति हुनेछन् ।  

मसँग केही विशेष योजनाहरू पनि छन् । अहिले नै मैले केही भनिहाल्नु वाञ्छनीय हुँदैन । म कतिचाहिँ भन्छु भने सरकारको ध्यान तपार्इंहरूमाथि छ, तपाईंहरूका समस्याहरूमाथि छ, तपार्इंहरूको सुरक्षा, सम्मान, विकास, सुख र समृद्धिका निम्ति छ । 

हाम्रो पार्टी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक चालू छ । हामी नीति कार्यव्रmम बनाउने सन्दर्भमा छलफल गरिरहेका छौँ र बजेट तयार गर्ने सन्दर्भमा छलफल गरिरहेका छौँ । यसपटकको नीति कार्यक्रम देशलाई तीव्र उन्नतिका साथ विकासको बाटोमा अगाडि बढाउने उद्देश्यका साथ आउँदैछ। त्यसमा नेपाल र नेपाली जनताको हितलाई ध्यनमा राखिने छ । तपाईंहरूको हितलाई पनि ध्यान दिइने छ । 

देशको वार्षिक आर्थिक वृद्धिदर यसपल्ट निकै कमजोर हुने देखिएको छ । भुइँचालोले गर्दा गत वर्ष हामीलाई थिलथिलो बनायो । त्यसपछि नाकाबन्दीले हामीलाई थिलथिलो बनायो । तराईका घटना, अशान्ति, हिंसा र बन्दजस्ता कुराहरूले हाम्रो अर्थतन्त्रलाई ठूलो धक्का दिएको छ । त्यसकारण हाम्रो आर्थिक वृद्धिदर कमजोर देखिएको हो । लगभग वृद्धिदर नै छैन भन्दा पनि हुन्छ । एउटा रोकावटको स्थितिमा छ भन्दा हुने अवस्था छ । अब हामी त्यसलाई तीव्र आर्थिक वृद्धिदरमा लान चाहन्छौँ । यसपल्ट हामी उतारचढावको अवस्थाबाट त्यो स्थितिमा रहे पनि आगामी आर्थिक वर्ष हामी धेरै ठूलो, नेपालको इतिहासमा सायद त्यति तीव्र आर्थिक वृद्धिदर नहोला, त्यति तीव्र आर्थिक वृद्धिदर हामी हासिल गर्नेछौँ । त्यस दिशामा हामी लागिसकेका छौँ ।  

सबैभन्दा महत्वपूर्ण कुरा एमाले तपार्इंहरूको साथमा छ । एमालेको ध्यानमा तपार्इंहरू हुनुहुन्छ । तपार्इंहरूको सुरक्षा, सम्मान, सुख, समृद्धिका निम्ति एमाले क्रियाशील छ । एमाले चाहन्छ – थोरै भएपनि दुरा जाति अब माथिल्लो तहमा पुग्नुपर्छ, डाक्टर इन्जिनियर हुनुपर्छ, पाइलट हुनुपर्छ, व्यवस्थापक हुनुपर्छ ।  

म यस कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्न चाहन्छु । दुरा जाति थोरै भएपनि अब यसको भविष्य चम्किनुपर्छ । यस जातिभित्र कोही निरक्षर हुनुहुन्न, कोही अशिक्षित रहनुहुन्न । दुरा जातिभित्र कम्तीमा पनि स्नातक नगरेको मानिस कोही नहोओस् भन्ने म चाहन्छु । अधिकार र अवसर दुबै दुरा जातिलाई उपलब्ध हुनैपर्छ । सरकारले त्यसमा ध्यान दिएको छ । दुरा समाजको वार्षिक उत्सवका अवसरमा म सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

(२०७३ वैशाख २ गते दुरा समाजको वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा प्रस्तुत मन्तव्य)