NP EN

एक वर्षमा लोडसेडिङ समाप्त हुन्छ

यस कार्यक्रमका अध्यक्ष महोदय, माननीय मन्त्रीज्यू,विशिष्ट व्यक्तित्वहरू, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका पदाधिकारी मित्रहरू, वैकल्पिक ऊर्जालाई बढावा दिँदै ऊर्जा क्षेत्रमा नेपाललाई अगाडि बढाउने  सङ्कल्प बोकेर उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू,

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले तीन दिने वैकल्पिक ऊर्जासम्बन्धी यो प्रदर्शनीको आयोजना गरेको छ । यो ज्यादै खुसीको कुरा हो । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । 

यस कार्यक्रमबाट हामी ऊर्जाको सम्बन्धमा र वैकल्पिक ऊर्जाको सम्बन्धमा थुप्रै सामान्य र प्राविधिक ज्ञानहरू प्राप्त गर्नेछौँ । यसले हाम्रो अभिरुचि, हाम्रो उत्सुकता, हाम्रो तत्परता अगाडि बढाउनेछ । त्यो पनि मैले विश्वास लिएको छु । यस कार्यक्रमको भव्य सफलताको निम्ति म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

केही संस्थाका केही साथीहरूले, विभिन्न प्रकारका वैकल्पिक ऊर्जाको प्रयोग, त्यसको सुरुआतको सम्बन्धमा समझदारी–पत्र, सम्झौता–पत्रजस्ता कुराहरूमा हस्ताक्षर गर्नुभएको छ । म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु, बधाई भन्न चाहन्छु, उहाँहरूलाई शुभकामना दिन चाहन्छु । उहाँहरूले गर्नुभएको प्रयोग सबैका लागि मार्गदर्शक बन्न सकोस् । यो उपयोगी हुन सकोस्, उहाँहरूका निम्ति, सबैका निम्ति अनुसरणीय हुन सकोस् । यस प्रसङ्गमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जुन सेवा पुरयाइआएको छ, विभिन्न हिसाबले बायो ग्याँसको सम्बन्धमा अथवा वैकल्पिक विद्युत् उत्पादनको सम्बन्धमा खासगरी ग्रामीण क्षेत्रमा जुन काम भएको छ, त्यसका निम्ति म यस संस्थालाई धन्यवाद भन्न चाहन्छु । अहिले पनि यो कार्यव्रmमको आयोजना गरेको छ, धेरै खुसीको कुरा हो । 

हामी एउटा नयाँ परिस्थितिमा, नयाँ परिवेशमा हुर्किएका छौँ । हामीले संविधानसभाबाट संविधान पाएका छौँ । हिजो राजनीतिक अधिकार प्राप्तिको अथवा सामाजिक असमानता, विभेदको विरुद्ध, न्याय र समानताका हकहरू प्राप्तिको सङ्घर्ष गर्नुपरेको थियो, त्यसको निम्ति लडाइँ गर्नुपरेको थियो, अब त्यो टुङ्गिएको छ । अब ती अधिकारहरू संविधानमार्फत संस्थागत भएका छन् । हामी अब नयाँ चरणमा, उन्नतिको चरणमा, हाम्रा पूर्वाधारहरूको विकासको चरणमा, हामीले देशलाई आधुनिकतातर्फ अगाडि बढाउने चरणमा, विभिन्न ढङ्गले चौतर्फीरूपमा हाम्रा उन्नतिका प्रयासहरूलाई अगाडि बढाउने सन्दर्भमा र एउटा समृद्ध नेपाल बनाउने बाटोमा अग्रसर हुने चरणमा प्रवेश गरेका छौँ । ऊर्जाको सम्बन्धमा मैले भन्नुपर्दैन, ऊर्जा देशको विकासका निम्ति असाधारण महत्व राख्ने कुरा हो । हाम्रा निम्ति सौभाग्यको कुरो, ८३ हजारभन्दा बढी मेगावाटको हामीसँग हाइड्रोपावरको क्षमता छ । ८३ हजारभन्दा बढी मेगावाट हामी उत्पादन गर्न सक्छौँ, तर फर्पिङमा चन्द्रज्योति १ सय ५ वर्ष अगाडि सुरु भयो, १ सय ५ वर्षपछि अहिले हामी ७ सयदेखि ७ सय ५० मेगावाटको आसपासमा मात्रै उत्पादन गरिरहेका छौँ । संसारको दोस्रो जलस्रोतको धनी देश, यत्रो सम्भावना भएको देश, तर हामीले उत्पादन गरयौँ, ८ सय मेगावाटभन्दा कम, त्यो पनि १ सय ५ वर्षमा । कस्तो इतिहास ? कछुवा पनि यति ढिलो हिँड्दैन । कमसेकम पाँच–दश हजार त उत्पादन हुनुपथ्र्यो होला नि । 

यसप्रकारको शिथिलताको अवस्था, अकर्मण्यताको अवस्था छ, एउटा निकम्मापनको अवस्था≤ भन्न पनि अप्ठ्यारो लाग्छ । १ सय ५ वर्षमा लगभग ८ सय मेगावाट, कस्तो ठाउँमा भन्दा जहाँ ८३ हजार मेगावाटभन्दा बढी क्षमता छ, जुन संसारको दोस्रो ठूलो जलस्रोतको धनी देश हो । अब यस इतिहासलाई छोडिदिनुपर्छ । मैले भन्दै आएको छु – म एक वर्षभित्र लोडसेडिङ समाप्त पार्छु । मैले यो कुरा प्रधानमन्त्री भएदेखि नै निरन्तर भन्दै आएको छु । यहाँ फेरि पनि भन्छु – एक वर्षमा लोडसेडिङ अन्त गर्छु ।  ढिलो हिँड्ने बानी परेका मान्छेहरू, बामे सर्ने बानी परेका मान्छेहरू एक वर्षभित्र लोडसेडिङ समाप्त हुनै सक्दैन भन्छन् किनभने १ सय ५ वर्षमा त लगभग ७ सय मेगावाट बल्ल निस्केको छ, कसरी हुन्छ एक वर्षमा लोडसेडिङ समाप्त ? अर्को ७–८ सय मेगावाट हामीलई चाहिन्छ, कसरी हुन्छ ? कसैलाई के लागेको छ भने यदि सौर्य ऊर्जामा गयो भने, यदि हावाबाट बिजुली निकाल्ने वायु ऊर्जामा गयो भने अथवा बायो ग्याँसमा गयो भने अथवा जियो–थर्मलमा गयो भने वा अरू प्रकारका कुराहरूमा गयो भने हाम्रो जलस्रोतको महत्व त सिद्धिहाल्यो नि π कोही त्यस्तो लाग्नेहरू पनि छन् । म के भन्न चाहन्छु भने जलस्रोत पनि हाम्रो हो, सौर्य पनि हाम्रो हो, हावा पनि हाम्रो हो । यो जमिनभित्रको ताप पनि हाम्रो हो, अथवा जिओ–थर्मल पनि हाम्रो हो । अरू विभिन्न प्रकारका ऊर्जाका  स्रोतहरू हुन सक्दछन् । फोहरमैला व्यवस्थापनबाट पनि हामी निकाल्न सक्दछौँ । ग्याँस निकाल्न सक्दछौँ ।  बिजुली निकाल्न सक्दछौँ, अनेक निकाल्न सक्दछौँ । यी कुराहरू, यी सबै हाम्रै हुन् । हामी सबैलाई प्रयोग गर्दै तीव्रताका साथ अगाडि बढ्नुपर्दछ । अब खाली पाखुरा सुर्कन जान्ने, चर्का कुरा गर्न जान्ने, ठूलाठूला कुरा गर्न जान्ने भएर मात्र देश बन्दैन ।

एउटा कण्ठ भएको मन्त्र छ नेपालमा – अधिकारका निम्ति लडाइँ भन्ने । अधिकारका निम्ति हामी लडिरहेका छौँ, अधिकारका निम्तिको लडाइँ हो, अधिकार के चाहिएको हो, कुन अधिकारका निम्तिको लडाइँ हो ? राणाशासन पनि सकियो, राजतन्त्र पनि सकियो, गणतन्त्र आएको छ, असमानता र विभेद संवैधानिक र व्यावहारिकरूपमा समाप्त पारिएको छ, कसैको भन्दा कसैलाई कम अधिकार छैन । सबैलाई अधिकार छ, अझ ती अधिकार प्रयोग गर्नका निम्ति, पछाडि परेका समुदायलाई अगाडि बढाउनका निम्ति विशेष प्रबन्धहरूको व्यवस्था गरिएको छ । अधिकारमा सबै बराबर छन् । अनि अधिकारको लडाइँ के ? एउटा भ्रमको खेती गर्न खोजिएको छ, अधिकार पाएन जनताले भन्ने । हल्ला चलाइन्छ – अधिकार त सिंहदरबारमा बस्नेहरूले पाए, हामीले पाएनौँ । सिंहदरबार कार्यालयमात्र हो, कोही पनि बस्दैन । त्यो सिंहदरबारमा कसैको घर पनि छैन, डेरा पनि होइन । भ्रम फिँजाइएको छ, सिंहदरबारमा बस्नेहरूले अधिकार पाए, अरूले पाएनन् भनेर  । 

नेपाली जनता साँच्चै नै सार्वभौमसत्तासम्पन्न भएको छ, नेपाली जनताले अधिकार पाएको छ, त्यस अधिकारलाई उपयोग गर्नसक्ने गरी हामीले अब विकास गर्नुपर्नेछ । हामी घर बनाउन पाउँछौँ, घर बनाउने सामथ्र्य हामीले विकास गर्नुपरयो । रोजगारी गर्नसक्छौँ, हामीमाथि कुनै विभेद हुनसक्दैन, बरु केही आरक्षण, केही संरक्षणका कुराहरू होलान् । छोराछोरी पढाउने अधिकार पाउँछौँ हामीले, यो राणाशासन होइन, तर पढाउन सक्ने वातावरण बनाउनुपरयो । 

यो संविधानसभाबाट लोकतान्त्रिक संविधान नेपालले पाइसकेपछि बनेको जनताको सरकार हो, यसले जनताका अधिकारलाई उपयोग गर्नसक्ने गरी सुनिश्चित गर्न आफूलाई अगाडि बढाउनुपर्दछ । अब छोराछोरी पढाउन पाउने जनताको अधिकार उपयोग गर्न यस सरकारले सक्ने स्तरमा जनतालाई उठाउन परेन ? आधुनिकतामा जानुपरेन ? विकासतर्फ ल्याउनुपरेन ? अहिलेको आवश्यकता त्यो हो र हामी त्यो गर्दैर्छौँ । 

अधिकारहरू प्राप्त भएका छन् तैपनि हामी अधिकारको लडाइँ जारी छ भन्छौँ, क्रान्तिकारी कुरा गर्छौँ । अस्ति कसैले पावरहाउसमा आगो लगायो भन्ने सुनियो । विद्युत् आयोजनाको कार्यालयमा आगो लगाउने अनि नयाँ नेपाल बनाउने कुरा गर्ने ? बिजुली निकाल्न नदिने, बाटो बनाउन नदिने, नयाँ नेपाल बनाउने कुरा गर्ने ?

हामीले विज्ञान र प्रविधिको उपयोग गर्नुपर्छ । सम्पूर्ण क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ । वातावरण अनुकूल नवीकरणीय ऊर्जा नै नेपालमा दिगो विकासको आधार हो  । यो त देशै यस्तो छ, यहाँको जलस्रोत, यहाँको हावा, यहाँको सौर्य– यी सबै नवीकरणीय ऊर्जाका स्रोत हुन् । हामी कुनै न्युक्लियर प्लान्ट जडान गर्न गइरहेका छैनौँ । जुन देशमा हिमालहरू छन्, जुन देशमा पहाडहरू छ, जुन देशमा चीसो हावा छ, जुन देशमा ग्लेसियर हिमाल र नदीहरू बग्छन् । यति उर्वर छ यो देश, खोलामा माछाको बीउ हाल्नुपर्दैन, माछा आफैँ हुर्केको हुक्र्यै हुन्छ । यो वातावरण अनुकूल जीवनमय देश हो । यस देशलाई अझ सुन्दर बनाउनुपर्छ । 

यस सन्दर्भमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले जुन काम गरेको छ, यसमा काँधमा काँध मिलाउन नेपाल प्रहरी, अरू उद्यमीहरू, अरू व्यवसायीहरू जसरी लाग्नुभएको मैले पाएको छु, यो अत्यन्तै प्रशंसायोग्य कुरा छ । म सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । यो ज्ञानमूलक, शिक्षामूलक, विकासमुखी जुन प्रदर्शनीको आयोजना भइरहेको छ यो सफल हुने नै छ, सफल होस् । यसले सफलताका अरु ढोकाहरू खोल्न योगदान पुरयाओस्, म धेरैधेरै शुभकामना भन्न चाहन्छु । सरकारको तर्फबाट, यो सरकारी निकाय नै हो, त्यसमाथि मन्त्रिपरिषद्को तर्फबाट अरू हिसाबले कानुनी वा व्यावहारिक हिसाबले कदम चाल्नुपरयो थप अनुकूलता प्रदान गर्न भने माननीय मन्त्रीज्यू हुनुहुन्छ, म उहाँलाई भन्न चाहन्छु, प्रधानमन्त्रीको हिसाबले म तपाईंको साथमा छु, वातावरण मन्त्रालयको साथमा छु, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साथमा छु । यस दिशामा अगाडि बढ्न चाहने उद्यमी, व्यवसायीहरूको साथमा सरकार छ । संघसंस्थाहरूको साथमा सरकार छ । हाम्रा सेना, प्रहरी र हाम्रा विभिन्न निकायहरू अगाडि बढ्नेछन्, प्रतिबद्धतातर्फका पाइला चाल्नेछन् । 

मलाई यहाँ आमन्त्रण गर्नुभयो, थप धन्यवाद भन्न चाहन्छु । सबैमा शुभकामना ।  

(वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा काठमाडौँमा आयोजित वैकल्पिक ऊर्जा प्रदर्शनीको उद्घाटनका सन्दर्भमा व्यक्त विचारहरू)