यस कार्यक्रमका अध्यक्षज्यू, विशेष अतिथि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, मेरा अत्यन्तै आदरणीय मित्रहरू, सहभागी सबै दाजुभाइ दिदीबहिनीहरू,
नेपाल राष्ट्रका महान् सपूत कृष्णप्रसाद भट्टराईज्यू, जसलाई किसुनजी भनेर पनि चिनिन्छ, जसलाई साधारणतया सन्त नेता भनेर बुझिन्छ, आज उहाँको ९२ औँ जन्मजयन्ती । प्रकृतिको अत्यन्तै ठूलो निष्ठुर प्रवृत्ति, एक दिन न एक दिन जो पनि दिवङ्गत हुनैपर्ने । किसुनजी पनि दिवङ्गत हुनुभयो । उहाँ हाम्रो बीचमा हुनुहुन्न । त्यसैकारण हामीले जयन्ती भन्यौँ । यतिबेला म उहाँप्रति अत्यन्तै सम्मानका साथ हार्दिक श्रद्धा–सुमन अर्पण गर्न चाहन्छु ।
कृष्णप्रसाद भट्टराईजीलाई नदेख्ने र नजान्ने सायद यहाँ उपस्थित हुनुहुन्न होला । चिनेजानेका साथीहरू हुनुहुन्छ, मैले धेरै भन्नुपर्दैन । अघि स्वागत मन्तव्यको क्रममा युवराजजीले राजनीतिक मान्छेका सन्दर्भमा एउटा प्रसङ्ग ल्याउनुभयो । मान्छे भूगोलमा एक ठाउँमा जन्मन्छ । एउटा परिवारमा जन्मिन्छ । एउटा समयमा जन्मिन्छ । त्यो उसको बुताको कुरा होइन । त्यसको कार्यक्षेत्र, कार्यथलो पनि एउटा हुन्छ । मुख्यरूपमा एउटा देशमा जन्मन्छ, एउटा परिवार, एउटा जात केही होला तर उसको सिमाना के हो त्यो हेर्नुपर्छ । कृष्णप्रसाद भट्टराईलाई हामीले त्यसरी हेरयौँ भने, उहाँ हिजो कुन पार्टीमा हुनुहुन्थ्यो भनेर पार्टीको हिसाब गरयौँ भने उहाँको धेरै अवमूल्यन हुनजान्छ ।
बीसौँ शताब्दी पूरा परिवर्तनको शताब्दी हो । बीसौँ शताब्दी असाधारण शताब्दी हो, विश्वको इतिहासमा । यसै त मानवजातिको उपस्थितिको कारणले पृथ्वी नामको ग्रहको र यो अन्तरिक्षको महत्व बढेको छ । मान्छे नै नभएदेखि यसको के महत्व ? जीव नै नभएको भए यसको के महत्व हुन्थ्यो ? मान्छेको कारण महत्व भएको छ । मानवीय उपलब्धिहरू, मानवीय परिवर्तन, मानवीय चेतना सबै हिसाबले बीसौँ शताब्दी असाधारण शताब्दी रह्यो । यसै शताब्दीमा मान्छेहरूले उठ्न प्रारम्भ गरयो र असाधारण विकास गरयो । एक ठाउँको खबर अर्को ठाउँमा पुरयाउन सञ्चारको विकास, विज्ञानको विकास, प्रविधिको विकास, उपनिवेशवादबाट विकास, राष्ट्रिय स्वाधीनताको सङ्ग्राम । यसैगरी यस देशमा पनि अन्धकारयुक्त जहाँनिया शासनबाट उन्मुक्तिको चेतना र परिवर्तन । कृष्णप्रसाद भट्टराई तीव्र परिवर्तनको यस बीसौँ शताब्दीको दर्शक होइन, उहाँ यस शताब्दीलाई कता लानुपर्छ भनेर त्यसलाई दिशा दिने एउटा नाविक हुनुहुन्थ्यो । दर्शक भएर त्यस शताब्दीको त्यो समयले ल्याएको परिवर्तनको पछाडि पछाडि होइन, परिवर्तनलाई अगाडि उभिएर ड्राइभ गर्ने कुरा साधारण होइन । प्रधानमन्त्री थुप्रै हुन्छन् । पार्टी सभापति पनि थुप्रै हुन्छन् । कार्यबाहक सभापति पनि थुप्रै हुन्छन् तर उहाँमा त्यतिमात्रै विशेषता होइन, नेपाली समाजमा जुन आधुनिक चेतना आयो, मानवीय चेतना आयो, स्वाभिमानको चेतना आयो, शोषणबाट उन्मुक्तिको चेतना आयो, हकअधिकारको चेतना आयो, त्यो चेतना कुनै वर्षामा वर्षिएको पानीबाट होइन, सबैलाई बुझ्नेचिन्ने, आफू सचेत हुने र अरूलाई पनि सचेत बनाउने, परिवर्तनको पक्षमा लाग्ने अथक योद्धाहरूबाट आयो । कृष्णप्रसाद भट्टराई त्यस्तै असाधारण नायक हुनुहुन्थ्यो ।
उहाँ नेपालको राजनीतिक परिवर्तन हामी जसलाई भन्छौँ, नेपालको राजनीतिक परिवर्तनको, राजनीतिक आन्दोलनको, लोकतन्त्रको चर्चा गर्ने बित्तिक्कै बिर्सनै नसकिने, बिर्सनै नहुने, बिर्सन खोजे पनि पार नलाग्ने व्यक्तित्व हुनुहुन्छ । पहिलो सभामुख, लोकतन्त्र आयो भन्ने बित्तिकै नेपालमा पार्लियामेन्ट भयो, पार्लियामेन्ट भयो भन्ने बित्तिकै सभामुखको कुरा । नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराई । नेपालको लोकतान्त्रिक आन्दोलनमा अघि शेरबहादुरजीले अलिकति भन्नुभयो, २०४६ सालको आन्दोलन, २०४७ सालको संविधान, त्यसव्रmममा उहाँले गरेको नेतृत्वको प्रश्न यी सबै असाधारण रहे, तर उहाँ यी सबै कुराको किनाराको साक्षी होइन, यी सबै कुरालाई आफैँ अग्रभागमा बसेर हाँक्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँको सबभन्दा ठूलो विशेषता के भने अरूबाट अवाञ्छित ढङ्गले प्रभावित नहुने र अनुचित कुराहरूसँग नलतारिने । उहाँसँग धेरै अगाडिदेखि सँगै काम गर्ने मौका मलाई मिल्यो । हामी सानै हुँदा उहाँले धेरै काम गरिसक्नुभएको थियो तर पनि उहाँसँग जेलमा सँगै बस्ने मौका मिल्यो । पञ्चायतका विरुद्ध सङ्घर्ष गर्ने मौका मिल्यो, राजाका विरुद्ध सङ्घर्ष गर्ने मौका मिल्यो, अरू पनि धेरै कुराहरूमा मौका मिल्यो, म आफूलाई त्यसमा गर्व गर्न चाहन्छु । उहाँको जेलमेट हुने मौका पनि पाएँ । आन्दोलनका क्रममा, सङ्घर्षका क्रममा साथै हामी जेल पस्यौँ । मैले भनेँ अब हामी पछिल्लो पुस्ताका परयौँ । पछिल्लो पुस्ताको पर्नुचाहिँ राम्रो भयो । एकै पुस्ताको भएको भए त उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो, आज म हुनै पाउँदिनथेँ ।
म उहाँका बारेमा धेरै जानकार छु भन्ने दाबी गर्दिन, तर म जति उहाँलाई जान्दछु, उहाँ नेपाली समाजलाई जागरुक गर्ने, नेपाली समाजमा परिवर्तन ल्याउने, नेपाली समाजलाई साँच्चै एउटा स्वाभिमानी जो समाज छ, त्यो समाजलाई आफ्नो पहिचानका साथ अगाडि बढाउने कुरामा उहाँको असाधारण योगदान रह्यो । उहाँका दृष्टिकोण र उहाँका व्यवहार असाधारण रहे । आज हामीले उहाँको पूर्ण कदको सालिक अनावरण गरेका छौँ । उहाँ हाम्रो बीचमा हुनुहुन्न । उहाँको प्रतिकृतिको रूपमा सालिक हाम्रो स्मृतिका लागि, उहाँलाई सम्झिएर सम्मान अर्पण गर्नका लागि हामीले स्थापना गरेका छौँ । फोटोहरू पनि बिग्रन सक्छन्, फोटोभन्दा बढी सालिक भयो भने नबिग्रेला, आगामी पुस्तासम्मले पनि देख्लान्, जान्लान् । नेपाल र नेपालीका निम्ति महान् योगदान गर्ने व्यक्तित्वको चेहरा कस्तो थियो, कस्ता खालका थिए, त्यो देख्दाखेरि चिनिने खालको होस् भन्नका निम्ति । यो मूर्तिपूजा होइन, यो कामको सम्मानको स्मृतिको निम्ति हो । बुद्धभन्दा मान्छेले जहाँ पनि सालिक देख्छ र चिनिहाल्छ । २ हजार ६ सय वर्षभन्दा बढी समयअगाडिको कुरा हो । झण्डै २ हजार ६ सय वर्ष बितेकै हुन लागेको अवस्थामा, बुद्धलाई हामी कसैले देखेको पनि होइन, चिनेको पनि होइन, तर बुद्ध भन्ने बित्तिकै हामी चिन्छौँ । मलाई लाग्छ, आइन्स्टाइन भनेपछि एउटा चित्र हाम्रो दिमागमा आउँछ, कार्लमार्क्स भनेपछि एउटा चित्र हाम्रो दिमागमा आउँछ, गान्धी भनेपछि एउटा चित्र हाम्रो दिमागमा आउँछ, माओत्सेतुङ भने पछि एउटा चित्र हाम्रो दिमागमा आउँछ, यस्ता चित्रहरू त्यस्ता दिमागमा त्यसको मात्र आउँछ जसले असाधारण योगदान गरेको छ,। नेपाली समाजलाई सचेत बनाउन र अगाडि बढाउनका निम्ति थुप्रै नेताहरूले असाधारण योगदान गर्नुभएको छ । यतिबेला म पुष्पलाल, बिपी कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह, मदन भण्डारीजस्ता नेताहरू जसले नेपाली समाजलाई अगाडि बढाउनका लागि असाधारण योगदान गर्नुभएको छ, उहाँहरूलाई स्मरण गर्न चाहन्छु । उहाँहरू एउटा दल विशेषका होइन, हिजो जीवित हुँदा दल विशेषमा हुनुहुन्थ्यो होला, आज हामीले उहाँहरूलाई दलको दायरामा राख्नुहुँदैन । दल माध्यम हो, बनाउन खोजेको नेपाली समाज हो । दल माध्यम हो, विकास गर्न खोजेको नेपाली समाज हो । त्यसकारण हामीले माध्यमलाई समातेर होइन कि उद्देश्यहरूलाई समातेर, उहाँहरूका लक्ष्यहरूलाई समातेर अगाडि जानुपर्छ, उहाँहरू दलविशेषको होइन, समग्र नेपालीमात्रका नेताहरू हुनुहुन्छ । अझ मान्छे दिवङ्गत भइसकेपछि दलविशेषको हुँदैन, दलभन्दा माथि हुन्छ । अहिले मैले नाम लिएका व्यक्तित्वहरू साधारणतया दलभन्दा माथि उठेका, देशका निम्ति केही काम गरौँ भन्ने र त्यसका निम्ति कुनै माध्यम चाहिने भएकाले दलसँग आबद्ध व्यक्तित्वहरू हुनुहुन्थ्यो ।
कृष्णप्रसाद भट्टराईजी आफ्ना खालका मान्यताबाट चल्ने मान्छे हो । नेपाली काङ्ग्रेसले आफ्ना खालका नीति तय गरेका बेलापनि उहाँको आफ्नै खालको नीति थियो । सशस्त्र सङघर्ष अरूले भन्यो भने होइन, शान्तिपूर्ण सङ्घर्ष भन्ने, अरूले निर्वाचनमा जान्छु भन्यो भने बरु जेलमा जान्छु भन्ने । लुक्नुभाग्नुपर्छ भन्दाखेरि गल्ती गर्ने राजासँग किन लुक्ने, किन भाग्ने भन्ने । बरु झ्यालखानामा बस्ने तर गल्ती गर्ने अरू छन्, म किन लुक्ने भन्ने । कसैले केही भन्लान् कि भन्ने हैन । यदि आज किसुनजी भएको भए पनि कसले कसरी गरयो भनेर फेसबुक, ट्विटर हेरेर राजनीति गर्नुपर्ने । उहाँलाई जे लाग्छ, यहाँ भएका जति मान्छेलाई अर्कै लाग्दैछ भने पनि उहाँलाई जे सही लाग्छ, त्यही भन्ने आँट गर्ने, लोभलालच छैन, प्रशंसा गरौँ, ठीकै छ, विरोध गरौँ ठीकै छ । यसो भन्दा के गर्ला ? ताली ठोक्छन् कि ठोक्दैनन्, किसुनजीलाई कहिल्यै लागेन । ताली नठोके पनि मतलब छैन । सत्यको पक्षमा, जे सत्य लाग्छ, त्यसमा अडिने चरित्र । कहिले कहिले उहाँका व्यवहारहरू मान्छेका लागि टिप्पणीयोग्य पनि हुने गर्थे । किसुनजीलाई मतलब थिएन । उहाँ जे सही हो, त्यो गर्नुपर्छ, टिप्पणीका पछाडि कुदेर, प्रशंसा वा विरोधको पछाडि कुदेर या अरूको गलत बुझाइ वा भ्रमका पछाडि कुदेर हिँड्नु हुन्न भन्नुहुन्थ्यो । उहाँ असाधारण देशभक्त हुनुहुन्थ्यो, मैले त्यसमा चर्चा गरिरहनुपर्ला जस्तो लाग्दैन ।
आजको राजनीतिका सम्बन्धमा म केही भन्न चाहन्न । जिब्रो चपाएर भनेझैँ गरेर भन्नुभन्दा नभन्नु नै ठीक हो । आज म खालि ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ भन्न चाहन्छु । देश बनाउनुपर्नेछ, चाहिने काम, चाहिने विचार, चाहिने कुरा गर्नुपर्दछ । चाहिने विचार गरौँ, चहिने कुरा गरौँ, चाहिने काम गरौँ । देश र जनताका हितका निम्ति काम गरौँ । यति आग्रह गर्न चाहन्छु । देश र जनताका हितका निम्ति जसले भने पनि मान्छु । देश र जनताको हित मान्छु । प्रधानमन्त्रीको हिसाबले भन्दा के भन्ने ? चाहिने कुरा जति देशको हितमा, जनताको हितमा, लोकतन्त्रको हितमा ज–जसले जे–जे भन्छ, सबै मान्छु । देशलाई नोक्सान पर्ने, जनतालाई नोक्सान पर्ने, लोकतन्त्रलाई घाटा पर्ने कुरा भने ...फेरि अप्रिय शब्द आउँछ, नभनौँ ।
एउटा राम्रो काम भएको छ, प्रतिष्ठानले सालिक निर्माण गरेको छ । हामीले अनावरण गरेका छौँ । प्रतिष्ठानलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु । यस प्रतिष्ठानलाई सफल बनाउन सरकारको तर्फबाट गर्नुपर्ने कामहरूको सन्दर्भमा म तयार छु । मैले सहयोग पुरयाउँछु । जे गर्नुपर्छ, त्यो कुरा म यहाँहरूको बीचमा भन्न चाहन्छु – महान् मान्छेहरूलाई कञ्जुस्याइँ नगरी सम्मान गर्नुपर्छ । उहाँहरूबाट राम्रा कुराहरू हामीले सिक्नुपर्दछ । उहाँहरूबाट प्रेरणा पाउनुपर्छ । उहाँहरूको जीवन अनुसरणीय छ, हामीले अनुसरण गर्नुपर्छ । उहाँको विद्वता, उहाँको प्रत्युत्पन्नमति, उहाँको सेन्स अफ ह्युमरजस्ता कुराहरू असाधारण थिए । नेपालमा सेन्स अफ ह्युमर बुझ्ने मान्छे अलि कमै छन् ।
हामी कृष्णप्रसादजीबाट सिक्नसक्छौँ । उहाँले जीवनलाई कहिले पनि दुःखी बनाएर बसेको मैले देखिन । मेरो आफ्नो चलनअनुसार म कस्तै अप्ठ्यारोमा, कतिबेला पनि झोक्राएर, दुःखी भएर बस्दिन । जस्तै प्रतिकूल अवस्थामा पनि रमाइलो मानेरै बस्छु । आजका विशेष अतिथि र हामी चालिस वर्षदेखि सँगसँगै छौँ । चालिस वर्षअगाडि सेन्ट्रल जेलमा हाम्रो भेट भएको थियो । त्यसबेलादेखि पनि मलाई उहाँहरूले देख्नुभएको छ, म कहिल्यै पनि दुःखमनाउ गरेर बस्दिनथेँ । आनन्दले बस्दथेँ, दुःख हुँदा पनि । जेलमा हुँदाखेरिका अरू पनि साथीहरू छन् । तारानाथ रानाभाटजी, अरू थुप्रै साथीहरू जेलमेटहरू हुनुहुन्छ । अब त ती कुराहरू पनि पुराना हुन थालिसकेका छन् । म सेन्ट्रल जेलको गोलघरमा हुँदा गोलघरमा थुन्न हुँदैन, निकाल्नुपर्छ भनेर शेरबहादुरजीहरूले पनि कोसिस गर्नुभयो । उहाँहरूले पनि गोलघरमा राख्नुहुँदैन भनेर भन्नु भएको थियो । गोलघरमा किसुनजीसँग त्यति भेट हुने मौका मिल्दैनथ्यो, गोलघरबाट निकालेपछि देखादेखमात्र भएको थियो, पछि उहाँलाई नक्खु जेल लगियो । फेरि हामी नख्खुमा भेटियौँ । विभिन्न समयमा हामी सँगसँगै बस्यौँ । पञ्चायतकालभरि जेल बस्नु हाम्रो भाग्यकै विषय थियो ।
जे होस् आज हामी त्यस्तो एउटा महान् नेताको स्मरण गरिरहेका छौँ, जयन्ती मनाइरहेका छौँ र उहाँबाट प्रेरणा लिइरहेका छौँ । साथीहरूले जुन स्नेह देखाउनुभएको छ, आदरणीय भट्टराईजीप्रति, म सबैलाई धन्यवाद भन्न चाहन्छु । मलाई आमन्त्रण गर्नुभयो, सबैमा धन्यवाद भन्न चाहन्छु ।
(२०७३ पुस ८ गते पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृति दिवसका अवसरमा ललितपुरको बोडेमा आयोजित कार्यक्रममा प्रस्तुत मन्तव्य)