यस कार्यव्रmमका सभापति महोदय, हजी साथीहरू, खुशी मनाउन उपस्थित भएका दाजुभाइ दिदीबहिनीहरू,
आज हामीले तपाईंहरूको सफल हजको सन्दर्भमा यहाँहरूलाई बधाइ ज्ञापन गरेका छौँ, शुभकामना भनेका छौँ । म यहाँहरू सबैलाई नेपाल सरकारकै तर्फबाट र सिङ्गै नेपाली जनताको तर्फबाट धेरैधेरै बधाइ र शुभकामना भन्न चाहन्छु ।
जीवनका महत्वपूृर्ण उपलब्धिहरू, सफलताहरूमध्ये हज यात्रा एउटा महत्वपूर्ण कार्य, महान कार्य र पवित्र कार्य मानिन्छ । यसमा यहाँहरूले सफलता प्राप्त गर्नुभएको छ । म यहाँहरूलाई बधाइ भन्न चाहन्छु । यहाँहरूको जीवन आगामी दिन सुखमय रहन सकोस्, शुभकामना व्यक्त गर्न चाहन्छु । यस काममा सहयोग पुरयाउने काश्मीर मस्जिद तकियाका प्रमुख, इत्तिहाद एयरलाइन्सका प्रतिनिधिज्यू, सबै धन्यवादका पात्र हुनुहुन्छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो । सबै जातिका जनता, सबै भाषा बोल्ने जनता, विविध प्रकारका संस्कृति र धार्मिक विविधताले युक्त, विविध भौगोलिक विशेषता भएको यस देशमा– हिमाल, पहाड, तराई सबैतिर बस्ने जनता अधिकारसम्पन्न हुनुपर्छ, सबैले अवसर प्राप्त गर्नुपर्छ । सबैको सुरक्षा र सम्मान हुनुपर्दछ । सबैले उन्नतिको अवसर पाउनुपर्छ । बहस, विवादहरू हुनसक्दछन्, छलफलहरू हुन सक्दछन्, विचारका भिन्नताहरू हुन सक्दछन् । विचारका भिन्नताहरू चल्दै गर्छन् र अधिकारको भिन्नता, अवसरको भिन्नता, भिन्नभिन्नका लागि सुरक्षाको भिन्नता वा बेग्लैबेग्लै प्रकारको सम्मानको स्थिति हुनसक्दैन । सबैलाई समान अधिकार हुन्छ, सबैलाई समान अवसर हुन्छ, सबैलाई उत्तिकै सुरक्षा हुन्छ र सबैको उत्तिकै अवसर हुन्छ, चाहे जुनसुकै भूगोलमा बस्ने जनता होस्, जुनसुकै जातका हुन्, जुनसुकै धर्म मान्ने हुन्, जुनसुकै भाषा बोल्ने हुन्, जुुनसुकै पेसा व्यवसाय गर्ने हुन् । जुनसुकै पेसा व्यवसाय गर्नेको पनि सम्मान उत्तिकै हुनुपर्छ । सबै जनता बराबरी हकको हकदार छ ।
मुस्लिम समुदाय नेपालका अनेक समुदायहरूमध्येको एक समुदाय हो जो बराबरीको हक राख्दछ । यो देश मुस्लिमहरूको पनि देश हो, हिन्दूहरूको पनि हो, क्रिस्चियनहरूको पनि हो । अरू पनि सबैको हो । धार्मिक आस्था ती व्यक्तिहरूको विषय हो, तर यो देश सबैको साझा हो । यो देश हिमाली भेगमा बस्ने, पहाडी भेगमा बस्ने, तराईमा बस्ने सबैको साझा हो । आफ्ना–आफ्ना विश्वास, आफ्ना–आफ्ना सांस्कृतिक परम्परा, आफ्ना–आफ्ना रीतिरिवाज, आफ्ना–आफ्ना विश्वासहरू, आफ्ना–आफ्ना प्रचलित मूल्य–मान्यता र परम्पराहरू जुन समाजका लागि हानिकारक छैनन्, समाजको एकताका लागि हानिकारक छैनन्, जो अरूका हकअधिकारलाई उल्लङ्घन गर्दैनन्, जसले अरूप्रति पनि सम्मान गर्छ, सिङ्गै समाजलाई सम्मान गर्नुपर्छ । एउटा समुदायको हकको नाममा अर्को समुदायको हक खोसिनुहुँदैन । एउटा समुदायको सम्मानका नाममा अर्को समुदायको सम्मान तलमाथि पारिनु हुँदैन ।
यो देश हरेक समुदायको साझा हो, उत्तिकै हकका हकदार हामी जनता हौँ । मैले धेरै भनिरहनुपर्छ जस्तो लाग्दैन, जबसम्म यस देशका विभिन्न जाति, भाषा, धर्म, संस्कृतिका जनता सुखी हुँदैनन्, सम्पन्न हुँदैनन्, तबसम्म नेपाल सुखी हुँदैन, सम्पन्न हुँदैन । नेपाल सुखी हुनु भनेको सबै जनता सुखी हुनु हो । नेपालमा बेरोजगारी हट्यो भन्नका लागि सबै पेसा–व्यवसायका जनता, सबै भाषा, जाति, धर्म, संस्कृतिका जनता र सबै ठाउँमा बस्ने जनता रोजगार हुनुपरयो, अनि बेरोजगारी समाप्त हुनुप¥योे । सबै जनता सम्पन्न हुनुपरयो, तब नेपाल सम्पन्न भएको मानिने छ ।
एउटा फेसन छ, मान्छेहरूले कुरा उछालिहाल्छन् । एउटा मुस्लिम प्रतिनिधिमण्डल मसँग आएको थियो । एकजना मुस्लिम महिला साथी मेरो व्यक्तिगत तवरमा पनि राम्रो सम्बन्ध रहेको छ, श्रीमान्सहित आउनुभएकोमा मैले खुसी व्यक्त गरेको थिएँ । भरे त एसएमएस देखियो, सातवटा श्रीमान् हुनुपर्ने, कसरी एउटामात्र श्रीमान् भयो भनेर बोल्यो भन्ने । म आफैँ छक्क परेँ । महिलाहरूप्रति मेरो मनमा सदैव सम्मान छ । म अत्यन्त सम्मान गर्छु । महिलाहरूप्रतिको अपमान म आफ्नै आमाप्रतिको अपमान ठान्छु । महिलाको छोरो हुँ म । मेरी हजुरआमा महिला हुनुहुन्थ्यो, मलाई असाध्यै माया गर्ने दिदीबहिनीहरू महिला हुन् । अत्यन्त सम्मान गर्छुु । अनि मैले त्यस्तो कुरा बोलेँ भनेर म आफैँ आश्चर्यचकित भएँ । मैले सुनेँ, पार्लियामेन्टमा पनि एक–दुईजना साथीहरूले कागले कान लग्यो भनेपछि कान छाम्नु भएन, कागको पछि कुद्नुभो भनेर पनि हामीले सुन्यौँ ।
समाजमा महिला र पुरुषको समान उत्थान नभईकन समाजको पनि उत्थान हुँदैन । महिला र पुरुषको उत्तिकै विकास हुनुपर्दछ । समाजका विभिन्न उन्नति प्रगतिमा नेकपा (एमाले) निक्कै अगाडि छ । अहिले पनि नेकपा (एमाले) का तीनजना महिला सभासद्हरू हाम्रो अगाडि बस्नुभएको छ । मुस्लिम समुदायलाई अलिकति कसोकसो लागेको होला, चित्त नबुझेको होला । केपी ओलीजस्तो मुस्लिमहरूको मित्र, मुस्लिमलाई अत्यन्त मनपराउने, माया गर्ने मान्छे प्रधानमन्त्री भएको बेला मुस्लिम किन परेन भनेर । अलि चित्त नबुझेको होला । थुप्रै छौँ हामी नेपालमा, धेरै भाषा, जाति, धर्म, संस्कृति छन् । कहिले कहिले अलिकति मिल्दो रहेनछ । पहिला मिलाउन खोजिएको हो । हल्ला नहुने भएदेखि, मान्छे नकराउने भएदेखि आजै थपिदिन्थेँ होला । अलिकति पर्खनुपर्छ, पालो आउँछ । म कतिमात्र भन्छु भने मुस्लिम समुदायप्रति, कुनै धार्मिक समुदायप्रति, कुनै जातिप्रति, कुनै भाषाप्रति, कुनै प्रकारको किञ्चित वैरभावले मेरो मनमा प्रवेश पाउँदैन । त्यहाँ ढोका खुल्ला छैन, खुल्ला हुँदैन, वैरभावका लागि । साम्प्रदायिक विद्वेष, कलह, झगडामा म विश्वास गर्दिनँ । सामाजिक सद्भावमा विश्वास गर्छु, एकतामा विश्वास गर्छु । म बाल्यावस्थादेखि नै मुस्लिम साथीहरूसँग खेलेर हुर्केको हुँ । भूमिगत हुँदाखेरि पनि म मुस्लिम साथीहरूसँग बसेको छु । जेलमा बस्दा पनि मुस्लिम साथीहरूसँग बसेको छु । अहिले कामको दौरानमा र संसदमा पनि मुस्लिम दाजुभाइ दिदीबहिनीहरूसँगसँगै छौँ । त्यसकारण मेरो त जिन्दगीभरि सधैँ मुस्लिम साथीहरूसँग अत्यन्त आत्मीयता छ । मैले मुस्लिमका समस्याहरू बुझेको छु, हिजोआजका समस्याहरू बुझेको छु, मस्जिदका कुराहरू बुझेको छु, मदरसाका समस्याहरू बुझेको छु । म आफू गृहमन्त्री हुँदा २०५१ सालमा मदरसा बोर्ड गठन गरेर त्यससम्बन्धमा अध्ययन गराएको थिएँ । म यहाँहरूलाई भन्न चाहन्छु – अहिले पनि नेपालका सबै जाति, भाषा, धर्म,संस्कृतिका जनतामा कुनै भेदभाव हुन नदिईकन पछाडि परेको समुदायलाई अगाडि बढाउने सन्दर्भमा काम गरेको छु ।
पहिलेको संविधानमा मुस्लिम समुदायलाई मधेसीभित्र राख्ने र केही हिन्दूवादी ब्राह्मणहरूले त्यसको लाभ लिने चलन थियो । अहिलेको संविधानमा मुस्लिम समुदायलाई बेग्लै अल्पसङ्ख्यक समुदायको रूपमा व्यवस्था गरिएको छ । हामी सबै जातका जनतालाई, सबै भाषाभाषी जनतालाई उचित प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्वको कुरा गर्छौ भने वास्तविक समानता, समावेशिता, समानुपातिक प्रतिनिधित्व वास्तविक अर्थमा हुनुपर्छ । नाम एउटाको, फाइदा अर्कोको हुनुहुँदैन । यसो भन्दा कसैलाई चित्त दुख्नुपर्ने कुनै कारण म देख्दिनँ ।
मुस्लिम समुदाय भावनामा बग्न हुँदैन भन्ने मलाई लाग्छ । मैले बुझेअनुसार दान आफ्नो सम्पत्तिबाट गरिनुपर्छ । सबै दानको महत्व यही हो । तपाईंहरूको कुरामा मैले प्रतिवाद गरेको हैन । हज, हाजीहरूले आफ्नो सम्पत्ति, आफ्नो खर्च गर्नुपर्छ, त्यसबाट पुण्य हुन्छ । सरकारका तर्फबाट के गर्नुपर्छ म तयार छु । के गर्नुपर्छ, कसो गर्नुपर्छ म तयार छु तर मैले ठानेको, मैले बुझेको आफ्नो खर्चमा गरेको हज साँच्चै हज हुन्छ । अरूको खर्चमा हुँदाखेरि पुण्य यता जाने कि उता जाने ? अल्लाहलाई पनि गाह्रो पर्छ । खर्च हालिदिनेलाई पुण्य दिने कि त्यहाँ पुरयाउन जानेलाई पुण्य दिने ? मेरो सोझो हिसाब हो । यसको अर्थ तपाईंहरूले खर्च गर्नुभयो भनेर सरकारले कञ्जुस्याइँ गर्न खोजेको होइन । सरकारको तर्फबाट के गर्नुपर्छ म तयार छु, गर्छु ।
मुस्लिम समुदायको समस्या, मुस्लिम समुदायको मात्र समस्या होइन नेपालको समस्या हो, नेपालीको समस्या हो, नेपालीहरूको एउटा समुदायको समस्या हो । नेपाली भनेको त यता बस्ने नेपाली, त्यता बस्ने अनेपाली होइन । यो पनि, त्यो पनि सबै भएपछि बल्ल नेपाल हुन्छ, नेपाली हुन्छ । हामी सबै भएपछि नै नेपाल हुन्छ, नेपाली हुन्छ । हामी सबैका समस्या समष्टिमा नेपालीे समस्या हो, सबैका समस्याको समाधान नेपालका समस्याको समाधान हो । सबैको उद्धार नेपालको उद्धार हो ।
हजमा जाने पाँच जनाको निधन भएको छ । धार्मिक हिसाबले भन्ने चलन छ, – खुदाका प्यारा हो गए । खुदाका प्यारा भए पनि छँदाखाँदाका मान्छे दुर्घटनामा बित्नु साह्रै दुःखको कुरा हो । इस्लामभित्र, मुस्लिम रीतिरिवाजमा यस्तो बेलामा दुःख व्यक्त गर्नु हुन्छ कि हुँदैन, थाहा छैन । वास्तवमा दुःखको कुरा हो । म दुखका साथ श्रद्धाञ्जलि व्यक्त गर्दछु । उहाँहरूको परिवार दुःखित छ । परिवारलाई राहत पुरयाउन जरुरी छ । केही राहत पुगेको छ भन्ने मैले सुनेको छु । म कुरा बुझेर के कसो थप गर्न सकिन्छ, या जरुरी छ, त्यस सम्बन्धमा जानकारी लिनेछु । सम्बन्धित पदाधिकारीहरूसँग सल्लाह गरेर निर्णय दिने काम गरौँला ।
अन्तमा, तपाईंहरू जीवनको एउटा ज्यादै खुसीको काम सम्पन्न गरेर फर्कनुभएको छ । फर्किएका हजी सबै साथीहरूलाई म बधाइ, शुभकामना भन्न चाहन्छु । तपाईंहरूलाई सरकारका तर्फबाट धेरैधेरै स्वागत छ, धेरैधेरै बधाइ छ, धेरैधेरै शुभकामना छ । मलाई यहाँ आमन्त्रण गर्नुभयो, खुसी लागेको छ । म सबैलाई, आयोजक संस्थालाई धन्यवाद भन्न चाहन्छु ।
(हजबाट फर्किएका मुस्लिमहरूको समारोहलाई सम्बोधन)