विराटनगर १६ कात्तिक– एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुनका लागि नभई देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा र मुलुकको समृद्धिका लागि बाम गठबन्धन नबनाईएको बताउनु भएको छ ।
उम्मेदवारी दर्ताका लागि झापा जाँदै गर्नुभएका ओलीलाई विराटनगर विमानस्थलमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिंदै ओलीले बाम गठबन्धनको उद्धेश्य प्रधानमन्त्री बन्न नभएर मुलुकको समृद्धि हासिल गर्न भएको वताउनु भयो ।
ओलीलाई पत्रकारहरुले सोधे– ‘तपाईं प्रधानमन्त्री बन्न बाम गठबन्धन बनाएर चुनावमा जानु भएको हो ?’ ओलीको जवाफ थियो– ‘तपाईंको मुखमा दुध र भात जाओस् । तर, राष्ट्रिय स्वाधीनता, र अखण्डताको रक्षा गर्दै मुलुकको आर्थिक समृद्धिका लागि बाम गठबन्धन बनाइएको हो ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री पद पाउन क्यालकुलेटर दवाएर हिसाव गरीगरी गठबन्धन गर्ने पार्टी कांग्रेस भएको वताउनु भयो । ‘क्यालकुलेटर दवाएर हिसाव गर्दै कहिले को प्रधानमन्त्री कहिले को प्रधानमन्त्री भन्ने पार्टी कांग्रेस हो, हामी होइनौं’ ओलीले भन्नुभयो, ‘हामीलाई मुलुक समृद्ध बनाउनु छ, हामी त्यसका लागि मिलेका हौं ।’
ओलीले कांग्रेसमा परिवर्तन, राष्ट्रिय एकता र समृद्धि विरोधी राजनीति हावी भएको वताउनु भयो । ‘कांग्रेसमा राजनीति नै छैन चाहिँ म भन्दिनँ, तर परिवर्तन, राष्ट्रिय एकता र सम्वृद्धि विरोधी राजनीति हावी छ’ ओलीले भन्नुभयो । ओलीले झापा ३ मा राप्रपा उम्मेदवारलाई बाम गठबन्धनले सहयोग गर्ने निर्णय लोकतान्त्रिक गठबन्धन भत्काउने कार्य नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो ,‘हामीसँग नजिक आउनेहरुलाई सहयोग गरेका हौं ।’
<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>