NP EN

ताप्लेजुङमा ओली : मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको

ताप्लेजुङ, १९ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव योगेश भट्टराईलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्दै त्यसो भएमा आफूले मन्त्री बनाउने बताउनु भएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित तक्मेबजारमा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले योगेशको खुलेर प्रंशसा गर्दै ढुक्क भएर जिताउन अनुरोध गर्नुभयो । ‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेजतर्रार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङको जनताले विश्वास गरेको युवा मतिष्क र युवा काँध र युवा हातले ताप्लेजुङ बनाउदैन होला र ? तपाईहरु ढुक्क हुनहोस माथि म छु, यहाँ योगेश ।’


योगेश एमाले र माओवादीको मात्रै उम्मेदवार नभएर सबैको साझा भएको उहाँले बताउनुभयो । ‘अबको सरकार वामपन्थीको बन्छ भन्ने सबैलाई थाहा छ, वामपन्थी मध्ये पनि सबैभन्दा ठुलो एमाले नै होला । एमालेको अध्यक्ष ताप्लेजुङ आएर किन सम्बोधन गर्दैछ त्यो भनी रहन नपर्ला । अब मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको हो’ ओलीले भन्नुभयो ।  निर्वाचनपछि एमाले र माओवादीबीच एकता हुने उहाँले बताउनु भयो । 

अध्यक्ष ओली भन्दा पहिला बोल्दै योगेशले आफ्नो गृह जिल्लामा स्वागत गर्दै अध्यक्ष ओलीसँग जोडिएका संस्मरण सुनाउनु भयो ।


पञ्चायत विरोधी आन्दोलनका क्रममा २०४० सालमा म १७ बर्षको थिएँ होला । प्रहरीले मलाई पक्राउ गर्यो । जेलमा पुर्यायो । म एकदमै आतंकित थिएँ । मेरा खुट्टा डरले कामिरहेका थिए । मुटु कामिरहेको थियो । निक्कै डराँएको थिए । एकमहिना सम्म हिरासतमा राखेर प्रहरीले निर्मम यातना दियो । शरीर भरि डामैडाम थियो । वेलुका नचिनेका ब्यक्तिले तालो तेल तताएर ढाडमा हल्का मालिस गरिदिनु भयो । मेरो वुवा म दुई बर्षको हुँदा वित्नुभएको थियो । मैले वुवाको माया महसुस गर्न पाएको थिइन । मलाई तातो तेलले मालिस गरिदिएको त्यो साँझ मलाई लाग्यो वुवा भनेका यस्तै हुन्छन होला । म भावविव्हल वनेर रोएँ । त्यो तातो तेलले मालिस गर्ने ब्यक्ति अरु कोही नभएर केपी शर्मा ओली हुनुहुन्थ्यो ।  आगामी पुष महिनामा वामपन्थीहरुको दुई तिहाई शक्तिको सरकार वन्दै छ त्यसको नेतृत्व गर्ने ब्यक्ति आज हामीले ताप्लेजुडको तोक्मेगोलामा पाएका छौ ।