हामी देशको यस्तो राजनीतिक अवस्थामा छौं, जहाँबाट देश कतातिर जाने भन्ने बाटो फाट्छ। राष्ट्रियतालाई बलियो बनाउने बाटोतिर जाने कि, राष्ट्रियतालाई कमजोर बन्ने बाटोतिर जाने ? सार्वभौमिकता, स्वाधिनता, राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान माथि उठाउने कि, यिनलाई कमजोर पार्ने ? यी हाम्रा बाटाहरू हुन्।
आफ्नो संसदका कुराहरु, संसदका कामकारबाही र त्यसका निष्कर्षहरुलाई त्यही संसदबाट निर्वाचित भएको प्रधानमन्त्री (शेरबहादुर देउवा) विदेशमा गएर ‘हजुर हाम्रो संसदले गल्ती गर्यो, तपाईंहरुले मद्दत गर्नु पर्यो नि संविधान संसोधन गर्न’ भन्छन्। जित्न त नेपाली जनताको भोट पाउनुपर्छ, तर किन विदेशमा गएर त्यसो भन्ने ?
केटाकेटीले क्यारिमबोर्ड खेल्दा गोटी कहिलेकाहीँ फुत्त खस्छ। त्यस्तै उहाँ (प्रधानमन्त्री देउवा) पनि स्याट्टै खस्नुहुन्छ, झुक्किनुहुन्छ। देशलाई अगाडि बढाउनुपर्ने बेला छ, सरकार यस्तो छ। देशलाई तीब्र गतिमा विकासको बाटोमा अगाडि बढाउनुपर्ने बेला छ, प्रधानमन्त्रीको कुर्सीमा कस्तो मानिस हुनुहुन्छ, त्यसबारे मैले केही भनिरहनु पर्दैन। यो देशको दुर्भाग्य हो।
त्यसैले मैले भनेँ, देशको बाटो फाट्दैछ। देशको राष्ट्रिय स्वाभिमान माथि उठाउने, ‘नेपाली हौँ’ भनेर गर्व गरेर हिँड्ने अवस्था बनाउने कि, नेपाललाई कमजोर र निरिह हालतमा राख्ने– अब त्यो बाटो फाट्छ। हामी कुन बाटो हिँड्ने हो, यस चुनावले त्यसको फैसला दिनु परेको छ। 'लोकतान्त्रिक गठबन्धन' भनेर कांग्रेसले भन्यो। कांग्रेसमा कहाँ छ लोकतन्त्र? त्यो त दक्षिणपन्थी–प्रतिक्रियावादी गठबन्धन हो।
लोकतान्त्रिक गठबन्धन, देशभक्त गठबन्धन, प्रगतिशील गठबन्धन, यो त एमालेको अगुवाईमा एमाले–माओवादी केन्द्रसहितको गठबन्धन हो।झापा जिल्लामा राप्रपासहितको गठबन्धन हो। राप्रपा झापाबाहेकका जिल्लामा चाहिँ यो गठबन्धनमा छैन। यो गठबन्धन देशभक्त गठबन्धन हो, लोकतान्त्रिक गठबन्धनपनि यही हो। यो गठबन्धन प्रगतिशील–वामपन्थी गठबन्धन हो। यो देशलाई अगाडि बढाउने संकल्प बोकेको गठबन्धन हो।यो लोकतन्त्रका निम्ति संघर्ष वलिदान गरेर आएको, त्यसको रक्षाका निम्ति महत्वपूर्ण भूमिका खेलेको गठबन्धन हो। देशको लोकतान्त्रिक आन्दोलनलाई सही दिशामा अघि बढाउनसक्ने सामथ्र्य र हैसियत बोकेको तालमेल हो यो। प्रगतिशील, लोकतान्त्रिक साझेदारी कि दक्षिणपन्थी–प्रतिक्रियावादी साझेदारी–आगामी चुनावबाट बाटो छुट्टिनेछ।
हाम्रो देश विविधतायुक्त छ। हिमाल–पहाड–तराई, हामी विभिन्न जातजातिका छौँ। विभिन्न भाषा, विभिन्न आत्मविश्वासहरु हाम्रा होलान्। विभिन्न धर्मपनि मानौँला। यी हाम्रा निजी कुरा हुन्। ती विगतबाट आएका कुराहरु हुन्। अब यी कुराहरुमा विविधता खोजेर हिँड्ने कि राष्ट्रिय एकता बनाउने? पारस्परिक सहिष्णुता, समझदारी, पारस्परिक सद्भाव राष्ट्रिय एकताको बाटोमा अगाडि बढ्ने कि झगडा गर्ने ? दुनियामा प्रतिक्रियावादी शक्तिहरु यस्ता छन्, जसले जहिले पनि वैमनस्यताको खेति गर्छन्। विद्धेशको खेति गर्छन्। जातजातका बीचमा, भूगोल–भूगोलका बीचमा विभाजन ल्याउँछन्।
मधेशी र पहाडी, आर्य र गैरआर्य, मंगोल र गैरमंगोल, आदिवासी–जनजाति र गैरआदिवासी–जनजाति, दलित र गैरदलित, पूर्व–पश्चिम, खोलावारि–खोलापारि– के के भनेर हुन्छ, हाम्रो विविधतालाई वैमनस्यतातिर लैजाने प्रयास गर्छन्, विद्धेषको खेति गर्छन्। त्यसपछि देशमा झगडा लगाउन खोज्छन्, द्वन्द्व उद्योग खोल्छन्।
यो दुनियामा एउटा ‘ट्रेण्ड’ छ– द्वन्द्वका व्यापारीहरु, हतियारका व्यापारीहरुसँग नेपालीहरु सजग हुनुपर्दछ। त्यस्ता द्वन्द्व उद्यमीहरुलाई हामीले फस्टाउन दिनुहुँदैन। तिनीहरु द्वन्द्व उद्यम मच्चाएर हतियार विक्री गर्छन्। अनि द्वन्द्व व्यवस्थापनका विशेषज्ञ भएर व्यवस्थापन व्यवसाय गर्न आउँछन्। यहीँ आएर हामीमाथि त्यो व्यवसाय गर्छन्।
पहाडतिर गोठाला जाँदा गोठालाहरुबीच कमिला लडाउने खेल हुन्थ्यो। सँगै हिँडिरहेका कमिलाहरुलाई समात्यो, तिनको मुखमुख जोडाइदियो। अर्काले समातेर मुख–मुख जोडाइदिएको कमिलाले थाहा पाउँदैनन्, अनि आपसमा झगडा गर्न थाल्छन्। एक छिन मुख जोडाइदिएपछि तिनीहरु टोकाटोक गर्छन्। भुइँमा राखिदिएपछि अघि सँगै मिलेर हिँडिरहेका कमिलाहरुबीच मारामार सुरु हुन्छ। अनि गोठालाहरु कमिला लडेको हेरेर आनन्द लिन्छन्।
हामीलाई त्यस्तै कमिला बनाउँछन्। च्याप्प समाउँछन्। ‘तँ यो जातको’ भन्छन्। थुतुनो–थुतुनो जोडाइदिन्छन्। हामी चिथोरा–चिथोर गर्छाैं। हामीबीच लडाईं सुरु हुन्छ। अनि मैदानमा छाडिदिएपछि हामी आफैं लडाईं लड्छौँ। हामी त्यस्तै कमिला जस्तै हुने? उनीहरुले जुधाउने, हामी जुध्ने? हामी कमिला हौँ अरुले जुधाईदिने? हामी साँढे हौँ, अरुले लडाई दिने? हामी अरुले जुधाईदिने भेडा हौँ ? हामी जुध्न हुँदैन। हामीले राष्ट्रिय एकता कायम गर्नुपर्छ। आफ्नो निहित स्वार्थका लागि राष्ट्रलाई विखण्डित गराउने, राष्ट्रलाई भित्रदेखि चिराचिरा पार्ने साम्प्रदायिक विद्धेषको राजनीति गर्नेसँग सजग हुनुपर्छ। विद्धेषको राजनीति कि राष्ट्रिय एकताको राजनीति– देशको बाटो यहाँबाट छुट्टिनेवाला छ।
हामी स्पष्ट छौँ– विविधतामा एकता, सामाजिक सद्भाव, सामाजिक न्याय र राष्ट्रिय एकता आजको आवस्यकता हो। अब शान्ति र स्थायित्वविना देशको विकास हुन सक्दैन। शान्ति र स्थायित्व देशमा कायम गर्ने कि नगर्ने, अब त्यसमा स्पष्ट हुनु जरुरी छ, यो निर्वाचनबाट। हाम्रो गठबन्धनले शान्ति र स्थायित्वको प्रतिनिधित्व गर्छ।
अब देशलाई गरिव बनिरहन दिन सकिँदैन। वीर गोर्खाका सन्तान, यति उर्वर धर्ति, गरिव भइरहन सकिँदैन। अब विकासको गतिलाई अघि बढाउनु पर्छ। रेल ल्याउने भन्दा मजाकमा उडाउँछन् विचरा कांग्रेसहरु। आफूचाहिँ रेल हेर्न पानी ट्यांकी जान्छन्। फर्केर आएपछि ‘यहाँनिर रेल कुँदाउँछु’ भन्यो भने उडाउँछन्। ‘सार्है उखान गर्यो हौ, हँसायो हौ’ भनेर खितिति हाँस्छन्। प्रशान्त महासागर हाम्रो पनि हो। हिन्द महासागर हाम्रो हो। एटलान्टिक महासागर हाम्रो हो। महासागरहरु कुनै एउटा देशका हुँदैनन्। ती सबैका साझा हुन्। मैले यो कुरा भनें, ‘महासागरहरु सबैका हुन्, अरुले त्यहाँ जहाज चलाएका छन्, हामीपनि चलाउँछौँ।’ यो कुरा भन्दा तिनीहरु उधुम उफ्रिए।
यो चुनावपछि प्रशान्त महासागर, हिन्द महासागरमा पानीजहाज चलाउने व्यवस्था गरिन्छ। हाम्रै पानीजहाज चलाउँदा कांग्रेसले छट्याकपट्याक नगरोस्। यो देशमा गरिवी राख्न हुन्छ? हुँदैन। त्यसैभएर मैले दुई वर्षअघि नै भनें, ‘खानका लागि सरकार छ, प्रधानमन्त्री म छु। खाने कुराको चिन्ता नगर्नुस्। यो देशमा भोकै कसैलाई पनि मर्न दिइँदैन।’
फेरि सरकारमा गएर दुईवर्षअघि भनेको कुराको निर्णय गर्छु, ‘भोकले कोही नेपाली मर्दैन।’ मैले ‘लोडसेडिङ घटाउँछौं, दुई तीन वर्षभित्र विद्युत निर्यात गर्ने विन्दूमा पुग्छौँ’ भनेँ। तर ममाथि मजाक गरियो। मैले २०७२ को वर्ष दशैंमा विर्तामोडको कार्यक्रममा बोलेको थिएँ, ‘अर्काे तिहारमा नेपालमा लोडसेडिङ हुनेछैन।’ यो कुरा साथीहरुलाई सम्झना होला। आधारभूत रुपमा त्यो गर्न सकियो। अझ राम्रो गर्न सकिन्छ।
आजमात्र मैले केरुङ–काठमाडौं–पोखरा रेल ल्याउने कम्पनीका मान्छेहरुसँग कुरा गरें। मैले उनीहरुसँग सोधें, ‘तपाईंहरुको सर्वेले के भन्छ? भौगर्भिक हिसावले के हुन्छ? भूगोलले दिन्छ कि दिँदैन ?’ उनीहरूले कहाँ–कहाँ, के–के भूगोल छ, तिब्बतमा कस्तो भूगोल छ, त्यो दृष्टान्त बताएर भने, ‘केरुङ काठमाडौं पोखरा लुम्बिनी रेल सम्भव छ।’ मैले उनीहरूलाई सोधेँ, ‘म काठमाडौंबाट रेल चढेर ल्हासा जान्छु। कहिलेको टिकट बनाऊँ?’
उनीहरूले भने– ‘यो सी जिनपिङ र तपाईंले गर्ने कुरा हो। हामी त बनाउने भनेपछि बनाउँछौं। बनाउन समय लाग्छ। सुरु भएपछि हामी बनाउँला। टिकट कहिले बनाउने, त्यो चाहिँ तपाईंहरु जान्नुस्।’ अनि उल्टै ‘कहिले बनाउने’ भनेर सोधे। अर्थात्, अब नेपाल यस्तै रहँदैन। आधुनिक नेपाल, विकसित नेपाल, सम्बृद्ध नेपाल हुन्छ। यसका निम्ति यो देशमा सुशासन ल्याउने कि कुशासनमा जाने? भ्रष्टाचार रोक्ने कि स्वच्छतातर्फ जाने? बाटो यहाँनिर छुट्टिन्छ।
झापा जिल्लाबाट प्रधानमन्त्री हुने पहिलो मौका मैले पाएँ। तर यस जिल्लाबाट नभएपनि धेरै मान्छे प्रधानमन्त्री भइसके नि नेपालमा। कसले कसरी काम गर्छ भन्ने देखिएन? स्पष्ट भएन?
नेपाली कांग्रेसलाई भोट किन दिने? ०१५ मा दुई तिहाई ल्यायो, ०१७ मा दरबारमा बुझायो। कस्तो हालतमा पुर्यायो जनतालाई कांग्रेसले? रिस उठे जनताले ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्ने हालतमा पुर्यायो। त्यसैकारण राजाले शासन हातमा लिँदा जनताले साथ दिए। ०४८ मा कांग्रेसले बहुमत ल्यायो। तर गर्यो के? ३८ वटा उद्योग बेचेर खायो। निजीकरण गरेको पनि होइन, निजी क्षेत्रलाई प्रोत्साहित गरेको पनि होइन।
०५६ मा पनि बहुमत ल्यायो। तर ०५८ मा किस्ता–किस्तामा बुझायो। बुझाउन पुगेन भनेर ०६१ मा पुरै (दरबारलाई) बुझायो। अनि कांग्रेसलाई किन भोट दिने? एमालेसँग एक तिहाई बहुमतपनि थिएन। तर म प्रधानमन्त्री हुँदा देशमा आत्मविश्वास, विकासप्रतिको विश्वास बढाएँ। ०.६ प्रतिशतमा विकासको दर बढेको अवस्था थियो। यस्तो बजेट ल्याइयो कि, ७.५ प्रतिशतमा विकासको दर अघि बढ्यो। उत्पादनपनि बृद्धि भयो। त्यति बढ्दो रहेछ। म भन्न चाहन्छु, चुनावपछि सरकार बनाउँछौँ र जसरी पनि बृद्धि गर्छाैँ, १० प्रतिसत भन्दा बढि वार्षिक आर्थिक बृद्धिदर गर्ने हाम्रो घोषणापत्रमा छ।
एमाले र माओवादी केन्द्रले जारी गरेको संयुक्त घोषणापत्रलाई छेउमा छोएर राजेन्द्र लिङ्देनजीले ‘म–म’ भन्नुभएको छ। उहाँले त्यो घोषणापत्रलाई साझा भन्न मिलेन। किनकी उहाँको पार्टी राप्रपा अर्काेतिर पनि अलिकति मुछिएको छ। फसिसकेको हुनाले अलिकति डोरी चुँडिनपनि बाँकी छ। कांग्रेसले कसरी धोका दिन्छ, उहाँलाई अलिकति थाहा छ। के कागज भएको थियो, कांग्रेसले धोका कसरी दिन्छ, त्यो उहाँहरुलाई थाहा छ।
हामीले राष्ट्रिय राजनीतिलाई धोकाको राजनीति, बेइमानीको राजनीति होइन, इमानको राजनीति, संकल्पको राजनीतिको रुपमा लान खोजेका छौँ। एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका छौँ। हामीले भनेका छौँ, चुनावपछि एउटै पार्टी बनाएर अघि बढ्छौँ। एमाले बाहिर एउटा कुरा गर्ने, भित्र अर्काे कुरा गर्ने, देखिने गरी एउटा कुरा गर्ने, नदेखिने गरी अर्काे कुरा गर्ने पार्टी होइन।
यदि राजेन्द्र लिङ्देनलाई भोट दिन हुँदैनथ्यो भने एमालेले सहमति गर्दैनथ्यो। कांग्रेसलाई त हामीले भोट हाल्यौँ। समय–समयमा भोट हालियो कांग्रेसलाई। संसदमा भोट हाल्यौँ कांग्रेसलाई। बाचाकबुल गर्छ कांग्रेस, उसको सर परेपछि ‘त्यो त अस्ति नै गर्यो हो, अहिले गर्या' छैन’ भन्छ।
झापा–३ मा एमाले र माओवादी केन्द्रले राजेन्द्र लिङ्देन साझा उम्मेदवारका रुपमा उठाएका छन्। एमालेले समर्थन गरेर पनि, यदि कसैले झापामा अहिलेको अवस्थामा हार्छ भने, माओवादी केन्द्रले समर्थन गरेर हार्छ भने, त्यो हाम्रालागि लज्जाजनक हुन्छ। हामीले समर्थन गरेको उम्मेदवारले हार्दैन, हार्नुहुँदैन।
म राजेन्द्र लिङ्देनलाई बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। अग्रिम बधाई शुभकामना ! उहाँको प्रतिवद्धता मैले सुनेँ। विभिन्न समयमा विभिन्न ठाउँमा पुग्छ मान्छे। विभिन्न ढंगका पृष्ठभूमिबाट आउन सक्छ मान्छे। तर हाम्रो पार्टीले सही निर्णय गरेको छ। म जिम्मा लिन्छु– राजेन्द्र लिङ्देन सही मान्छे हो। जुन प्रतिवद्धता राजेन्द्र लिङ्देनले यहाँ गर्नुभएको छ, त्यस अनुसार काम गर्नुहुनेछ।
म माओवादी केन्द्रका साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले वचन एउटा, व्यवहार अर्का गर्न मिल्दैन। तीनवटै पार्टीका नेता–कार्यकर्तालाई समानरुपमा भन्न चाहन्छु, पुष्प पोखरेल (एमाले) र कृष्ण सिटौलाले एकाध अखडामा युद्ध गरेकै हुन्, पुष्प पोखरेलले धोतीप्वाँट लगाएकै हो, सिटौलालाई पछारेकै हो।
फेरिपनि पछार्ने स्थिति त थियो नै। तैपनि पुष्प पोखरेल आज यो कार्यकर्ता भेलामा प्रसन्नताका साथ सभापतित्व गरेर बस्नु भएको छ। यो हो, देशको आवश्यकताको पक्षमा लड्ने भनेको। धर्तिका लागि बाँच्नेहरु, जनताका लागि बाँच्नेहरु, उन्नति प्रगतिका लागि समर्पित भएर बाँच्नेहरु बेग्लै धातुले बनेका हुन्छन्। एमालेका कार्यकर्ताहरुले त्यस्तो ‘स्पिरिट’ देखाउनु पर्छ।
हामी जे भन्छौँ, त्यो गर्छाैँ, त्यो विश्वसनीयता देखाउनुपर्छ। वचन दिएपछि त्यो पुरा गर्नुपर्छ। किनभने हामी कांग्रेस होइनौँ। वचन एउटा व्यवहार अर्को हामी गर्दैनौँ । हामी ढाँटको राजनीति गर्दैनौँ। तपार्इंहरुको भोट लिएर जितेपछि राजेन्द्र लिङ्देन देशद्रोही कित्तामा उभिन सम्भव होला? 'बेइमान गर्या’ हुनाले कांग्रेसलाई साथ दिन जान्छ राजेन्द्र लिङ्देनले? ‘कांग्रेसले बेइमान गरेको थियो, साथ दिनुपर्छ’ भन्छ? यो सम्भव छैन।
झापा–३ मा एमाले र माओवादी केन्द्रका साथीहरु प्रदेशमा उठ्नु भएको छ। जो जहाँको उम्मेदवार भएपनि हामीले हाम्रो उम्मेदवार हो भन्ने ठान्नुपर्छ। झापा–३ (१) मा एमालेको बसन्त बानिया हुनुहुन्छ। झापा–३ (२) मा माओवादी केन्द्रका पूर्णसिंह राजवंशी हुनुहुन्छ। उहाँहरु सबैको साझा उम्मेदवार हो। बानियाको सूर्य चिन्ह छ, राजवंशीको गोलाकारभित्र हँसिया हथौडा चिन्ह छ। सबैले त्यसमा भोट दिने हो। हाम्रो गठबन्धनको उम्मेदवारकारुपमा हामीले सहमति गरेर उठाएको राजेन्द्र लिङ्देनलाई हो। प्रतिनिधि सभामा उहाँलाई दिने हो।
(झापा–३ को भद्रपुरमा शुक्रबार (२४ कार्तिक) आयोजित एमाले–माओवादी केन्द्र–राप्रपाको संयुक्त कार्यकर्ता भेलामा ओलीले गरेको सम्बोधनको अंश)
<
विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>