काठमाडौं, २९ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि बन्ने वाम सरकारले रोजगारीका लागि गाडी लगायत बिभिन्न देशमा गएका ४० लाख युवालाई स्वदेश फर्काउने बताउनु भएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उम्मेद्वार रहेको गोरखाको क्षेत्र न. २ मा आयोजित चुनावी सभालाई बुधबार संवोधन गर्दै उहाँले देशमै उद्योग खोली रोजगारी सृजना गर्ने बताउनु भएको हो । चुनावी सभालाई एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संवोधन गर्नुभएको थियो ।
‘निर्वाचनपछि वाम गठवन्धनको सरकार बन्छ । हामी बिदेशमा श्रम गरिरहेका हाम्रा ४० लाख युवालाई स्वदेश फर्काउने छौं । यहाँ उद्योग खोली रोजगारी सृजना गर्नेछौं’ उहाँले गोरखामा वाम उम्मेद्वार जिताउन आग्रह गर्दै भन्नुभयो ।
उहाँले वाम तालमेलबाट एमाले र माओवादी केन्द्रका केही साथीहरुलाई असजिलो उत्पन्न भएको हुनसक्ने भन्दै तर देशको बिकास र समृद्धिका लागि त्यस्ता सानातिना बिषयमा अल्झिनु नहुने बताउनु भएको हो । ‘को एमाले, को माओवादी केन्द्र होइन, वाम उम्मेद्वारलाई मत हाल्नुहोस, जिताउनुहोस, देशलाई बिकास र समृद्धितर्फ अघि बढाउनुपर्छ । त्यो वाम गठबन्धनले मात्र गर्न सक्छ’ उहाँले भन्नुभयो । सभालाई ओलीले सुरुमा संवोधन गर्नुभएको थियो भने दाहालले अन्तिममा संवोधन गर्नुभयो ।दाहालले वाम गठवन्धनका उम्मेद्वार श्रेष्ठलाई जिताउन आग्रह गर्दै कांग्रेसको समर्थनमा प्रतिस्पर्धामा उत्रेका नयाँशक्तिका बाबुराम भट्टराईलाई ‘पढेको तर बुद्वी नभएको र पढेको प्रयोग गर्न नसक्ने’ भन्दै कटाक्ष गर्नुभयो ।
माओवादी पार्टीमा प्रबेश गर्न आफुले बारम्बार आग्रह गर्दा पनि नमानेर अहिलेको परिस्थिति निर्माण भएको भन्दै भट्टराईबाट राष्ट्रले केही पनि अपेक्षा गर्न नसक्ने बताउनु भयो ।
<
विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>