एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थिर सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गर्दै सर्वसाधारणलाई चिठी लेख्नुभएको छ । चुनावी प्रचारका क्रममा मतदाताका घरदैलो पुग्ने पार्टी कार्यकर्ता मार्फत ओलीको पत्र हरेक मतदातासमक्ष पुर्याउनेगरी उहाँले पत्र लेख्नु भएको हो ।
एमाले अध्यक्ष ओलीले अबको ५ वर्ष वामपन्थीको बहुमतको सरकार परीक्षण गर्न आग्रह गर्दै बहुमतको स्थिर सरकार गठनमा सघाउन मतदातालाई आग्रह गर्नु भएको छ । ‘तपाईंहरू (जनता)का अगाडि यसपटक वामपन्थीको बहुमतको सरकार बनाएर पाँच वर्ष परीक्षण गर्न पाउने सुनौलो अवसर आएको छ’, ओलीले पत्रमा लेख्नुभएको छ ।
सर्वसाधारणलाई ओलीले लेखेको पत्र यस्तो छ–
आदरणीय दाजु–भाइ, दिदी–बहिनीहरू, नमस्कार !
आराम रही आरामको कामना गर्दछु । तपाईंहरुसँग भेटेर छलफल गर्ने इच्छा हुँदाहुँदै पनि सबैसँग प्रत्यक्ष भेट्न सम्भव नहुने जस्तो लागेर यो पत्र लेख्दैछु । खासगरी आजको पत्रमा संघारमै आएको चुनावको विषयलाई लिएर दुइचार शब्द कोर्दैछु ।
अनेकौं बिघ्नवाधा र कठिनाइहरुका बाबजुद तपाईं हाम्रो निरन्तरको खबरदारी र दवावले मुलुकमा संविधान बनेको र सो संविधान अन्तर्गत स्थानीय निर्वाचन सम्पन्न भई अहिले प्रदेश र केन्द्रको चुनाव हुन लागेको कुरा तपाईंलाई थाहै छ । यो चुनावलाई पूर्ण रुपमा सदुपयोग गर्नु तपाईं हामी सबैको कर्तव्य र दायित्व हो । संविधानसभाले बनाएको ऐतिहासिक संविधान कार्यान्वयन गराउने महत्वपूर्ण समय पनि यही हो ।
भौगोलिक, सामाजिक, सांस्कृतिक लगायत अनेक विविधताले भरिएको नेपाल विश्वकै एक नमूना देश हो । हामीसँग भएको सम्पदाको सदुपयोग गर्नसके हामी संसारमै धनी हुन सक्ने देशका नागरिक हौं । जलशक्ति, कृषि, खानी, वनजङ्गल लगायत विभिन्न पेशा व्यवसायहरुको विकास गर्दै अनेक क्षेत्रमा रोजगारीको सिर्जना गरी सबै नेपालीलाई स्वदेशमै काम दिन सकिन्छ । संसारले भन्छ, सिङ्गै नेपाल एउटा पर्यटनको केन्द्र हो । अलिकति व्यवस्थापन गर्न सक्यौं भने विदेशी पर्यटनको घुइँचो लगाउन सक्ने श्रोत हामीलाई हाम्रो इतिहास र प्रकृतिले नै दिएको छ । मुलुकको विकास निर्माणमा अनेकौं पाटाहरुका बारेमा यो सानो चिट्ठीमा लेखेर कहाँ अटाउन सकिन्छ र । हामीले यस विषयमा हाम्रो घोषणापत्रमा बिस्तामा लेखेका छौं । समय मिलेमा त्यो पनि पढ्नुहोला ।
वर्षौंदेखिको गरिवी र पछौटेपन अन्त्य गर्दै गौरवपूर्ण इतिहासलाई जोगाउँदै वर्तमानको सदुपयोग गरी भविष्य सुनिश्चित गर्नु छ । हाम्रा दुई मूल उद्देश्य छन्, धर्तीको संरक्षण र मानव जातिको सुख–सम्मृद्धि, समानतायुक्त र सभ्य समाजको निर्माण गर्नु छ । छरिएको वामपन्थी शक्तिलाई एक ढिक्का बनाएर निर्वाचनमा विजय प्राप्त गरी राजनैतिक अस्थिरता समाप्त गर्दै मुलुकको विकासलाई तीब्र गतिमा अगाडि बढाउनका लागि यसपालि दुई ठूला वामपन्थी पार्टीहरु एमाले र माओवादी केन्द्र एकजूट भएका छौं । तपाईंहरुकै चाहना र शुभेच्छाले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने स्थिति आएको हो । यसका लागि तपाईंहरु सबै धन्यवाद तथा बधाईका पात्र हुनुहुन्छ ।
दुःख लाग्दो कुरा के छ भने दुईतिहाई बढी मतदाता वामपन्थी पार्टीहरुको पक्षमा हुँदाहुँदै पनि टुटफुटले गर्दा आजसम्म नेपालमा वामपन्थीहरुको बहुमतको सरकार बनेको छैन । छोटो अवधिका लागि बनेका अल्पमतका वामपन्थी सरकारले गरेका जनपक्षीय, विकाशवादी तथा देशभक्तिपूर्ण कामहरुका बारेमा तपाईंहरुलाई थाहै छ । बहुमत प्राप्त गरेर पूरा अवधि सरकार सञ्चालन गर्न पाउने हो भने वामपन्थीहरुको सरकारले केकस्ता काम गर्न सक्लान् भनेर तपाईं अनुमान गर्न सक्नुहुन्छ । अतः तपाईंहरुका अगाडि यसपालि वामपन्थीहरुको बहुमतको सरकार बनाएको पाँच वर्ष परीक्षण गर्न पाउने सुनौलो अवसर आएको छ । तपाईंहरु सबैले कुनै प्रकारको अलमल नगरी, झुठा आश्वासन र प्रलोभनमा नपरी निर्धक्कसाथ वाम गठबन्धनका चुनाव चिन्हमा स्वस्तिक छाप लागाएर पूरा समय काम गर्न पाउने स्थायी सरकार बनाउन भूमिका खेल्नुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं । ढुक्क हुनुहोस्, वामपन्थीहरुको सरकार बन्यो भने तपाईंहरुले पछुताउनुपर्ने छैन, हाम्रा सन्ततिहरुले रुनुपर्नेछैन । मुलुकले अवश्य काँचुली फेर्नेछ । तपाईं हाम्रो शीर गर्वले ठडिनेछ । वामपन्थीहरुको सरकार बन्यो भने अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन भनेर भ्रम पैmलाउने साथीहरुलाई प्रश्न गर्नुहोस्, ‘तपाईंहरु त कम्युनिष्ट सरकार आयो भने बूढाबूढीलाई गोली ठोकेर मार्छ भन्नुहुन्थ्यो, उल्टै वामपन्थी सरकारले छ बूढाबूढीलाई आफ्नै बाआमालाई जस्तै स्याहार सुसार पो गर्यो त ।’ त्यति भन्नुभयो भने उनीहरु नाजवाफ हुनेछन् ।
अन्तमा यहाँहरु सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र सम्मृद्धिको महायात्रामा सहसभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीं कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौंला । धन्यवाद ।
उही तपाईंको
केपी शर्मा ओली
<
विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>