NP EN

पोखरामा ओली : नेपाललाई बहु राष्ट्रिय राज्य बनाउने षड्यन्त्र असफल

काठमाडौं, ९ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहु राष्ट्रिय राज्य बनाउने केही दलका षड्यन्त्रपूर्ण घोषणासँग कांग्रेसले तालमेल गर्दै मुलुकलाई बिभाजित गर्ने प्रयास गरेको बताउनुभएको छ ।

निर्वाचन अभियानको क्रममा शनिवार पोखरामा आयोजित जनसभालाई संवोधन गर्दै ओलीले नेपालमा क्षेत्रीयतावादी र जातीवादी बैमनस्य खडा गरी स्थायी अस्थिरतातर्फ लैजाने षड्यन्त्रलाई जनताले असफल पार्ने बताउनु भयो । 

उहाँले मंसीर १० र मंसीर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सामान्य निर्वाचन नभएर नयाँ सविधानद्वारा जारी गरिएका संक्रमणकालिन व्यवस्थालाई टुँगोमा पूर्याउने भएकाले गम्भीर रुपमा लिन आग्रह गर्नुभयो । कस्तो नेपाल बनाउने भन्ने बिषय निर्वाचनमार्फत टुँगोमा पूर्याउनु पर्ने भएकाले वाम उम्मेद्वारलाई मत दिई अधिकतम बहुमत हासिलका लागि सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । 

‘नेपाल एउटा राष्ट्र होइन, बहु राष्ट्रिय राज्य हुनुपर्छ भनेर घोषणापत्र जारी गर्नेहरुसंग  कांग्रेससँग तालमेल गरेर हिडेको छ’ उहाँले भन्नुभयो,‘नेपालमा क्षेत्रीयतावादी, जातीबादी नाममा बैमनस्य खडा गर्ने, द्वन्द्वको उद्योग लगाउने र समाधानको खेती  चलाउने षड्यन्त्र भइरहेको छ । तर त्यसलाई संविधानले अस्विकार गर्दछ ।’ 

उहाँले नेपालीबीच सद्भाव र एकता कायम गर्दै अघि बढ्नुपर्ने भन्दै त्यसभन्दा अर्को बिकल्प संविधानले नदिएको बताउनुभयो । अत्यन्तै अफ्ठ्यारो अवस्थामा प्रधानमन्त्री भएको तर भारतसँग समान हैसियतमा व्यवहार गदैै चीनसँग ऐतिहासिक सम्झौता गरेर नेपालाई आत्मानिर्भरको बाटोमा लैजाने काम भएको बताउनु भयो ।

‘अफ्ठ्यारो अवस्थामा मैले सरकारको नेतृत्व गरेको थिएँ । नाकाबन्दी खोल्न लगाई त्यसबेला मैले भारतसँग समान राष्ट्रका हैसियतमा व्यवहार गरे । राष्ट्रहितको पक्षमा सम्झौता गरे । सम्मानपूर्ण ढंगले राष्ट्रिय स्वभिमानलाई कायम राखेर म अघि बढेको थिएँ’ ओलीले भन्नुभयो,‘त्यही भएर सरकार ढाल्ने काम भयो । यसबारेमा तपाईहरु सबै जानकार हुनुहुन्छ  ।’

नेपाललाई अव कहिले पनि कसैले नाकाबन्दी गर्न नसक्ने र नेपालको बाटो छेक्न नसक्ने अवस्थाको निर्माण गरेको भन्दै एक देशप्रतिको निर्भरता कम गर्दै समान हैसियतमा छिमेकीहरुसँग व्यवहार गरेरै नेपाललाई समृद्ध राष्ट्र बनाउने घोषणा पनि गर्नुभयो । ‘चीनसँग पनि बाटो खोल्न सकिन्छ । चीनबाट पनि समुन्द्र प्रयोग गर्न सकिन्छ भनेर मैले पारवहन सम्झौता गरे । यसले एक देशको निर्भरता कम गर्न गर्यो । अव नेपाललाई कसैले नाकाकन्दी गर्न सक्दैन, कसैले बाटो छेक्न सम्दैन’ ओलीले भन्नुभयो । 

नेपालमा आवश्यक पर्ने सबै श्रोतहरु रहेको भन्दै पेट्रोल र फलाम खानीको उत्खनन्का लागि काम शुरुभएको र त्यसलाई निरन्तर अघि बढाउने बताउनुभयो । भ्रष्टचारलाई कांग्रेस सरकारले संस्थागत गरेको भन्दै केपी ओली र भ्रष्टचारको कहिले पनि भेट नहुने बताउनुभयो ।  ‘केपी ओली र भ्रष्टाचारको भेट कहिले पनि हुँदैन । ओलीले भ्रष्टचारलाई नियन्त्रण गर्छ’ उहाँले भन्नुभयो । निर्वाचनपछि नेपालमा कम्युनिष्ट सरकार बन्ने र बिकास निर्माण शुरु हुने घोषणा पनि ओलीले गर्नुभयो । ‘अव कम्युनिष्ट सरकार बन्यो, बन्यो । अव रेल बन्यो, रेल अव कुद्यो कुद्यो ।’

कास्की जेलमा बस्दाको अनुभव साट्दै उहाँले पोखरालाई देशभक्त, प्रगतिशिल र बामपन्थी÷ अग्रगामीको गढ बनाएकोमा प्रशंसा गर्नुभयो । ‘तपाईहरुलाई म  सलाम भन्न चाहान्छु, पोखरालाई तपाईहरुले वामपन्थी र अग्रगामीहरुको गढ बनाउनु भयो । अव पोखरा देशभक्त र प्रगतिशिलहरुको किल्ला बन्दैछ ।’ 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>