झापा, १३ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले लोकतान्त्रिक प्रणालीलाई नभएर आफ्नो सरकारलाई नै लोकतन्त्र भन्ने गरेको भन्दै चुनावपछि कांग्रेसको शासन मासिने वताउनु भएको छ । चुनावी कार्यक्रमको सिलसिलामा गृहनगर झापा आइपुग्नु भएका ओलीले कांग्रेसले आफू सत्तामा हुनुलाई नै लोकतन्त्र ठानेकाले सत्ता गुम्ने कुरालाई लोकतन्त्र गुम्दै गरेको अर्थ लगाएको वताउनु भयो ।
झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिंदै ओलीले आफू सरकारमा हुनुलाई मात्र कांग्रेसले लोकतन्त्र ठानेकाले कांग्रेससँग लोकतन्त्रको सिमित परिभाषा मात्र रहेको वताउनुभयो । ‘कांग्रेसको लोकतन्त्र भनेको आफूले सरकार चलाउने हो, अरुले चलाए उसले अधिनायकवाद भन्छ’ ओलीको भनाई थियो, ‘वाम गठबन्धन बनेकाले लोकतन्त्र असुरक्षित छ भन्दै हिंडेको कांग्रेसलाई म भन्न चाहन्छु, लोकतन्त्र सुरक्षित छ, कांग्रेसको शासन मात्रै असुरक्षित भएको हो ।’
ओलीले वामपन्थी सरकार आएपछि लोकतन्त्र सबैभन्दा सुरक्षित हुने वताउँदै कांग्रेसी शासन भने मासिन सक्ने वताउनुभयो । ‘साथीहरु तर्सेका छन् तर, अब लोकतन्त्र जोगिन्छ, कांग्रेसी शासन मासिन्छ’ ओलीको भनाई थियो । अध्यक्ष ओलीले कांग्रेस सकिदैमा लोकतन्त्र मासिने र कांग्रेस जोगिँदैमा लोकतन्त्र जोगिने नभएको भन्दै वाम गठबन्ध पूर्ण रुपमा लोकतान्त्रिक रहेको वताउनुभयो ।
अध्यक्ष ओलीले निर्वाचन आयोगले आफूले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै पत्र काटेको बारे आफूलाई केही थाहा नभएको बताउनुभयो । पत्रपत्रिकामा आएका विज्ञापनका आधारमा आयोगले ध्यानाकर्षण गरेको हुनसक्ने वताउँदै वाम गठबन्ध्नले जित्ने बुझेपछि वधाईका लागि त्यस्ता विज्ञापनहरु आउन सक्ने ओलीले वताउनुभयो । ‘निर्वाचन आयोगले मेरो नाममा चिट काटेको छ रे, किन काटेको थाहा छैन’ ओलीको भनाई थियो, ‘मैले आचार संहिता उल्लंघन गरेको छैन, आचार संहिता उल्लंघन गर्ने म कांग्रेस सभापति हुँ र ? म त एमाले अध्यक्ष पो हुँ ।’
<
विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>