काठमाडौं, १८ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको माया नभएको र विकासको दृष्टिकोण नभएको दललाई बहुमत दिनु प्रत्युत्पादक सावित भइसकेकाले यसपटक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । काठमाडौं क्षेत्र नं ४ को कपनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई पटक पटक दिइएको बहुमत उसँग देश विकासको दृष्टिकोण नभएको र देशको माया नगरेका कारण काम नलागेको दृष्टान्त प्रस्तुत गर्नुभएको हो ।
‘देशलाई माया नगर्ने, विकासको दृष्टिकोण नभएको दललाई बहुमत दिएर केही नहुँदो रहेछ । कांग्रेसलाई पटक पटक बहुमत दिएर त्यस्तै भयो’ ओलीले भन्नुभयो, ‘एमाले कहिल्यै बहुमतका साथ सरकारमा जान पाएन, सरकारमा गएका बेला राम्रो काम गर्यो ।’
भारतले नाकाबन्दी लगाएर जनताको चुल्हो नबलेका बेला नेपाल भारत सम्बन्ध राम्रो भएको र नाकाबन्दी खुलाएका बेला भारतसँग सम्बन्ध विगारेको भन्दै कांग्रेसले जुनसुकै कुराको पनि उल्टो प्रचार गर्दै हिंडेको दृष्टान्त प्रस्तुत गर्नुभयो । ‘भारतले नाकाबन्दी लगाएको थियो, तपाईंहरुको चुल्हो ग्यास नभएर निभेको थियो, बस नचलेर केटाकेटी स्कूल कलेज जान पाएका थिएनन्, विरामीलाई अस्पतालमा औषधी थिएन । त्यस्तो देश कांग्रेसले मलाई जिम्मा लगाएको थियो’ ओलीले भन्नुभयो, ‘मैले नाकाबन्दी खुलाएँ, पारवहनको हक स्थापित गरेँ । तर, कांग्रेसका नजरमा नाकाबन्दी लगाउनु भारतसँग राम्रो सम्बन्ध हुनु हो । नाकाबन्दी खुलाउँदा भारतसँग सम्बन्ध विग्रियो भनेर कांग्रेसले उधुम मच्चायो ।’
वाम गठबन्धनले चुनाव जिते संविधान नै संशोधन गरेर अधिनायकवाद लागू गर्छन् भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको आरोपको प्रतिवाद गर्दै ओलीले वाम गठबन्धनको घोषणापत्र पढेर बहस गर्न चुनौती दिनुभयो । ‘हाम्रो होइन, अर्काे कसैको घोषणा पत्र पढेर भाषण गर्छन् कि भन्ने शंका लाग्न थालेको छ, हाम्रो घोषणा पत्रमा मुलुकलाई कसरी अगाडि बढाउने भन्ने मार्गचित्र मात्रै छ’ ओलीले भन्नुभयो, ‘बरु नेपालको संसदले संविधान संशोधन गर्न अस्वीकार गरेपछि अर्काे देशमा गएर गल्ती भो हजुर भन्नुको उद्धेश्य के हो ?’
वाम गठबन्धनले जिते लोकतन्त्र नरहने र अर्काे पटक देखि चुनावै नहुने देउवाको भनाईलाई देउवाकै कामका आधारमा मुल्यांकन गर्न ओलीले मतदातासमक्ष आग्रह गर्नुभयो । ‘विचरा वामपन्थी गठबन्धनले जिते चुनावै हुँदैन रे, ०५८ सालमा चुनाव नगरेको र ०६९ सालमा दरवारमा लोकतन्त्र बुझाएको कसले हो ?’ ओलीको प्रश्न थियो, ‘कसले चुनाव गर्दैन, कसले लोकतन्त्र बुझाउँछ, मैलो भनिरहनु पर्ला र ? ब्यवहारबाटै पुष्टि छैन ?’ उहाँले संघर्ष गरेर ल्याएको लोकतन्त्र रक्षा गर्न कसैले सिकाउनु नपर्ने वताउनुभयो ।
काठमाडौं क्षेत्र नं ४ मा वाम गठबन्ध्नका उम्मेदवार राजन भट्टराईलाई मतदान गर्न आग्रह गर्दै ओलीले सेलिब्रिटी उम्मेदवार कारको विज्ञापनमा तस्बिर खिचाउन मात्रै काम लाग्ने वताउनुभयो । ‘यस ठाउँको विकास गर्न भिजन भएको नेतृत्व चाहिन्छ, सेलिब्रिटी पनि काम लाग्छन् तर, कारको विज्ञापनका लागि मोडलिङ गर्न’ ओलीले भन्नुभयो, ‘तपाईंहरु राजन भट्टराईलाई भोट हाल्नुस्, उहाँले ल्याएका विकास योजना म स्वीकृत गर्छु, कामको जिम्मा म लिन्छु ।’
<
विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>