NP EN

ओलीमाथि अव के के अवरोध आउन सक्छन् ?

प्रतिनिधिसभाको निर्वाचन परिणाम आउने क्रम निश्कर्षमा पुग्दा नेपालको आगामी राजनीतिक चित्रमाथि बहस हुन थालेको छ । राजनीतिक मुद्दामा स्पष्ट र मुलुकलाई आधुनिक विकास दिन बुझिनेगरी मार्गचित्र  प्रस्तुत गरेका कारण वाम गठबन्ध्न बन्नु भन्दा अगाडि देखि नै अवको संसदमा एमालेको उपस्थिति सबैभन्दा बलियो हुने भन्ने धेरैको अनुमान थियो । त्यसमाथि वाम गठबन्धन बनाएर चुनावमा गएपछि निर्वाचनको अहिलेको परिणाम स्वाभाविक र अपेक्षित थियो । यसै जगमा उभिएर नेपालको राजनीतिका भावि दिनमाथि बहस चल्नु झन् स्वाभाविक छ । 

संसदको प्रत्यक्ष तर्फको नतिजा अन्तिम चरणमा पुगेको छ । जसमा एमाले एक्लै प्रत्यक्षतर्फको १६५ मध्ये ७८ देखि ८० सम्म बहुमत नजिक पुग्ने देखिन्छ । प्रत्यक्षमा वाम गठबन्धनको अर्काे घटक माओवादी दोस्रो करिव ३५ सिटको हाराहारी हुने पक्का छ र नेपाली कांग्रेस तेस्रो हैसियतमा २२ सिटसम्म पुग्ने अवस्था छ । 

समानुपातिकको अन्तिम नतिजा आउन अझै केही दिन कुर्नु पर्नेछ । समानुपातिकको नतिजापछि एमालेले ३५ प्रतिशत मत ल्यायो भने २७५ सदस्यीय प्रतिनिधिसभामा उसको एक्लै १२० देखि १२२ सम्म सांसद हुनेछन् । चुनावपछि पार्टी एकताको मार्गचित्र प्रस्तुत गरिएकाले त्यसमा माओवादीको समानुपातिकसम्म जोड्दा आउन सक्ने ५० भन्दा बढी सिट थपिन्छन् । यसले वाम गठबन्धन दुईतिहाई बहुमतको नजिक पुग्ने देखिन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सामान्य बहुमतका लागि १३८ र दुईतिहाईका लागि १८४ सांसद चाहिन्छ ।  जस मध्ये वाम गठबन्धनसँग १७० हाराहारीमा सिट हुने देखिन्छ । 

एमाले र माओवादी पार्टी एकता हुने भनिए पनि त्यसले प्रक्रिया पार गर्न केही महिना लाग्नेछ । त्यस अगाडि नै सरकार र प्रादेशिक सरकार बनाउनु पर्ने हुन्छ । त्यसका लागि उनीहरुले भविश्यको पार्टी एकतालाई ध्यान दिएर पद बाँडफाँड गरी सरकार बनाउने सम्भावना छ । जुन सरकारले साझा घोषणा पत्रमा उल्लेख गरेका प्रतिवद्धता अनुरुप काम गर्नु पर्नेछ । 

वाम गठबन्धनले अवको प्रधानमन्त्री को हुने भन्ने औपचारिक निर्णय गर्न बाँकी नै भए पनि यो चुनावको वैचारिक र राजनीतिक कमाण्डर भएका हिसावले एमाले अध्यक्ष केपी शर्मा ओली अवका प्रधानमन्त्री हुन् भन्ने चाहिँ स्पष्ट छ । ओलीले नौ महिनासम्म कठीन अवस्थामा प्रधानमन्त्री हुँदा देखाएको बाटो र उनले आर्जन गरेको लोकप्रियताको जगमा वाम गठबन्धनले अहिलेको सफलता पाएको हो । कांग्रेससँग सत्ता साझेदारीमा रहेको माओवादीले पनि ओलीका राजनीतिक आर्जनको लाभ यो गठबन्धन बनेकाले लिन पायो र संसदमा आफ्नो उपस्थिति बलियो देखाउने अवसर उसलाई जुर्यो । चुनाव परिचालनमा माओवादीका उम्मेदवार रहेका क्षेत्रमा ओलीको सक्रियता र त्यहाँ उनको उपस्थितिले दिएको मनोवैज्ञानिक र मुद्दागत छहारी माओवादीको यो सफलताको मुख्य कारण बन्न पुग्यो । त्यसैले अवको कार्यकारी प्रमुखवारे कुनै औपचारिक निर्णय लिनुअघि नै मतदान गर्न लाइनमा बसेका बखत नै मतदाताले अवको प्रधानमन्त्रीमा ओलीलाई चयन गरिसकेका छन् । त्यसैले ओलीका पक्षधर हुन् वा विपक्षी अवको प्रधानमन्त्रीका रुपमा ओलीलाई इंगित गरेर प्रतिक्रिया ब्यक्त गरिरहेका छन् । 

ओलीको छवी 
दोस्रो पटक प्रधानमन्त्रीमा आउँदै गरेका ओलीले प्रधानमन्त्रीका रुपमा पहिलो पटक बनाएको छवी नेपालको राजनीतिमा अत्यन्तै सुखद छ र अहिलेको वाम गठबन्धनको सफलता पनि त्यसैको बलवाट प्राप्त भएको हो । चुनावको प्रारम्भिक नतिजा आउँदै गर्दा वरिष्ठ पत्रकार युवराज घिमिरेले ओलीको छवीवारे गरेको टिप्पणी यस्तो थियो– ‘ओलीले अहिले तीनवटा टोपी लगाएका छन् भन्नुभन्दा पनि मुलुकभित्र आमजनताले, छिमेकी भारत र चीनले अलगअलग अनुहार देखेका छन् उनका । नेपाली जनताले उनको राष्ट्रवादी अनुहार प्रस्तुत गरेका छन् यो निर्वाचनमार्फत । भारतले उनलाई ‘भारतविरोधी र चीनपरस्त’ का रुपमा हेरेको छ भने चीनले उनलाई भरपर्दो मित्रका रुपमा स्वीकार गरेको छ । खासगरी २०७२ मा संविधान निर्माणको अन्तिम चरणमा विदेशसचिव एस.जयशंकरको हस्तक्षेपकारी रवैया र त्यसपछिको आर्थिक नाकाबन्दीको विरोधमा आमनेपालीमा देखापरेको भारतप्रतिको वितृष्णासँग ओलीले आफूलाई आत्मसात मात्र गरेनन्, चीनसँग उनले सिद्धान्ततः ‘समान हैसियत’ मा केही सहमति पनि गरे । भारतलाई उपयुक्त सन्देश दिए ओलीले त्यसबेला ।’

ओलीको भूमिका र छवीप्रति घिमिरेको यो विश्लेषण वस्तुनिष्ठ छ । तर, नेपालमा पात्रहरुको छवी निर्माणका दुईवटा आयामहरु छन् । एउटा, पात्र स्वयंका कामले जनमानसमा निर्माण भएको मनोवैज्ञानिक छाप । दोस्रो, मिडियाले प्रायोजित रुपमा प्रस्तुत गरिदिने अनुहार । पहिलो विधिबाट ओलीले नागरिकबीच राम्रो छवी बनाए, जुन निर्वाचन नतिजाले पुष्टि गरेको छ । छवी निर्माणको दोस्रो आयाममा भने ओली सधैं पिछड्याइएका नेता हुन् । अहिले निर्वाचन नतिजा आउँदै गर्दा पनि मुलधारमा स्थापित मिडियाले ओलीको वाककलालाई उनको सफलतामा सिमित गर्न खोजेका छन् । त्यसको अर्थ हुन्छ– कुरा गर्न जानेर मात्रै ओलीले सफलता पाएका हुन् । के त्यसो भए ओलीले कठीन अवस्थामा मुलुकको बागडोर हातमा लिएर मुलुकको नाकाबन्दी जस्तो निर्मम अत्याचारबाट मुलुकलाई जोगाउने र कहिल्यै नाकाबन्दी लगाउन नसक्ने ऐतिहासिक भूराजनीतिक मोडमा मुलुकलाई उभ्याउनु फगत गफ मात्रै हो ? ओलीको सफलतालाई वाककलामा मात्र सिमित गर्न चाहनेहरुले दिने निश्कर्ष भने यहि मात्रै हो । 

अवको राजनीतिक यात्रामा लोकतन्त्रलाई संस्थाकरण र तीब्र विकासको लहर चलाउनु ओलीले आफ्नो मार्गचित्र बनाएका छन् । राजनीतिको केन्द्रमा बसेका पात्रहरुको वर्चश्वको नाफा नोक्सानका रुपमा मात्रै राजनीतिलाई बुझ्ने चालु प्रबृत्ति बदलियो भने मात्र ओलीले प्रधानमन्त्रीका रुपमा आफ्नो गन्तब्य सफलतामा पुर्याउन सक्छन् । होइन, कुन नेतालाई कहाँ ब्यवस्थापन गर्ने, कसले कुन पद पाउँदा फलिफाप हुने, कसले के पाउने वा गुमाउने कुरालाई मात्रै केन्द्रमा राखेर आम सञ्चारमा समेत टिप्पणी हुन थाले भने मुलुकले सकारात्मक परिवर्तनको गन्तब्य पाउन मुस्किल पर्नेछ । मुलुकका लागि कुन नेताले कुन तहको पद पायो भन्ने कुराले अर्थ राख्दैन, जति अर्थ राख्छ मुलुक निर्माणको मार्गचित्र कार्यान्वयनको दिशाले । तर, विचार निर्माणको हाम्रो मूल प्रबृत्ति अझै पनि राजनीतिक पात्रहरुको वर्चश्वको नाफा नोक्सान लेखाजोखा गरेरै विश्लेषण गर्ने छ । नयाँ बन्ने सरकार र नयाँ राजनीतिक प्रवन्धलाई अपेक्षित सकारात्मक परिवर्तनको दिशामा हिंडाउन गैर राज्य र नागरिक तप्काले पनि भूमिका खेल्नुपर्छ । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>