काठमाडौं, ४ पुस – चीनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अगामी सरकारको पालामा केरुङ–काठमाडौं रेलमार्ग निर्माणले तीब्रता पाउने जनाएको छ । भारतले वाम गठबन्धनलाई चीनको सहयोग रहेको भनेर भ्रम फैलाएको भन्दै चिनियाँ अखवारले आक्रोश पनि पोखेको छ ।
चिनियाँ अखवार ग्लोवल टाइम्समा मंगलबार प्रकाशित एक समाचार अनुसार नेपालको एक असल मित्रका रुपमा चीनले विकास र समृद्धितर्फका ओलीका योजनामा सहयोग गर्ने बताइएको छ । नेपाल र चीनलाई रेलसँग जोड्ने ओलीको महत्वाकाँक्षी परियोजना अघि बढाउनेसँगै अरनिको राजमार्ग, स्याप्रुवेंशी–रसुवागढी मार्गको स्तरोन्नति गर्ने र खासा–तातोपानीमा सुख्खा बन्दरगाह बनाउने परियोजना पनि तीब्र गतिमा अघि बढाउने बताएको हो ।
ओलीको नेतृत्वमा अव बन्ने सरकारलाई विनाशर्त चीनको पूर्ण सहयोग रहने समाचारमा उल्लेख छ । साथै भारतलाई पनि नेपालको विकासमा सहयोग गर्न चीनसँग सहकार्य गर्न आग्रह गरिएको छ । ‘भारतले जिरो–सम’ सोचाई छाडेर भारतले नेपालको विकासका लागि चीनसँग सहकार्य गर्नुपर्छ । नेपालले पनि स्वतन्त्र रुपमा अघि बढ्नुपर्छ’ अखवारले लेखेको छ ।
ओली नेतृत्वको एमालेले नेपालका लागि राम्रो गरेकाले नेपाली जनताले त्यसै अनुसार मत दिएको भन्दै विकास र समृद्धिका लागि अव उपयुक्त समय आएको पनि समाचारमा बताइएको छ ।
नेपालले अव सबैभन्दा पहिलो ‘प्रो नेपाल’ हुनुपर्ने भन्दै चीन र भारतबिरुद्ध कुनै कार्ड प्रयोग गर्न नहुने सुझाव पनि नयाँ सरकारलाई दिएको छ । ‘नेपालले दुई बिशाल छिमेकीबीच बृहत सन्तुलनमार्फत मात्र आफ्नो राष्ट्रिय स्वार्थलाई अधिकतम संरक्षण गर्न सक्छ’ अखवारले भनेको छ ।
<
विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>